+
+

चुनावको मुख्य चुनौती पैसा र सामाजिक सञ्जाल

अहिलेको मुख्य चुनौती भनेको दुईटा छन् । एउटा– पैसा । अर्को– सामाजिक सञ्जाल । निर्वाचन महंगो भयो । कसरी महँगो भयो यो विषय छ । साथसाथै, सामाजिक सञ्जालले चुनावी परिणामलाई हाइज्याक गर्छ कि भन्ने धेरैलाई चिन्ता छ । आगामी दिनमा पनि यो विषयलाई ख्याल गर्नुपर्ने देखिन्छ ।

भोजराज पोखरेल, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्वप्रमुख निर्वाचन आयुक्त
२०७९ मंसिर २ गते १८:४८

आज (शुक्रबार) बिहान ६ वटा जति ठाउँ (मतदान केन्द्र)मा गएँ । त्यहाँ पुग्दा खुसी भएँ । कर्मचारीहरु ठाउँ ठाउँमा पुगेका छन् । सुरक्षाकर्मीहरु तम्तयार भएर बसिराखेका छन् । काहीँ केही समस्या छ कि भनेर हेर्दा त्यस्तो केही पाइएन ।

राजनीतिक दलका कार्यकर्ताहरुलाई पनि केही समस्या छ कि भनेर बुझ्दा हाम्रोमा त्यस्तो केही समस्या छैन् भन्ने जवाफ दिनुभएको छ । आत्तिनुपर्ने छैन् भन्ने नै छ । मतदाताहरुसँग कुरा गर्दा पनि ठिकै छ, अब मतदान गर्ने हो भन्नुभएको छ । अर्थात, शान्तिपूर्ण तयारी रहेछ भन्ने अनुभुत भएको छ । यस अनुकुल व्यवस्थापन भएको रहेछ भन्ने परेको छ ।

केही समय अगाडि मात्रै (३० वैशाखमा) स्थानीय तहको निर्वाचन भयो । आइतबार प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । यसबीचमा दशैं, तिहार जस्ता ठूला चाडपर्वहरु पनि परे । यसबीचमा पनि मतदाता र उम्मेदवारका बीचमा भलाकुसारी भए ।

उम्मेदवारी दर्ता पछि र प्रचारप्रसारको अवधिमा पनि मतदाता र उम्मेदवारका बीचमा भेटघाट भए होलान् । तै पनि पर्चा पम्लेट, तडक भडक त्यस्तो केही पनि छैन् । यी सबै कुराले देखाउँछ– प्रजातन्त्रको अभ्यासमा हामी ‘मेचुअर्ड’ हुँदै गयौं ।

व्यवस्थपनमा दक्षता अभिवृद्धि भएको छ । राजनीतिक दलहरु प्रजातान्त्रिक संस्कारको बाटोमा हिड्नुपर्छ भनेर यही बाटोमा हिड्न थालेको अनुभुत हुन्छ । मतदाताहरुमा पनि जागरण आएको छ । कर्मचारीहरुमा विश्वास बढेको छ ।

तयारी कस्तो छ भनेर मतदान केन्द्रका कर्मचारीहरुलाई सोध्दा थोरै केही बाँकी छ सबै भइहाल्छ, भोलिसम्म सबै ठीकठाक भएर पर्सी मतदान गराउँछौं भनेर ढुक्कले जवाफ दिइरहेका छन् । यो भनेको प्रजातन्त्रको मेचुरिटी हो ।

हामीले खोजेको पनि प्रजातन्त्रको लामो अभ्यास भएका देशहरुको जस्तो चुनावी वातावरण हो । ती देशहरुमा जस्तो खालको वातावरणमा चुनाव हुन्छ त्यस्तै खालको चुनाव होस् भन्ने हो । त्यो बाटोमा पुग्नका लागि ती देशहरुलाई सयौं वर्ष लाग्यो होला, सयौं वर्षको प्रजातन्त्रका अभ्यासले सौहार्द चुनावी वातावरणको बाटोमा पुग्यो होला ।

नेपाल पनि ३०÷३२ वर्षको अभ्यासमा अहिलेको अवस्थामा आइपुगेका छौं । अहिलेको जुन वातावरण देखिएको छ यसलाई निरन्तरता दिने हो भने सयौं वर्ष प्रजातन्त्रको अभ्यास गरेकाहरुको जस्तो वातावरणमा चुनाव गराउने ठाउँमा पुग्नका लागि नेपाललाई धेरै समय लाग्दैन् ।

निर्वाचन आचारसंहिताको विषय छ । यस विषयमा पनि त्यस्तो समस्याहरु केही आएनन् । ०६४ सालमा कम्प्रिहेन्सी आचारसंहिता तयार गरियो । पोष्टर टाँस्न हुँदैन भनेर राख्दा अगाडि बढ्दा कति गाह्रो भएको थियो । अहिले अभ्यासले पर्चा, पम्प्लेट टाँस्न हुँदैन भन्ने महसुस भएको छ । ०६४ मा यो अति चुनौतीपूर्ण थियो । तर, समय अनुसार सबैले महसुस गर्नुभएको छ ।

अहिलेको मुख्य चुनौती भनेको दुईटा छन् । एउटा– पैसा । अर्को– सामाजिक सञ्जाल । निर्वाचन महंगो भयो । कसरी महँगो भयो यो विषय छ । साथसाथै, सामाजिक सञ्जालले चुनावी परिणामलाई हाइज्याक गर्छ कि भन्ने धेरैलाई चिन्ता छ । आगामी दिनमा पनि यो विषयलाई ख्याल गर्नुपर्ने देखिन्छ ।

यी विषय पनि सम्बोधन हुन्छन् । चुनावी संस्कारले खुसी बनाएकै छ । पर्चा पम्प्लेटसहितको तडक भडक रोक्ने गरी जग बसाउन खोज्दा ०६४ मा धेरै गाह्रो भएको थियो । तथापि, रणनीतिक रुपमा नै जानुपर्छ भनेर निर्वाचन आयोग अगाडि बढ्यो । आयोगको त्यो रणनीतिक योजना अनुसार काम गर्दै जाँदा अहिले धेरै राम्रो भएको छ । मलाई विश्वास छ – अबको केही चुनावसम्म पुग्दा हाम्रो अवस्था धेरै नै सुध्रिसकेको हुनेछ ।

हाम्रो उपलब्धीहरुप्रति बाह्य मुलुकहरु पनि आरिस गर्छन । जस्तै– हाम्रोमा जस्तोसुकै अप्ठ्यारो समयमा पनि निर्वाचनको माध्यमबाट सत्ता हस्तान्तरण भएको छ । अप्ठ्यारो भनिएका बेला पनि सफल निर्वाचन भएको छ ।

निर्वाचनको सामान नपुगेर, कर्मचारी नपुगेर निर्वाचन हुन नसकेको अवस्था इतिहासमा छैन् । यी लगायतका हाम्रा उपलब्धीहरु छन् यसप्रति हामीले पनि गौरव गर्नुपर्छ । र अन्तिममा-आइतबारको निर्वाचनका लागि राष्ट्र तयार छ ।

सबै क्षेत्र कति खेर मतदान गरौं भनेर तयार रहेको पाएको छु । यो किसिमको माहोल निर्वाचन र मतगणनासम्म निरन्तर रहनुपर्छ । सबैलाई मतदानमा सहभागी भएर निर्वाचनलाई सफल पार्नका निम्ति सबैमा आग्रह गर्दछु ।

(आम निर्वाचन पर्यवेक्षण समिति नेपालले शुक्रबार राजधानीमा गरेको चुनाव सम्बन्धी कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राखेको विचारको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?