+
+

ट्रेडमिलमा अनावश्यक दौडदा शरीर बिग्रन सक्छ : फिटनेस ट्रेनर

मनिषा थापा मनिषा थापा
२०७९ मंसिर ५ गते १७:४९

मूलतः शहरी क्षेत्रमा ट्रेडमिलको प्रयोग बढ्दो छ । घरबाहिर निस्केर हिँडडुल गर्न नसक्ने वा नचाहनेहरुको ठूलो जमात ट्रेडमिलमा दौडिन थालेका छन् ।

तन्दुरुस्तीका लागि ट्रेडमिल एक यस्तो उपकरण हो, जहाँ मज्जाले दौड अभ्यास गर्न सकिन्छ । शरीरको अतिरिक्त क्यालोरी खर्च गर्नदेखि तन्दुरुस्त रहनका लागि यो एउटा सहज विकल्पको रुपमा आएको छ ।

ट्रेडमिल एक विकल्प

शहरी क्षेत्रमा हिँडडुल गर्न वा दौडनका लागि अनुकुल ठाउँ नहुन सक्छ । त्यसमाथि गाडी, कलकारखानाको धुवाँ धूलोले वातावरण प्रदूषित भएको हुनसक्छ । कहिले पानी पर्ने, हुरी चल्ने हुनसक्छ । यस्तो अवस्थामा घरबाहिर निस्कने अनुकुलता हुँदैन ।

‘यसरी घरबाहिर निस्केर स्वच्छन्द दौडनु वा हिँड्नु सहज नहुँदा ट्रेडमिल राम्रो विकल्प बन्न सक्छ’ फिटनेस ट्रेनर प्रकास केसी भन्छन्, ‘घरभित्रै सहज, सुविधायुक्त र आरमले दौडनका लागि यो उपकरण निकै उपयोगी हुन्छ ।’

शरीरको तापमान सन्तुलित राख्न, क्यालोरी बर्न गर्न, रक्त संचार राम्ररी सूचारु गराउन, श्वासप्रश्वास प्रक्रियालाई सहज बनाउन, तौल नियन्त्रण गर्न, मांसपेशी बलियो बनाउन ट्रेडमिल लाभदायक हुने केसीको भनाई छ ।

ट्रेडमिलमा कति अविध दौडनुपर्छ ?

फिटनेस ट्रेनर केसीका अनुसार दिनको एक समय १५ देखि २० मिनेटसम्म दौडन सकिन्छ । ‘त्यो भन्दा बढी दौडिन हुँदैन’ उनी भन्छन्, ‘यसमै १ घण्टा दौडिएर ज्यान घटाउँछु, फिट हुन्छु भन्दा झनै शरीर बिग्रिन सक्छ ।’

आवश्यक भन्दा बढी दौडदा शरीरको मांसपेशी झोलिने, खुट्टाको आकार सानो हुने, हिपहरु सानो हुने जोखिम हुन्छ ।

कति गति वा स्पिडमा दौडनुपर्छ ?

यो विस्तारै सुरु गर्नुपर्ने व्यायाम हो । फिटनेस ट्रेनर केसीका अनुसार क्रमस सहज बनाउँदै आफ्नो लक्ष्यअनुसार गति बढाउदै लान सकिन्छ । पहिला ५ को गतिमा र त्यसलाई बढाउँदै ६ वा ७ को गतिमा दौडन सकिन्छ ।

कुन उमेरका व्यक्तिले बढी गर्न सक्छन ?

यो जुनसुकै उमेरका लागि पनि प्रयोग गर्न सक्छन् । यद्यपि यान्त्रिक कुरा भएकाले सजगता अपनाउनुपर्छ । अलि पाको, दीर्घरोग भएकाहरुले चिकित्सकको परामर्श लिएर मात्र ट्रेडमिल प्रयोग गर्नुपर्छ ।

दीघरोगी खासगरी मुटुरोगी, उच्च रक्तचाप भएमा

दीघरोगी खासगरी मुटुरोगी, उच्च रक्तचाप भएकाले केही सावधानी अपनाउनु पर्ने केसी बताउँछन् । किनभने उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहँदैन । कहिले काहीँ मुटुको चाल उच्च हुनसक्छ । कहिले रक्तचाप उच्च हुनसक्छ । यस्तो स्थितीमा ट्रेडमिल प्रयोग नगर्नु उत्तम हो ।

‘ट्रेडमिलमा वर्क आउट गर्दागर्दै अचानक स्वास्थ्य समस्या देखिएर मृत्युसमेत भएको घटना देख्दै, सुन्दै आएका छौं’ फिटनेस ट्रेनर केसी भन्छन् ।

यसको कारण के हो भने उक्त व्यक्तिको स्वास्थ्य स्थिती कस्तो थियो भन्ने कुरालाई बेवास्ता गर्नाले हो । चिकित्सकको सुझाव नलिँदा वा आवश्यकभन्दा बढी वर्कआउट गर्दा यस्तो जोखिम हुनसक्छ ।

दुब्लो-पातलोलाई पनि उपयोगी

फिटनेस भन्नसाथ धेरैले मोटोपन घटाउने भनेर बुझ्छन्, जुन गलत हो । ‘खासमा यो शरीरलाई चुस्त वा तन्दुरुस्त बनाउनका लागि हो’ केसी भन्छन्, ‘यसले मांशपेसी बलियो बनाउँछ । तौललाई सन्तुलनमा राख्छ । त्यसैले दुब्लो पातलो शरीर भएकाहरु पनि यसबाट लाभान्वित हुन्छन् ।’

बजारमा के कस्ता ट्रेडमिल पाइन्छन् ?

बजारमा   ब्राण्ड अनुसारका व्यक्तिगत र व्यवासायिक उद्देश्यले बनाएको  ट्रेडमिल पाइन्छन् । कुनै धेरै तौल धान्न सक्ने र कुनै कम तौल धान्न सक्ने  ट्रेडमिलहरु हुन्छन् । कम तौल १ सय देखि १ सय ५० केजीसम्म धान्ने र कम भोल्टेजको ट्रेडमिल घरको व्यक्तिगत प्रयोगका लागि लिन सकिन्छ ।

धेरै तौल धान्ने, हाइ भोल्टेजको ट्रेडमिले फिटनेस सेन्टरहरुमा देख्न सक्छौं ।  आफ्नो तौल र बजेट अनुसारको ट्रेडमिल किन्न सकिन्छ । छनौट गर्दा भनेको आफुलाई सहज छ वा छैन भनेर हेर्ने गरिन्छ ।

४० हजारदेखि २० लाख रुपैयाँसम्म

न्युतम ४०–५० हजार रुपैयाँदेखि २० लाखसम्म पर्ने ट्रेडमिल बजारमा पाइन्छन् । सबैभन्दा महँगो लाइफ फिटनेस ब्राण्डको हो, त्यसको मूल्य १५ देखि २० लाख सम्म पर्छ ।  घरको लागि  ४०–५० हजारसम्म पर्ने ट्रेडमिल पनि राम्रो हुन्छ ।

पैदल हिँड्नु उत्तम कि ट्रेडमिलमा दौडनु ?

प्रातकालिन भ्रमण (मर्निङ वाक)मा निस्कनु उत्तम कि कोठाभित्र ट्रेडमिलमा दौडनु ?

फिटनेस ट्रेनरका अनुसार ट्रेडमिल एउटा विकल्प मात्र हो, दौडनका लागि । संभव भएसम्म खुला स्थानमा दौडनु उत्तम हो । यसरी दौडदा फोक्सोले पर्याप्त ताजा हावा लिन सक्छ । आफ्नो शारीरिक अवस्था अनुसार कुन गतिमा दौडन्, हिँड्ने भन्ने कुरा निक्र्यौल गर्न सकिन्छ ।

वयस्क र कुनैपनि दीर्घ रोग नभएकाले एउटा निश्चित गतिमा दौडन सक्छन् । अन्यले फटाफट तीब्र गतिमा हिँड्न सक्छन् । यसैगरी कमजोर वा बुढापाकाहरुले सुस्त गतिमा हिँड्न सक्छन् । आखिर घरबाहिर निस्किएर दौडदा वा हिँड्दा राम्रो स्वास्थ्य लाभ मिल्छ ।

यसले फोक्सोमा ताजा हावा मिल्छ, रक्तप्रवाह राम्ररी हुनपाउँछ । जोर्नी र मांशपेसीहरु बलियो हुन्छ । हुन्छ ।

यसैगरी पार्क वा सडक किनारमा दौडदा दिक्क लाग्दैन । नयाँ नयाँ कुराहरु देख्न, अनुभूत गर्न पाइन्छ । त्यसैले घरभित्र ट्रेडमिलमा दौडनुभन्दा घरबाहिर दौडनु वा हिँड्नु उत्तम हुन्छ ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?