+
+

एक तिहाई मत गन्दा रवीन्द्रलाई देखियो ‘मार्ग परिवर्तन’को असर

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ मंसिर ५ गते २०:५८

५ मंसिर, काठमाडौं । अघिल्लोपल्ट प्रकाशमान सिंहविरुद्ध चुनाव लड्दा रवीन्द्र मिश्रलाई वैकल्पिक राजनीतितर्फ आकर्षण भएका मतदाताको साथ थियो । यसपल्ट राप्रपाबाट काठमाडौं–१ मा उम्मेदवार बनेका मिश्रलाई आफ्नो ‘मार्ग परिवर्तन’ निर्णयले असर पारेको प्रारम्भिक मतसंकेतले देखाएको छ ।

उसो त हालसम्मको गणनामा कांग्रेस उम्मेदवार सिंहसँग मिश्र कडा प्रतिस्पर्धामै रहेको देखिन्छ । तर विगतमा उनले पाएको मतमध्ये ठूलो संख्यालाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले प्रभावित पारेका छन् । यही अवस्था अन्तिमसम्म रहे मतभारको प्रवृत्ति नै प्रभावित हुन सक्छ ।

एक तिहाइ भन्दा बढी मत गणना हुँदासम्म मिश्र र सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहबीच कडा प्रतिस्पर्धा चलिरहेको छ । यो प्रतिस्पर्धामा सहज जितका लागि पाँच दलको गठबन्धनबाट साझा उम्मेदवार बनेका सिंह पनि सहज अवस्थामा छैनन् ।

झिनो मतान्तरमा लुकामारी

काठमाडौं–१ मा काठमाडौं महानगरपालिकाका वडा नम्बर १०, ११, २९ र ३१ पर्छन् । यी सबै वडाको मत मिसाएर गणना भइरहेको छ ।

बानेश्वर क्याम्पस, छुनामुना, पाठशाला, मिलन विद्या, बिजय मेमोरियल, मिनभवन, मीनभवन सहकारी लगायतका मतदान केन्द्रको मत गन्दा मिश्र र सिंहले एकले अर्कोलाई कहिले पछि पारेका छन् कहिले आफू अगाडि भएका छन् ।

नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बिहान पौने ९ बजेदेखी मतगणना जारी छ । निर्वाचन अधिकृतको कार्यालयले बिहान ११ बजे दिएको आधिकारिक विवरणमा सिंह अगाडि थिए । सिंहले ७५४ मत पाउँदा मिश्रले ६८० मत पाएका थिए । नेकपा एमालेका उम्मेदवार किरण पौडेलले ४९६ मत ल्याएर पच्छ्याएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले १७५ मत पाउँदा नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले २२५ मत ल्याए ।

बम विगतमा उज्वल थापा, रवीन्द्र मिश्रसँगै वैकल्पिक राजनीति भन्दै साझा विवेकशीलमा संगै रहेका नेता हुन् । रवीन्द्र मिश्रले मार्ग परिवर्तन गरेर राप्रपा रोज्नुअगावै विवेकशील साझाको संगठन छिन्नभिन्न भयो । त्यही क्रममा बमले पनि साझा विवेकशील छाडे । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिश्रसँगै बम प्रतिस्पर्धामा उत्रिए । उनले आफू अझै वैकल्पिक राजनीतिकै बाटोमा रहेको बताउने गरेका छन् ।

जारी मतगणनालाई नियाल्दा नयाँ अनुहार खोज्ने मतदाताहरु विभाजित भएको देखिन्छ । कतिपयले प्रत्यक्षतर्फ हलो र समानुपातिकतर्फ घण्टीमा मतदान गर्नु यसको एउटा उदाहरण हो । अर्कोतर्फ नयाँ अनुहारका रुपमा बम र खरेल पनि उम्मेदवार हुँदा नयाँ अनुहार खोज्ने मतदाताहरु विभाजित भएको देखिन्छ । तथापि, मिश्र र सिंह थोरै मतान्तरले अगाडि र पछाडि भइरहेका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिउँसो एक बजे दिएको मतगणना अपडेटमा पनि केही मतले सिंह नै अगाडि थिए । तीन हजार १८९ मत गन्दा सिंहले ८१८ मत पाए भने मिश्रले ७३७ मत । एक बजेसम्म पुकार बमले आफ्नो मत ५२८ पु¥याउँदा एमाले उम्मेदवार पौडेल ४९६ मतमा समेटिएका थिए ।

दिउँसो साढे ४ बज्दा मिश्रले अग्रता लिए । त्यसयता मिश्र झिनो मतान्तरमा निरन्तर अगाडि छन् । साढे ४ बजेसम्म ९ हजार २८ मत गनिसक्दा सिंहले २३ सय दुई मत पाउँदा मिश्रले दुई हजार २२४ मत पाए । एमाले उम्मेदवार पौडेल १ हजार ४४१ मतमा समेटिँदा पुकार बमले १३६७ र रमेश खरेलले १०४६ मत पाएका थिए ।

बेलुकी साढे ६ बजेसम्म ११ हजार बढी मत गनिसक्दा सिंहले २८७७ मत पाएका छन् । निरन्तर अग्रता कायम राख्दै मिश्रले ३०५८ मत पाएका छन् । एमालेका उम्मेदवार पौडेल १७१३ मत ल्याउँदा पुकार बमले १७२९ मत पाएका छन् । रमेश खरेलको १३३६ मत छ ।

अर्थात, काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरुले नयाँ पार्टी र नयाँ अनुहार खोजेको प्रष्ट देखिन्छ । तर, यही चाहना राख्ने मतदाताहरुको मत बाँडिदा त्यसको असर रवीन्द्र मिश्रलाई परेको छ ।

मतगणनामा निरन्तर सहभागी एक अधिकारीको अनुभवका आधारमा रवीन्द्र मिश्रको सहजै जीत

तीन अवस्थामा हुने मत प्रवृत्ति देखिन्छ ।

पहिलो– साझा विवेकशिल पार्टीबाटै उठेका भए ।

दोस्रो– साझा विवेकशिल छाडिसकेको अवस्थामा स्वतन्त्र उठेका भए ।

तेस्रो – राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उठेको भए ।

यी तीन वटा अवस्थामा रवीन्द्र मिश्रको सहज जित हुने आंकलन गर्ने ती अधिकारीका अनुसार मुख्य विषय मार्ग परिवर्तनसँग जोडिएको छ । स्वयं मिश्रले वैकल्पिक शक्तिको खोजीमा रहेकाहरुको मत नबाँडियोस् भनी अपिल गरेका थिए ।

उनी आफैं वैकल्पिक राजनीति गर्ने भन्दै गठित साझा विवेकशील छाडेर हिँडेका कारण त्यो अपिलले काम गरेको देखिँदैन । उनले मार्ग परिवर्तन नगरेको पुकार बम यस क्षेत्रबाट उम्मेदवार नै हुँदैनथे । पुकार बम र मिश्रले पाएको मत हेर्दा यो तर्कमा आधार देखिन्छ ।

नयाँ दल र नयाँ अनुहार खोज्ने मतदाताहरु विभाजित हुँदाको प्रत्यक्ष फाइदा सिंहले लिन प्रयास गरेका छन् । तर, उनले सत्ता गठबन्धन र आफ्नै पार्टीको मत समेत पुरापुर पाउन सकेको देखिन्न । अर्कोतर्फ, सत्ता गठबन्धनमा रहेका दलहरु र कांग्रेसभित्रकै असन्तुष्ट मतदाताको भोट मिश्र एक्लैले पाउन सकेका छैनन् । तथापि, मिश्रले सामान्य अग्रता लिइरहेका छन् ।

मतगणना स्थलमा भेटिएका एमालेका एक कार्यकर्ता भन्छन्, ‘एमाले जितका लागि प्रयासरत नै छ । तर, अग्रताको सन्दर्भमा सुरुदेखि सिंह र मिश्र मतान्तरले लुकामारी गरे जस्तो छ ।’

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?