+
+
विष्णु सापकोटासँग अन्तर्वार्ता :

‘चन्द्रसूर्य रहुन्जेल कांग्रेस, एमाले र माओवादी मात्रै रहनुपर्छ भन्ने के छ र ?’

‘अब नयाँ भनिएका कतिपयका इतिहास विभाजित होलान् । सबैभन्दा इन्ट्रेस्टिङ के हो भने खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी त यत्ति र्‍यापिड स्पिडमा बनेको छ कि म कहिलेकाहीं सोच्छु उहाँहरूको त एक ठाउँमा आएर राजनीतिक भिजन छैन । कतिपय पहिला विवेकशील आन्दोलनमा भएकाहरू हुनुहुन्छ होला कतिपय भर्खरै नयाँहरू हुनुहुन्छ होला । त्यहाँभित्र पनि एकदमै विविधता हुन सक्ला जुन राम्रो हो ।’

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ मंसिर ७ गते ११:५२

काठमाडौं । विष्णु सापकोटाले गत जेठको दोस्रो सातामा यो मंसिरमा बिदाइ गर्नैपर्नेहरु भनेर एउटा लामो लेख लेखेका थिए ।

त्यसमा उनले भनेका थिए, ‘स्थानीय निर्वाचनमा, खासगरी काठमाडौंका मतदाताले जसरी मैं हुँ भन्ने कांग्रेस र एमालेलाई ‘धूलो चटाए’, त्यो हेर्दा जनता आगामी संसदीय निर्वाचनका लागि पनि यस्तै ‘सरप्राइज’ दिन तयार पो छन् कि भनी आशा गर्ने ठाउँ देखिएको छ ।’

उनले भने झैं जनताले सरप्राइज दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लगायत विभिन्न स्वतन्त्र उम्मेदवारको  जबर्जस्त उपस्थिति यो चुनावको नयाँ घटना हो । सापकोटासँग नयाँ जनादेशका विभिन्न आयामबारे अनलाइनखबरका बसन्त बस्नेतले लामो कुराकानी गरेका छन् । यसलाई भिडियोमा समेत हेर्न सकिन्छ ।

यो चुनावमा खसेका मतको प्रवृत्तिलाई कसरी हेर्नुभएको छ ?

परिणामले म एकदम उत्साहित छु । मूलधार भनिने दलहरुप्रति आम वितृष्णा छ भनिराखिएको थियो । प्रमाणस्वरुप उनीहरूमध्ये धेरैलाई अनुमोदन नगरेको देखियो । त्यो एकदमै सकारात्मक छ । त्यो सँगसँगै नयाँ भर्खर खोलिएको स्वतन्त्र पार्टीको जो ट्रेन्ड देखिएको छ र दलभित्रको पनि जो नयाँ उम्मेदवार छन् पुरानाको सट्टा त्यो हेर्दा जनताले खोजेको एउटा अभिमत त्यतातिर गएको छ । त्यो घानमा कतिपय नहारे हुने भन्ने खालका पनि हारेका होलान् । त्यो चाहिं व्यक्तिगत रुपमा मूल्यांकन गर्दा पछिको परिदृश्यले बताउला । अहिलेसम्म हेर्दा मलाई चुनावमा जाने सन्दर्भमा धेरैमा उत्साह थिएन । तिनै दल, तिनै नेता भन्ने थियो । ६१ प्रतिशत मात्रै मत खस्यो । त्यो पनि त्यत्ति धेरै सकारात्मक थिएन । त्यो नै एउटा सन्देश थियो । जति कम खस्यो, अहिले जुन परिणाम आइरहेको छ त्यसले यसलाई विश्लेषण गर्ने र हाउ टु मेक सेन्स चरणको प्रारम्भिक देखिएको छ । मलाई लाग्छ हामी रोचक विन्दुमा छौं ।

माओवादीले कसलाई धोका दियो भने जसलाई प्रतिनिधित्व गर्दै आएको थियो तिनै वर्गलाई । अर्को सत्ता मात्रै हेर्न थाल्यो, जोसँग पनि मिल्न थाल्यो भन्ने जुन थियो नि त, त्यो हिसाबमा हेर्दा जसको प्रतिनिधित्व गर्छु भनेको वर्ग र समुदाय थियो उसले पनि पत्याउन छोड्यो । त्यो विश्वास गुमाएको रहेछ ।

पाँच महिनाअघि खुलेको दलले पाएको भोट रोचक देखियो होइन त ?

यसलाई जसरी प्रारम्भिक नतिजाहरू छन् त्यसलाई मूल्यांकन गर्ने कुरा पनि प्रारम्भिक नै भनौं न । चुनावका त्यो परिणामहरूले हामीलाई पनि उत्साही गराएको हुनसक्छ । यसलाई कुलिङ पिरियड भनौं । पछि अर्को होला । मलाई के लाग्छ भने नयाँ परिवर्तन खोजेको भन्ने त अब भई नै हाल्यो । त्यसमा धेरै टीकाटिप्पणी भइनै सकेको छ । मैले यो राष्ट्रिय स्वतन्त्र पार्टीका जसले जे गरेको भनौं न अहिले प्रारम्भिक नतिजा आइरहेको छ त्यो हेर्दा के लाग्छ भने यी पुराना अकर्मण्य, अयोग्य, भ्रष्ट गइदिउन् भन्ने जुन कामना थियो नि त्यसबाट परिवर्तन खोजेको त प्रष्ट नै भयो । सँगसँगै के पनि देखियो भने; जनतालाई यति धेरै परिवर्तनको छटपटी रहेछ कि, अथवा यी पुरानालाई पाखा लगाउने उत्कट चाहना रहेछ कि, नयाँ आएका को हुन् भन्ने पनि थाहा नपाइकन भोट दिए जस्तो छ । कतिपय ठाउँमा उम्मेदवार को हो, उसको पृष्ठभूमि के हो केही पनि थाहा छैन तर पुरानामध्येको होइन उसलाई दिन्छु भनेर मात्रै पनि दिएको जस्तो छ ।

विकल्प चाहिं जसरी पनि आउनुपर्‍यो भन्नेतर्फ जनमत गएको हो ?

हो । अझ भनौं– यो राष्ट्रिय स्वतन्त्र पार्टीको जुन हैसियत बन्छ, त्यसपछि उसले कस्तो भूमिका खेल्छ, व्यक्तिहरू कस्ता छन् यो समाजका धेरैले त चिन्नै बाँकी छ । किनभने राजनीतिमा पहिलो पटक आएका हुन् । यो भनेर, राम्रा होलान् नराम्रा होलान् केही भनिनँ । उनीहरूको परीक्षण त अब आएपछि मात्रै सुरु हुनेभयो । तर जनताले यिनीहरू नयाँ हुन् त्यसकारण चाहिं केही होला भन्ने देखियो । उनीहरूको कुनै बायोडाटा, पृष्ठभूमि, योग्यता पनि धेरै नखोजेको जस्तो देखियो । नयाँ छ भने केही गर्ला कि भन्ने देखियो । मलाई लाग्छ, हेर्नुपर्ने सन्देश त्यहाँ छ ।

उनीहरूको योग्यता नै ‘नयाँ’ हुनुमा देखियो ?

त्यो देखियो । यो त स्वतन्त्र मात्रै नभएर अरू पनि, जस्तै मधेशका उपेन्द्र यादवमाथि सिके राउतले दोब्बरले अग्रता लिइराखेको स्थिति छ र जनमत पार्टीका अरू पनि । त्यो हेर्दा र कांग्रेस एमालेका अरू पनि उम्मेदवार नयाँ छन् भने त्यहाँ अलिकति आकर्षण देखिन्छ । पुरानै परम्परागत भेट्रान, पटक–पटक मन्त्री, उप–प्रधानमन्त्री, पार्टीको वरिष्ठ पदमा पुगेको कारण जनताले अपील गरेको छैन । मलाई लाग्छ एउटा ठूलो पाठ चाहिं पुराना दलहरूलाई हो । राजनीति भनेको त समाजमा केही गर्छु भनेर आउने हो, जनताको विश्वास लिने हो । जनताबाट इज्जत लिने हो । ठूलो सबक के चाहिं भयो भने हामी एकदम वरिष्ठ हौं, शीर्ष नेता हौं, जनताले हामीलाई मान्छन् भन्ने कुरा गलत हो भन्ने भयो । अनुहार समाजमा चिनिएको छ भनेर इज्जत भएन । चिनिनु र इज्जत गरिनु अर्को कुरा । जति बढी चिनिएको छ त्यति कम इज्जत गरिएको छ । यो परिणाम आइरहँदा त धेरै बोलेका छैनन् । तर अब यी ठूला दल, शीर्ष नेताहरूलाई हराउनुपर्छ भनेर कुरा उठ्दा हामीलाई ह्युमिलियट गर्ने, बेइज्जत गर्ने भन्ने खालको टिप्पणी गर्थे नि ! त्यो त तिनीहरूले डिजर्भ गर्ने रहेछन् नि त !

तपार्इंले मंसिरमा हराउनुपर्ने नेताहरू भनेर शीर्ष नेताहरूको नाम लिंदै स्तम्भ लेख्नुभएको थियो; ती त सबैजसो सुरक्षित देखिए होइन ?

तपाईंले उठाउनुभएको कुरा मलाई पनि एकदम इन्ट्रेस्टिङ लागिरहेको छ । यो लगभग राष्ट्रव्यापी जुन खालको लहर देखियो, त्यो एउटा नयाँ पार्टीको मात्रै होइन कि नयाँ उम्मेदवारको पक्षमा त्यसलाई सामान्यीकरण गरेर भन्ने हो भने लहरै भन्न सकिन्छ । त्यो खासगरी तीन वटा शेरबहादुर देउवा, ओली र प्रचण्डको क्षेत्रमा पुग्नुपर्ने लहर पुग्नुपर्ने मात्रै होइन यथेष्ट रूपमा पुगेन । मलाई त्यो व्यक्तिगत रूपमा दुःख लागेको छ । मंसिरमा बिदाइ गर्नुपर्ने त्यहाँबाट हो । सकारात्मक के हो भने त्यसपछिका धेरै बिदाइ हुने लाइनमा गए त्यो सुखद कुरा हो । यिनीहरू पनि निर्वाचित भए भने त्यो अनुमोदन वैधता भनेको धेरै कुरा हो नि ।

मलाई लाग्छ यी तीन नेताहरूको नैतिक शक्ति मज्जाले घट्नेछ । तर त्यहाँसम्म पुगेन त्यो दुखद् कुरा हो । त्यस पछाडिका धेरै कारण होलान् । तर समय सक्कियो भन्ने सन्देश त अहिले आयो । यो सांसदमा अन्तिम कार्यकाल हो । अहिले जस्तै नेपाली कांग्रेसमा मानिलिऊँ हाईपोथेटिकल होला शेरबहादुर देउवाको सट्टा अरू सभापति भएको भए धेरै राम्रो गर्ने रहेछ भन्ने देखियो । तर कांग्रेसमा जुन संकेत देखियो नि त्यसभन्दा मुनिको जानै पर्नेहरू जाने भए । जानेहरू पाँच भयो भन्ने उदाहरण वरिष्ठ पदाधिकारी मुनिका बढार्नुपर्ने धेरै हो के !

भनेपछि अहिले जे ट्रेन्ड देखिरहेको छ त्यो पार्टीहरूले आन्तरिक रूपमा पारदर्शी लोकतन्त्र बनाउन खोजेको भएदेखि यो मत अन्यत्र जाने थिएन । उनीहरूले विकल्पविहीन बनाएर मत भड्किएको हो ?

एकदमै हो । यो यिनै पुरानामध्येका ठूला दलहरूले जनतालाई टेकन फर ग्रान्टेड लिए । भनेको जे गरे पनि हामी नै हौं । अनि हाम्रो संविधानले बनाएको हाम्रो संरचना यस्तो छ कि प्रत्यक्षमा र समानुपातिक हुँदा एउटा दलले एक्लै बहुमत हुन नसक्ने देखिन्छ– अहिलेका जस्तो हाम्रा दलहरू छन् ।

जहिल्यै पनि यिनीहरू रहिराख्ने, दश सिट तल–माथि भए पनि । सजिलै लिन्थे । मलाई लाग्छ राम्रो दह्रो फेरिनै पर्ने । यिनीहरू फेरिनै पर्ने भन्ने पनि छैन । यिनीहरू नफेरिए नयाँ दल आउँछन् । यो देशमा चन्द्र–सूर्य रहुन्जेल कांग्रेस र एमाले, माओवादीमात्रै रहनुपर्छ भन्ने के छ र ! देशलाई राम्रो दल चाहिएको न हो !

जनताले दलहरूलाई ढुंगा फाले ?

मज्जाले फाले । अब यिनै दल पुरानो हुनु त समस्या होइन नि ! दलमा नेतृत्व नआउने, कार्यक्रम नयाँ नआउने, क्षमता नयाँ नआउने भएन भनेर न पुरानो दलप्रतिको वितृष्णा हो । दल स्वयं त एउटा माध्यम न हो ।

सत्ता गठबन्धनविरुद्ध साना दलसँग केही ठाउँमा तालमेल बाहेक एमाले एक्लै थियो । एमालेको अग्रतालाई कसरी लिइरहनुभएको छ ?

मेरो पहिलाको अनुमानमा एमालेले जति ल्याउँछ भन्ने लागेको थियो त्यो भन्दा राम्रै ल्याइरहेको छ अहिलेसम्म, तर अहिले पदाधिकारीमध्ये हामीले कुराकानी गरेको समयसम्म हेर्दा हेभिवेटहरू बढारिने देखिन्छ । त्यो भनेको अध्यक्ष केपी ओली एकजनाले जितेर त्यो प्राविधिक रूपमा त जितेकै हुन्छ । तर उहाँले बनाएका पदाधिकारीहरू कति अलोकप्रिय रहेछन् र टिम कस्तो छ भन्ने कुराले त्यो नेतृत्व फेरिनुपर्छ भन्ने प्रष्ट सन्देश हो । यी शीर्षमा बसेकालाई तिमीहरू बढी भयौं, तिमीहरू पहिला नै गइसक्नुपर्ने थियो भनेको हो । जो रहे त्यसलाई अब भन्दा राजनीतिक अपवादको रूपमा भनौं न !

एमालेको समग्र स्थिति चाहिं यसपटक कस्तो हो ?

मैले अघि एमालेले जति गर्ला भनें त्योभन्दा ठिकै गरेको जस्तो देखिन्छ । त्यो मेरो मूल्यांकन हो । तर केपी ओलीले चुनावका लागि गरेको भाषण मात्रै होइन कि उहाँका नेताहरूसँग गरिएको कतिपय कुराकानीमा हाम्रो केपी ओली, करिश्मा, प्राधिकार, राजनेता विभिन्न हिसाबले फुटेर केही हुँदैन ! हामी ठूलो हुन्छौं भन्ने देखिन्थ्यो । त्यो वास्तविक थिएन । त्यो अहिलेको चुनावले पनि देखाइदियो । त्यो सग्लो एमाले, माओवादीसँग ल्याएको भए पनि त्यो पार्टीलाई खियाउँदै खियाउँदै, टुक्रिंदै अहिलेको जुन साइजमा पुग्छ मलाई लाग्छ त्यो त्यहाँभित्र केपी ओलीले गरेका नराम्रा कामहरूको विरुद्ध प्रश्नै उठाउन नसक्ने स्थिति थियो नि त ! प्रश्न उठाउनेहरूलाई त उहाँले कारबाही गरेर बाहिर पठाउनुभएको थियो । यो चुनावी परिणामले अहिलेकै मध्येबाट पनि प्रश्न उठ्न थाल्छ होला !

माओवादीको कस्तो अवस्था देख्नुहुन्छ ?

निकट इतिहासको स्थानीय निर्वाचनबाट माओवादी हौसिएको थियो । २०७४ मा त अब सकेनौं भनेर भन्न अब नेपालको ७० वर्ष पुरानो बाम एकता जे जे भने पनि आलोचनात्मक रूपमा हेर्नेले त्यो लाग्दैनथ्यो । तर जे होस् भने । त्यो प्राकृतिक हिसाबले के थियो भने दुवै कम्युनिस्ट पार्टी थिए । त्यो तालमेलले राम्रो परिणाम दियो । नभए २०७४ मा माओवादी एकातिर टाँसिनै पर्ने थियो । ऊ त टाँसिनुपर्ने थियो कि २०७४ अघि कांग्रेससँग टाँसिएकै थियो र हौसियो गएको स्थानीय निर्वाचनको मत परिणामले । अहिले उसले अपेक्षा धेरै नै गरेको थियो । हुन त धेरै ठाउँको मतगणना सुरु हुन बाँकी नै छ । अहिले नै यस्तो भयो भन्न मिल्दैन । मलाई लाग्छ उसको हैसियत झन् खस्कने देखियो ।

अहिले सरकारमै रहेका माओवादीका नेताले पनि काठमाडौंमा राम्रो गर्न सकेनन्, होइन ?

यसको कारण चाहिं जनताले हिसाब त यसरी राख्ने देखियो नि ! त्यो एकदमै सम्मानयोग्य हो । मैले कुन हिसाबले भने माओवादी विद्रोहलाई हेरिने राजनीतिक दृष्टिकोणमा नेपाली विभाजित थियो । त्यो भइनै हाल्यो । कुनै पनि देशको विद्रोही शक्तिलाई सर्वस्वीकार्य रूपमा हेरिंदैन । उसले जसलाई प्रतिनिधित्व गथ्र्यो उसलाई धोका दियो भनेको त तिनीहरूलाई हो नि ! देशमा गणतन्त्र आयो, माओवादी युद्ध, जनआन्दोलन यी सबै आयो त्यो यथार्थ हो । त्यो इतिहासलाई नै स्वीकार्न नचाहने पनि थिए । त्यो राजनीतिक दृष्टिकोणको कमजोरी हो ।

माओवादीले कसलाई धोका दियो भने जसलाई प्रतिनिधित्व गर्दै आएको थियो तिनै वर्गलाई । अर्को सत्ता मात्रै हेर्न थाल्यो, जोसँग पनि मिल्न थाल्यो भन्ने जुन थियो नि त, त्यो हिसाबमा हेर्दा जसको प्रतिनिधित्व गर्छु भनेको वर्ग र समुदाय थियो उसले पनि पत्याउन छोड्यो । त्यो विश्वास गुमाएको रहेछ । अर्को उसको आफ्नै पनि आत्मविश्वास नभएको देखियो । यसरी तीव्र पतन भयो आफूले प्रतिनिधित्व गर्ने कुरामा । सँगसँगै उसले युद्ध लडेर त आयो, विद्रोही भएर त आयो तर शासन सत्तामा गएपछि ठिक छ उसमा शासनसत्ता चलाउने कौशल भएन तर यति छिट्टै ओरालो लाग्यो त्यो क्षमता बढाउनेतिर पनि ऊ गएन ।

त्यो माओवादीभित्र पनि प्रचण्डकै नेतृत्व अरूमा क्षमतामा नपुगे पनि अरु पनि आएन । विद्रोहकै संरचनामा खुला भएपछि पनि निरन्तर गयो । मलाई लाग्छ त्यो पार्टीभित्र पनि नयाँ नेतृत्व क्षमता आउने भएन । धेरै होलान कारण तर उसले जसलाई प्रतिनिधित्व गर्ने हो उसको पनि विश्वास लिन सकेन ।

मधेश आन्दोलनबाट उदाएका नेता पनि यसपल्ट पछि देखिनुभयो होइन ?

मधेशका दलहरूले मधेशको जुन मुद्दा थियो त्यसलाई लिएर हिंड्न नसकेकै हो । उहाँहरूको क्षमता नपुगेकै हो । त्यहाँ कति गल्ती छन् त्यो अलग कुरा हो । मधेशका मुद्दालाई राजनीतिक हिसाबले सिम्पेथेटिकल्ली सबैले हेर्नुपर्छ भन्ने लाइनको हो । त्योभन्दा पनि उहाँहरूले आफ्नै कन्स्टिटेन्सीलाई धोका दिएको हो र त्यस हिसाबमा राजनीतिक रूपमा उहाँहरूको पतन भएको हो । तर रोचक भनौं दुखद हुनसक्ला मधेश आन्दोलनको परिप्रेक्ष्यमा हेर्दा । नयाँ संविधान आउँदा उहाँहरूको प्रतिक्रिया जोगाउन सक्नुभएन ।

मधेशका जनताको हिसाबमा हेर्दा मलाई यो निकै ठूलो विडम्बना हुन सक्छ कि उनीहरूको भ्वोइस जसरी आइदियोस् उनीहरूको प्रतिनिधित्व गरिपाउँ भनेर अपेक्षा गरेको त्यो गरिदिने कोही भएन । अब यिनीहरूबाट त हुँदै भएन । एउटा चुनावबाट जाँदा मधेशको दुश्मन केपी ओली हो भन्दै जाने अर्को चुनाव नआउँदै हाम्रो मित्र उनी हुन् भन्दै जाने अथवा अर्को पार्टीसँग नि त्यसै आफू आफू गर्दै जाने, मिल्ने, जुट्ने राजनीतिक कारण नभई सत्ता मात्र कारण भएको जुन देखियो त्यस हिसाबमा मधेशी जनताको लागि विडम्बना हो । जुन मधेश विखण्डनबाट सुरुवात गरेको सिके राउतको छ यस हिसाबले सोच्दा म चाहिं चुनावी मत परिणाम आउँदा कतिपय साथीहरू उत्साहित भएर रमाइलो लागेको कुराहरू गर्दा यी पुरानाहरूले हारे ठिक परे भन्ने छ । तर त्यसो भन्दै गर्दा के भन्न चाहिं छुटाउन हुन्न भने नयाँ आए ठिक छ तर नयाँहरू ठिक छन् भन्ने त हामीले देखेकै छैनौं नि ! परीक्षण हुनै बाँकी छन् । हुन त अहिले हामीले गरेको भनेको मत परिणामको कुरा हो ।

जबदेखि यी चुनाव जितेका नेताहरूले पहिल्यैदेखि सुन्दै आएको कुरा गर्छन् नि त्यहीदेखि यिनीहरूप्रति जनताको वितृष्णा जाग्दै आउँछ । नयाँ आएका उम्मेदवारले कस्तो भूमिका खेल्छन् अब सबैको परीक्षण फेरि सुरु हुन्छ ।

यसभन्दा पहिले आएका पार्टीहरु आफ्नो विचारधाराको प्रष्ट चिनारी दिंदै आए । तर अहिलेका पार्टीहरूको चिनारी के हो भन्ने प्रष्ट आइसकेको छैन हैन ?

छैन । राष्ट्रिय स्वतन्त्र पार्टीकै एउटा सानो मूल्यांकन गरौं न । जस्तो प्रदेशमा उहाँहरूले उम्मेदवार नै उठाउनुभएन । भन्नको लागि हाम्रो तयारी पुगेन भनेर के के भन्नुभयो । तर उहाँहरूलाई चाहिं संघीयता मन परेको छैन । यदि उहाँहरूले दह्रो आफ्नो स्टेटमेन्टमै हो भने एउटा विषय हो । उहाँहरू तेस्रो, चौथो कुन हैसियतको पार्टी बन्नुहुन्छ । त्यसपछि उहाँहरूले यो नयाँ संविधानलाई हेर्ने दृष्टिकोण भनेको नै के हो संघीयता, धर्मनिरपेक्षता, प्रतिनिधित्व, सामाजिक न्यायका कुराहरू ।

यी विषय किन पेचिला छन् भने टुंगिसकेको विषय भन्छन् कतिले । संविधानमा लिपिवद्ध भएर टुंगिएका हुन् । तर तिनलाई लागू गर्नलाई अहिलेकै नेतृत्व अथवा २०७२ पछाडिकै पनि इमानदार छैनन् नि ! भनेको यी नयाँ आउनेहरूको मूल अडान के हो ? आफूले राम्रो अडान लिने भएनन् र आफूलाई परिभाषित गर्न सकेनन् जनतालाई अपील गर्न सकेनन् भने एक पटक मात्रै हो । त्यसकारण पुराना बिदा भए एकदमै राम्रो तर यी नयाँ आउने वित्तिकै उनीहरूले एकदमै राम्रो गर्छन् भनेर भन्न सकिंदैन ।

कतिपय कुराहरूमा हाम्रा विमति होलान्, हामी संविधान अनुसार नै आउँछौं भनेर रवीन्द्र मिश्र सुरुमा आउनुभएको थियो । तर पछि गएर उहाँले ती सबै मूल्यमान्यतामा नै प्रश्न उठाइदिनुभयो । त्यस्तै यो राष्ट्रिय पार्टीले पनि प्रश्न नउठाउला भन्ने के आधार भन्न खोज्नुभएको हो ?

त्यो आशंका हो । कतिपयलाई अहिले यो अप्रिय पनि लाग्न सक्ला । तर हामीहरू राजनीतिलाई हेर्ने, लेख्ने, बोल्नेहरूले देखेको कुरा बोल्न डराउनुहुँदैन । किनभने निर्वाचित हुनु पनि पर्दैन । नेपालको परिवर्तनको मार्ग छ यो संविधान प्रोमिस छ समावेशी छ । त्यो भनेको राज्यको चरित्र फेर्ने भनेको हो नि त ! २०४७ सालदेखि सुुरु भएको कुरा त्यसको जगमा अरु अरु भए त्यो हिसाबमा हेर्दा यसलाई उल्टाउन खोज्छु भनेर आउँछ भने त्यस्ता पाएकामा म उत्साहित छैन । अहिले हार्न पर्ने हारेकोमा म खुशी छु तर आएकाहरूले के गर्छन् तिनीहरूको मूल्यांकन पहिला दिनदेखि भइहाल्छ । नयाँ हो भनेर तिनीहरू असल हो भनेर म भन्नेवाला छैन ।

योभन्दा अगाडिको चुनावमा सुशासन भन्ने विषय प्राथमिकतामा परेन । राजनीतिक एजेन्डाहरू चर्चामा आए त्यसैको आधारमा मतदाताहरूले मूल्यांकन गर्ने अवस्था बन्यो । यो वर्ष सुशासन, भ्रष्टाचार मुक्त बनाउने भन्ने एजेन्डा ल्याएकालाई जति भोट आयो यसलाई कसरी हेर्नुभएको छ ?

सुशासन, भ्रष्टाचारमुक्त बनाउने भन्ने एजेन्डा भएकालाई आएको भोट एकदम ठीक छ । यी शब्द प्राविधिक जस्ता पनि सुनिन्छन् । खास त राजनीतिक दृष्टिकोण हुनुपर्‍यो । सुशासन क्षमता त्यहीभित्र पर्नुपर्ने हो । जब दलहरूको दृष्टिकोण हुँदैन अनि त्यसपछि प्राविधिक कुराहरूले पनि अपील गर्दोरहेछ । त्यतिसम्म ठिक छ । तर के हो भने सुशासन ल्याउँछु भनेकाहरू कसरी प्रस्तुत हुन्छन् एक त संसदमा आउने भए । संसदमा कसरी प्रतिनिधित्व गर्छन्, कुन मुद्दा कसरी मुखरित गर्छन् भन्ने कुरा । यो त संसद न हो प्रदेशको कुरा संसदमा आउने कतिपयको छैन । जस्तो जनमत पार्टीको छ राष्ट्रिय स्वतन्त्र पार्टीको छैन । उहाँहरू सत्तामा कसरी सहभागी हुनुहुन्छ त्यो हेर्न बाँकी छ ।

अब नयाँ भनिएका कतिपयका इतिहास विभाजित होलान् । सबैभन्दा इन्ट्रेस्टिङ के हो भने खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी त यत्ति र्‍यापिड स्पिडमा बनेको छ कि म कहिलेकाहीं सोच्छु उहाँहरूको त एक ठाउँमा आएर राजनीतिक भिजन छैन । कतिपय पहिला विवेकशील आन्दोलनमा भएकाहरू हुनुहुन्छ होला कतिपय भर्खरै नयाँहरू हुनुहुन्छ होला । त्यहाँभित्र पनि एकदमै विविधता हुन सक्ला जुन राम्रो हो । तर त्यो विविधताको बीच पनि एउटा सामूहिक मूल दृष्टिकोण, त्यो पहिल्याउनुपर्‍यो । त्यो पहिल्याएपछि उहाँहरू आफूले गर्ने प्रभाव वा यो देशको लागि हस्तक्षेपको लागि अलायन्स हुनुपर्छ एक्लैले सक्दैन भने ।

नजिक कोसँग हो, कतापट्टि हो । मलाई लाग्छ अब इन्ट्रेस्टिङ हो । त्यो एक हिसाबले यसलाई शुद्ध राजनीतिक विश्लेषण वा प्राज्ञिक रूपले हेर्दा इन्ट्रेस्ट्रिङ हुन्छ । अब नेपालले जे आशा गरेको त्यो जनताको बेचैनीले गर्दा उहाँहरूलाई छनोट गरेको छ त्यो प्रमिसलाई कायम राख्न के गर्नुहुन्छ, डेलिभर गर्नुहुन्छ उहाँहरू जुन हैसियतमा हुनुहुन्छ भन्ने हेर्न डे वानदेखि सुरु हुन्छ ।

सरकार कस्तो बन्ला ? अहिले नम्बर त थाहा हुँदैन तर अहिलेको अवस्था हेर्दा मोटामोटी एउटा पिक्चर आउन थाल्यो । आगामी संसद कस्तो होला ?

सरकारको विषयमा अहिलेको राजनीतिक नेतृत्व होइन कि विगत १५ वर्ष भएकासँग उनीहरूलाई अवलोकन गर्ने मात्रै होइन कि कतिपयसँग सँगसँगै काम पनि गरेको हिसाबमा मैले जति चिनेको छु यो सत्ताको लागि यिनीहरू जो जो सँग पनि जान सक्छन् । सरदर के चाहिं एस्पेक्ट गरिएको छ भने यिनीहरू जति भ्रष्टीकरण भए पनि पहिलो पटक नयाँ निर्वाचन भएपछि सबैभन्दा ठूलो दलले नै सरकार बनाएको छ । त्यो अब २०५१ सालमै मध्यावधि पछि एमालेले ८८ सिट ल्यायो, कांग्रेसले ८२ सिट ल्यायो यद्यपि गिरिजाप्रसाद कोइरालाले राप्रपासँग बनेको पहिलो सरकार त बनाउन मिल्थ्यो नि ! तर पनि एमालेलाई दिएको नौ महिनाको सरकार बन्यो नि ! त्यसपछि २०६४ सालमा माओवादीको बहुमत पुग्दैनथ्यो एक्लै यद्यपि ऊ सबैभन्दा ठूलो पार्टी बन्यो । पछि २०७० मा सुशील कोइरालाको नेतृत्वमा कांग्रेस ठूलो पार्टी थियो तर बहुमत थिएन ।

अब यो आगामी पाँच वर्षको संसदमा कतिवटा सरकार बन्ने हुन् त्यो त हेर्नैपर्छ फेरि आलोपालो गठबन्धनको नियति देखिन्छ । यी दलभित्रका पछिल्लो पुस्ताको नेताले कति हस्तक्षेप गर्छन् भन्ने कुरा हेर्नै बाँकी छ । यसमा एमालेका पदाधिकारीमध्ये जति बढारिएका छन्, कांग्रेसमा पनि बढारिनुपर्ने हो, तर त्यस्तो नहोला जस्तो देखिएको छ ।

शेरबहादुर देउवा एक्लो हुने हो भने अरू धेरै पनि एक्लै हुन्छन् । उनका आसेपासे जो अहिले पदमा पुगेका छन् ती सबै घरमै बस्दा हुन्छ । शेरबहादुर भन्दा अरू धेरै राम्रो छन् भन्ने यिनीहरूलाई राम्रोसँग थाहा छ तर यिनीहरूको आफ्नो करियर छैन नि त ! किनभने लोकतन्त्र भनेको त यिनीहरूको लागि करियर हो । देउवा वा केपी ओली फेरि पनि प्रधानमन्त्री कुनै पनि उत्साहजनक कुरा होइन ।

जबदेखि यी चुनाव जितेका नेताहरूले पहिल्यैदेखि सुन्दै आएको कुरा गर्छन् नि त्यहीदेखि यिनीहरूप्रति जनताको वितृष्णा जाग्दै आउँछ । नयाँ आएका उम्मेदवारले कस्तो भूमिका खेल्छन् अब सबैको परीक्षण फेरि सुरु हुन्छ ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

भिडियो सम्पादन : शंकर गिरी

लेखकको बारेमा
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?