+
+

रामचन्द्र पौडेलले जितेको राजनीति

सइन्द्र राई र सविन लामिछाने सइन्द्र राई र सविन लामिछाने
२०७९ मंसिर ८ गते १३:३०

८ मंसिर, काठमाडौं । परिचित प्रतिद्वन्द्वी पार्टी नेकपा एमालेका उम्मेदवारलाई हराउँदै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, तनहुँ–१ बाट निर्वाचित भएका छन् ।

पौडेलले एमालेका एकबहादुर रानालाई झण्डै ६ हजार मतान्तरले हराएका छन् । पौडेलले २५ हजार ३१८ मत ल्याएर जित्दा राना १९ हजार ९४३ मतमा सीमित भए । कांग्रेसकै पुराना नेता गोविन्दराज जोशीले स्वतन्त्र उम्मेदवार बनेर ६ हजार ८७८ मत पाए ।

यो जितसँगै छैटौंपटक निर्वाचित हुने थोरै नेताको संख्यामा पौडेल परेका छन् । पौडेल भन्दा धेरै जित्नेमा कांग्रेसकै सभापति शेरबहादुर देउवा (सातौं पटक) छन् । ०४८ यताका सबै चुनाव जितेर देउवा चाहिँ कीर्तिमानी नेता बनिसकेका छन् । पौडेलले भने अघिल्लो चुनाव हारेकाले देउवासँग पछि परे । तत्कालीन एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) सँगको त्यो हारले पौडेलको संसदीय यात्रामा मात्रै नभएर राजनीतिक करिअरकै ठूलो क्षति थियो ।

त्यसबेला संस्थापन इतर समूहको नेतृत्व गरिरहेका पौडेलले आफूसँगै तनहुँमा कोही कांग्रेसलाई जिताउन सकेनन् । त्यसको असर बितेको संसदीय कार्यकालभर (०७४–०७९) पौडेलले खेप्नुपर्‍यो । जबकी ७८ वर्षीय पौडेलका निम्ति उमेरकै कारणले पनि यो कार्यकाल बढी अर्थपूर्ण थियो । तर पहिलोपटक सांसद बन्नबाट पौडेल रोकिँदा कांग्रेसले सरकारकै नेतृत्व गर्ने अवसर पाउँदा पनि देउवा पाँचौंपटक प्रधानमन्त्री भए ।

फेरि लयमा

रामचन्द्र पौडेलको राजनीति लगातार ओरालो लाग्न थालेको भने आफैं कार्यबाहक सभापति भएर गराएको कांग्रेसको १३औं महाधिवेशनमा देउवासँग सभापति पदमा पराजित भएपछि हो । गएको वर्ष मंसिर अन्तिम साता सम्पन्न १४औं महाधिवेशनमा त उनी सभापतिको उम्मेदवार समेत भएनन् । आफ्नै समूहमा रहेका डा. शेखर कोइराला र प्रकाशमान सिंहले दाबी नछोडेपछि पौडेल सभापतिको उम्मेदवार नै भएनन् । जबकी त्यसैबेला पनि मुलुकको राजनीतिक कोर्स र पार्टी यात्रा पौडेलकै लाइनमा बढिरहेको थियो । चुनाव हारेर पनि कांग्रेसले गठबन्धन सरकारको नेतृत्व गर्ने राजनीतिक समीकरण निर्माणको वकालत गर्नेमा पौडेल अग्रपंक्तिमा थिए । देउवा भने प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको निर्णयमा खुलेर उभिएका थिए । पौडेलले भने पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग वार्तामा बसे, प्रतिनिधिसभा पुनर्स्थापित हुनुपर्ने मागसहित संघर्षमा होमिए ।

नभन्दै प्रतिनिधिसभा पुनर्स्थापना भयो । संसद पूरा कार्यकाल चल्यो । तर पुनर्स्थापित संसदमा सरकारको नेतृत्व गर्ने योग्यता ०७४ को चुनावी पराजयसँगै पौडेलले गुमाएका थिए । तथापि उनी गठबन्धनकै पक्षमा उभिए । गठबन्धन तोडिए फेरि कम्युनिष्टहरू मिलेर कांग्रेस हराउँछन् भन्ने उनको प्रष्ट निष्कर्ष थियो ।

राजनीतिक भागबण्डाका कारण गठबन्धनका दलहरुबीच खटपट हुँदा पनि पौडेल मिलाउनै पक्षमा उभिए । तर तिनै पौडेललाई तनहुँको भागबण्डा मिलाउन सजिलो थिएन । कृष्णप्रसाद सिटौलाको साथ पाएर पार्टी महामन्त्री पदको उम्मेदवार बनेका प्रदीप पौडेल प्रतिनिधिसभा टिककै सशक्त दावेदार थिए । शंकर भण्डारी र गोविन्दराज भट्टराई स्वभाविक दावेदार भए ।

पार्टी बाहिर ०७४ मा आफैंलाई हराउने कृष्णकुमार श्रेष्ठ किसानको व्यवस्थापन पनि गर्नुथियो । उम्मेदवारी दर्ता हुने अन्तिम समयमा सबै संकट हल गर्न पौडेल सफल भए । प्रदीप पौडेललाई काठमाडौं–५ र किसानलाई बारा–४ पठाउन सफल भए । शंकर भण्डारीलाई तनहुँ–२ को टिकट दिलाएर आफू तनहुँ–१ बाट उम्मेदवार बने । गोविन्दराज भट्टराईलाई मनाउन पौडेलले राष्ट्रियसभा सदस्यको टिकट र कांग्रेस कोषाध्यक्षको बचन दिए । यो बचनपछि बागी उम्मेदवारी दिने तयारीमा रहेका भट्टराई पछि हटे ।

यति गर्दा पनि पौडेलको यात्रामा अर्को अवरोध बाँकी थियो, गोविन्दराज जोशी फ्याक्टर । जोशीतर्फको मत तान्न उनी निकट चिनु पोखरेललाई पौडेलले प्रदेशसभा समानुपातिक सांसदको बाचा गरे । चिनुको नाम समानुपातिकको बन्द सूचीमा राखे । त्यसपछि भने पौडेलले जोशीलाई उम्मेदवार हुन रोकेनन् ।

भ्रष्टाचार अभियोगको सजाय खेपेका पूर्वमन्त्री जोशीको उम्मेदवारी ०७४ मा पौडेल निकट नेताहरुको निवेदनबाट खारेज भएको थियो । तर त्यसको लाभ एमालेले उठाएको बुझाइकै कारण यसपटक उनले जोशीलाई मैदानमा आउन रोकेनन् । ‘उम्मेदवारी फिर्ता गर्ने समयसम्म हामीले उजुरी गर्नेबारे सोंच राखेका थियौं, तर त्रिपक्षीय भिडन्त हुँदा फाइदा हुने भएपछि उजुरी नगर्ने निर्णयमा पुग्यौं’ कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनाल भन्छन् ।

कांग्रेसको त्यो रणनीतिक निर्णय सफल पनि भयो । जोशीले पाएको मत एमालेमा गएको भए यसपटक पनि पौडेलले जित्न नसक्ने रहेछन् । उनले आफू जित्न अरुलाई अन्यत्र पठाएको दोष पनि खेल्नु नपर्ने भएको छ । किनकि सबैले जिते । तनहुँ–२ का शंकर भण्डारी, बारा–४ गएका किसान र काठमाडौं–५ आएका प्रदीपले त जिते नै, प्रदेशसभा सदस्यमा पनि कांग्रेस उम्मेदवार हारेनन् ।

तनहुँ–१ (क) बाट प्रदेससभा सदस्यमा अशोककुमार श्रेष्ठ र तनहुँ–२ (ख) बाट जितप्रकाश श्रेष्ठले जिते । जितप्रकाश कांग्रेस जिल्ला सभापति हुन् । ०७४ मा तनहुँका सबै चुनाव हारेको कांग्रेसका सबै उम्मेदवारले यसपटक जिते । नसकेको भने सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका उम्मेदवार जिताउनु हो । ०७४ मा माओवादी केन्द्रको भागमा परेको दुई वटा प्रदेशसभा सदस्यको टिकट यसपलि पनि पाएको थियो । त्यसमध्ये एकमा एमाले विजयी भयो ।

प्रधानमन्त्रीमा दाबी गर्लान् ?

सत्ता गठबन्धनको निर्वाचन परिचालन समितिको कमाण्डर नै पौडेल भएकाले आफूसहित गठबन्धनका उम्मेदवार जिताउनु उनको दायित्व थियो । पौडेल नेतृत्वको परिचालनबाट गठबन्धनले पाएको सफलता अन्तिम मत परिणामले देखाउनेछ ।

तर चुनाव जितेर पौडेलले सरकारको नेतृत्वमा दावी गर्ने पृष्ठभूमि तयार पारेका छन् । चुनावी अभियानकै क्रममा तनहुँ पुगेर सत्ता साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पौडेलले सरकारकै नेतृत्व गर्ने संभावना रहेको सार्वजनिक मन्तव्य दिएका थिए ।

विगत हेर्दा पनि पौडेल प्रधानमन्त्रीका दावेदार मात्रै नभएर धेरैपटक निवेदन दिएर चर्चाकै पात्र बनेका थिए । ०६४ सालको पहिलो संविधानसभामै पौडेल दलका नेता बनेका थिए । सुशील कोइराला बाँकेबाट पराजित हुँदा तनहुँ–२ बाट चुनाव जितेका पौडेललाई तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले संसदीय दलका नेता बनाएका थिए । अन्तरिम सरकारका प्रधानमन्त्री गिरिजाले त्यो चुनावमा समानुपातिकमा बसे, फेरि नेतृत्वको दाबी गरेनन् ।

संविधानसभाको चुनावपछि सरकार प्रचण्डको नेतृत्वमा बन्यो । तर प्रचण्डले ९ महिनामै प्रधानमन्त्रीबाट राजीनामा दिए । प्रचण्डपछि एमालेका माधवकुमार नेपाल प्रधानमन्त्री भए । माधवको राजीनामापछि नयाँ सरकारको खोजीमा कांग्रेस दलका नेताका रुपमा रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा दाबी गरे । प्रचण्डविरुद्ध पौडेलले गरेको दाबीमा एमाले तटस्थ बस्दा प्रधानमन्त्रीका लागि बहुमत पुगेन । पौडेल १७ पटकसम्म प्रधानमन्त्रीका उम्मेदवार भए ।

०७० को चुनावमा भने सुशील कोइरालाले चुनाव जिते, गिरिजापछि पार्टी सभापति जितेका सुशील नै प्रधानमन्त्री भए । सुशीलको निधनपछि पौडेल कार्यबाहक सभापति भए । तर १३औं महाधिवेशनमा पौडेललाई हराउँदै देउवाले पार्टी सभापति जिते, दलको नेतामा प्रकाशमान सिंहलाई हराए । देउवा अहिले प्रधानमन्त्री छन् ।

अर्थात् कांग्रेसका संस्थापक नेताहरुले नै भावी नेतृत्वका रुपमा आरएसएस (रामचन्द्र, शैलेजा र शेरबहादुर) भनेर चिनाएका पौडेल कार्यबाहक भन्दा माथि जान सकेका छैनन् । जबकी २०४८ मै स्थानीय विकास तथा कृषि मन्त्री भएका पौडेलले २०५१ मा सभामुख भएर कांग्रेस र मुलुककै नेतृत्व गर्ने संकेत दिएका थिए । तर नेतृत्व दाबीमा लगातार असफल भइरहेका पौडेलसामू फेरि अनुकुल राष्ट्रिय राजनीतिक कोर्ससँगै जनमोदन समेत प्राप्त भएको छ । स्वयम् पौडेलले पनि खुलेर आफ्नो सपना सुनाउने गरेका छन् । गएको भदौमा दमौलीमा आयोजित सभाबाटै पौडेलले भनेका थिए, ‘अघिल्लो चुनावमा जहाँबाट हारें, त्यहींबाट जितेर मात्र मर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?