+

टिमुरमा मुखको क्यान्सर रोक्नसक्ने गुण हुन्छ : डा. अच्युत अधिकारी

२०७९ मंसिर  ८ गते १४:५३ २०७९ मंसिर ८ गते १४:५३
टिमुरमा मुखको क्यान्सर रोक्नसक्ने गुण हुन्छ : डा. अच्युत अधिकारी

मीठो स्वाद र बास्ना हुने टिमुर नेपाली भान्सामा मसलाको रूपमा प्रयोग हुन्छ । धेरैले यसलाई घरेलु औषधिको रूपमा पनि प्रयोग गर्छन् । टिमुरको प्रयोग अचारमा बढी हुने गर्छ । टिमुर मानव जीवनलाई चाहिने महत्त्वपूर्ण औषधीय गुण भएको प्रजाति हो । टिमुर स्वादका लागि मात्र हो वा यसमा औषधिय गुणपनि हुन्छ ? टिमुर कस्तो अवस्थामा खान सकिन्छ, कस्तो अवस्थामा हुँदैन ? यिनै विषयमा औषधियुक्त वनस्पतीको उपयोगसम्बन्धी विषयमा विद्यावारिधी गरेका त्रिभुवन विश्वविद्यालय किर्तिपुरका रशायन शास्त्रका उपप्रध्यापक डा.अच्युत अधिकारीसँग गरिएको कुराकानी

नेपालमा पाइने टिमुर कति प्रकारका छन् ? 

नेपालमा पाइने टिमुर मुख्यतया दुई प्रकारका छन्  बोके र शिल टिमुर । धेरै मात्रामा बोक टिमुर पाइन्छ । बोके टिमुरमा चार पाँच वटा प्रकार नेपालमा पाइएको छ । नेपालमा अन्य प्रकारको टिमुरहरू होला तर त्यसको अनुसन्धान भएको छैन ।

टिमुर मसला वा औषधि ?

टिमुर वास्तवमा मसला नै हो । आयुर्वेदमा भने यसलाई औषधीको रूपमा पनि प्रयोग गरेको पाइन्छ । एलोपेथीमा भने यसलाई औषधी भन्न मिल्दैन । यसलाई ‘हर्बल सप्लिमेन्ट’को रूपमा भने प्रयोग गर्न सकिन्छ । यो पूर्ण रूपमा औषधी होइन । तर, केही रोगमा सन्तुलन कायम राख्न र रोग प्रतिरोधात्मक क्षमता बढाउन यसले सहयोग गर्छ ।

टिमुरमा के कस्ता तत्त्व वा गुण हुन्छन् ?

टिमुरबाट सुगन्धित तेल निस्कन्छ र यसमा विभिन्न रासायनिक यौगिकहरू पनि हुन्छ । टिमुरमा दुखाई कम गर्ने, शरीरमा भएका नराम्रो कीटाणुलाई मार्ने र मुखको क्यान्सर रोक्ने लगायतको गुणहरू हुन्छ ।

राम्रो टिमुरको स्वाद कस्तो हुन्छ ?

राम्रो टिमुरको स्वाद हावापानी अनुसार फरक पर्न सक्छ । तर, राम्रो टिमुरको स्वाद पिरो र परपराउने खालको हुन्छ ।

टिमुरले स्वास्थ्यलाई के फाइदा गर्छ ?

टिमुरबाट निकालिएको सुगन्धित तेल दाँतमा किरा लाग्नबाट बचाउँछ । विभिन्न प्रकारको किराहरूको टोकाइबाट बच्न पनि टिमुरको तेल प्रयोग गर्न सकिन्छ । टिमुरले कलेजोको सुरक्षा गर्ने, मधुमेह र उच्च रक्तचाप नियन्त्रण गर्ने, फुड पोइजनिङ गर्ने कीटाणुलाई मार्ने , दुखाई कम गर्ने र मुखको क्यान्सरलाई रोक्ने लगायतको स्वास्थ फाइदा हुन्छ ।

टिमुर के कस्ता खानेकुरामा मिसाउन सकिन्छ ?

टिमुरलाई अचारमा, माछा, मासु, बियर, ससहरूमा,  चाउचाउको मसला आदिमा प्रयोग गर्न सकिन्छ । जुन खानेकुरामा खुर्सानीको प्रयोग गर्न सकिन्छ त्यस्ता खानेकुरामा  पिरो र स्वादको लागि टिमुर मिसाउन सकिन्छ ।

टिमुर दैनिक कति मात्रामा खानुपर्छ ?

टिमुर कति मात्रामा प्रयोग गर्ने भन्ने सबैभन्दा ठुलो समस्या हो । टिमुरको प्रयोग धेरै गर्न हुँदैन तर कति मात्रामा गर्ने त भन्ने कुराको अध्ययन भएको छैन । लामो समय देखी हामीले अचारमा लगभग ६ देखी ८ दाना टिमुर हाल्दै आएका छौ र त्यसले हाम्रो शरीरलाई नराम्रो असर गरेको छैन भनेपछि त्यो मात्रा राम्रो हो । दैनिक थोरै मात्रामा मात्र टिमुरको खानुपर्छ ।

टिमुरको कुनै साइड इफेक्ट हुन्छ वा हुँदैन ?

कुनै पनि कुरा धेरै मात्रामा प्रयोग गर्दा त्यसको साइड इफेक्ट हुन्छ । त्यस्तै टिमुरको प्रयोग पनि धेरै मात्रामा गरियो भने त्यसले कलेजोलाई असर गर्न सक्छ ।

कतिपय रोगमा टिमुर खान नहुने वा कतिपय रोगमा टिमुर औषधि हुन्छ ?

मलद्वार सम्बन्धी समस्या पायल्स, फिसर र फिस्टुला लगायतका समस्यामा टिमुर खानु हुँदैन । पेटको विकार हटाउन, हाड जोर्नी दुख्दा र लेक लाग्दा टिमुरलाई औषधीको रूपमा प्रयोग गर्न सकिन्छ ।

टिमुर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय