+
+

जब तोसिमा कार्की ‘महापुरुष’ खेल्न डराइन्

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १२ गते १७:३४

काठमाडौं । डा. तोसिमा कार्की भर्खरै सम्पन्न आम चुनावबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेकी छन् । चुनाव अघिबाटै चर्चामा रहेकी उनी पेसाले शल्य चिकित्सक समेत हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जितेकी कार्की कलाकार पनि हुन् भन्ने कुरामा भने धेरैलाई थाहा नहुन सक्छ ।

हलमा चलिरहेको हरिवंश आचार्य स्टारर ‘महापुरुष’मा तोसिमाको छोटो तर बलियो अतिथि भूमिका छ । फिल्ममै पनि उनले चिकित्सकको भूमिका निर्वाह गरेकी छन् ।

जब हरिवंशको पात्र बिरामी पर्छ तब उपचारको लागि अस्पताल लैजाँदा तोेसिमाको इन्ट्री हुन्छ । कम्तीमा एक मिनेटको चरित्र निर्वाह गरेकी कार्कीसँग ‘महापुरुष’को रमाइलो किस्सा पनि छ ।

चुनावपछि मात्र चर्चामा आएकी तोसिमालाई फिल्मभित्र धेरैले ख्याल नगर्नुको कारण महापुरुष पहिल्यै रिलिज हुनाले हो । फिल्म हेरिसकेपछि आफ्नो रोल छोटो भएको र अझै थपिदिए हुन्थ्यो भन्ने चाहना उनले निर्मातासँग राखेकी थिइन् ।

सुरुमा फिल्म खेल्न डराएकी थिइन्

तोसिमाको चिकित्सक चरित्रले फिल्मभित्र नेपालमा उत्पादित औषधि प्रयोग गर्नुपर्छ भन्ने सन्देश दिन्छ । ‘उहाँको चरित्रले विदेशीभन्दा नेपाली औषधिको प्रयोग गर्नुपर्छ भन्छ । विदेशी औषधिको मात्र प्रमोसन नगरौं भनेर उहाँको डायलग बनाइएको छ । नेपाली औषधि पनि राम्रो हुन्छ भनेर उहाँमार्फत दर्शकलाई भनेका छौं,’ तोसिमाको चरित्र चित्रणबारे निर्देशक प्रदीप भट्टराईले अनलाइनखबरसँग भने ।

फिल्म खेल्न तोसिमा सुरुमा डराएको अनुभव सुनाउँदै प्रदीपले भने, ‘उहाँ डाक्टर नै भएको कारण उहाँलाई नै कास्ट गरेका हौं । पहिलेदेखि नै साथी भएकाले पनि खेलाउन सजिलो भयो । फिल्म हेरेपछि छोटो भयो भन्दै हुनुहुन्थ्यो । हेरिसकेपछि मजा आयो भन्दै हुनुहुन्थ्यो ।’

सुगाले पनि तोसिमासँग कुरा गर्थ्यो

अर्को रोचक कुरा फिल्ममा चित्रण गरिएको सुगा पनि तोसिमाकै हो । जुन सुगालाई उनले घरमै पालिरहेकी छन् । फिल्म र सुगाबीच रमाइलो किस्सा पनि छ ।

हुन त, फिल्ममा विम्बको रुपमा सुगालाई प्रस्तुत गरिएको छ । हरिवंशको पात्र एक्लो हुँदा उनीसँग गफ गर्ने चरित्रको रुपमा सुगालाई चित्रण गरिएको छ ।

सुगा पनि हरिवंशको पात्रसँग मजाले कुरा गर्छ । ‘सुगा पनि तोसिमाजीकै हो । फिल्मको पात्रको रुपमा हामीले लिएका हौं । उड्नुपर्ने सुगालाई पिंजडामा राखेर उसको चाहनालाई बन्धक बनाएको अर्थमा फिल्ममा प्रस्तुत गरिएको छ,’ निर्देशक भट्टराई भन्छन् ।

आफूहरुले छायांकन सेटमा कलाकारलाई जस्तै सुगालाई व्यवहार गर्ने अनुभव निर्देशक भट्टराईले सुनाए । ‘बिहान-बेलुका सुटिङबाट ल्याउने लैजाने गथ्यौं । एकपटक दुई दिन सेटमै राख्यौं । यसरी राख्दा सुगा बिरामी भएजस्तो देखियो । जब तोसिमाजीसँग फोनमा कुरा गरायौं तब फ्रेस भयो,’ प्रदीपले रमाइलो किस्सा सुनाए ।

तोसिमाले यो सुगालाई माया गरेर पट्टु भन्ने गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?