
१३ मंसिर, काठमाडौं । जनमत पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड कटाएर समानुपातिकमा आफ्नो हिस्सा सुरक्षित गरेपछि प्रमुख दलहरुको समानुपातिक सिट केही घट्ने देखिएको छ ।
मंगलबार बेलुकी यो समाचार तयार पार्दासम्मको समानुपातिक मतगणना अनुसार, ९८ लाख २१ हजार सदर मत गणना भइसकेको छ । त्यसमा एमालेले २६ लाख ४६ हजार मत पाएको छ । निर्वाचन आयोगले समानुपातिकको सिट निकाल्न प्रयोग गर्ने सेन्ट लग विधिबाट हिसाब निकाल्दा एमालेले ३४ सिट पाउँछ । यसअघि जनमत पार्टीले थ्रेसहोल्ड नकटाउँदासम्म उसको ३५ सिट थियो ।
नेपाली कांग्रेसले समानुपातिकततर्फ २५ लाख मत कटाएको छ । कांग्रेसले अब ३२ सिट पाउने देखिन्छ । जनमतले थ्रेसहोल्ड नकटाउँदासम्म उसले ३३ सिट पाउने आकलन थियो ।
माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई उछिनेर तेस्रो बनेको छ । माओवादी केन्द्रले ११ लाख २८ हजार मत पाएको छ । रास्वपाले १० लाख ८५ हजार मत पाएको छ । यो मतपरिणामका आधारमा माओवादी केन्द्र र रास्वपाले १४/१४ सिट पाउँछन् ।
त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ५ लाख ५९ हजार मत सहित ७ सिट पाउने देखिन्छ । जनता समाजवादी पार्टी (जसपा) नेपालले ३ लाख ७८ हजार मत सहित ५ सिट पाउने देखिन्छ ।
जनमतलाई ४ सिट
मंगलबार बिहान जनमत पार्टीले समेत थ्रेसहोल्ड कटाएको छ । उसले ३ लाख ३६ हजार मत पाएको छ । पछिल्लो मत परिणाम अनुसार उसले ४ सिट पाउँछ । १ करोड ८ लाख मत खसेको अनुमानका आधारमा जनमत पार्टी थ्रेसहोल्डको सिमाबाट सुरक्षित देखिन्छ ।
एकीकृत समाजवादी थ्रेसहोल्डको सीमा कटाउन प्रयासरत छन् । उसले अहिलेसम्म २ लाख ७७ हजार मत पाएको छ । जुन कुल सदर मतको २.८२ प्रतिशतमात्रै हो ।
कूल सदर मतको ३ प्रतिशत मत नपाउने दलले थ्रेसहोल्ड कटाउँदैनन् र थ्रेसहोल्ड नकटाउने दलले समानुपातिकमा कुनै हिस्सा पाउँदैनन् ।
दलको नाम | प्राप्त मत | सिट |
नेकपा एमाले | २६४६४४९ | ३४ |
नेपाली कांग्रेस | २५००१५२ | ३२ |
नेकपा माओवादी केन्द्र | ११२८९०७ | १४ |
राष्ट्रिय स्वतन्त्र पार्टी | १०८५८५७ | १४ |
राप्रपा | ५५९५३४ | ७ |
जनता समाजवादी पार्टी | ३७८१५० | ५ |
जनमत पार्टी | ३३६०३८ | ४ |
कुल | ९८२१५६१ | ११० |
प्रतिक्रिया 4