+

पिनास बिग्रिएमा ज्यानै समेत जान सक्छ : डा. श्रेष्ठ

२०७९ मंसिर  १९ गते १३:१० २०७९ मंसिर १९ गते १३:१०
पिनास बिग्रिएमा ज्यानै समेत जान सक्छ : डा. श्रेष्ठ

काठमाडौं । सामान्य लाग्ने तर झन्झटिलो र जटिल समस्या हो, पिनास । कति पिनास सामान्य रुपमै निको हुन्छ, कति भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । चिकित्सकका अनुसार लामो समय पिनास भइरहेको छ भने उपचार खोज्नैपर्ने हुन्छ । यदि समयमा उपचार गरिएन भने यसले निकै ठूलो जटिलता ल्याउन सक्छ ।

यसै विषयमा केन्द्रित रहेर वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञसँग डा. दीपेन्द्र श्रेष्ठसँग गरिएको कुराकानी :

पिनास के हो ? यसलाई सरल भाषामा कसरी बुझ्ने ?

हाम्रो टाउकोमा विभिन्न हावाको थैली हुन्छ । नाकको नजिक अनुहारको हड्डीभित्र हावाको थैलाहरु हुन्छन्, जसलाई साइनस भनिन्छ । आँखाको वरपर चार किसिमको साइनस हुन्छ ।  त्यो साइनसको सम्पर्क नाकसम्म हुन्छ ।

आँखाको बीचमा हुनेलाई  इथमोइडल साइनस र इथमोइडल साइनसको पनि भित्रपट्टि हुने साइनसलाई  स्फेनोइडल साइनस भनिन्छ । आँखाको माथि निधारमा हुने फ्रन्टल साइनस, आँखाको तल्लो भागमा हुनेलाई म्याक्जिलरी साइनस भनिन्छ । सबैभन्दा ठूलो र समस्या दिने साइनस म्याक्जिलरी साइनस हो ।

साइनसको निकास माध्यम अवरुद्ध हुँदा सिगान निस्कने बाटो बन्द भएर ब्याक्टेरिया वा भाइरसको संक्रमणबाट पिनास हुन्छ । पिनासलाई अंग्रेजीमा साइनसाइटिस भनिन्छ ।

पिनास हुने मुख्य कारण के हुनसक्छ ?

पिनास विभिन्न कारणले हुन्छ । नाक वा घाँटीमा संक्रमण भयो वा रुघा लागिरह्यो भने पिनास हुन्छ । यो केही समयपछि आफैं ठीक हुन पनि सक्छ, जसलाई भाइरल पिनास भनिन्छ । भाइरल पिनास ब्याक्टोरियल पिनासमा परिणत हुनसक्छ ।

त्यस्तै एलर्जी, दाँतको संक्रमण, नाकको हड्डी बाङ्गो भएमा, नाकमा धेरै एलर्जीपछि मासु पलाएमा नाकको मार्गमा अवरोध आएर पनि पिनास हुने जोखिम बढी हुन्छ । रगतको समस्याबाट पनि पिनास हुनसक्छ, जुन विरलै देखिन्छ ।

एलर्जी, दम, नाक वा साइनसमा संरचनात्मक अवरोध भएका व्यक्तिहरू वा कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसलाई यसको उच्च जोखिम हुन्छ ।

कुन अवस्थामा पिनास जटिल हुन्छ ?

पिनास दुई किसिमको हुन्छ, एक्युट साइनोसाइटिस र क्रोनिक साइनोसाइटिस ।

एक्युट साइनोसाइटिस (पिनास) : तीन साताभन्दा कम समयमा देखिने साइनसलाई एक्युट साइन्स भनिन्छ । जसको लक्षण भनेको आँखाको तल्लो भाग दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, नाकबाट पहेंलो र हरियो सिंगान आउने, पहेंलो खकार आउने, सुँघ्ने क्षमता हराउने र श्वास गन्हाउने हुन्छ ।

क्रोनिक साइनोसाइटिस (पिनास) : तीन महिनाभन्दा पुरानो पिनासलाई क्रोनिक साइनस भनिन्छ । यो पिनास हुँदा नाक बन्द हुने, हरियो र पहेंलो सिंगान आउने, घाँटी खसखस हुने,  खोकी लागिरहने हुन्छ ।

यसको उपचार के छ ?

प्रायः रुघा लागेपछि औषधि खाएर वा नखाए पनि १० दिनमा निको हुनुपर्छ । रुघा १० दिन भन्दा बढी लाग्ने, नाक बन्द भइराख्ने, अनुहारको भाग दुखेमा डाक्टरकहाँ उपचार गराउन सकिन्छ । सुरुमा चिकित्सकले पिनास हुनुको कारण नयाँ हो या पुरानो पिनास हो त्यो हेर्छन् । त्यसपछि क्लिनिकल परीक्षण हुन्छ । आवश्यक परेमा साइनसको एक्सरे, सिटिस्क्यानपछि उपचार गरिन्छ ।

एक्युट साइनस छ भने  नाक सफा गर्ने, चिसो नखाने, नाक खुल्ने औषधि दिने र झोलिलो खानेकुरा खानु भन्ने गरिन्छ । यसले आफैं पनि ठीक हुनसक्छ । १० देखि १२ दिनसम्म पनि पिनासले दुःख दियो भने चिकित्सकको परामर्शमा ओरल एन्टिबायोटिक औषधि लिनुपर्छ ।

क्रोनिक पिनास भएका बिरामीलाई एन्टिबायोटिक औषधि दिन्छौं । धेरैजसोको औषधिले निको हुन सक्छ । तर त्यसपछि पनि निको भएन भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । यदि नाकको हड्डी मोटो छ, नाकमा मासु पलाएको छ, पिनास भइरहेको छ भने शल्यक्रिया गर्नैपर्छ ।

बाहिरको भाग नकाटी भित्रबाट नै एन्डोस्कोपिक साइनस शल्यक्रिया गरेर पलाएको मासुहरुलाई सन्तुलनमा ल्याउन सकिन्छ । बाङ्गो हड्डी भए सोझ्याउने लगायतका उपचार गर्नुपर्ने हुन्छ । पिनास जुनसुकै उमेर, लिंगका मानिसलाई पनि हुनसक्छ ।

घरेलु उपायबाट पनि निको हुनसक्छ ?

यदि कम समयको पिनास छ भने धेरैजसो आफैं निको हुन्छ । साधारण नुनपानी, नाकमा नेजल ड्रप राख्ने, पेनकिलरको प्रयोगले पनि भाइरल पिनास निको हुनसक्छ । १२ दिनसम्म  पिनास निको नभएमा अन्य उपचार गर्नुपर्छ ।

खानेकुरा के के बार्नुपर्छ ?

पिनास विभिन्न कुराको एलर्जीबाट पनि हुने भएकाले सकेसम्म एलर्र्जीलाई नियन्त्रण गर्न आफ्नो बानी, जीवनशौलीमा परिवर्तन गर्नुपर्छ । चिसो र बढी चिल्लो खानेकुरा सकेसम्म खानु हुँदैन । धुम्रपान गर्ने बानी पनि पिनास गराउने कारणमध्ये एक हो । त्यसैले यसको सेवन गर्नु हुँदैन । पिनास भएको समयमा त गर्नै हुँदैन । सकेसम्म झोलिलो खानेकुरालाई बढी प्राथमिकता दिनुपर्छ ।

यसले नित्याउने जटिलता के छ ?

पिनासको बेलैमा उपचार भएन भने यसले ठूलो जटिलता ल्याउन सक्छ । जसलाई पिनास बिग्रिएको पनि भन्ने गरिन्छ । आँखाको वरपर सुन्निने, पिप जम्ने, दृष्टि गुम्न सक्ने, आँखाबाट पिनास संक्रमण दिमागमा समेत पुग्न सक्छ । ज्यान नै समेत जान सक्छ ।

कसरी जोगिने ?

पिनास  सबैभन्दा बढी चिसो मौसममा लाग्छ । रुघा र एलर्जी बढी चिसो मौसममै हुने भएकाले यो समयमा न्यानो भएर बस्ने, चिसो खानेकुरा सकेसम्म नखाने, पिनास भइराख्ने व्यक्तिलाई एलर्र्जीमा नियन्त्रणमा राख्ने, रुघा लामो समयसम्म निको भएन भने चिकित्सकको परामर्श लिन सकिन्छ ।

डा. दीपेन्द्र श्रेष्ठ पिनास
प्रा. डा. दीपेन्द्र श्रेष्ठ
लेखक
प्रा. डा. दीपेन्द्र श्रेष्ठ
वरिष्ठ नाक कान घाँटीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : २६६१ एमबीबीएस, एमएस, फेलोसिप इन हेड एन नेक अन्कोसर्जरी । वरिष्ठ परामर्शदाता ईएनटी हेड एण्ड नेक सर्जन, ईएनटी विभाग, वीर अस्पतालका पूर्व प्रमुख, प्रमुख परामर्शदाता राष्ट्रिय ईएनटी सेन्टर । अध्यक्ष, सोसाइटी अफ ईएनटी सर्जन अफ नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय