+
+

बागमतीमा कांग्रेस संसदीय दलको नेता बहादुरसिंह कि इन्द्र बानियाँ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २० गते १७:४२

२० मंसिर, काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीलाई लिएर नेपाली कांग्रेसको संस्थापन समूहमा दुई धार देखिएको छ ।

केन्द्रीय सदस्य बहादुर सिंह लामा र बागमती प्रदेशका सभापति इन्द्र बानियाँले मुख्यमन्त्रीको दाबी गरेका छन् । लामा र बानियाँ दुबै जना संस्थापन पक्षका नेता हुन् । प्रदेशसभा सदस्य निर्वाचित भए लगतै लामा र बानियाँ दुबैले संसदीय दलको नेता बन्न आन्तरिक तयारी अघि बढाएका छन् ।

मुख्यमन्त्रीमा आफ्नो दाबी रहने घोषणा गरेर उम्मेदवार बनेका बानियाँ मकवानपुर २ को २ बाट निर्वाचित भएका थिए ।

प्रतिनिधिसभा सदस्यको टिकटका दावेदार लामा मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभामा झरेर नुवाकोट २ को २ बाट निर्वाचित भएका छन् । ‘मुख्यमन्त्री बन्ने गरी प्रदेश सभामा लड्न तयार भएको हुँ । संसदीय दलको नेतामा उम्मेदवारी दिन्छु, दलको नेतामा जित्छु,’ लामाले अनलाइनखबरसँग भने ।

अघिल्लोपटक दलको नेता भइसकेका बानियाँ यो पटक मुख्यमन्त्री छाड्न तयार छैनन् । केन्द्र सरकारमा राज्यमन्त्री भइसकेको र प्रदेशसभाको अघिल्लो कार्यकालले प्रतिपक्षी नेताको भूमिका निभाइसकेको भन्दै उनले भने, ‘स्थानीय तहको चुनावमा पनि पार्टीलाई राम्रो नतिजा दिलाए । सबै कारण म योग्य छु ।’

लामा पनि मुख्यमन्त्री लागि अघि सरेपछि संस्थापन पक्षका सांसदहरु नै दुई धारमा देखिनुपर्ने भएको छ ।

बागमती प्रदेशमा प्रत्यक्षतर्फ २५ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ११ सिट पाउने देखिन्छ ।

३६ सदस्यीय संसदीय दलमा प्रकाशमान सिंह निकट सांसदहरु समेत जोड्दा संस्थापन पक्षको दुई तिहाइ बढी सांसद छन् ।

प्रत्यक्ष र समानुपातिक दुबैतर्फ गरी शेखर–गगन पक्षका आधा दर्जन सांसद छन् ।

दलको नेता चयन गर्दा संस्थापन पक्षकै सांसदहरु दुईतिर विभाजित हुँदा शेखर समूह निर्णायक बन्न सक्छन् । यद्यपि यो समूह कतातिर खुल्ने हो टुंगो छैन ।

संसदीय दलको विधान अनुसार मुख्यमन्त्री बन्नका लागि दलको नेता चुनिनुपर्ने प्रावधान छ ।

लामाले बहुमत प्रदेशसभा सदस्य आफनो पक्षमा रहेको दाबी गरे । कांग्रेस नेताहरुका अनुसार सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र प्रवक्ता डा. प्रकाशशरण महत मुख्यमन्त्रीमा लामालाई अगाडि सार्ने पक्षमा छन् । महत र लामा दुवैको गृह जिल्ला नुवाकोट हो ।

सहमहामन्त्री डिना र बानियाँ मकपानपुरका हुन् । तर उनीहरुको सम्बन्ध राम्रो छैन । मकवानपुर क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको चुनाव लडेकी सहमहामन्त्री डिना राप्रपाका दिपक सिंहसँग पराजित भएकी थिइन् । बानियाँले असहयोग गरेको डिनाको बुझाइ छ ।

नुवाकोट–२ बाट प्रतिनिधिसभा सदस्य चुनिएका डा. शेखर समूहका नेता अर्जुननरसिंह केसीको पनि सद्भाव लामालाई छ । किनकी लामा प्रदेशमा झर्न सहमत भएपछि नै केसीले टिकट पाएका थिए ।

संसदीय दलको नेताका लागि लामासँग प्रतिस्पर्धा गर्न तयार बानियाँ भने प्रदेशसभा सदस्यहरुको कसको के भूमिका छ भन्ने हेरेर मत दिने विश्वास व्यक्त गर्छन् ।

बानियाँ अघिल्लो कार्यकालमा मुख्यमन्त्री नजिक पुगेका थिए । एमाले विभाजनपछि सत्ता गठबन्धनले प्रदेशसभामा बहुमत जुटाएको थियो र कांग्रेस र एकीकृत समाजवादीवीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति बनेको थियो ।

२०७८ को कात्तिकमा भएको सहमतिअनुसार सुरुमा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बने । र, बानियाँको पालो आउने बेला सहमति कार्यान्वयन भएन । निर्वाचनको नजिक प्रदेश सरकारको नेतृत्व हेरफेर गर्दा नकारात्मक सन्देश जाने भन्दै शीर्ष नेताहरुले मुख्यमन्त्री नफेर्ने सहमति गरे । एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले बाँकी अवधि पनि सरकार चलाए । प्रतिनिधिसभा सदस्य चुनिएका पाण्डे अहिले पनि मुख्यमन्त्री छन् ।

बानियाँ मुख्यमन्त्री बन्न पाएनन् । बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ ४४ गरि ११० सिट संख्या छ ।

सरकार गठनका लागि ५६ सांसद चाहिन्छ । सत्ता गठबन्धनसँग ६४ जना छन् । कांग्रेससँग ३६, माओवादी केन्द्रसँग २१ र एकीकृत समाजवादीसँग ७ जना छन् । एमालेको २७, राप्रपासँग १४, मजदुर किसान पार्टीसँग ३ र हाम्रो नेपाली पार्टीबाट २ जना गरि ४६ जना सांसद हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?