+
+
विचार :

नेपाली राजनीतिक इतिहासमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थान

राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली राजनीतिमा केही नयाँपनलाई संस्थागत गर्दै गरेको वा सुरुवात गरिसकेको भएर यसको स्थापना र जनअनुमोदनलाई ऐतिहासिक घटनाक्रम भनिनुपर्ने हो वा कतिपयले भन्ने गरे जस्तो आक्रोशको मतलाई एकीकृत गरेको ‘पानीको फोका’ जस्तो क्षणभङ्गुर मात्रै हो ? खोजिनुपर्ने जवाफ यस्ता प्रश्नहरूको हो।

गणेश कार्की गणेश कार्की
२०७९ मंसिर २२ गते १२:१४

अहिलेको कानुनी व्यवस्थामा पार्टी दर्ता गर्न निकै सजिलो बनाइएको छ। २१ जनाको केन्द्रीय समिति बनाएर ५०० जनाको नागरिकतासँगै एकथान विधान, एकथान घोषणापत्र र तोकिएका अन्य सामान्य केही कागजात बोकेर निर्वाचन आयोगमा फारम भर्ने हो भने पार्टी दर्ता हुन्छ। यही विधि प्रयोग गरेर अहिले ११६ वटा दलहरू दर्ता भएको अद्यावधिक सूची निर्वाचन आयोगसँग छ। यसैले पार्टी दर्ता हुनु मात्रै पनि विशेष कुरा होइन।

त्यस्तै, एकाध निर्वाचन लड्नु मात्रै पनि विशेष कुरा होइन। निकै दलहरूले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा भाग लिएका छन्। यसपटकको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ हेर्ने हो भने ४८ वटा चुनाव चिह्न छन्। केही चुनाव चिह्नमा एकभन्दा बढी दलहरूले सहभागी जनाएकाले समानुपातिकतर्फ नै सहभागी दलहरूको संख्या त्योभन्दा बढी छ। करिब १ करोड ८० लाख मतदाता भएको नेपालमा ६१ प्रतिशतको हाराहारीमा मत खसेको छ। यिनै मतदाताहरूको मतबाट यसपटकको प्रतिनिधिसभाको निर्वाचनमा ११६ वटा दर्ता भएका दलहरूमध्येमा १२ वटा दलहरूका कम्तीमा एक उम्मेदवार प्रत्यक्षबाट निर्वाचित भएका छन्। समानुपातिकतर्फ सदर मतको ३ प्रतिशतको थ्रेसहोल्ड नघाएर राष्ट्रिय पार्टी बन्न सक्ने दलहरू ७ वटा छन्। अघिल्लो प्रतिनिधिसभाको निर्वाचनमा दलहरूको उपस्थिति र जितहारको आँकडा फरक थियो, यसपालि फरक छ र अर्को पालि पक्कै पनि अहिलेको समान रहने छैन।

यसैले राजनीतिक दलको नाम राखिनु, चिह्न छानिनु, दर्ता हुनु र निर्वाचनमा सहभागी हुनु मात्रै विशेष कुरा होइन। अमूक मिति र तहको चुनावमा हारजितको आँकडाले मात्रै पनि दलको सफलता वा असफलताको द्योतक बन्ने होइन। बरु कुन दलको निर्माण कसरी भयो, त्यसको चरित्र के छ, त्यसको उपस्थितिले कस्तो सन्देश दिन्छ भन्ने सन्दर्भहरूमा आधारित हुँदै राष्ट्रिय राजनीतिक इतिहासमा त्यो कतिको नयाँ र हस्तक्षेपकारी रह्यो भन्ने कुरा चैं विशेष र सफलता वा असफलताको द्योतक बन्न सक्छ। यिनै कुराहरूको समग्र प्रभाव र संकेतको साङ्गोपाङ्ग अध्ययन र भोगाइपछि मात्रै कुनै पनि दलको ऐतिहासिक रेखामा स्थान रहन्छ।

अहिलेको प्रतिनिधिसभाको निर्वाचनमा सहभागी भएर तथा प्रदेश सभाको निर्वाचनमा सहभागी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जसरी राजनीतिमा उपस्थिति देखाएको छ, त्यसलाई जबरदस्त र परिवर्तनकारी भन्न सकिन्छ कि सकिंदैन ? रास्वपाले नेपाली राजनीतिमा केही नयाँपनलाई संस्थागत गर्दै गरेको वा सुरुवात गरिसकेको भएर यसको स्थापना र जनअनुमोदनलाई ऐतिहासिक घटनाक्रम भनिनुपर्ने हो वा कतिपयले भन्ने गरे जस्तो आक्रोशको मतलाई एकीकृत गरेको ‘पानीको फोका’ जस्तो क्षणभङ्गुर मात्रै हो ? खोजिनुपर्ने जवाफ यस्ता प्रश्नहरूको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीलाई अहिले प्राप्त भएको मतका आधारमा मात्रै राजनीतिक पहिचान दिनु न्यायोचित हुँदैन। बरु नेपाली राजनीतिक इतिहासमा रास्वपाले के मान्यता उत्पादन र स्थापित गर्दैछ भन्ने खोजी गरिनुपर्छ।

सत्य हो, घण्टीको भोट रास्वपाको मात्रै होइन

देशभरका निर्वाचन क्षेत्रका परिणाम प्राप्त भइसकेका छन्। तिनमा रास्वपाका उम्मेदवारहरूको उल्लेखनीय उपस्थिति देखिएको छ। ७ क्षेत्रमा निर्वाचित रहेको रास्वपा ६ वटा निर्वाचन क्षेत्रमा दोस्रो र ५७ वटा निर्वाचन क्षेत्रमा तेस्रो स्थानमा रहेको छ। समानुपातिकतर्फको मत १० प्रतिशत भन्दा माथि छ। प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदहरूको संख्याको आधारमा रास्वपा संसदमा चौथो ठूलो दल बनेको छ।

घण्टी रूपमा आएको नयाँपन, पार्टी सभापति रवि लामिछानेको जनमानसमा रहेको लोकप्रिय छविले रास्वपाले निर्वाचनमा ल्याएको मत पाउन धेरै भूमिका खेलेको छ। तर निर्वाचनको ५ महिना अगाडि स्थापना भएको पार्टीले प्राप्त गरेको मत जति उत्साहप्रद छ, त्यति नै बहुआयामिक छन् घण्टी चिह्नमा मतदाताले स्वस्तिक छाप लगाउनुका कारण। पुराना पार्टी, तिनका नेताहरूको प्रवृत्तिप्रतिको निराशा र आक्रोशको ठूलो मत घण्टी चिह्नमा पोखिएको छ।

अन्य पार्टीको वितृष्णामा रहेका ठूलो संख्याका मतदाताहरूले एक पटकका लागि रास्वपालाई परख गर्ने मनस्थितिले पनि यसपटकको निर्वाचनमा नतिजाहरू उलटफेर भएका छन्। गठबन्धन र तालमेलको नाममा कुनै राजनीतिक पार्टीका कार्यकर्ताले आफ्नै दलको चिह्नमा मत हाल्न पाएनन्। त्यस्तोमा उनीहरूका लागि घण्टी चिह्न विकल्प बन्न सक्यो। पुराना कुनै पनि ठिक छैनन् भनेर ‘नो भोट’ भन्नेहरूले पनि घण्टी चिह्न रोजेका हुन सक्छन्।

यसैले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अहिले प्राप्त भएको मतका आधारमा मात्रै राजनीतिक पहिचान दिनु न्यायोचित हुँदैन। बरु नेपाली राजनीतिक इतिहासमा रास्वपाले के मान्यता उत्पादन र स्थापित गर्दैछ भन्ने खोजी गरिनुपर्छ। त्यसपछि निस्किने निष्कर्षले मात्रै रास्वपाको ऐतिहासिकता र नयाँपन पुष्टि गर्न सक्छ।

पार्टी निर्माणको अवधारणामा परिवर्तन

नेपालमा पार्टी दर्ता गर्न सजिलो छ, तर पार्टी निर्माण हुन र जनअनुमोदन हुने प्रक्रिया भने सजिलो छैन। नेपालमा निर्माण भएका राजनीतिक पार्टीहरूको निर्माण दुई बाटोबाट मात्रै हुने गरेका थिए।

१. आन्दोलन, विद्रोह र युद्धबाट : नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रहरूको निर्माण त्यसरी नै भएको थियो। क्षेत्रीय पार्टीहरू पहिलेको मधेशी जनअधिकार फोरम होस् या अहिलेको जनमत पार्टी वा उन्मुक्ति पार्टी, तिनको पनि पार्टी निर्माणको आधार विद्रोहमा नै पुग्छ।

२. टुटफुट वा विरासतबाट : नेकपा एकीकृत समाजवादी, लोसपा, जसपाहरूको निर्माण कुनै पार्टीको फुट्ने र जोडिने विधिबाट भएको हो। त्यस्तै, राप्रपा, राप्रपा नेपाल जस्ता दलहरूको निर्माण कुनै कालखण्डमा सत्ता निकट रहेकाहरूको विरासतका रूपमा भएको छ।

यी दुई प्रक्रियाबाट अलग रहेर पार्टी निर्माण गर्न निकै कोसिस भए पनि कुनै सफल हुन सकेनन्। विवेकशील, साझा पार्टीलगायत कतिपयले नागरिकसम्म केही छाप छोड्न सके पनि निर्वाचनबाट अनुमोदन हुन सकेनन्। रास्वपा नेपालको राजनीतिक इतिहासमा पहिलो पार्टी हो जसले आन्दोलन, विद्रोह, युद्ध नगरी र टुटफुट वा विरासतको टेको नलगाई जनअनुमोदन पाउन सक्यो। रास्वपाको उपस्थितिले नेपालमा राजनीतिक दल निर्माणका लागि तेस्रो विकल्पलाई संस्थागत गरेको छ।

राजनीतिक दलहरूको संरचना परिवर्तनको वकालत

नेपाल लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्नुभन्दा पहिले आन्दोलन र विद्रोहहरूको आवश्यकता भइरह्यो। परिवर्तनका स्वरहरूलाई गैरकानुनी मानिने त्यो समयमा त्यसका विरुद्ध लड्न धेरै संगठन र धेरै कार्यकर्ता भएको दलको आवश्यकता पर्दथ्यो। त्यही अवधारणालाई व्यावहारिक बनाउन दलहरूका अनगिन्ती भ्रातृ संगठन आवश्यकता पर्‍यो। दलहरूले सकेसम्म धेरै भ्रातृ संगठन वा पेशागत संगठनहरूलाई मूल पार्टीमा आवद्ध गरे। व्यवस्था परिवर्तनपछि पनि त्यसकै धङधङी जस्तो भ्रातृ संगठनहरूको निर्माण रोकिएन, झन् बढ्यो।

कुनै दलमा आवद्ध नभएको नेपालको पेशागत संगठन वा निकायहरू पाउनु लगभग असम्भव हो। यसले राजनीतिक दलहरूलाई भद्दा र ठूलो मात्र बनाएन, ती भ्रातृ संगठनका नेता–कार्यकर्ताहरूको व्यवस्थापनको भार पनि दलहरूमा थपिदियो। तिनलाई व्यवस्थापन गर्न राजनीतिक नियुक्तिको नयाँ चरण सुरु गरियो। दक्षभन्दा पार्टी निकट मान्छेहरूको भर्ति, कार्यसम्पादन भन्दा दलहरूको निकटताले वृद्धिविकास हुने अवस्था बन्यो।

राजनीतिको धार फेरियो तर दलहरूको संरचना फेरिएन। कुनै पनि दलले अबको राजनीतिक यात्रामा ठूलो र भद्दा दल होइन, लोकतान्त्रिक पद्धति आवश्यक हो भन्न सकेनन्। उपलब्धिहरू संस्थागत गरेर आम मानिससम्म ती उपलब्धिहरू पुर्‍याउन दलहरूको संरचना र नेता–कार्यकर्ता नै व्यवधान बने। कुनै पनि उपलब्धिहरू आफ्नो पक्षमा पार्न दलहरूमा खोसाखोस हुने, कुनै दलले हात पारेमा उसका नेता–कार्यकर्तामा बाँडिने र अन्त्यमा नाम मात्रको उपलब्धि आम नागरिकसम्म पुग्ने अवस्था बन्यो। यसले दलहरूप्रति मात्र नभएर व्यवस्थाप्रति नै मानिसहरूको आकर्षण घट्दो छ।

यसैले अबको राजनीतिक मूलधार भनेको धेरै कार्यकर्ता र भ्रातृ संगठन भएको दल होइन, चुस्त र भ्रातृ संगठनरहित राजनीतिक दलको हो। यसले दलहरूलाई आफ्ना नेता–कार्यकर्ताको व्यवस्थापनको भारबाट मात्र जोगाउँदैन, नियुक्तिहरूमा हुने अतिराजनीतीकरणबाट पनि देशलाई जोगाउँछ।

रास्वपाको कार्यकर्ता र भ्रातृ संगठन नबनाउने नीतिले अतिराजनीतीकरणबाट मुक्ति दिलाउँदै राजनीतिक दलहरूको संरचना परिवर्तन गर्न सक्छ। कार्यकर्ता र भ्रातृ संगठनरहित भएर पनि निर्वाचनमा रास्वपाले जुन किसिमको उपस्थिति देखायो, त्यसबाट दलहरूको संरचनाका बारेमा अन्य दलहरूले पनि सोच्नुपर्ने अवस्था बनेको छ। नेपाली राजनीतिमा यो ऐतिहासिक उपलब्धि हो।

दलभित्रको लोकतन्त्रीकरणमा नयाँ प्रयोग

राजनीतिक दलहरूमा परिवारवाद, कृपावादबाट प्रभाव यथेष्ट छ। पद तथा नियुक्तिहरूमा मात्र नभएर निर्वाचनको टिकट वितरणमा पनि यसको प्रभाव प्रशस्त देख्न पाइन्छ। दलहरूको समानुपातिक सूची हेर्ने हो भने नेताका निकटहरूको नामको सूची लामो भेटिन्छ। योग्यताका आधारमा छनोट नहुनाले दलभित्रकै योग्यहरू पनि सधैं पाखा लाग्ने गरेका छन्। यसले दलहरूको आन्तरिक लोकतन्त्र कमजोर बनाएको छ।

दलभित्रको लोकतन्त्रलाई बलियो बनाउन तथा योग्यताका आधारमा छनोट हुने व्यवस्थालाई सहज बनाउन रास्वपाले खुला प्रारम्भिक निर्वाचनको अवधारणालाई प्रयोग गरेको छ। कुनै पनि निर्वाचन क्षेत्रमा एक भन्दा बढी व्यक्तिको दावेदारी रहेमा सो क्षेत्रमा प्रारम्भिक निर्वाचनबाट उम्मेदवार छनोट गरियो भने समानुपातिक सूची निर्माण पनि प्राप्त मतका आधारमा गरियो। नेपालमा कुनै पनि राजनीतिक दलले यसरी उम्मेदवार छनोट गरेको पहिलो पटक हो। नेपाली राजनीतिक इतिहासमा यो ऐतिहासिक घटना हो।

वाद र व्यवस्था परिवर्तन होइन, कार्यान्वयन र अवस्था परिवर्तनको मुद्दा

राजनीतिक दलहरू निर्माण हुँदा वाद र व्यवस्था परिवर्तनका मुद्दाहरू हावी हुन्थे, जुन यसपटक रास्वपाको निर्माण हुँदै गर्दा देखिएन। आम मानिसका जनजीविका र संविधानले दिएका अधिकारहरूको कार्यान्वयनका मुद्दाहरूबाट पनि दलको निर्माण हुनसक्ने रहेछ भन्ने सन्देश यसपटकको निर्वाचनले रास्वपामार्फत दिएको छ। यसको संकेत हो, नेपाली राजनीति अब साँच्चै नै पुरातनवादी वाद र व्यवस्था परिवर्तनको युगबाट कार्यान्वयन र अवस्था परिवर्तनको युगमा प्रवेश गरेको छ।

अन्त्यमा धेरै कारण, अवयव र लक्षणहरूको निष्कर्षले भन्न सकिन्छ, रास्वपाको निर्माण, उपस्थिति र संकेतले नेपाली राजनीतिको ऐतिहासिक यात्रामा एउटा कोसेढुंगा स्थापित गरेको छ।

लेखकको बारेमा
गणेश कार्की

वातावरण विज्ञान र व्यवस्थापन विषयका अध्येता कार्की विभिन्न सामाजिक बिषयवस्तुमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?