+
+
भिडियो वार्ता :

ओली डाइनामिक नेता, गगन ५ वर्षपछि प्रधानमन्त्री, घनश्यामजीले गल्ती गर्नुभयो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २२ गते २१:२१

२२ मंसिर, काठमाडौं । ताप्लेजुङबाट दोस्रोपल्ट प्रतिनिधिसभा सदस्य चुनिँदा नेकपा एमालेका सचिव योगेश भट्टराईका लागि सत्ता गठबन्धन छिचोल्न निकै कठिन पर्यो । चुनाव सकिएसँगै राजधानी फर्केका भट्टराईलाई अनलाइनखबरले समग्र चुनावी विश्लेषण गर्न आग्रह गर्यो । उनले स्वतन्त्र पार्टीको उदय, कांग्रेस एमाले माओवादीको समग्र प्रदर्शन, मधेसमा उदाउँदै गरेको नयाँ स्थिति, कांग्रेसबाट गगन थापाको दाबेदारी, घनश्याम भुसालको पछिल्लो कदम लगायत विषयमा टिप्पणी गरे ।

उनीसँग अनलाइनखबरकर्मी बसन्त बस्नेतले लिएको अन्तर्वार्ता सम्पादित रुपमा प्रकाशित छ । पूरा वार्ताका लागि यो भिडियो हेर्नुहोस् :

पहिलेको चुनावभन्दा यसपल्ट विजयी हुन तपाईंलाई निकै कठिन भयो, होइन ?

पहिलोपल्ट लड्दा मतदातामा उम्मेदवारप्रति आशाको भावना बढी हुँदोरहेछ । दोस्रोपल्ट त्यही उम्मेदवार लड्न आउँदा चाहिँ यसले पहिले के गर्यो भन्ने प्रश्न हुँदो रहेछ । स्थानीय चुनावपछि ०७४ मा वामपन्थी गठबन्धन गर्यौं । पार्टी नै एकता गर्ने भनेर संयुक्त घोषणापत्र ल्यायौं । म भोट माग्नै नपुगेका ठाउँमा पनि अभूतपूर्व उत्साह थियो । यसपल्ट पनि त्यो तहको अनुकुलता थिएन ।

पाँच वर्षमा तपाईंहरुको परीक्षा पनि भइसकेकै थियो नि ?

भयो । कतिपय सामान्य लाग्ने काम गर्न कानुनले रोक्थ्यो । तर जनतालाई बुझाउन सकिन्नथ्यो । यति सामान्य काम पनि नगर्ने भन्ने प्रश्न सामना गर्नु परेको थियो ।

एमालेका थुप्रै पदाधिकारी हार्नुभो, किन ?

एमाले कुन परिस्थितिमा चुनाव लडेको थियो भन्ने कोणबाट हेर्नुपर्थ्यो । सरकारमा हामी थिएनौं । सरकारमा हुनेहरुले सत्ताको सुविधा लिए । केही नभए पनि सरकारको हेलिकोप्टर चढे ।

०७४ को चुनावमा पनि तपाईंहरु सत्ताबाहिर हुनुहुन्थ्यो । देउवा चाहिँ सरकारमै हुनुहुन्थ्यो, तर चुनाव तपाईंहरुले जित्नुभयो

त्यो बेला जनस्तरमै काउन्टर गर्यौं । हाम्रो पक्षमा लहर नै थियो । यसपल्टको चुनाव हाम्रो पक्षमा लहर नै आएको थिएन । दोलखा, स्याङ्ग्जा, बाजुरामा बुथ कब्जा भए । मेरै क्षेत्रमा पनि भए । कसलाई भन्ने जाने ? आँखा चिम्लेर स्वीकार्नु बाहेक विकल्प भएन । आखिर सरकारमा हामी थिएनौं ।

अर्को कारण पनि छ, वामपन्थी जनमत एमालेले नेतृत्व गर्छ । उदार लोकतन्त्रवादी जनमत कांग्रेसले नेतृत्व गर्छ । तेस्रो चौथो हुने दलहरुले जसलाई समर्थन गर्छन्, स्वभाविक रुपमा उसले बढी मत पाउँछ । यसपल्ट त्यस्तै भयो ।

गठबन्धन र तालमेल गर्दैमा हुँदोरहेनछ । घन्टी, हर्न र ढकियाको उदयले तपाईंहरुलाई दिएको चुनौतीलाई कसरी बुझ्नुभयो ?

अघिल्लो चुनावको गठबन्धनलाई त जनताले वैचारिक रुपमा नै स्वीकारेको देखियो । नेपालको भविश्यका लागि पनि एउटै कम्युनिस्ट पार्टी चाहिन्छ भन्ने थियो । यसपल्ट चाहिँ कसैले पनि गठबन्धनलाई हार्दिकतापुर्वक लिएको देखिएन ।

बहुमत त उहाँहरुले नै पुर्याउन लाग्नुभयो नि ?

बहुमत त टुमटुम मात्रै पुर्याउन लागेको हो । अझै सिट पुगेको छैन । बाहिरका शक्तिहरु खोज्नुपर्ने छ उहाँहरुले । हामीसँग त विगतमा १७४ सिट थियो । अहिले उहाँहरुसँग १३६ सिट मात्रै पुग्न लागेको छ ।

विगतको गठबन्धनको नेता एमाले १२१ सिटमा थियो । अहिलेको गठबन्धनको नेता कांग्रेस ८९ सिटमा मात्रै छ । त्यसैले गठबन्धन गरे पनि कांग्रेस विगतको एमालेको छेउछाउ जान सकेन ।

मतदाताको अरुचि देख्दा हामीले पाँच वर्षमा उनीहरुलाई खुबै थकाएछौं भन्ने लागेको छैन ?

मतदातालाई कांग्रेस र एमालेप्रति असन्तुष्टि रहेको देखियो । मध्यमवर्गले पनि हामीप्रति धेरै प्रश्न गरेको छ । मध्यम वर्ग अस्थिर रहने चरित्र भएको वर्ग पनि हो । उहाँहरुलाई सन्तुष्ट पार्नेगरी काम गर्न नसकेको सत्य हो । त्यो वर्ग यसपल्ट एन्टी, कांग्रेस एन्टी एमाले भयो । त्यसको फाइदा घन्टीले लिएको हो । तर जनमत स्वीकार गर्नुपर्छ, मान्नैपर्छ नि ।

तपाईंका अध्यक्षले हाहा हुहुमा लाग्ने जमात भनेर उडाउनुभयो ?

मनले नस्वीकारे पनि यथार्थ त्यही हो । मन नपराए पनि हामी संसदको वल्लो र पल्लो बेन्चमै बस्दैछौं अब । हामीलाई मन परेन, निस्केर जाऊ भन्न त मिलेन ।

रोचकै हुने भयो नि संसदमा, यताको बेन्चमा रवि लामिछाने, ज्ञानेन्द्र शाही, उताको बेन्चमा योगेश भट्टराई 

(हाँस्दै) स्वागतयोग्य नै छ । तर कुन जगमा उहाँहरु आइराख्नुभएको छ भन्ने कुरा महत्वपुर्ण हो । मलाई भोट हाल्ने मप्रति जुन किसिमको जवाफदेहिता खोज्छन्, त्यही किसिमको जवाफदेहिता घन्टीमा भोट हाल्नेले खोज्छन् कि खोज्दैनन् भन्ने हेर्नुपर्छ । त्यो भएन पनि अघिल्लोपल्टको विवेकशील साझाजस्तै हुन सक्छन् उनीहरु । घन्टीको छाना त टल्केको छ, जग छ कि छैन भनेर हेर्नुपर्छ । जग छैन भने हाम्रोजस्तो संरचनामा दलहरु सामाजिक परिवेशबाटै बन्ने हुन् ।

संरचना त बनाउनुहोला नि, यो बीचको अवधिमा उहाँहरुले ?

बनाउनुभयो भने राम्रै कुरा हो । त्यो गर्न सक्नुभयो भने कांग्रेस र एमाले दुईवटा पोल भइरहेका बेला थर्ड पोल पनि बन्छ ।

तपाइ थर्ड पोल बन्छ भन्दै हुनुहुन्छ । तर तपाईंकै दलका महासचिव शंकर पोखरेलले त दुईवटा पोल भए बलियो राष्ट्रिय शक्ति निर्माण हुन्छ भन्दै आउनुभएको छ नि ?

कांग्रेस र एमालेलाई चेक एन्ड ब्यालेन्स गर्न थर्ड पोल चाहिन्छ । जनताले त्यो पोल खोजिराखेका छन् ।

शंकर पोखरेलसँग विचार बाझियो है तपाईंको ?

सैद्धान्तिक रुपमा हाम्रो एउटै कुरा हो । मैले त्यो भनि नै सकें । तर राप्रपाजस्ता शक्तिले त्यो स्पेस लिए नि कुनै बेला । उपेन्द्र यादव महन्थ ठाकुरहरु पनि आउनुभयो । उहाँहरु जुन उत्तेजनामा आउनुभयो, त्यसको बैठान नहुँदा असफल हुनुभयो । घन्टीले उठाएको एजेन्डा संरचनागत रुपमा सही रुपले अघि बढ्छ कि सत्ताको सौदाबाजीमा बिर्सजन हुन्छ, हेरौं न ।

प्रचण्डले निर्णायक तेस्रो शक्ति बन्न चाहनुभएको थियो, घन्टीले लिन लागेको हो ?

प्रचण्डजी निर्णायक तेस्रो शक्ति हुनै सक्नुहुन्न । कांग्रेसको बलमा सिट पाएर आफूलाई कसरी निर्णायक भन्न सक्नुहुन्छ ? उहाँको भोट ११ लाख हो । १५, १६ जना समानुपातिक हो । एक्लै लडेको भए ५, ६ सिटमा झर्नुहुन्थ्यो । अर्को चुनावमा जाँदा झन् कति गुम्ने हो ।

एमालेले चुनावमा गरेको प्रदर्शन कस्तो हो ?

पपुलर मत हामीले अझै बढी ल्याउनुपथ्र्यो । शहरीया बौद्धिक वर्गले यो बीचमा हामीमाथि उठाएका प्रश्नको सही ढंगले सम्बोधन गर्न नसक्दा केही लाख मत अन्त गए । हाम्रो मत कांग्रेस या अन्त गएको छैन । घन्टीमा जुन ढंगले गयो, त्यसलाई उसले कायम राख्न सक्छ कि सक्दैन भन्ने प्रश्न हो ।

कांग्रेसले चुनावमा गरेको प्रदर्शन कस्तो हो ?

परम्परागत मत पायो कांग्रेसले । गठबन्धन गरेर खासै फाइदा पायो जस्तो मलाई लाग्दैन । चलायमान मतदातालाई आकर्षित गर्न हामीले पनि सकेनौं । कांग्रेसले पनि सकेन ।

माओवादीको भनिसक्नुभयो,  अब एकीकृत समाजवादीको ?

एकीकृत समाजवादीको त के विश्लेषण गरिराख्नु ? एमालेबाट एउटा पनि मत लगेर थप्नुभयो जस्तो लाग्दैन ।

राप्रपाको ?

राप्रपामा राजेन्द्र लिङदेनको उदयले आकर्षण अलिकति बढेको छ । उहाँका तीनवटा एजेन्डा छन् ः संघीयताको विरोध, राजतन्त्र फर्काउने, हिन्दुराज्य बनाउने । सुशासन भ्रष्टाचार निवारण चैं उहाँको देखावटी एजेन्डा हुन् । ३० वर्षे पन्चायती विरासत पनि बोक्नुपर्यो नि उहाँले । त्यहाँ कहाँ सुशासन थियो ? त्यहाँ कहाँ भ्रष्टाचार निवारण भएको थियो ?

तर एमालेले उहाँजस्तो राजावादी, संघीयताविरोधीलाई नै बोक्छ

०७२ को संविधान आएपछि को गणतन्त्रवादी, को नगणतन्त्रवादी भन्ने बहस नै सकियो नि । चुनावमा मुख्य प्रतिष्पर्धी रोक्न खोज्ने हो । हाम्रो उद्देश्य कांग्रेसलाई रोक्ने भन्ने हुन्छ नि । उसले पनि हामीलाई रोक्न खोज्छ नि ! धान पिस्दा घुन पनि पिसिन्छन्, यस्तै हो ।

स्वतन्त्र पार्टीको पनि मत विश्लेषण गर्नुस् न ?

अघि पनि भनें, उत्तेजनात्मक मासलाई रवि लामिछानेले नेतृत्व गरेको देखिन्छ । मध्यमवर्गको भावना सम्बोधन गरेका हुन् ।

जनताले सुझबुझपूर्ण मत जाहेर गरे होलान् नि ? आफूले पाइएन भन्दैमा उत्तेजना भन्ने ?

ज्यादा त्यही हो । ०६३ को मधेसको रापतापमा उपेन्द्र यादव आएजस्तै हो यो । उपेन्द्रजीे त्यो एजेन्डा उठाए पनि त्यसमा आधार बनाउन सक्नुभएन । आज पनि त्यस्तै देखिन्छ । एमालेले सकेन, कांग्रेसले गर्न सकेन भन्ने बाहेक अलग एजेन्डा के छ र उहाँहरुसँग ?

तपाईंहरु पनि कांग्रेसले सकेन, हामीलाई भोट भन्नुहुन्छ नि ?

होइन, हामीले सामाजिक रुपान्तरण, आर्थिक नीतिहरुमा अलग एजेन्डा बोकेका छौं । कांग्रेसले पनि हामीभन्दा अलग बोकेको छ । अन्तर्राष्ट्यि नीतिहरु पनि अलग छन् ।

बालेनले, रवि लामिछाने या तोसिमा कार्कीले मत पाउँदा कसरी उत्तेजनात्मक मत भयो ?

मत त मतै हो, तर त्यसलाई कसरी बाटो लगाउनुहुन्छ भन्ने कुरा हो । भीड त भीडै हो । त्यसलाई कुन बाटो लगाउनुहुन्छ भन्ने कुरा हो । एमालेजस्ता पार्टीले संयमसाथ रचनात्मक बाटोमा ल्याउने कोसिस गर्छन् । शतप्रतिशत सम्भव नहोला, तर कोसिस हुन्छ । युवा समुदाय, जसले विज्ञान प्रविधि र परिवर्तन देखेको छ, तर त्यसलाई आत्मसात गर्न सकेको छैन । विकल्प चाहिएको छ, तर कस्तो भन्ने थाहा हुन्न । सामाजिक सन्जाल, मिडियाले एक किसिमको जनमत बनाउन भूमिका खेलेको हुन्छ । साहुजीसँग घरखेत ऋण बन्दकी राखेर अरबमा पसिना बगाइरहेको पुस्तासँग स्वभाविक आक्रोश हुन्छ । त्यो आक्रोश युवाले त्यहाँ बसेर यहाँ पोख्छ । रविलाई त्यसको फाइदा भएको हो ।

त्यो युवालाई त्यसरी विदेश धकेल्नमा एमाले र कांग्रेसले खेलेको भूमिका चैैं नहेर्ने ?

रविजीलाई प्रधानमन्त्री बनाए पनि पाँच लाख युवालाई यहाँ फर्काएर रोजगारी दिन कठिन नै छ । उही माधव नेपालजीले भनेजस्तो विना ढेउवाके नै हो ।

अब जनमत पार्टीको विश्लेषण गरौं न

सीके राउतजीको पार्टी तराई मधेसको विगतदेखिकै संवदना उचालेर आएको हो ।

नागरिक उन्मुक्ति पार्टी ?

टीकापुर घटनापछि भड्किइरहेको जनमतलाई प्रतिनिधित्व गरेर आएको पार्टी हो । राज्यले पर्याप्त ध्यान नदिँदा समस्या अझै रहिरहेको छ भन्ने देखाउँछ ।

अघिल्लोपल्ट चुनावपछि ओली र प्रचण्डले विश्राम लिनुपर्छ भन्नुभएको थियो । यसपल्ट पनि त्यसो भन्नुहुन्छ ?

पार्टी विधानले लगाएको उमेर हद हेर्ने हो भने ७० वर्षको कुरा उठ्छ नै । कि त विधान संशोधन गर्नुपर्यो । तर समकालीन नेताहरुमध्ये केपी ओली डाइनामिक लिडर हो । मैले उहाँलाई सरकार बनाउन हतारो नगरौं । रंगीविरंगी दल मिलाउनुपर्ने बाध्यता हुन्छ । त्यसैले पहिले हेरौं भनेको छु । अरुले कसरी गर्दारहेछन्, हेरौं न ।

तर तपाईं चाहिँ गगन थापालाई प्रधानमन्त्रीको शुभकामना दिइसक्नुभएछ

मैले दिएको हुँ । गगन थापाजी मुर्दावाद भन्ने कुरा आउँदैन । उहाँले पनि त्यसो भन्नुहुन्न होला । एउटा प्रश्न चाहिँ छ मेरो । उहाँले सैद्धान्तिक रुपमा गठबन्धनको आलोचना गर्नुभएको छ । जनमत हेर्दा कांग्रेस एक्लैले सरकार बनाउन सक्दैन । यो गठबन्धनबाट उहाँ प्रधानमन्त्री बन्ने अनुकुल वातावरण पनि छैन । उहाँ बन्न पनि मिल्दैन । त्यसैले गगनजीले अबको पाँच वर्षपछि प्रधानमन्त्री बन्छु भन्दा बढी स्वभाविक सुनिन्छ ।

एमालेको सरकार पनि बन्न सक्छ ?

नाजायज एजेन्डामा सम्झौता गरेर सरकार नबनाउँ । कांग्रेसले सकेन भने चाहिँ बनाउँ ।

एमाले माओवादी मेल हुन्छ ?

भोलिको सम्भावना हो, हुन सक्छ । ओलीले त्यसका लागि कसैलाई सोध्नुपर्दैन । तर प्रचण्डजीले चाहिँ उता देउवाजीलाई सोध्नुपर्ने हुन्छ ।

घनश्याम भुसाल र भीम रावलहरुको के हुन्छ ?

घनश्यामजीले गल्ती गर्नुभयो । हिँड्नै नहुने बाटो हिँडनुभयो । उहाँ विश्लेषण चाहिँ मदन भण्डारीजस्तो गर्ने, काम चैं सीपी मैनालीजस्तो गर्ने नेता हो । उहाँ मेरो अग्रज हो । तर कहिलेकाहिँ यस्तो गर्नुहुन्छ ।

अध्यक्ष ओलीले तपाईंलगायत १० बुँदेका नेतालाई टिकट दिनुभयो, उहाँलाई नदिनुभएपछि निराश हुनुभयो होला नि ?

मैले टिकट नपाएको भए पनि पार्टी छाड्ने थिइनँ । अध्यक्ष ओलीलाई भनेको थिएँ, टिकट दिए ठिकै छ । नदिए तपार्इंसँगै प्रचारमा हिँड्छु । एमालेका उम्मेदवार जिताउन लाग्छु । एउटा चुनाव नै जिन्दगी होइन ।

घनश्याम भुसालसँग तपाईँको कुराकानी भइरहेको छ ?

फोनमा भएको थियो । अब भेट्छौं । कस्ता कस्ता सँग त कुरा गर्छाैं । उहाँसँग त झन् के छ र ? मुल कुरा, अध्यक्ष ओलीसँग सुलह गर्न जाने नेता पनि उहाँ नै हो । म त फलोअर न हो उहाँको । बाटो बदलिन्छ, कहिलेकाहिँ । तर यो गल्ती भयो ।

पूरा अन्तर्वार्ता हेर्नुस्

 

भिडियो/तस्वीर : शंकर गिरी

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?