+
+

नेपाली समाजले गाईको संरक्षण गरिरहेको छ र ?

हाम्रो समाजमा घरका वृद्धवृद्धा सदस्यलाई माया तथा संरक्षण गरिराख्ने चलन छ, यसमा केही ह्रास आए पनि पूरै खत्तम भइसकेको छैन । घरमा पालिएका पशुहरू, त्यसमध्ये पनि गाईलाई त झन् आवश्यक श्रद्धा र स्याहारसहित राखिनुपर्ने हो तर त्यसो भइरहेको देखिंदैन ।

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०७९ मंसिर २६ गते १८:००

करिब डेढ महिना अगाडि मलाई कामको सिलसिलामा कञ्चनपुर जाने अवसर मिलेको थियो, बाटाभरिको एउटा दृश्यले मलाई अत्यन्त विक्षिप्त बनायो । खासगरी पूर्व–पश्चिम राजमार्गको अत्तरियादेखि महेन्द्रनगर खण्डमा सयौंको संख्यामा गाई, गोरु तथा तिनीहरूका बाच्छाहरू हरेक एक–दुई किलोमिटरको दूरीमा भेटिन्छन्, बाटोभरि छरिएर रहेको गोबर देख्दा तिनीहरूको स्थायी बसोबास नै त्यो राजमार्गको सडक भएको देखिन्छ ।

उनीहरू बाटोमा भन्दा पनि पुलको वरिपरि बसेको देखिन्छ । बाटोमा गाडी चलाउनेहरूले उनीहरूलाई धपाउँदै वा पन्छाउँदै हिंड्नुको विकल्प छैन । दिउँसोमा त यो सामान्य जस्तो लाग्छ, तर रातिमा अनेकौं दुर्घटना यी निरीह पशुहरूको कारणले गर्दा भइरहेको छ ।

ठूला गाडीको ठक्करबाट यिनीहरूको मृत्यु हुने र मोटरसाइकल ठोक्किए प्रायः मोटरसाइकल चालक घाइते हुने, कतिपय अवस्थामा ज्यान समेत जाने हुँदोरहेछ । यो बाटोमा यो दृश्य आम सर्वसाधारणले देखेकै छन् । त्यहाँका नेता, कार्यकर्ता, स्थानीय निकाय सबैलाई थाहा छ तर त्यो समस्या सुल्झिनुको बदला झन् जटिल बन्दैछ ।

हालै मात्र बेदकोट नगरपालिकाले त्यस्ता गाईहरूलाई जिउँदै मारेर गाडेको आरोप लागेको समाचार पनि बाहिर आयो जुन समाचारको बेदकोटले खण्डन पनि गरेको छ । समाचार आउनु र खण्डन गर्नु ठूलो कुरा होइन तर यो समस्या किन जटिल बनिरहेको छ त्यसको चर्चा तथा विश्लेषण गर्न जरूरी देखिन्छ ।

हीरा विश्वकर्मा

गाई हिन्दु धर्म मान्नेहरूको ठूलो आस्थाको जनावर हो । गाईलाई लक्ष्मीको रूप तथा माता मानिन्छ । गाईलाई पिटे पनि पाप लाग्ने भनिन्छ । यसको मतलब गाईलाई सम्मानपूर्वक राख्नुपर्ने धार्मिक तथा सामाजिक मान्यता हो, तर कञ्चनपुर जाने राजमार्गमा गाईहरूको त्यो हालत देख्दा यी सबै मान्यता हामीले बिर्सेका हौं कि मान्न छोडेका हौं त्यो अर्को खोजको विषय भएको छ ।

अहिले जनावरहरूको अधिकारको विश्वव्यापी चर्चा मात्रै नभइकन त्यसलाई कतिपय अर्थमा बाध्यकारी बनाइएको छ । अहिले कुनै पनि चलचित्र हेर्दा त्यहाँ एउटा अस्वीकार्यता राखिएको हुन्छ, त्यो भनेको यो चलचित्रको निर्माणमा कुनै पनि जनावरलाई यातना दिइएको वा प्रयोग गरिएको छैन भनी लेखिएको हुन्छ ।

यसको मतलब सो चलचित्र निर्माणको बेला त्यस्तो कुनै काम गरिएको रहेछ र त्यो कानुनी प्रक्रियाबाट प्रमाणित भए त्यसलाई सजाय मात्र नभई महँगो मूल्य चुकाउनुपर्ने हुन्छ । तर जुन देशमा गाई एउटा राष्ट्रिय जनावर हुन्छ, तिहारको गाईपूजाको दिन खोजी–खोजी पूजा हुन्छ, आयुर्वेदले गाईको गहुँतको महत्व भएको बताउँछ । त्यति हुँदा पनि गाईलाई यस्तो परित्यक्त अवस्थामा राख्नुको दोषी को ?

हाम्रो समाजमा घरका वृद्धवृद्धा सदस्यलाई माया तथा संरक्षण गरी राख्ने चलन छ, यसमा केही ह्रास आए पनि पूरै खत्तम भइसकेको छैन । घरमा पालिएका पशुहरू त्यसमध्ये पनि गाईलाई त झन् आवश्यक श्रद्धा र स्याहारसहित राखिनुपर्ने हो, तर त्यसो भइरहेको देखिंदैन । यसमा आर्थिक, सामाजिक वा धार्मिक कारण कुन बढी जिम्मेवार छ, खोजिनुपर्दैन ?

आर्थिक कारणलाई खोज्दा गाई र गोरुको आर्थिक उपादेयता कृषिप्रधान मुलुकमा पनि सकिएको देखिन्छ । परम्परागत नश्लका गाईहरूले गोबर, गहुँत र दूध दिन्थे, त्यसबाट कुनै व्यावसायिक लाभ हुँदैनथ्यो, घरमा खानको लागि उपयुक्त थियो ।

दूधको चाहना राख्ने वा त्यसबाट गुजारा गर्नेका लागि भैंसी उपयुक्त विकल्प थियो, तर त्यो पनि अहिले कम भएर विकासे होलिस्टिन तथा जर्सी गाईहरू आएका छन् तर समस्या बढाउन यी विकासे गाईहरू पनि त्यत्तिकै जिम्मेवार देखिन्छन् ।
बच्चा नजन्माइकन यिनीहरूले पनि दूध दिंदैनन् र बच्चा जन्मिंदा या त बाच्छा या बाच्छी नै जन्मिने हो । बाच्छी जन्मिंदा त पाल्ने किसान धेरै खुसी हुन्छ, तर बाच्छो जन्मियो भने दुःखी, किनभने त्यो बाच्छो जोत्न पनि मिल्दैन अन्य प्रयोजन त झन् कल्पना पनि गर्न सकिंदैन ।

यस्तो अवस्थामा राम्रोसँग आमाको दूध पनि खान नपाउँदै त्यस्ता बाच्छाहरूलाई जंगलतिर वा सडकमै छोडिदिएको देखिन्छ । पहिले पुरानो नश्लका गाईहरूलाई दूधको लागि नभए पनि जोत्न र मलको लागि पालिन्थ्यो । किनभने खेतबारी जोत्न त गोरु नभई हुँदैनथ्यो ।

तर अहिले तराईमा ट्रयाक्टर र पहाडमा समेत हाते ट्रयाक्टरको व्यापक चलन आइसक्यो । पहिले पशुको मलको विकल्प थिएन तर अहिले रासायनिक मलले पिटेपछि त्यसको आवश्यकता पनि रहेन । यसरी आर्थिक उपादेयता सकिएपछि खर्च मात्र बढाउने पशु पालेर के गर्ने, त्यसको विकल्प बेवारिसे छाडिदिने ।

अहिले गाई तथा अन्य छाडा पशुहरूको व्यवस्थापन सबै स्थानीय तहहरूको ठूलो टाउको दुखाइको विषय भएको छ । पहिले–पहिले छाडा गाईवस्तुहरू जरिवानासहित सम्बन्धित धनीलाई सुम्पिने र सीमित संख्यामा कांजी हाउसमा राख्ने । त्यतिबेलासम्म प्रायः सबै छाडा वस्तुहरूको आर्थिक उपार्जन भएकोले त्यति समस्या थिएन ।

तर अहिले त्यो खासगरी परम्परागत गाईहरूको उपादेयता सकिंदा उनीहरूलाई बेवारिसे बनाउने कामले तीव्रता पाइरहेको छ । अहिले स्थानीय सरकारहरूले त्यस्ता छाडा गाईहरूको व्यवस्थापनमा लाखौं होइन कि करोडौं रुपैयाँको बजेट विनियोजन गरी खर्च गरिरहेका छन् । त्यसले पनि खासै समाधान दिएको छैन । किनभने त्यसलाई व्यवस्थित तरिकाले पालेर त्यसबाट सीमित भए पनि लाभ लिन सके त हुन्थ्यो । त्यतातर्फ खासै काम भएको देखिंदैन । बरु त्यस्तो व्यवस्थापनको नाउँमा भ्रष्टाचार मौलाइरहेको देखिन्छ ।

म कञ्चनपुरमै रहेको बेला एउटा राजनैतिक पार्टीको युवा भेला भइरहेको थियो र त्यो राजनैतिक पार्टीको कुनै बेला गाई चुनाव चिह्न थियो । सो पार्टीले एउटा धर्म र एउटा संस्थालाई पुनर्जीवित गर्ने राजनैतिक एजेण्डा बनाएको छ तर उसको घोषणापत्रमा कतै पनि ती निरीह गाईहरूको उचित स्याहार र संरक्षण गर्ने कुरा थिएनन् । यस्तोमा अब समाधानका उपाय के हुनसक्छ, चर्चा गरौं ।

अहिले काठमाडौंका सडकमा भुस्याहा कुकुरहरूको खासै बिगबिगी देखिंदैन । त्यसमा सरकारी निकाय मात्र नभइकन गैरसरकारी निकायहरूले पनि राम्रो भूमिका निर्वाह गरेका छन् । मेरो घर नजिकै बस्ने एउटा कुकुर बिरामी पर्‍यो । मैले एउटा संस्थालाई खबर गरें । उनीहरूले आएर उसलाई आफ्नो ठाउँमा लिएर गएर उपचार गरी फर्काइदिए । पछि त्यो कुकुर मर्‍यो । त्यसको व्यवस्थापन नगरपालिकाले मान्छे पठाएर गरिदियो ।

कुकुरको संरक्षणसँग मान्छेहरूको भावनात्मक सम्बन्ध बाहेक कुनै अरू आर्थिक स्वार्थ छैन, तर गाई भनेको त हाम्रो धार्मिक तथा सांस्कृतिक मात्रै नभई आर्थिक सम्बन्ध पनि राम्रोसँग जोडिएको छ ।

प्रसिद्ध योग गुरु तथा उद्योगपति रामदेवले आफ्ना प्रवचनहरूमा गाईको त्यसमा पनि रैथाने गाईहरूको बारेमा बताइरहेका हुन्छन् । उनले भुईं सफा गर्ने फिनाइलको विकल्पमा गाईको मूत्र प्रयोग गरी गोनाइल बेचिरहेका छन् । गाई जीवित हुँदा प्राप्त गर्ने गोबर पनि बहु–उपयोगी रहेको छ ।

खेती नगर्ने ठाउँमा पनि यसको गोबरबाट मिथेन ग्याँस निकाल्न सकिन्छ जसलाई अहिले सिलिण्डरमा भरेर प्रयोग गर्न पनि सकिन्छ । ग्याँस निकालेर आएको लेदो अति उत्कृष्ट मल हुने कुरा सिद्ध भइसकेको छ । यसमा सरकारले जति अनुदान रासायनिक मलको लागि छुट्याउने गरेको छ, त्यसको १० प्रतिशत मात्रै यस्तो ग्याँस र मल निकाल्ने संस्थाहरूलाई उपलब्ध गराएमा स्थानीय पालिकाहरू मात्र नभई निजी क्षेत्रले पनि यसमा प्रशस्तै कामहरू गर्न सक्छ ।

मैले एउटा जिरो बजेट फार्मिङको बारेमा पढेको थिएँ, त्यसले दुइटा गाईले दुई बिघा जमिनलाई पुग्ने मल उत्पादन गर्न सकिने दाबी गरेको छ । मरेको गाईको छालाको अन्तर्राष्ट्रिय रूपमै कति माग छ त्यो भन्न जरूरी छैन । तर त्यो निकाल्ने समुदायलाई सामाजिक रूपले अपहेलना मात्रै नभई घृणा गरिएकोले उसले त्यस्तो काम गर्न छोडेको छ ।

तर त्यसलाई आर्थिक उपार्जनको राम्रो माध्यम बनाएर प्रविधिको प्रयोग गर्न सकियो भने त्यो अर्को उपाय हुनसक्छ । अतः गाईहरूको भक्षक होइन संरक्षक बनौं र यसलाई आंशिकै भए पनि आर्थिक उपार्जनसँग जोडौं ।

लेखकको बारेमा
हिरा विश्वकर्मा

लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?