+
+

जनगणनाको पूर्ण प्रतिवेदन १५ पुस भित्रै सार्वजनिक गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते १८:४३
फाइल तस्वीर

२६ मंसिर, काठमाडौं । जनगणना २०७८ को पूर्ण विवरण १५ पुस भित्रै सार्वजनिक गरिने भएको छ । अहिले जनगणनाका विवरणहरु प्रशोधनको काम भइरहेको भन्दै अब तयार भएका विवरणहरु क्रमशः सार्वजनिक गर्ने तयारी गरिएको तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

‘इश्वी सम्वत २०२३ नलाग्दै जनगणनामा अहिलेसम्म तयार विवरणहरु सार्वजनिक गरिनेछ,’ उनले भने, ‘केही विवरण पछि पनि सार्वजनिक गर्न सकिन्छ ।’

तथ्यांक विभागले जनगणनाको प्रारम्भिक विवरण गत माघ दोस्रो साता सार्वजनिक गरेको थियो । जनगणनाको पूर्ण विवरण सार्वजनिक नभएका कारण अहिलेसम्म संघ, प्रदेश र स्थानीय तहले २०६८ सालकै तथ्यांकमा आधारित रहेर योजना/कार्यक्रम बनाएका छन् ।

प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ । पूर्ण विवरणमा यो फरक पर्न सक्छ । प्रारम्भिक प्रतिवेदन अनुसार २०६८ को तुलनामा नेपालमा २६ लाख ९७ हजार ९ सय ७६ जनाले जनसंख्या बढेको पाइएको थियो । यस अनुसार नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहेको देखिएको थियो । विभागले प्रारम्भिक विवरण सार्वजनिक गरेको ६ महिनामा पूर्ण विवरण ल्याउने भनेको थियो । प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएपछि नेपालमा भएका लगातार दुई वटा निर्वाचनका कारण समेत पूर्ण विवरणको काम पुरा गर्न समय लागेको विभागको भनाइ छ ।

प्रारम्भिक नतिजाले नेपालमा कुल ५६ लाख ४३ हजार ९ सय ४५ वटा घर रहेको देखाएको छ । यी घरमा कुल ६७ लाख ६१ हजार ५९ वटा परिवार बसोबास गर्छन् । अहिले प्रत्येक १ सय वटा घरमा १२० वटा परिवारको बसोबास छ । १० वर्ष अगाडि एक सय वटा घरमा ११८ जना परिवारको बसोबास थियो ।

पछिल्लो १० वर्षमा परिवार संख्या मात्र १३ लाख ३३ हजार ५ सय ३१ (२४.५७ प्रतिशत) थप भएको छ । कुल जनसंख्यामा १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना (४८.९६ प्रतिशत) पुरुष छन् । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ (५१.०४ प्रतिशत रहेको छ । नयाँ तथ्यांक अनुसार १ सय महिलाको अनुपातमा ९५.९१ जना पुरुष रहेको प्रारम्भिक विवरणमा देखिएको थियो ।

प्रारम्भिक विवरणमा यस्तो छ जनसंख्यीकी तथ्यांक

  • कुल जनसंख्या : २ करोड ९१ लाख ९२ हजार ४ सय ८०
  • पुरुष : १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना (४८.९६ प्रतिशत)
  • महिला : १ करोड ४९ लाख १ हजार १ सय ६९ (५१.०४ प्रतिशत)
  • नेपालमा घर संख्या : ५६ लाख ४३ हजार ९४५
  • परिवार संख्या : ६७ लाख ६१ हजार ५९
  • जनगणना घर र परिवारको अनुपात : १ः१.२०
  • १० वर्षमा थप भएको परिवार संख्या : १३ लाख ३३ हजार ५५७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?