+
+

सांसदको शपथ पहिले कि प्रधानमन्त्रीको ?

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २७ गते १९:५७
नयाँ बानेश्वरस्थित संघीय संसदमा प्रतिनिधिसभाको बैठककक्ष ।

२७ मंसिर, काठमाडौं । निर्वाचन आयोग प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामलाई अन्तिम रुप दिने तयारीमा जुटेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार भोलि दिउँसो साढे १ बजे पत्रकार सम्मेलन गरी अन्तिम निर्वाचन परिणाम घोषणा गरिनेछ भने पर्सि बिहान १० बजे राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रतिवेदन बुझाइनेछ ।

संविधानतः निर्वाचन परिणाम राष्ट्रपतिलाई मात्र बुझाउनुपर्छ । तर अधिवेशन आह्वानका लागि तयारी गर्नुपर्ने भएकाले प्रधानमन्त्री, संसद सचिवालयलगायतलाई पनि यो प्रतिवेदन पठाउने परम्परा छ ।

आयोगले अन्तिम निर्वाचन परिणाम बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्ने राष्ट्रपति कार्यालयको तयारी छ । राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकाल भन्छन्, ‘संविधानको व्यवस्था र विगतको अभ्यास पनि त्यही हो ।’

२०७४ मा निर्वाचन आयोगले अन्तिम मत परिणाम राष्ट्रपतिलाई बुझाएकै दिन ३ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका थिए ।

त्यो बेला न सांसदहरुको शपथ भएको थियो, न ओली संसदीय दलको नेता चुनिएका थिए । तर एमाले र माओवादी केन्द्रको समर्थनसहितको पत्र पेश गरे र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरिन् ।

तर सत्तारुढ गठबन्धन दलका नेताहरु भने सांसदको शपथ नलिई सरकार गठन हुन नसक्ने बताउँछन् । अघिल्लो साता बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकमै यसबारे छलफल भएको थियो र, सांसदको शपथ लिएर अधिवेशन सुरु भएपछि मात्र सरकार गठनको प्रक्रिया थाल्ने सहमति नै भएको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि २०७४ को जस्तो त्रुटि गर्ने पक्षमा आफूहरु नरहेको बताउँछन् । आफ्नो पार्टीमा सभापतिसँग पनि सांसदको शपथ नलिई प्रधानमन्त्री चुन्ने विगतको गल्ती नदोहोर्याउने सहमति भएको भन्दै उनले भने, ‘सांसदको शपथ नै नभई कसरी प्रधानमन्त्री नियुक्त गर्न मिल्छ र ?’

संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था छ, जसको उपधारा १ मा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । अहिले कुनै पनि दलको बहुमत छैन । त्यसैले ७६ (२) को प्रक्रिया सुरु हुन्छ । यसमा पनि दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ ।

अर्थात् प्रतिनिधिसभा सदस्यको शपथ भइसकेपछि सरकार गठन सुरु हुन्छ भन्ने बुझिन्छ ।

सांसदहरुले शपथ लिएपछि प्रतिनिधिसभा अस्तित्वमा आउने र दलहरुले संसदीय दलको नेता चयन गर्ने भन्दै महामन्त्री शर्मा भन्छन्, ‘त्यसपछि बल्ल राजनीतिक प्रक्रियामा प्रवेश गर्छौं । राष्ट्रपति कार्यालयले यसलाई बुझ्छ भन्ने विश्वास छ ।’

एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला पनि सांसदहरुले शपथ लिएपछि प्रतिनिधिसभा अस्तित्वमा आउने र त्यसपछि सरकार गठनको प्रक्रिया अघि बढ्ने बताउँछन् । ‘पहिलो बैठक बसेपछि संसदले सभामुख चयनको प्रक्रिया अघि बढाउँछ, राष्ट्रपति कार्यालयले सरकार गठनका लागि आह्वान गर्छ’ उनले भने, ‘सांसदको शपथ नै नभई कसरी सरकार बन्न सक्छ र ?’

संवैधानिक कानुनका जानकार टीकाराम भट्टराईका अनुसार यसबारे संविाधानमा प्रष्ट व्यवस्था छैन । तर विगतको संसदीय परम्परा अनुसार सांसदको शपथ लिनुअघि पनि प्रधानमन्त्री नियुक्त गरे असंवैधानिक नहुने उनी बताउँछन् । वरिष्ठ अधिवक्ता भट्टराई भन्छन्, ‘अहिलेको सत्ता गठबन्धनमा भएको कांग्रेसले २०७४ मा विरोध गरेका कारण अहिले त्यो अडानमा बस्छु भन्न सक्छ । तर विगतको हाम्रो अभ्यास हेर्दा सरकार गठन हुनसक्छ ।’

विगतको परम्पराका आधारमा २०७४ मा केपी शर्मा ओलीले पनि सांसदको शपथ नलिई प्रधानमन्त्रीको शपथ लिएको तर्क गर्दै वरिष्ठ अधिवक्ता भट्टराई दाबी गर्छन्, ‘संविधानमा प्रष्ट छैन, तर संसदीय परम्परा भएकाले सांसदको शपथ नलिई प्रधानमन्त्रीको शपथ लिनु असंवैधानिक हुन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?