+
+
खुला खुलामञ्च-२ :

जसले सक्यो, उसले लुट्यो हाम्रो टुँडिखेल

हामी यसै पनि संघीय सरकारको रवैयाबाट पीडित बनिआएकै छौं । एकपछि अर्को मेयर पनि त्यही बाटोमा लागेपछि त हामी नागरिक ‘समाउने हाँगो न टेक्ने अखेटो’ हुनेभयौं ।

डा. देवेन्द्रराज पाण्डे डा. देवेन्द्रराज पाण्डे
२०७९ मंसिर २८ गते १८:२०

स्थानीय तह निर्वाचनमा जनताले नयाँ सोचसहितका स्वतन्त्र व्यक्तिलाई विश्वास गरेकाले बालेन्द्र साह काठमाडौंको मेयरमा आउनुभयो । पेशाले इन्जिनियर उहाँले राम्ररी काम गर्नुहुन्छ भनेर धेरै मानिस आशावादी थिए, अद्यापि छन् ।

अहिले आएर कतिपय विषयमा उहाँले ध्यानै नदिई, अध्ययन नगरी एकछिनको सन्तोषको लागि निर्णय र कार्यान्वयन गर्न खोजेको देखिएको छ । खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना कत्ति पनि चित्त नबुझ्ने ‘अफेन्सिभ’ निर्णय हो ।
त्यसो त, टुँडिखेल जस्ता सार्वजनिक सम्पत्ति अतिक्रमण हुन थालेको पहिल्यैदेखि हो ।

हामी सानो छँदा पूरै टुँडिखेल खुल्ला थियो । बिहान सैनिकहरू कवाज खेल्थे, दिउँसोतिर सिंगो टुँडिखेल खाली हुन्थ्यो । त्यो बेला रानीपोखरीदेखि हालको दशरथ रंगशालासम्म एउटै टुँडिखेल थियो । रंगशालानेर अलि भिरालो भागमा हामी चिप्लेटी खेल्थ्यौं । त्यहाँ पोखरी पनि थियो जस्तो लाग्छ । त्यत्रो टुँडिखेल अहिले कत्रो भयो हेर्नुस् त !

हाम्रो लागि टुँडिखेल वातावरण र स्वास्थ्यका हिसाबले अति महत्वपूर्ण छ । खासगरी मध्य काठमाडौं– न्यूरोड, भोटाहिटी, असन, खिचापोखरी, बागबजारलगायतका मानिसलाई व्यायाम गर्ने र स्वस्थ हावा खाने ठाउँ हो । टुँडिखेलमा जोडिएको नेवा सांस्कृतिक र नेपाली राजनीतिक पाटो अलग छ ।

पञ्चायतकाल सुरु भएसँगै यो क्षेत्रमा अतिक्रमण हुन थाल्यो । टुँडिखेलमा फराकिलो चौताराजस्तो डबली बनाइएको खरीको बोट थियो । राणाकालमा शासकहरूले ठूल्ठूला सार्वजनिक घोषणा त्यहींबाट गर्थे । दिल्लीबाट फर्केपछि राजा त्रिभुवनले ७ फागुनमा त्यहीं सभा गरेका थिए । महेन्द्रको पालामा त्यसलाई मासियो, विरोधमा कोही बोल्न सक्ने अवस्था भएन । त्यसपछि टुँडिखेलमा सरकारी अतिक्रमण तीव्र बन्यो ।

राजा महेन्द्रले ल्याएको पञ्चायती व्यवस्थालाई कसरी वैधता दिलाउने, टिकाउने र लोकप्रिय बनाउने चिन्ता थियो । त्यही मेसोमा ज्योतिषीले के–के सिकाइदिए, कहाँ के गर्नु भनिदिए, टुँडिखेलको त्यति प्रसिद्ध खरीको बोटसहितको डबली मासियो । त्यसपछि रत्नपार्क बनाएर टुँडिखेललाई विभाजित पनि गरियो ।

राजा महेन्द्र त पोखरी, वन, चौरलगायत सार्वजनिक सम्पत्ति बकस दिंदै हिंडे । वीरेन्द्रको पालामा पनि सार्वजनिक स्थलहरूको दोहन रोकिएन ।

म किशोर छँदा सानो टुँडिखेलको दक्षिणपूर्वी भागको एउटा लामो दुईतले घरमा नेपाली सेनाको हेडक्वार्टर थियो । पछिसम्म पनि त्यो त्यहीं र त्यस्तै रह्यो । राजा वीरेन्द्रको पालामा सेनाले धेरै विस्तार गर्न थाल्यो र अन्ततः सानो टुँडिखेल खाइदियो । अहिले त्यहाँ पेट्रोलपम्पदेखि पार्टी प्यालेससम्म चलाएका छन् ।

अहिले त आधा टुँडिखेलमा पनि जनताको सहज पहुँच छैन । धेरैजसो भागमा विशाल बार लगाएका छन् । उता, छाउनी पनि कुनै बेला जनताको सम्पत्ति थियो । पाटनमा पनि टुँडिखेल थियो । अहिले सबै मिचियो । सबैतिर यस्तै छ ।

भाटभटेनीको पार्किङ हेर्नुस् न, त्यो हामी टोलका मानिस जाने, कुरा गर्ने, घाम ताप्ने ठाउँ हो । अहिले त्यहाँ ताल्चा मारिएको छ । बिहान आधाघण्टा खुल्छ रे ! त्यस्तो पनि हुन्छ ? सेनाले पाए सेनाले ताल्चा मार्ने, व्यापारीले पाए व्यापारीले ताल्चा मार्ने अनि सर्वसाधारण कहाँ जाने ?

ठमेलमा छायाँ कम्प्लेक्स बनेको ठाउँ पनि सार्वजनिक क्षेत्र नै हो । पहिला ज्ञानेश्वरको सानो गौचरन पनि निकै फराकिलो थियो । पञ्चायतकालमा त्यहाँ सरकारी अड्डाहरू राख्न थालियो । बिजुली, सडक र अरू के–के विभाग आएर बसे । बचेखुचेको सानो गौचरन खेलकुद परिषदले रंगशालाको नाममा सिध्याइदियो ।

अरू त अरू सिंहदरबारकै पनि खुला जमिन सिध्याइसके । मूल भवन वरिपरिका जमिनमा भवन नै भवनको थुप्रो भइसक्यो ।

राणा शासनकालमा हामी सिंहदरबार जान पाउने कुरा भएन । त्यहाँ टेबुलटेनिस र फुटबल खेलहरू हुन्थे । फुटबल म्याच हुँदा कहिलेकाहीं टिकट लिएर जान पाउँथ्यौं । रैतीलाई निषेध हुँदा वा टिकट काट्ने ५–६ पैसा नहुँदा हामी कालिकास्थान जाने बाटोको ढिस्कोबाट हेथ्र्यौं । अहिले निजी घरहरूले भरिएको त्यो ढिस्को पनि सार्वजनिक क्षेत्र थियो । बाँसैबाँस भएकोले त्यसको नामै बाँसघारी थियो ।

खासमा, खुला चौर भनेको जमिनको एउटा टुक्रो मात्र नभएर ताजा हावा खेल्ने अति महत्वपूर्ण ठाउँ हो । अहिले ती सबै जमिनमा कंक्रिटका बडेबडे भवन खडा छन् । सरकार, निजी क्षेत्र सबैले यही गरिरहेका छन् । जमिनमा पानी रिचार्ज पनि हुँदैन ।

भूगर्भविद्हरूका अनुसार, जमिनमा बर्खेपानी रिचार्ज हुने खाली जमिन कंक्रिटले टालिने अनि ठूल्ठूला वोरिङ गरेर पानी तान्ने क्रम बढिरहे मरुभूमिकरण हुन्छ । त्यही भएर विदेशका शहरमा फराकिला खुला स्थानहरू छोडिएका हुन्छन् । टाढा जानुपर्दैन, नयाँदिल्लीकै खुला स्थान र हरियाली हेरे पुग्छ ।

त्यहाँ त्यस्तो एउटा टोल छैन, जसमा टन्नै पब्लिक स्पेस र पार्क नहोस् । हाम्रोमा चाहिं भएको पनि मासे, सरकार, व्यक्ति सबै लागेर ।

दिल्लीको राम मैदानमा सार्वजनिक चासोका विषयमाथि विचार–विमर्श र कहिलेकाहीं भाषणबाजी पनि हुन्छ । लण्डनको हाइड पार्क सार्वजनिक विषयको उठानदेखि राजनीतिक विरोधसम्मका भाषणका लागि चर्चित छ । सर्वस्वीकृत रूपमा ती जनताका स्थान (पब्लिक स्पेस) हुन् ।

नेपालमा चाहिं ‘जसले हान्यो, उसले जान्यो’ पारामा पब्लिक स्पेसमाथिको हमला जारी छ । देशभर कुनै हरिलो–भरिलो वा रमणीय डाँडो बाँकी छैन, जहाँ सेनाको ब्यारेक, गुम्बा वा मन्दिर नहोस् । अनेक नाम र स्वरूपमा कब्जा जमाएका छन् ।

नेपालमा आम जनताको हित गर्न र प्राकृतिक वातावरण अनुकूलका ठाउँहरू जोगाउन राज्यका निकायहरू नै जिम्मेवार बनेनन् । सबै कब्जा गर्नेमा गए ।

यस्तो विद्रुप अवस्थामा काठमाडौंका नयाँ मेयरले फरक काइदा अपनाउने आमअपेक्षा थियो । मेयरमा निर्वाचित भएपछि उहाँले अब सुन्धारालाई पानी आउने बनाउने बताउँदा काठमाडौंवासी हामी निकै खुसी भएका थियौं । तर, उहाँ पनि एकछिनको हाईहाईमा लागेको देखियो ।

सुन्धारा मासेको बालेन्द्र साहले पक्कै होइन । कंक्रिटका संरचना विस्तारसँगै सुन्धारामा पानी सुकाउने काम कर्मचारी सञ्चय कोषको भवन निर्माणले गर्‍यो । बाँकी काम धरहरा पुनर्निर्माणले सकिदिएको प्रतित हुन्छ ।

जहाँसम्म काठमाडौंमा पार्किङ समस्याको सवाल छ, त्यसलाई समाधान गर्न दुनियाँका अरू महानगरहरूले गरेको अभ्यास हेरेर विकल्पहरू खोज्न सकिन्छ । दुनियाँभरका मानिस पुग्ने न्यूयोर्क सिटीमा धेरै पार्किङ छैनन् । जति छन्, ती निकै महँगा छन् । त्यसरी ‘मास ट्रान्जिट’लाई प्रोत्साहन गरिएको छ ।

हामीसँग कम साधन–स्रोत छ । सबैथोक विदेशको जस्तो बनाउन सकिन्न, त्यो आवश्यक पनि छैन । हामीकहाँ मुख्यतः जनहितैषी भावना भएन । नेतादेखि कर्मचारीसम्ममा आफूलाई निर्वाचित गरेर पठाउने वा तलब सुविधा दिने जनताप्रति जिम्मेवारीको भावना कम भयो । संघदेखि स्थानीय तहसम्म यस्तै देखियो । यसमा त पुनर्जागरण नै आउनुपर्ने देखिएको छ ।

मेयर बालेन्द्र साहले काठमाडौं महानगरमा पार्किङ समस्या हटाउन खुलामञ्चमा भूमिगत पार्किङ बनाउने समाचार आएका छन् । मुनि त्यस्तो संरचना बनाएपछि त्यसमाथिको टुँडिखेल के हुन्छ भन्ने चिन्ता र चासो बढेको छ ।
पार्किङ समस्या हटाउन मेयरले अन्य विकल्पहरूमा अध्ययन, छलफल नगरी सीधै जनताको टुँडिखेल ताकेको देखियो । पुरानो टुँडिखेलको एउटा हिस्सामा महानगरले नै भ्यूटावर बनाइरहेको छ । विद्यासुन्दर शाक्यले नयाँ बसपार्कमा

घेराबारा गरेर भ्यूटावर बनाउन थाले, बालेन्द्रले खुलामञ्चमा अण्डरपार्किङ बनाउने सुर कसे । बिजोग नै भयो यहाँ ।

हामी यसै पनि संघीय सरकारको रवैयाबाट पीडित बनिआएकै छौं । एकपछि अर्को मेयर पनि त्यही बाटोमा लागेपछि त हामी नागरिक ‘समाउने हाँगो न टेक्ने अखेटो’ हुनेभयौं ।

राज्यमा रहेका तमाम विकृति महानगरपालिकाले समाधान गर्न सक्दैन । हामीले त्यो आशा गरेको पनि होइन । तर, आफ्नो क्षेत्रमा सानातिना भए पनि असल काम गरे धेरै स्याबासी दिनेथियौं ।

प्रधानमन्त्री हुँदा डा. बाबुराम भट्टराईले मेरो घर अगाडि पनि डोजर चलाए । मैले जग्गा गुमाएँ । तर, सडक फराकिलो बनेपछि उनले ठूलो स्याबासी पाए, अहिले पनि पाउँदैछन् ।

अहिले बालेन्द्र साहले नेपाली जनताको राजनीतिक विजयको प्रतीक खुलामञ्च नताकी त्योभन्दा बढी उपयुक्त ठाउँमा पार्किङ लटहरू बनाउने, हरेक वडाका बचेखुचेका साना–ठूला सार्वजनिक जग्गामा पार्कहरू बनाउने, सडक पेटीहरूमा खासगरी म जस्ता वृद्ध र स्वास्थ्य कमजोर भएकाहरू हिंड्न सक्ने बनाउने, ठाउँठाउँमा शौचालय र खानेपानीको व्यवस्था गर्ने, सडकका खाल्डाखुल्डी पुर्ने जस्ता काम थाले सबैले वाह्वाही गर्ने र सम्झने थिए ।

डा. भट्टराईको पालामा सडक विस्तार हुँदा गाडी चढ्नेलाई त सुविधा भयो होला, तर पैदलयात्रीहरू खुला जोखिममा परे । म यी कुरामा मेयर साहको ध्यानाकर्षण गर्न चाहन्छु ।

पार्किङको कुरा गर्दा हामीले मोटर चढ्नेको मात्रै सुविधा सोच्नुहुँदैन । उनीहरूले मुख्य शहरभन्दा अलि टाढा गाडी पार्क गरेर हिंड्दा पनि हुन्छ । शहरमा हिंड्दा चाहिं सबैलाई सुविधाजनक र सुरक्षित हुनुपर्छ । विकसित विश्वभर यस्तै अभ्यास छ ।

युरोप–अमेरिकातिर हाम्रो असन, इन्द्रचोक, न्यूरोड जस्ता स्थानमा मोटर छिर्नै पाउँदैन । त्यस्ता ठाउँहरूलाई पैदाल यात्रु सुहाउँदो र सुन्दर बनाइन्छ । त्यसले त्यहाँका बन्द-व्यापार घटाएको होइन, बढाएको छ । हामीकहाँ पनि ट्राफिक जाम समस्याको जरो पत्ता लगाएर पार्किङको विकल्प खोज्नुपर्छ ।

हालसालै खुलामञ्च पुग्दा म दंगदास भएको थिएँ । कति वर्षपछि खुलामञ्च सफा देख्न पाएको थिएँ । अब खुलामञ्च यस्तै सफा र खुला होला भनेको त कुरा अर्कै रहेछ ।

मेयर साहले पार्किङको अन्य निर्विवाद विकल्पहरूबारे सोच्नुपर्छ । अधिक ठूलो राशि खर्च हुने, त्योभन्दा ठूलो विवाद–विग्रह निम्तिने, सफलतामा संशय हुने यस्ता अपरिपक्व निर्णयमा अड्डी कसेर अमूल्य समय र स्रोत खर्चेर फेरि पछाडि फर्कनुभन्दा सुरुमै लचकता देखाउनु सबैको लागि हितकर हुन्छ ।

उही पुरानै मेयरको ताल हो भने त हाम्रो यो प्राचीन शहरको वातावरण थप बिग्रँदै जान्छ । जनताले पाउने सर–सुविधामा क्षयीकरण बढ्छ । मेयर सा’बलाई मेरो यही सुझाव या अनुरोध छ ।

(नागरिक अभियन्ता डा. पाण्डेसँग अनलाइनखबरकर्मी सुदर्शन खतिवडाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?