
काठमाडौं । फिल्म हल सञ्चालकहरुको छाता संस्था नेपाल चलचित्र संघले चलचित्र विकास बोर्डका पछिल्ला निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ ।
आज बसेको कार्यसमिति बैठकले पुस ६ गते संघर्षका कार्यक्रम तय गर्न देशभरका हल सञ्चालकलाई काठमाडौंमा बोलाएको छ । उक्त भेलामा प्राप्त हुने सुझावलाई समेटेर बोर्डविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा हुने महासचिव नरेन्द्र महर्जनले जानकारी दिए ।
एक साताअघि नै फिल्म सेन्सर गर्नुपर्ने, विश्वकप फुटबल देखाउन नदिएको र रात्रि शोजस्ता विषयमा हललाई दुःख दिएको भन्दै चलचित्र संघ बोर्डविरुद्ध असन्तुष्ट छ ।
बिहीबारको कार्यसमिति बैठकमा सदस्यहरु बोर्डको निर्णय र अध्यक्ष भुवन केसीविरुद्ध आक्रोशित थिए । ‘कोरोना कहरबाट उठ्दै गरेको फिल्म क्षेत्रलाई सहयोग गर्नेभन्दा दुःख दिने काम भए,’ महासचिव महर्जनले भने, ‘अब विज्ञप्ति निकालेर काम भएन, अब संघर्षमै उत्रिनुपर्ने अवस्था आयो । यसका लागि पुस ६ गतेको भेला डाकेका हौं ।’
यसैबीच, चलचित्र निर्माता संघले पनि मंसिर महिनाभित्रै बोर्डविरुद्ध संघर्षका कार्यक्रम अघि बढाउने संकेत गरेको छ ।
‘निर्माताका कतिपय जायज माग पूरा गर्न बोर्डले ध्यान दिएको छैन । सुरुमा हामी वार्ताबाट अघि बढ्छौं । तर बोर्ड गम्भीर नभए संघर्षको विकल्प खुला छ,’ अध्यक्ष नवल खड्काले भने, ‘यस महिनाभित्र हामी भेला गरेर अघि बढ्छौं ।’
प्रतिक्रिया 4