२९ मंसिर, काठमाडौं । नेपाल वायुसेवा निगमभित्रको बेथितीका कारण यात्रुले पटक-पटक सास्ती भोग्नुपरेको घटना नयाँ होइन । बुधबार र बिहीबार निगमको सेवा लिन पर्खेका ९०० यात्रुले पाएको सास्ती त पछिल्लो उदाहरण मात्र हो ।
निगममा कार्यरत १९० हाराहारी क्याबिन क्रुले (हवाई सेवा दिन आवश्यक कर्मचारी) बुधबारदेखि सुरु गरेको आन्दोलनका कारण बिहीबार निगमका तीनवटा उडान प्रभावित भयो । बिहीबार साँझ क्याबिन क्रुको समस्या अध्ययन गर्न समिति गठन गर्ने सहमतिसँगै ‘क्याबिन क्रु’ काममा फर्किएका छन् । साथै क्याबिन क्रुको सेवा अवधिसमेत नवीकरण भएको छ ।
निगमकी प्रवक्ता अर्चना खड्काले बिहीबार प्रभावित उडानका यात्रुलाई सकेसम्म आजै गन्तब्यमा पुर्याइने बताइन् । बिहीबार साउदी अरेवियाको रियाद, भारतको नयाँ दिल्ली र बैङ्लोरमा उडान तोकिएको थियो । यी उडानबाट सम्बन्धित गन्तव्यमा जाने र त्यहाँबाट नेपाल फर्कने यात्रुको संख्या करीव ९ सय हाराहारी रहेको खड्काले बताइन् ।
निगमको विमानस्थल काउण्टरमा खटिने कर्मचारीहरुका अनुसार बुधबार पनि दुईवटा उडान डिले भएको थियो । बिहीबार पनि सयौं यात्रुले निर्धारित समयमा उड्न पाएनन् । समयमा गन्तब्यमा नपुग्दा यात्रुको ट्रान्जिट उडान छुट्नेदेखि यात्राको तालिका नै प्रभावित हुने गर्छ । बिहीबार निगमको आन्तरिकतर्फ पनि ५ वटा उडानहरु प्रभावित भए । ताप्लेजुङमा दुई र फाप्लु, दाङ तथा भोजपुरमा निर्धारित एक उडान बिहीबार रद्द हुन पुगेका छन् ।
के कारण आन्दोलिन भए कर्मचारी ?
निगमले क्याबिन क्रुहरु करारमा नियुक्त गर्ने गर्छ । उनीहरुको करार अवधि ५ वर्षको हुन्छ । निगम व्यवस्थापनले क्याबिन क्रुुको करार नवीकरण गर्ने समयमा दुई जनाको नवीकरण नगरेपछि कर्मचारी आन्दोलनमा उत्रिएको नेपाल वायुसेवा क्याबिन क्रु संघले जनाएको छ ।
संघले १५ वर्षसम्म सेवा गरेका कर्मचारीको करार नवीकरण नगरेको र व्यवस्थापन निकटका व्यक्तिलाई राम्रो सुविधासहित करार नवीकरण गरेको संघको आरोप छ । व्यवस्थापनको लापरवाहीले ३ महिना अगाडि नै हुनुपर्ने नवीकरण समयमा नभएको, परिचयपत्र नवीकरण नगरेको, मासिक १ सय घण्टा मात्र काम लगाउनुपर्नेमा धेरै समय उडाएको लगायत कारण उल्लेख गर्दै क्याविन क्रुले काम रोक्ने निर्णय गरेका थिए ।
व्यवस्थापनले भने मापदण्ड नपुगेका कर्मचारीको सेवा करार नवीकरण नभएको जनाएको छ । निगमका एक उच्च अधिकारीका अनुसार करार नवीकरणका लागि आवश्यक मापदण्ड तय गर्दा आवश्यक अंक नपुगेका कर्मचारीको करार नवीकरण नगरिएको हो । ्
व्यवस्थापन र कर्मचारीबीचको यो आरोप–प्रत्यारोपका बीच बिहीबार निगम मूख्यालयमा धकेलाधकेलको स्थितिसम्म आएको थियो । कर्मचारीहरुले नियतवशः करार नवीकरण नगरेको आरोप व्यवस्थापनसँग लगाएका छन् ।
अत्यावश्यक सेवामा हड्ताल
नेपालमा हवाई सेवालाई सरकारले अत्यावश्यक सेवाको सूचीमा राखेको छ । यस्तो सेवामा हड्ताल गर्न पाईंदैन । तर, बुधबार राति र बिहीबार निगमका अन्तर्राष्ट्रिय र राष्ट्रिय उडानहरु प्रभावित हुनुमा कर्मचारीको हड्ताल कारण थियो । आवश्यक सञ्चालन ऐन २०१४ ले २५ क्षेत्रलाई आवश्यक सेवाभित्र राखेर हड्ताल निषेध गरिएको छ । जसमा स्थल तथा हवाईमार्गबाट यात्री तथा मालसामान ओसार–पसार गर्ने यातायात सेवा, हवाइ अड्डा तथा हवाइजहाजको देखभाल, त्यसको सञ्चालन, मर्मत गर्ने कामसँग सम्बन्धित सेवामा अड्ताल गर्न नपाइने उल्लेख छ ।
कर्मचारीको समस्या समयमै सम्बोधन गर्न नसक्ने लाचार व्यवस्थापनका कारण सयौं यात्रुले दुख पाएको भन्दै यात्रुले आक्रोश पोखेका छन् । यात्रु विमलमान राजभण्डारी सामाजिक सञ्जालमा लेख्छन्, ‘गैर जिम्मेवार राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सको टिकट कहिले पनि नकाट्नु होला, क्रु मेम्बर आपसमा झगडा गरेर यात्रु अलपत्र पार्ने नाथे जहाज बहिस्कार गरौं ।’
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4