+
+

उत्तरार्धमा देउवाले भोग्दैछन् प्रतिकूल परिस्थिति

सम्भवतः देउवाले इतर समूहबाट सशक्त रुपमा उदाइरहेका गगनलाई देख्दा आफ्नै युवाकाल सम्झँदा हुन् । कांग्रेसमा आफूले जे चाह्यो त्यही गराउने ल्याकत भएका देउवा तिनै नेता हुन्, जो ५० वर्ष नपुग्दै नेपाली कांग्रेसको संसदीय दलको नेता बनेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ५ गते २०:०९
संसदीय दलको नेतामा मनोनयन गर्न जाँदै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर : विकास श्रेष्ठ

५ पुस, काठमाडौं । पहिलोपल्ट प्रधानमन्त्री बन्दा शेरबहादुर देउवा त्यो उमेर समूहमा थिए, जुन समूहबाट अहिले कांग्रेस महामन्त्री गगन थापाले दाबेदारी पेश गर्दैछन् । संसदीय दलको नेतामा देउवाको उपस्थिति अहिले गगनकै चाहनाजस्तो थियो । आम चासो उनीप्रति बढ्दो थियो । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई पार्श्व भागमा धकेलिंदै गरेको, अनि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमाथि प्रश्नैप्रश्न बर्सिएको ।

सम्भवतः देउवाले इतर समूहबाट सशक्त रुपमा उदाइरहेका गगनलाई देख्दा आफ्नै युवाकाल सम्झँदा हुन् । कांग्रेसमा आफूले जे चाह्यो त्यही गराउने ल्याकत भएका देउवा तिनै नेता हुन्, जो ५० वर्ष नपुग्दै नेपाली कांग्रेसको संसदीय दलको नेता बनेका थिए ।

अग्रज गिरिजाप्रसाद कोइरालाले आफ्ना लागि मैदान छाडिदिएपछि २७ वर्षअघि संसदीय दलको नेता हुँदै प्रधानमन्त्री भएका देउवा अहिले दोस्रो कार्यकालका लागि पार्टी सभापति छन् । उनले छैटौंं पटक प्रधानमन्त्री बन्ने आकांक्षासहित संसदीय दलको नेताका लागि मनोनयन दर्ता गरेका छन् ।

बुधबार हुने संसदीय दलको चुनावमा यो पटक देउवाका प्रतिस्पर्धी छन्– गगन थापा । थापा उनै हुन्, जो देउवा पहिलो पटक प्रधानमन्त्री भएको बेला क्याम्पसमा विद्यार्थीको राजनीति सुरु गर्दै थिए ।

कांग्रेसको तेस्रो पुस्ताका नेता थापा संसदीय दलको नेताका लागि मनोनयन दर्ता गर्ने दिन आफ्नो समूहमा सर्वसम्मत मात्र भएनन्, महाधिवेशनमा देउवाको प्यानलबाट महामन्त्रीमै लडेका युवा नेता प्रदीप पौडेललाई समेत आफूतिर तान्न सफल भए । झापा १ बाट चुनाव जितेलगत्तै गगनलाई संसदीय दलको नेतामा प्रस्ताव गर्दै विश्वप्रकाश खुलिसकेका थिए ।

मनोनयन दर्ता लागि संसदीय दलको कार्यालय सिंहदरबारमा जाँदा गगनले जसरी विश्वप्रकाश र प्रदीपको साथ पाए, त्यसले शेखर–गगन समूहमाथि युवाको आशा बढेको छ । शेखर कोइरालाले नै ‘रुपान्तरणका लागि युवा पुस्ताको भरोसा’ भनेपछि यसले पार्टीको नेतृत्वमा युवा पुस्ताले हस्तक्षेप गरे भन्ने सन्देश गएको छ ।

यो सन्देश शेरबहादुर देउवालाई मात्र होइन, देउवाको विकल्प नदेख्ने उपसभापति पूर्णबहादुर खड्कामाथि पनि चुनौतीका रुपमा आएको छ । जुन चुनौती पहिला देउवाको विकल्प खोज्ने र पछि उनको विकल्प नदेख्ने रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइरालालाई पनि छ ।

थापाले आफ्नो समूहमा सर्वसम्मत हुँदै गर्दा अबको महाधिवेशनमा शेखर कोइरालालाई सभापतिमा समर्थन गर्ने वचन दिएका छन् । जुन वचन संस्थापन पक्षबाट सभापतिमा पालो पर्खनेहरुका लागि आजकै दिनबाट चुनौती बनेको छ ।

नतिजा जे आए पनि संसदीय दलको चुनावमा शेखर–गगन समूहले एकता प्रदर्शन गर्दै सभापति शेरबहादुर देउवालाई चुनौती दिएको दृश्यले पार्टी पंक्तिभित्र उत्साह पैदा गरेको छ । यसले देउवा र उनका सहयोगीका लागि आउँदा दिन सहज छैनन् भन्ने पनि उत्तिकै संकेत गरेको छ ।

पोहोर भएको महाधिवेशनमा शेखर कोइरालाको प्यानलबाट महामन्त्री चुनिएका थापा र प्रकाशमान सिंहको प्यानलबाट चुनिएका शर्माले एक भएर पार्टीमा हस्तक्षेप नगरेका होइनन् । तर उनीहरुको हस्तक्षेपको देउवा पदाधिकारी र केन्द्रीय सदस्यले प्रतिवाद गर्थे र देउवाको चाहना विपरीत कांग्रेसमा केही हुँदैन भन्ने कहावतलाई सत्य सावित गर्थे ।

आफू निकटले समर्थन गर्ने भएकै कारण देउवाले आफू खुसी निर्णय गर्थे र आँखा चिम्लेर निर्णयमा हस्ताक्षर गर्थे । त्यही बलमा देउवाको मनोमानी बढ्दो थियो । र उनी काम चलाउ भइसकेको स्थितिमा पनि आफ्नै दलका महामन्त्री र नेताहरुले विरोध गर्ने र पार्टीमै नरुचाइने निर्णय गराउन लागि परेका थिए । जसको पछिल्लो उदाहरण रेशम चौधरीसहितलाई माफी दिने गरी ल्याउन लागेको अध्यादेश नै हो ।

तर अब संसदीय दलको चुनावमा थापाले पाएको साथ र पाउने मतले यस्ता निर्णय गर्नुअघि देउवालाई र देउवालाई साथ दिनेहरुले सोच्नुपर्ने हुन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?