+
+

भोट ट्रान्सफर भएन र ? गज्जबले भएको छ

जति भोट ट्रान्सफर भएको छ, त्यो गज्जब मान्न सकिने देखिन्छ । माओवादी र एकीकृत समाजवादीले हारेको क्षेत्रमा सम्बन्धित दलको समानुपातिक मत र प्रत्यक्षको उम्मेदवारले पाएको मतको तुलनाले यही भन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ६ गते १९:४७

६ पुस, काठमाडौं । आम चुनावको समीक्षा गर्न १९ मंसिरमा बालुवाटारमा बसेको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले निष्कर्ष सुनाए– भोट ट्रान्सफर भएन ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेताहरुले भोट ट्रान्सफर नभएको भन्दा कांग्रेस नेताहरुले सहजै स्वीकार गरे । ‘कतिपय ठाउँमा पार्टीको अन्तरविरोधका कारण आफ्नै भोट पनि नआएकाले सिट घट्यो भन्ने सबैको धारणा थियो’, बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाका महासचिव हिमलाल पुरी भन्छन्, ‘क्षेत्रगत रुपमा त छलफल भएन । दलहरुको संसदीय दलको चुनावपछि फेरि छलफल होला ।’

बैठकमा नेताहरुले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) अस्वभाविक रुपमा मत पाएको भन्दै त्यसको कारणबारे पनि विभिन्न तर्क पेश गरे । मूल कारण चाहिँ गठबन्धनमा आवद्ध दलहरुको भोट एक अर्कामा ट्रान्सफर नहुनु नेताहरुको बुझाइ थियो ।

गठबन्धनको बैठकमा जस्तै सार्वजनिक रुपमा पनि नेताहरुले सत्ता गठबन्धनमा रहेका दलहरुबीच एउटा दलको भोट अर्को दलको उम्मेदवारलाई नगएको गुनासो गर्ने गरेका छन् । खासगरी गठबन्धनको नेतृत्व गरेको कांग्रेसले आफ्ना उम्मेदवारलाई मत नदिएको अरु दलको गुनासो छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भन्छन्, ‘शेरबहादुरका विपक्षका मान्छेहरुले गठबन्धनको विपक्षमा भोट खसालेका छन् ।’

नेताहरुले भनेजस्तो भोट ट्रान्सफर नभएकै हो ? वा दलहरुको मताधार नै खुम्चिएको हो ?

स्थानीय निर्वाचन–२०७९ को वडामा आएको मतअनुसार गठबन्धनमा आवद्ध दलहरु १३६ निर्वाचन क्षेत्रमा अगाडि थिए । अर्थात ती क्षेत्रमा गठबन्धनका उम्मेदवारले चुनाव जित्ने सम्भावना थियो । तर गठबन्धनका दलहरुले ९० क्षेत्रमा मात्र चुनाव जिते । वडाध्यक्षले पाएको मतको आधारमा ९ सिटमा खुम्चिनसक्ने भनिएको एमाले भने ४४ क्षेत्रमा विजयी भएको छ ।

झट्ट यो तथ्यांक मात्र हेर्दा, सत्ता गठबन्धनका दलहरुबीचमा भोट ट्रान्सफर नभएको देखिन्छ ।

यो निष्कर्षमा पुग्नुअघि हामीले यो निर्वाचनमा आएको दुई बदलावलाई बिर्सनुहुन्न ।

पहिलो, स्थानीय चुनावमा जति मत प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा खसेन । स्थानीय चुनावमा ६६.८६ प्रतिशत मत खसेकामा ४ मंसिरको चुनावमा ६४.४१ मात्र मत खस्यो ।

दोस्रो, स्थानीय निर्वाचनपछि दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनबाट चौथो स्थानमा आइपुग्यो । १३१ क्षेत्रमा उम्मेदवार उठाएको रास्वपाले ७ क्षेत्रमा प्रत्यक्ष चुनाव जित्यो । ४ वटा क्षेत्रमा निकटतम प्रतिद्वन्द्वी रहेको रास्वपाका उम्मेदवारहरुले अरु क्षेत्रमा उल्लेख्य मत पाए । तराई मधेसमा जनमत पार्टी र पश्चिम तराईमा नागरिक उन्मुक्ति पार्टी आएको छ ।

त्यसैले भोट ट्रान्सफर भयो कि भएन भन्ने निष्कर्षमा पुग्न हामीले स्थानीय चुनावमा खसेको मत अनुपातमा संघमा प्रत्येक पार्टीले पाउनसक्ने अनुमानित मत संख्या निकाल्यौं । र, सम्बन्धित दलले प्रतिनिधिसभामा समानुपातिकतर्फ पाएको मतसँग तुलना गर्‍यौं ।

यसबाट के थाहा भयो भने गठबन्धनमा आवद्ध सबै दलको मत स्थानीय निर्वाचनमा भन्दा घटेको छ ।

कांग्रेसले औसतमा प्रतिनिर्वाचन क्षेत्रमा ५ हजार ४६० मत गुमाएको देखिन्छ । १६५ क्षेत्रमध्ये १४३ मा उसको मत स्थानीय तह निर्वाचनमा भन्दा घटेको र २२ वटामा मात्र बढेको देखिन्छ ।

कांग्रेसले सबैभन्दा धेरै मत चितवन–३ मा गुमाएको छ । त्यसपछि रुपन्देही २, चितवन १, झापा २ र बर्दिया २ मा गुमाएको छ । यसमध्ये चितवन १ मा कांग्रेसको आफ्नै उम्मेदवार थियो भने अरुमा प्रत्यक्षतर्फ गठबन्धनका अरु दललाई छाडेको थियो ।

स्थानीय निर्वाचनको तुलनामा कांग्रेसले ११ निर्वाचन क्षेत्रमा भने थोरै मत बढाएको देखिन्छ । सबभन्दा धेरै रुपन्देही ४ मा तीनहजार ८५१ मत बढेको छ ।

यसैगरी माओवादी केन्द्रले औसतमा हरेक निर्वाचन क्षेत्रमा १२४५ भोट गुमाएको देखिन्छ । उसको मत १६५ मध्ये ९८ निर्वाचन क्षेत्रमा घटेको छ भने ६६ मा केही बढेको छ ।

माओवादीले प्रत्यक्षमा उम्मेदवारी दिएको ३० वटा निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनमा भन्दा प्रतिनिधिसभा निर्वाचनमा मत घटेको छ । १३ वटा क्षेत्रमा भने स्थानीय निर्वाचनमा पाएको मतअनुसार पाउनसक्ने भोटभन्दा बढी मत समानुपातिकमा ल्याएको छ ।

गठबन्धनको अर्को दल एकीकृत समाजवादीले स्थानीय चुनावमा मत पाएको १५६ क्षेत्रमध्ये ९८ मा मत घटाएको र ५८ मा बढाएको देखिन्छ । तर स्थानीय चुनावमा पाएको भन्दा औसतमा प्रत्येक निर्वाचन क्षेत्र ८३७ भोट घटेको देखिन्छ ।

सत्तारुढ गठबन्धनको भागवण्डामा पाएको १९ निर्वाचन क्षेत्रमध्ये ११ वटामा एकीकृत समाजवादीको मत घटेको थियो । बाँकी ८ मा स्थानिय निर्वाचनको तुलनामा भोट संख्या बढेको देखिन्छ ।

यसले के देखाउँछ भने गठबन्धनले आँकलन गरे अनुकुल चुनावी नजिता नआउनुको कारण भोट ट्रान्सफर नभएर भन्दा पनि समग्रमा गठबन्धनमा आवद्ध दलकै मत घट्नु हो ।

त्यसो त सत्ता गठबन्धन भन्दा बाहिरको नेकपा एमालेको पनि स्थानीय चुनावको तुलनामा मत घटेको छ । १६५ क्षेत्रमध्ये १३७ मा एमालेको समग्र मत घटेको र २८ मा बढेको देखिएको छ । औसतमा एमालेले प्रति निर्वाचन क्षेत्र ३,९७२ मत गुमाएको छ ।

तर गठबन्धनमा आवद्ध दलहरुले समानुपातिकतर्फ जति मत पाएका छन्, त्यति मत गठबन्धनका उम्मेदवारले प्रत्यक्षमा पाएका छन् त ? यो पनि छैन । ५९ क्षेत्रमा समानुपातिकतर्फ भन्दा धेरै पाएका छन् भने १०४ क्षेत्रमा थोरै पाएका छन् ।
यदि समानुपातिकमा पाए जत्तिकै भोट प्रत्यक्षका उम्मेदवारले पाएको भए गठबन्धनका दलहरुले १९ सिट बढाउन सक्थे । जसमा १० माओवादी, ५ कांग्रेस र ३ एकीकृत समाजवादी, र जनमोर्चाको १ उम्मेदवार भएको क्षेत्र पर्छ ।

समानुपातिक पद्धतिमा सत्ता गठबन्धनका दलले पाएको कुल मत बराबर नै प्रत्यक्षका उम्मेदवारले पाएको भए अथवा उम्मेदवारले आफ्नो दलको बाहेक गठबन्धनमा सम्मिलित अरु दलको भोट पाउन नसकेको भए जितेको ७० ठाउँको नजिता उल्टिन सक्थ्यो ।

गज्जबले भएको छ भोट ट्रान्सफर

निर्वाचनमा मत दिने प्रमुख कारण पार्टीहरु प्रति मतदाताको विगतदेखिको झुकाव हो । अर्थात अधिकांश चुनावमा कांग्रेसलाई समर्थन गर्नेले कांग्रेस वा माओवादीलाई समर्थन गर्नेले माओवादीलाई भोट हाल्छन् । तर सत्ता गठबन्धनमा वैचारिक र संगठन शैली पनि फरक फरक भएका पार्टीहरु छन् ।

कांग्रेस मासबेस्ड पार्टी हो । उसका मतदाता, कार्यकर्ता भन्दा समर्थन सुभेच्छुक धेरै छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा वामपन्थी र क्याडरबेस्ड पार्टीहरु हुन् । कांग्रेस र वामपन्थी पार्टीका नेताहरु केन्द्रमा मिलेपनि तल्लो तहमा कार्यकर्ताबीच सम्बन्ध हार्दिक छैन । त्यसैले भोट ट्रान्सफर सहज विषय होइन । त्यसमाथि मतदाताको आफ्नै रोजाइ हुन्छ । समानुपातिकमा दललाई मत दिने मतदाताले प्रत्यक्षमा भने उम्मेदवार हेर्न सक्छन् ।

त्यसका बाबजुद जति भोट ट्रान्सफर भएको छ, त्यो गज्जब मान्न सकिने देखिन्छ । माओवादी र एकीकृत समाजवादीले हारेको क्षेत्रमा सम्बन्धित दलको समानुपातिक मत र प्रत्यक्षको उम्मेदवारले पाएको मतको तुलनाले यही भन्छ ।

ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज (जीआईआईएस) का निर्देशक उत्तमबाबु श्रेष्ठ र रिसर्च इन्टर्न निशान साहसँगको सहकार्यमा अनलाइनखबरका राजकुमार श्रेष्ठले तयार पारेको रिपोर्ट । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?