+

गर्भावस्थामा मदिरा पिउँदा के हुन्छ ?

२०७९ पुष  ८ गते १८:२० २०७९ पुष ८ गते १८:२०
गर्भावस्थामा मदिरा पिउँदा के हुन्छ ?

गर्भवतीले सेवन गर्ने खानेकुरा, गर्ने व्यवहार, भोग्ने दिनचर्या, सोच्ने शैली सबैको प्रभाव गर्भको बच्चामा पर्छ । त्यसैले जब गर्भ रहन्छ, खानपान र जीवनशैलीमा सतर्कता अपनाउनै पर्छ ।

गर्भावस्थामा स्वस्थ र सन्तुलित खानपान गर्नुपर्छ । गर्भावस्थामा मदिरा सेवन गर्नु हुँदैन । गर्भावस्थामा आमाले खाने खानेकुराले गर्भको बच्चाको विकासमा प्रभाव पार्छ ।

गर्भको बच्चालाई मदिराको असर

गर्भावस्थामा मदिरापान गर्दा गर्भको बच्चामा प्रत्यक्ष असर गर्छ । यो बेला आमाबाट सालमार्फत बच्चाले जति पनि पौष्टिक तत्त्व पाउनुपर्ने हो मदिरापान गर्ने आमाबाट त्यति पौष्टिक तत्त्व प्राप्त गर्न सक्दैन । मदिरापानले सालको नलीलाई साँघुरो बनाउँछ । जसले गर्दा सालमार्फत बच्चामा अक्सिजन, पौष्टिक तत्त्वहरू पुग्न पाउँदैन र बच्चाको विकास राम्ररी हुन पाउँदैन ।

गर्भावस्थामा मदिरापान गर्दा बच्चाको शारीरिक तथा मानसिक विकास राम्ररी नहुने, समयभन्दा अगाडि नै बच्चा डेलिभरी हुने जस्ता समस्या देखा पर्छन् । कुनै बच्चाको टाउको ठूलो र शरीर चाहिं सानो हुने समस्या पनि हुन्छ ।

बच्चामा देखिन सक्छ मानसिक विकार

आमाले रक्सी पिउँदा गर्भको बच्चाको मानसिक विकासमा पनि केही न केही असर गर्छ । बच्चा जन्मिने बित्तिकै नरुने, अलि सुस्त हुने, पछि कुनै कुरामा एकाग्र नहुनेजस्ता समस्या देखिन्छन् । जन्मिने बित्तिकै समस्या नदेखिएका बच्चा पछि एकोहोरो हुने, सुस्त हुने हुन सक्छ ।

पटक्कै पिउन हुन्न

गर्भावस्थामा रक्सी पटक्कै नपिएको राम्रो हो । यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा असर गर्न सक्ने भएकाले रक्सी, चुरोट नपिउनु नै उचित हुन्छ ।

गर्भावस्थामा चुरोट खाँदा चाहिं गर्भको बच्चामा के कस्तो हानि पुग्न सक्छ ?

चुरोटमा निकोटिनको मात्रा धेरै हुन्छ र त्यो निकोटिनले रक्तनलीहरूलाई ब्लक गर्छ र बच्चाको विकासको लागि चाहिने सम्पूर्ण कुराहरू बच्चासम्म पुग्दैन, त्यसपछि बच्चाको विकास पनि राम्ररी हुन पाउँदैन ।

गर्भावस्थामा आफूखुसी एन्टिबायोटिक खानै हुन्न

गर्भावस्थामा कुनै समस्या भएर चिकित्सकको सल्लाह लिएर कुनै पनि औषधि तथा एन्टिबायोटिकको सेवन गरेको छ भने असर गर्दैन । तर आफूखुसी एन्टिबायोटिकको सेवन गर्दा भने बच्चाको विकास राम्ररी नहुने, मुटुमा समस्या देखा पर्ने, कानको हड्डी कमजोर हुने, आँखा कमजोर हुने लगायत समस्या देखा पर्छन् ।

आमाको खानाअनुसार शिशुको विकास

गर्भमा रहेको शिशुले आफ्नो आमाले खाएको खानाबाट नै पौष्टिक तत्त्व पाएर हुर्कन्छन् । गर्भधारणदेखि नै आमाले दिनहुँ खाने साविक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानुपर्छ ।

आमाले खानाबाट सम्पूर्ण पौष्टिक तत्त्वहरू पाएर नै बच्चाको मेरुदण्ड, स्नायु र मस्तिष्क लगायत सम्पूर्ण अंगको विकास हुने भएकाले आमाले खानपानमा विशेष ध्यान दिनुपर्छ ।

गर्भावस्थामा घरमा बनेको ताजा र स्वास्थ्यकर खानेकुरा खानुपर्छ । जंकफुड त यो बेला खानै हुँदैन । यस्ता खानेकुराले पोषणको मात्रा कम हुन्छ र आमा बच्चा दुवैको स्वास्थ्यमा प्रतिकूल असर गर्न सक्छ । गर्भवती अवस्थामा प्याकेट फुड, जंकफुड र रसायनयुक्त खानेकुरा खाँदा त्यसमा भएको रसायनले बच्चालाई असर गर्न सक्छ ।

फलफूलमा मेवा र टिमुर पनि गर्भवतीले नखाएको राम्रो हो, यसले पनि बच्चाको स्वास्थ्यमा असर गर्छ ।

गर्भावस्थामा कस्तो खानपान जरुरी ?

गर्भावस्थामा सन्तुलित र स्वास्थ्य आहार महत्त्वपूर्ण हुन्छ । गर्भवती महिलाले बाहिर होटल– रेस्टुरेन्टको भन्दा पनि घरमै बनेको खानेकुरा खानुपर्छ । पर्याप्त मात्रामा सब्जी वा फल र केही मात्रामा रोटी, चामलले भरपुर आहार लिनुपर्छ । यसबेला प्रोटिनको जरुरी हुन्छ, जो माछा, मासु, अण्डा, मेवा, दालबाट मिल्छ ।

गर्भवतीले प्रतिदिन दूध एवं दुग्धजन्य उत्पादन सेवन गर्नुपर्छ । क्याल्सियमयुक्त स्रोत बदाम, राजमा, सोया दूध, सोयाबिन पनिर लगायत सन्तुलित र स्वास्थ्यकर खानपान जरुरी हुन्छ ।

(डा. शाहीसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

गर्भावस्था डा. विभूति शाही मदिरा
लेखक
डा. विभूति शाही
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

शरीरमा युरिक एसिड बढेको संकेत गर्ने ५ समस्या

शरीरमा युरिक एसिड बढेको संकेत गर्ने ५ समस्या

दमसँग सम्बन्धित ६ भ्रम र तथ्य

दमसँग सम्बन्धित ६ भ्रम र तथ्य

औषधि विना पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ ?

औषधि विना पनि रक्तचाप नियन्त्रण गर्न सकिन्छ ?

‘हिंड्नु मात्र व्यायाम होइन’ (भिडियो)

‘हिंड्नु मात्र व्यायाम होइन’ (भिडियो)

लामखुट्टे मार्ने धुपले हानि पुर्‍याउँछ ?

लामखुट्टे मार्ने धुपले हानि पुर्‍याउँछ ?

प्रोटिन भरपुर पाइने ५ खानेकुरा, जुन मासुको विकल्प हुनसक्छन्

प्रोटिन भरपुर पाइने ५ खानेकुरा, जुन मासुको विकल्प हुनसक्छन्