+
+

आरआर क्याम्पसभित्रै किन भयो खुकुरी प्रहार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १९:५४
फाइल तस्वीर

१३ पुस, काठमाडौं । बुधबार बिहान साढे ८ बजेतिर प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसभित्रै विद्यार्थीबीच झडप भयो । धारिलो हतियार बोकेका विद्यार्थीको समूहले अर्को समूहलाई जथाभावी प्रहार गर्न थाल्यो । त्यहाँका विद्यार्थी झगडा छुटाउने भन्दा पनि भागेर ज्यान बचाउनतर्फ लागेका थिए ।

स्थिति रक्तपातपूर्ण हुन थालेको धेरैबेर पछि प्रहरी क्याम्पसमा पुगेको थियो । घटना अनेरास्ववियु आरआर कमिटीका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश खड्का र विद्यार्थीहरु हर्क बोहरा, रवि मगर, ईश्वर विष्ट घाइते भएका छन् ।

घटनामा घाइते भएकाहरु मध्ये अनेरास्ववियु आरआर कमिटीका अध्यक्ष मदन भण्डारीलाई गम्भीर चोट लागेको छ । हाल उनको काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । अन्य घाइतेहरु भने सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । घटना किन र कसरी भयो भन्ने कुरा अझै स्पष्ट खुल्न सकेको छैन । प्रहरीले आक्रमण गर्नेहरु मध्ये काभ्रेका दुतराज लामा लगायत चार जनालाई पक्राउ गरेर छानबीन गरिरहेको छ ।

झडप हुने विद्यार्थीहरु एकै संगठनका हुन् । तर, उनीहरु विगत एक महिनादेखि सामान्य कुरामा पनि विवाद गर्दै आएको एक विद्यार्थी बताउँछन् । उनको भनाइ अनुसार त्यहि चलिरहेकै बेला मंगलबार भलिबल खेलिरहेको बेला आँखा तरेर हेरेको भन्दै कुवेर जेठारा लगायतले केही विद्यार्थीहरुलाई कुटपिट गरेका थिए ।

उनी भन्छन् ‘निक्कै अघिदेखि उनीहरुबीच कुरा मिलिरहेको थिएन । त्यसमाथि हिजो कुटपिट नै भयो । हिजो कुटाइ खाएकाहरुले आज द्ला लिएका जस्तो लाग्यो ।’ जेठारा गत वर्ष शिक्षकलाई कुटेर क्याम्पसबाट निष्काशित भएका विद्यार्थी हुन् । जेठारा क्याम्पसबाट निष्काशित भए पनि नियमित क्याम्पस आइरहने विद्यार्थीहरु बताउँछन् । एक विद्यार्थीको भनाइ अनुसार जेठारा यो वर्ष क्याम्पसमा पुनः भर्ना भएका छन् ।

बुधबार करिब १० जनाको समूहले क्याम्पसभित्रै जथाभावी आक्रमण गरेका थिए । अर्को एक विद्यार्थीको भनाइ अनुसार ती आक्रमण गर्नेहरुको सबैको हातमा हतियार थियो । उनी भन्छन्, ‘कसैको हातमा रड, कसैको हातमा खुँडा र कसैको हातमा साइकलको चेन थियो ।’

जथाभावी आक्रमण गर्न थालेपछि आत्तिएका केही छात्राहरु बेहोससमेत भएका थिए । अनेरास्ववियुको आन्तरिक विवाद चर्किदै जाँदा यो घटना भएको एक विद्यार्थी बताउँछिन् । उनी भन्छिन्, ‘यो घटना अखिलको आन्तरिक विवाद चर्किएपछि घटेको हो । उनीहरुभित्र खास विवाद के थियो थाह भएन तर अलि अघिदेखि नै विवाद थियो ।’

स्ववियु सभापति तपेन्द्र जंग शाही भने भलिबल खेल्दा सामान्य झगडा भएको विषयलाई लिएर झडप भएको जिकिर गर्छन् । उनी भन्छन्, ‘हिजो भलिबल खेल्दा सामान्य झगडा परेको रहेछ । ती मध्येका अपराधिक मानसिकता भएका एक समूहले आज जथाभावी आक्रमण गरेका रहेछन् ।’

विद्यार्थी प्रमोद घिमिरेले भने आजको घटना मंगलबार भएको कुटपिटबाटै शुरु भएको बताउँछन् । उनी भन्छन्, ‘हिजो आज कुटाइ खाने साथीहरुले खै के निहुँमा केही विद्यार्थी साथीहरुलाई कुटपिट गरेका रहेछन् । उनीहरुले आफ्ना दाजुहरुलाई लिएर आएर झडप गरेका रहेछन् ।’ तर अरुले भने जस्तो अनेरास्ववियुको आन्तरिक विवाद नभएको उनको दाबी छ ।

क्याम्पसभित्रै भएको अपराधिक क्रियाकलापको बारेमा क्याम्पसले भने अहिलेसम्म कुनै पनि खालको प्रतिक्रिया जनाएको छैन । क्याम्पस प्रमुख डा.जीवनधर ज्ञवाली तथा सहायक क्याम्पस प्रमुख रबिन्द्र श्रेष्ठसँग पटक-पटक सम्पर्क प्रयास गर्दा पनि सम्पर्क हुन सकेन ।

विद्यार्थी संगठन अनेरास्ववियुले भने विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?