+
+

क्यूएफएक्सले एउटै मितिमा दुई ठूला नेपाली फिल्म रिलिज नगर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १७:३६
क्यूएफएक्सका सञ्चालक भाष्कर ढुंगाना

काठमाडौं । फिल्म मल्टिप्लेक्स चेन क्यूएफएक्सले एउटै मितिमा दुई ठूला नेपाली फिल्म प्रदर्शन नगर्ने भएको छ । उक्त हलका सञ्चालकले फिल्म जुधाउने परम्परा अन्त्यका लागि आफूहरुले यस्तो निर्णय गरेको बताएका छन् ।

निर्देशक भाष्कर ढुंगानाले आफूहरुसँग समन्वय गरेर मात्र फिल्म प्रदर्शनको मिति तय गर्न वितरक तथा निर्मातालाई आग्रह गरे । ‘हामीले नीतिगत रुपमा यस्तो निर्णय गरेका हौं । भोलि यो निर्णय सबै फिल्मलाई लागू हुन्छ,’ उनले अनलाइनखबरसँग भने ।

यसबारे क्यूएफएक्सले सबै वितरकलाई पत्र लेखेर जानकारी गराइसकेको भन्दै ढुंगानाले आफूहरुसँग समन्वय नगर्ने फिल्मलाई सघाउन नसकिने स्पष्ट पारे । सोही नीतिअनुसार फागुन १९ गतेको रिलिज डेट ‘छक्कापञ्जा ४’लाई दिइसकेको पनि उनले बताए ।

‘क्यूएफएक्सको यो निर्णय छक्कापञ्जा र छड्केसँग सम्बन्धित छैन । हामीले ‘पोलिसी’को रुपमा यसलाई अघि सारेका हौं । भोलि गएर सबै फिल्ममा नियम लागू हुन्छ,’ ढुंगानाले भने । क्यूएफएक्सको यो निर्णयको प्रभाव फागुन १९ गतेलाई रिलिज मिति तय गरेका ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ लाई पर्ने देखिन्छ ।

क्यूएफएक्सका अर्का निर्देशक नकिम उद्दिनले पनि फिल्म जुधाउने परम्पराको अन्त्य गर्न आफूहरुले चाहेको बताए । ‘फिल्म जुधाउने परम्पराको अन्त्य चाहेका हौं । अहिले फिल्म छैन । एउटै डेटमा फिल्म आउनु राम्रो होइन । जुन आए पनि एउटा फिल्म आउनुपर्‍यो,’ उद्दिनले अनलाइनखबरसँग भने ।

भाष्कर ढुंगानाले के भने ?

‘हामीले पहिला धेरै दुःख पायौं । ठूला-ठूला फिल्म जुधाएर वितरक र निर्माताले हललाई दोष लगाए । उनीहरुको जुँगाको लडाइँमा हामी मुछिंदैनौं । अब हामी योग्यता र मितिअनुसार वितरकसँग मिलेर एउटा फिल्म छान्छौं । कहिले दुईवटा र कहिले तीनवटा फिल्म छान्छौं होला ।

तर योग्यता र विगतको रेकर्ड हेरेर निधो गर्छौं । नामसँग सरोकार छैन । विगतमा दर्शक कति आए, यो सबै हेरेर हामीले उनीहरुलाई निश्चित मिति दिन्छौं । त्यसपछि हामी अरु-अरु फिल्म जुधाउन आए जुधाउने काम चाहिं गर्दैनौं ।

नीतिगत कुराको रुपमा हामीले यसलाई अघि सारेका हौं । भोलि गएर यो अरु फिल्मलाई पनि लागू हुन्छ । सानो, ठूलो योग्यता अनुसार हामीले मूल्यांकन गर्छौं । त्यसपछि वितरकसँगै बस्छौं । उहाँहरु आउनुभयो भने त्यहीअनुसार डेट मिलाएर दिन्छौं, तर आउनुभएन भने हामीले त्यसमा केही गर्न सक्दैनौं । हामीले हाम्रो हलमा देखाउने वा नदेखाउने कुरा मात्र गर्न सक्छौं ।

यो कुरालाई लिएर हामीले सबै वितरकलाई एक महिनाअघि नै चिठी पठाइसकेका छौं । यो कुरा ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ दुवैसँग सम्बन्धित छैन । हामीसँग समन्वय गरेर मात्र रिलिजको मिति तय गर्नुहोला अन्यथा हामीले उहाँहरुलाई सघाउन सक्दैनौं भनेर भनेका छौं । त्यहीअनुसार छक्कापञ्जा-४ का वितरक आएर हामीसँग डेट मागिसकेको थियो, हामीलाई पनि त्यो डेट ठीकै लाग्यो । हामीले त्यो डेट दियौं । अहिले अर्को फिल्मको कुरा पनि आएको छ । अर्को फिल्म हामीले त्यो डेटमा रिलिज गर्दैनौं, किनभने छक्कापञ्जा-४ ले धेरैजसो स्क्रिन लिएको हुन्छ ।

झन् अर्को ठूलो फिल्म आयो भने दुवैलाई अन्याय हुन्छ । त्यो अन्यायको भागीदारी हामी चाहिं हुँदैनौं भन्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?