+
+

दिनभर लाइनमा बस्छन् किसान, प्रसाद जस्तै बाँडिन्छ मल

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ पुष १५ गते २२:२०

१५ पुस, काठमाडौं । काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ की पबित्रा बजगाईं शुक्रबार बिहान साढे ६ बजे नै गाउँकै पातीखोरिया कृषि सहकारीको ढोकामा पुगिन् ।उनी सहकारी पुग्दा गाउँ कुहिरोले ढाकेकै थियो । तर उनीभन्दा अगाडि नै गाउँका अरु मानिस केहीले हातमा बोरा त कसैले हातमा थैलो बोकेर सहकारीको ढोका रुँघिरहेका थिए ।

बिस्तारै गाउँका मानिसहरु सहकारीमा जम्मा हुने । ठूलै भीड जम्मा भएपछि मिलेर लाइन बस्ने कुरा भयो । पबित्रा र भेला भएकाहरु लाइनमा लागे ।

‘खेतमा आलु लगायतका तरकारी बाली लगाउन बाँकी छ । लागाएको बालीलाई पनि रासायनिक मल हाल्ने बेला भएको छ,’ उनले अनलाइनखबरसँग आफ्नो दिनभरको कहानी सुनाइन्, ‘केही दिन अघि सहकारीले मल ल्याएको र शुक्रबार वितरण गर्ने सूचना जारी गरेपछि बिहानै पुगेको थिएँ । दिनभरी लाइन लागेर १५ किलो मल पाएँ ।’

पबित्राकाअनुसार उनलाई अहिले उपलब्ध हुने हो भने ५० किलो युरिया मल चाहिन्छ । तर दिनभरी लाइन बस्दा पनि सहकारीले १५ किलो युरिया र ८ किलो डिएपी मात्रै दियो । उनले अनलाइनखबरसँग भनिन्, ‘मनको सन्तोषका लागि छर्ने हो, तरकारी बाली र खेतले पनि बुझ्नुपर्छ मल छैन भनेर ।’

दिनभर लाइनमा लागेर केही किलो मल लिएर घर फर्किएका सुमन बिककाअनुसार यस्तो सास्ती खेपेको यो पहिलो होइन । उनका अनुसार यो पटक तरकारी बालीका लागि आफ्नो नजिकको सहकारीमा जम्मा १०० बोरा मल आएको थियो । त्यही मल करिब एक हजार घरधुरीका लागि शुक्रबार बाँडिएको छ । ‘मैले चाहिँ आज पाइनँ, कुपन लिएर आएको छु । अर्को दिन बाँड्ने भनेका छन्’ उनले भने ।

यतिबेला काभ्रेका बेशी खेतहरुमा आलु लगाउने मुख्य सिजन छ । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका कृषि सहकारीले पाएका थोरैथारै मल वितरण सुरु गरेको छ ।

पनौती नगरपालिकाले पुस ४ गते एक सूचना जारी गरेर आफ्नो पालिकालाई प्राप्त भएको मल सहकारीअनुसार वितरणको कोटा तोकेको थियो । जसअनुसार १५०० बोरा मल ३२ वटा सहकारीलाई भाग लगाएको थियो । अहिले पालिकाका सबै सहकारीमा तिनै मल वितरण भइरहेको र सबै ठाउँमा थेग्नै नसकिने भिड छ ।

नगरपालिकाको कुशादेवीस्थित २ नम्बर वडाकी दलित महिला सदस्य सुनिता बि.क. पनि मल थोरै आएको र सबैलाई बाँड्नै पर्ने बाध्यताका कारण लामो लाइन लागेका बताउँछिन् ।

पातीखोरिया सहकारीका अध्यक्ष रामशरण हुँमागाईका अनुसार कुशादेवी वडाको ४ वटा सकारीका लागि कोटामा सय बोरा युरिया र ५६ बोरा डिएपी मल दिइएको छ । दुई हजार घरधुरीलाई १५६ बोरा मल वितरण गर्नु थियो ।  ‘आज ४ सय घुधुरीलाई १५ किलो युरिया र ८ किलो डिएपीका दरले मल बाँडेका छौं,’ अध्यक्ष हुमागाईंले भने, ‘हामीले बिहानैदेखि कुपन बाँडेका थियो । किसानहरु बिहानै चिसोमा लाइनमा बसेका थिए ।’

अहिले गाउँमा आलु लगाउने मुख्य सिजन भएको र मल नपाउँदा प्रसाद जस्तो गरी मल वितरण गरिएको उनले बताए । आफ्नो क्षेत्रमा आवश्यकताको २५ प्रतिशत भन्दा पनि कम मल उपलब्ध भएको भन्दै उनले मल पाउने अरु कुनै उपाय नभएको बताए ।

केन्द्र सरकारले तोकेर प्रदेशमा पठाएको मल प्रदेशबाट स्थानीय तहलाई कोटा निर्धारण भएको र सोहीअनुसार मल प्राप्त भएको सहकारीले जनाएको छ । सहकारीले वितरण थालेको मल कृषि सामाग्री कम्पनीले अनुदानमा वितरण गरेको मल हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार चालु आर्थिक वर्षको मंसिरसम्म ८६ हजार २५६ मेट्रिकटन मल सरकारले खरिद गरेको छ । जसमा ५१ हजार  ८५६ मेट्रिकटन युरिया, डिएपी २९ हजार ८६७ र पोटास ४ हजार ५८१ मेट्रिकटन रहको आयात भएको छ ।

४५ हजार मेट्रिकटन मल आयातको चरणमा रहेको मन्त्रालयको दाबी छ । आयात भएको मल वितरण निर्देशिका अनुसार स्थानीय तहमा पुग्ने गरी वितरण भइरहेको मन्त्रालयले जनाएको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?