+
+
सन्दर्भ : कोदो महोत्सव :

कोदो चिनौं !

चालीसको दशक टेक्दा नटेक्दै दाताको उक्साहटसँगै आधुनिक कृषि गर्न सिकाउन भन्दै सबै गाउँघर पुगेका यस्ता कृषि प्राविधिकले रसायन, विषादी र विकासे बीउको जथाभावी प्रचार मात्र गरेनन् यिनले कोदो र यस्ता रैथाने बालीलाई हेला गर्ने कामको ठेक्का नै लिए ।

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
२०७९ पुष १७ गते ९:४६

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पूरक प्रस्तावमा संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई कोदो वर्षको रूपमा मनाउने निर्णय गरेको छ । नेपाल सरकारको कृषि मन्त्रालयले समेत यही पुस १७ गते यो महोत्सव औपचारिक रूपमा मनाउने तयारी गरेको छ । भारतमा खानपान र जीवनशैलीका कारणले बढिरहेको क्यान्सर र विकराल रूपमा फैलिएको चिनी रोगको अवस्थालाई मध्यनजर राख्दै विषाक्त र पत्रु हुँदै गएको खाद्य प्रणाली फेर्नै पर्ने दबावमा मोदीले यो प्रस्ताव राखेका हुन् ।

सँगै, माटो र समग्र प्रकृति बचाउन रसायन विषादीरहित जलवायु परिवर्तनमैत्री खेती प्रणालीतर्फ फर्किनुपर्ने बाध्यताले समेत विश्व समुदायको ध्यान कोदो जस्तो तुलनात्मक लाभ भएको खेती प्रवद्र्धनमा गएको हो । पौष्टिकता र अनुकूलनशीलताको अवस्थामा यसको महत्वबारे सबै सरोकारवालाको चेतना बढाउन र यसका मुख्य कर्तालाई दबावमा राख्न यस्तो दिवस मनाउने निर्णय हुनु स्वाभाविक र सकारात्मक कदम हो । यस सन्दर्भमा नेपालमा कोदो खाने संस्कृति र खेतीबारे केही चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

कोदो नेपालका प्रमुख पाँच बालीमध्ये एक हो । नेपालको हिमाल, तराई, पहाड सबै भेगमा कोदोको खेती गरिंदै आएको छ । नेपालमा कोदो वर्गका मुख्यतः तीन प्रजाति कोदो, चिनो र कागुनोको खेती परापूर्वकालदेखि नै गरिंदै आएको छ । खासगरी, नेपालको मध्य पहाडमा कोदो (फिङ्गर मिलेट) र कर्णाली क्षेत्रको हिमाली भेगमा चिनो (पोर्सो मिलेट)को खेती गरिन्छ । कागुनो (फक्सटेइल मिलेट) को खेतीे भने सबै क्षेत्रमा गरिन्छ । यीसँगै, यस्तै वातावरणमा हुर्कने मार्से, फापर, जुनेलो र बाज्रा समेतको खेती हुन्छ । तर यी सबैको खेती गर्ने चलन घट्दै गएको छ । अहिले यी अन्न र यिनबाट बनेका परिकार ठूलो मात्रामा भारत र अन्य देशबाट आयात भइरहेको छ ।

कोदोको रोटी, चिनोको भात र कागुनोको खीर नेपाली खानाका मुख्य परिकार हुन् । चिनोको भात बनाएर खाने चलन भएकोले कर्णाली क्षेत्रमा यसलाई हिमाली धान समेत भन्ने चलन छ । त्यसो त यी सबैको रोटी, ढिंडो, सातु र खीर खाने गरिन्छ । आदिवासी जनजातिले कोदोको जाँड, निगार, तोम्बा र रक्सी खाने परम्परागत रैथाने खाद्य संस्कृति हुन् । साथै अहिले खानेकुरा कारखानामा बनेसँगै सिन्के चाउ–चाउ, पाउरोटी, डोनट, कुकिज जस्ता प्रशोधित खानेकुरा बनाउँदा समेत यिनको उपयोग बढेको छ ।

पौष्टिक हिसाबले यी सबै बाली अत्यन्तै महत्वपूर्ण छन् । यी सबैमा अन्य मुखिया दर्जाका बालीभन्दा सन्तुलित पोषण जस्तै प्रोटिन, खनिज, लवण, भिटामिन र रेसा पदार्थ सन्तुलित मात्रामा पाइन्छ । सँगै कोदो प्रजातिका अन्नहरू ग्लुटिन अर्थात् अन्य अन्नबाली खासगरी, गहुँमा पाइने एक प्रकारको प्रोटिन (हानिकारक) रहित खाद्यबाली हुन् ।

ग्युटिन नामको प्रोटिनमा संवेदनशील मानिसलाई नसर्ने दीर्घरोग बढ्नेलगायत अन्य नकारात्मक प्रभाव पर्ने जोखिम हुन्छ । त्यसैले अहिले यसमा भइरहेको खोजीसँगै यस्ता ग्युटिनरहित अन्नको बारेमा जनस्वास्थ्यका कार्यकर्ता, अध्येता र आम मानिसको समेत चासो व्यापक हुँदै गएको छ । यसले पनि कोदो जस्ता बाली प्रवद्र्धन गर्न प्रेरित गरेको छ ।

अर्को कुरा, कोदो लामो समयसम्म सजिलै सुरक्षित गर्न सकिने खाद्य बाली हो । मानिस घरपालुवा भएसँगै विभिन्न खाले विपदका कारण हुन सक्ने सम्भावित खाद्य तथा भोकमरीको संकट टार्न कोदो उत्पादन र जगेर्ना गर्ने चलन चलेको हो । केही वर्ष पहिले उत्तरी चीनमा भएको उत्खननमा १० हजार वर्ष पुरानो चिनो भेटिएको थियो । यसले कोदो प्रजाति हामी सँगसँगै घरपालुवा भएको कुरा इंगित गर्छ । सँगै, यसको पौष्टिक महत्वका कारण यसलाई हाम्रा पुर्खाले नियमित रूपमा खाने भएर नै यो घरपालुवा बनाउन सम्भव भएको हो । यो कुरा यसको पौष्टिक परीक्षणबाट समेत पुष्टि हुँदै आएको छ ।

यो सुक्खा र सीमान्त जमिनमा सजिलै उब्जने मात्र नभई रोग–कीरा कम लाग्ने अन्नबाली हो । हाम्रो खाद्य सुरक्षाको ढाल बनेको यस्तो अन्न हिजोआज हेलाहोचोको चपेटामा परेको छ । विकासे हुने लहडसँगै यो क्रम झनै तीव्र बनेको छ । यस प्रसंगमा थप केही चर्चा गरौं ।

विडम्बना, नेपालमा अहिले पनि मानिसलाई जस्तै अन्नपातलाई समेत हेलाहोचो गर्ने गरिन्छ । पहिले कु–अन्न भन्दै ठूला भनिने ठालु र उच्च जातका भान्सामा दोस्रो दर्जा पाएको कोदो गरिब, दलित, महिला र जनजातिका लागि छुट्याइएको खाना थियो । कोदोका कारण समुदायले व्यहोरेको यस्तो हेलाहोचोको पीडा यत्तिमा मात्र सीमित छैन । उदाहरणका लागि, कोराको कपडा बुनेर यसलाई कसिलो बनाउन कोदोको माड लगाउने नेवार समुदायलाई ‘कोदे’ र जाँड खाने मौलिक संस्कृति भएको गुरुङलाई ‘जाँडे’ भनेर हेला गर्ने चलन समेत थियो ।

कतिसम्म भने यस्ता ठालुको सिको गर्दै खान नपुग्ने उच्च जातका गरिबले समेत यी प्रजातिका अन्न अरूले नदेख्ने गरी, लुकाएर मात्र खाने चलन थियो । केटाकेटी हुँदा स्कुलमा सरले ‘आज यसले कोदो खाएर आएछ’ भन्दा लाजले भुतुक्क भएको दृष्टान्त छँदैछन् । अरू अन्नपातले खान नपुगेर लुकेर बेसाहा खोज्न जाँदा समेत इज्जत जाने डरले ‘कोदो त घरै छ तेरोमा रातो छ कि भनेर आएको’ भन्ने स्वाङ पार्दै बेसाहा खोज्न जाने जमात पनि रहे । पश्चिम नेपालको मध्यपहाडतिरको यी पुरानै रैथाने चलन सम्झिंदा मानसपटलमा यो समाजको पाखण्डको दुरुह चित्र झल्झली आउँछ ।

यो भेदभावमा मिसिन तीसको दशकमा कृषि विकास नामको अर्को विकासे अड्डा र यसका हाकिमहरू थपिए । यी कोदोलाई हेला गर्न उक्साउने अनुसन्धान, शिक्षा र प्रसारमा काम गर्ने सुकिला वैज्ञानिकदेखि गाउँघरमा पुग्ने कृषि प्राविधिक समेत हुन् । चालीसको दशक टेक्दा नटेक्दै दाताको उक्साहटसँगै आधुनिक कृषि गर्न सिकाउन भन्दै सबै गाउँघर पुगेका यस्ता कृषि प्राविधिकले रसायन, विषादी र विकासे बीउको जथाभावी प्रचार मात्र गरेनन् यिनले कोदो र यस्ता रैथाने बालीलाई हेला गर्ने कामको ठेक्का नै लिए ।

गाउँका ठालुले परम्परादेखि होच्याएका यी रैथाने बालीलाई थप होच्याउन ‘निर्वाहमुखीले गर्ने मामुली बालीको खेती’ जस्ता पर्यायवाची झुण्ड्याउँदै यसको हुर्मत लिइयो ।

तर श्रमजीवी समुदायको आडिलो साथी यस्तो गुणकारी बालीमा विकासेको हेलाहोचो गाउँका किसानले सहेनन् । उनीहरूले पनि सहजै जवाफ फर्काएः

गाउँघरमा जेटी(ए)ओ

कोदो खाने कीरा नि भेटियो !

चालीसको दशकमा सुनेको यो व्यंग्य गाउँलेले कृषि प्राविधिकको ज्ञान र विवेकमाथि गरेको मार्मिक प्रहार थियो । सँगै विकासे सोचले कोदो मासिंदै गएकोमा व्यक्त गरिएको आक्रोश पनि ।

तर अहिले यो सन्दर्भ फेरिने क्रममा छ । अहिले थपिएका प्रकृति र मानव स्वास्थ्यका संकटसँगै विश्व समाज र यसको प्रवृत्ति फेरिएको छ । आफ्नै जीवनमा संकट थपिएसँगै चार दशकमै यस्तो हेलामा परेको ‘निर्वाहका लागि गरिने मामुली’ कोदोको उत्सव मनाउनुपर्ने भएको छ ।

खासगरी, हिजोआज विषाक्त खाना र शारीरिक श्रम कम गर्ने जीवनशैलीले बढेको मोटोपनले क्यान्सर र चिनी रोग बढेसँगै सबैका भान्सामा यिनको खोजी हुन थालेको छ । शहर–बजारमा समेत यिनका परिकारका भान्साघर चल्तीमा छन् । खल्तीमा पैसा हुनेले कोदोको खीर, ढिंडो वा रोटी खान यस्ता भान्साघर चहार्ने गरेका छन् । अर्थात् मानिसका आफ्नै बाध्यताले हिजोआज कोदो प्रजातिको वर्ग उत्थान भएको छ ।

आजभन्दा ८ वर्ष पहिले यो पंक्तिकारले डोल्पाको दुनै नजिकैको एउटा गाउँमा चिनोको मूल्य सोधेको थियो । ‘खै अहिलेसम्म यसको किनबेच नै भएको थाहा छैन, यसको मूल्य नै छैन’ भन्ने गाउँलेको जवाफ थियो । तर, अहिले चिनो लिन हारालुछ हुन थालेको छ । भलै दलाल बिचौलियाले गर्दा सबै किसानको चिनो बिक्दैन र उनीहरूले यसको उचित मूल्य नपाएको गुनासो छ, तर काठमाडौंमा त यसको किलोकै ४०० रुपैयाँ भन्दा बढी लिन थालेका छन् । यस्तै अवस्था रैथाने कोदो र कागुनोको समेत छ ।

यी सबै सन्दर्भले कोदोको महिमा बारे जनचेतना बढाउँदै यसको प्रवद्र्धन गर्न ढिला गर्न नहुनेतर्फ हामीलाई सचेत गराउँछ । स्थानीय भूगोल र पर्यावरण अनुकूल र स्थानीय समुदायको खाद्य संस्कृतिमा आधारित यस्ता रैथाने बाली प्रवद्र्धन गर्न हामी सबैको साझा दायित्व हो । सबैलाई थाहा छ, राष्ट्रिय अर्थतन्त्र, किसानको खाद्य सुरक्षा, आम्दानी र रोजगारी बढाउनुको तत्कालै अर्को उपयुक्त विकल्प छैन । यसर्थ, हाम्रो मौलिक खाद्य संस्कृतिमा आधारित रैथाने उत्पादनबाट खाद्य सुरक्षा बढाउँदै, निर्यातको बजार समेत सुरक्षित भएको कोदो जस्तो तुलनात्मक लाभको बालीको उत्पादन गरी किसानका साथै राज्यकोे आम्दानी बढाउनु निकै महत्वपूर्ण छ ।

यसका लागि सबैभन्दा पहिले यी उपेक्षित प्रजातिको मौलिक खाने संस्कृति र पौष्टिकताको चेतना फैलाउन र खेती प्रणाली उन्नत बनाउन अनुसन्धान, शिक्षा र प्रसारलाई प्रभावकारी बनाउन आवश्यक छ । खासगरी; बीउ, उत्पादन प्रविधि, खाद्यतत्व व्यवस्थापन उन्नत बनाउँदै प्रशोधन र बजारीकरण जस्ता आयाममा सहजीकरण गर्ने नीति निर्णय, योजना र कार्यान्वयनको ढाँचा बनाउन ढिला गर्नुहुँदैन । तर यस्ता कुरा गर्दा यो प्रक्रियामा अभ्यासले खारिएका अनुभवी अगुवाको विवेक मिसाउन कन्जुस्याईं गर्नुहुँदैन ।

अन्त्यमा, यस वर्षको कोदो दिवसले यी सबै कुरालाई ख्याल गर्दै स्वस्थ र पोषणयुक्त खान सक्षम बनाउन सबै तहका सरकार, नागरिक समाज, सञ्चार जगत र सम्पूर्ण किसान समुदायलाई कोदो प्रजाति प्रवद्र्धन गर्ने प्रेरणा देओस् !

(कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।)

लेखकको बारेमा
कृष्णप्रसाद पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?