+
+

सम्बन्ध विच्छेद : नयाँ जीवनको सुरुआत

मानवीय चेतनास्तरको बढोत्तरीले विद्रोह गर्ने क्षमता पनि बढ्दै जान्छ । गलत परम्पराविरुद्ध विद्रोह बोल्ने आँट पनि बढ्छ । परम्परा कायम गर्न खोज्ने र बदल्ने खोज्ने चाहनाको अन्तर विग्रहमा बदलिंदै जाँदा त्यसको उत्कर्ष ‘डिभोर्स’ बन्न पुग्छ ।

मनिषा थापा मनिषा थापा
२०७९ पुष १८ गते १६:०९

काठमाडौं । अमेरिकी लेखक तथा पत्रकार जेनिफर वेनर सम्बन्ध विच्छेदलाई त्यस्तो दुःखद् घटना मान्दिनन् । ‘जति पीडा कुनै वैवाहिक सम्बन्धमा रहिरहनुमा र व्यावहारिक रूपमा आफ्ना सन्तानलाई प्रेमबारे झुटो कुरा सिकाइरहनुमा हुन्छ, त्यति दुःखद् सम्बन्ध विच्छेद हुँदैन,’ उनको भनाइ छ, ‘सम्बन्ध विच्छेदबाट मानिसको जीवन अन्त्य हुँदैन, बरु नयाँ सुरुवातको ढोका खुल्छ ।’

आइरिस कवि तथा नाटककार ओस्कार वाइल्ड त सम्बन्ध विच्छेदलाई स्वर्गमा गरिने कामको रूपमा चित्रित गर्छन् । वल्र्ड पपुलेसन रिभ्युमा प्रकाशित एक तथ्यांकका अनुसार अमेरिकामा प्रतिवर्ष ४० देखि ५० लाख नागरिक विवाहबन्धनमा बाँधिन्छन् । यीमध्ये ४२-५३ प्रतिशतसम्म जोडीको सम्बन्ध ‘डिभोर्स’मा टुंगिन्छ ।

यो त भयो पश्चिमा संसारको कुरा । तर नेपाली समाजमा ‘सम्बन्ध विच्छेद’ खासै रुचाइन्न । ‘विवाह’बारे सुन्दा जसरी उत्साह र उमंगले भरिएको प्रतिक्रिया पाउँछौं, सम्बन्ध विच्छेदको खबरमा नितान्त फरक प्रतिक्रिया र टिप्पणी सुन्न पाउँछौं ।

तर समयसँगै नेपाली समाज पनि बदलिंदैछ । अब नेपालमा पनि सम्बन्ध विच्छेद बाक्लो अभ्याससँगै संस्कृति नै बन्दैछ । अदालती मुद्दामध्ये तराजुमा एकातिर सम्बन्ध विच्छेदका र अर्कोपट्टि अन्य मुद्दा राखियो भने त्यसको जोखा बराबर हुने अधिवक्ता तथा मनोविद् नानी थापा थापा बताउँछिन् ।

अंग्रेजीमा डिभोर्स, नेपालीमा छोडपत्र र सम्बन्ध विच्छेद हाम्रोमा चलनचल्तीका शब्दहरू हुन् । कानुनतः विवाह भइसकेका दम्पतीले एकअर्कालाई छोड्ने सहमतिपछि एक नेपाली कागजपत्रमा हस्ताक्षर गरेपछि छोडपत्र भएको मानिन्छ ।

किन डिभोर्स ?

दम्पतीबीच आर्थिक, सामाजिक, पारिवारिक लगायत सवालमा बेमेल हुन्छ, जहाँ मायाभन्दा बढी घृणा, असमझदारी, सम्झौता, वैचारिक मतभिन्नता हुन्छ, त्यहाँ मिलापभन्दा बढी सम्बन्धमा खटपट सुरु हुन्छ । यिनै असमझदारी र कलह बढ्दै जाँदा ‘सातजन्मको लागि बाँधिएको बन्धन’को गाँठो फुस्किन्छ र डिभोर्स हुन्छ ।

हाम्रोमा विवाहलाई एउटा लगानीको रुपमा पनि बुझिन्छ । छोडपत्र गर्न खोज्दा लाखौं खर्चमा सम्पन्न विवाह टुट्न नदिन सकेसम्म सबैले मिल्नलाई नै सुझाव दिन्छन् । एउटा महिलाको भोगाइ कसैको चासोको विषय बन्दैन । ‘महिलाले सहनुपर्छ’ भन्ने मानसिकता बनाइएको हुन्छ ।

एकअर्काको चाहना र आवश्यकताको सम्बोधन नहुँदा प्रेम, विश्वास र भरोसा टुट्न थाल्छ । आत्मीयता र समझदारीले सम्बन्ध टिकाउन सक्ने आधार कमजोर हुँदै गएपछि विकल्प डिभोर्स बन्ने गरेको समाजशास्त्री निर्मला ढकाल बताउँछिन् ।

शारीरिक सुखको अभावमा अन्यन्त्र सम्बन्ध बनाउने अभ्यास, समझदारीभन्दा बढी सम्झौता गर्ने जीवनशैली, परिवारको असमान स्तर, उमेरको असमानता, फरक विचार आदिका कारण सम्बन्ध विच्छेदका मुद्दा बढिरहेको वकालत गर्दै आएकी थापा सुनाउँछिन् ।

विवाह गर्दा जात, धर्म, संस्कृति, ठाउँ, आर्थिक स्तर हेर्ने तर सोचको समानता नहेर्ने चलन बढिरहेको छ । फरक सोच, संस्कृति र जीवनशैलीका कारण सहकार्य गर्न कठिन हुने अवस्थामा सम्झौता गर्ने भन्दा सम्बन्ध विच्छेद गर्ने अभ्यास बढिरहेको थापाको बुझाइ छ । ‘सम्बन्ध बन्नको लागि केही न केही समानता हुनुपर्छ,’ उनी भन्छिन् ।

मानवीय चेतनास्तरको बढोत्तरीले विद्रोह गर्ने क्षमता पनि बढ्दै जान्छ । गलत परम्पराविरुद्ध विद्रोह बोल्ने आँट पनि बढ्छ । परम्परा कायम गर्न खोज्ने र बदल्ने खोज्ने चाहनाको अन्तर विग्रहमा बदलिंदै जाँदा त्यसको उत्कर्ष ‘डिभोर्स’ बन्न पुग्छ ।

डिभोर्सीप्रति समाजको नजरिया

हाम्रो समाजमा शिक्षित र आत्मनिर्भर महिलाको संख्या बढिरहेको छ । घरगृहस्थीको चौघेरा नाघेर उनीहरू पनि बाहिरी समाजसँग नियमित अन्तरक्रियामा हुन्छन् । घर र कार्यालय सँगै लिएर हिंड्न सक्ने महिलाको संख्या पनि बढ्दो छ । समाजशास्त्री ढकालका अनुसार पुरुषको नाजायज दबाब सहेर बस्नुपर्छ भन्ने मानसिकता विस्तारै परिवर्तन हुँदैछ ।

तर पनि महिलालाई हेर्ने दृष्टिकोणमा पूर्ण परिवर्तन आइसकेको छैन । झन् छोडपत्र भएकी महिलाप्रति त हाम्रो समाज अझै पूर्वाग्रही देखिन्छ । हाम्रो समाजमा गृहस्थी सप्रिनु र बिग्रिनुमा महिलाको हातमा हुन्छ भन्ने भाष्य बलियो छ ।

यस्तोमा डिभोर्स भयो भने वास्तविकता नै नबुझी महिला पात्रलाई नै चरित्रमा दोषारोपण गरिएको पाइन्छ । घर गरेर खान नसकेको, घर बिगारेको लगायतका आरोप डिभोर्सी महिलाले सहनुपर्ने ढकाल बताउँछिन् ।

भावनात्मक सम्बन्ध, दाम्पत्य जीवन, परिवार र यससँग जोडिएका अमूल्य क्षण र मीठा सपनाहरू त्यागेर डिभोर्स गर्नु कसैको रहरको विषय होइन । तै पनि अन्य विकल्प नै नदेखेर सम्बन्ध विच्छेदको बाटोमा हिंड्नु चुनौतीपूर्ण काम हो ।

‘सम्बन्ध विच्छेदपछि पुरुष पात्रलाई भन्दा महिलालाई हाम्रो समाजले स्वीकार्न कठिन मान्छ,’ ढकाल भन्छिन्, ‘हिजो डिभोर्सी महिलालाई विचरी भन्ने समाजले आज उत्ताउलीको ट्याग लगाइदिन्छ ।’ महिलाले रोजेको बाटोलाई पुरुषप्रधान समाजले सजिलै नस्वीकार्ने उनी बताउँछिन् ।

सम्बन्ध विच्छेदपछि पुनर्विवाह पुरुषका लागि अप्ठ्यारो काम होइन, तर महिलाले भने पाइलैपिच्छे कठिनाइ व्यहोर्नुपर्छ । हाम्रो समाजले महिलामाथि अनेकौं लाञ्छना लगाउँछ । महिलाको समस्यालाई बुझ्ने प्रयास नै गरिंदैन । एक्लो महिलालाई कि गलत नजरले हेरिन्छ कि विचरा पात्रको व्यवहार गरिन्छ ।

एक्लो महिला भनेपछि गलत नियतले क्षणिक सम्बन्ध बनाउन खोज्नेहरू धेरै भेटिन सक्ने समाजशास्त्री ढकाल बताउँछिन् । सन्तान भएका अझ मध्यम र निम्नमध्यम वर्गका महिलाका लागि त जीवन अगाडि बढाउने काम निकै कठिन बनिदिन्छ ।

सबल आर्थिक अवस्था भएकालाई यो समाजमा संघर्ष गर्न धेरै कठिन हुँदैन । तर विपन्नले भने समाजबाट विभिन्न कोणको आक्रमण सहन तयार हुनुपर्छ । ‘परिवारको साथ र आर्थिक अवस्था सबल भएको महिलालाई दुव्र्यवहार र कुदृष्टिको कम नै सामना गर्नुपर्छ,’ उनी भन्छिन्, ‘भइहाले पनि प्रतिरोध गर्न सक्छन् तर आर्थिक रूपले कमजोर रसाथमा उभिने कोही छैनन् भने उनीहरूलाई कमजोर गराउने र कुदृष्टि लगाउनेहरू बढी हुन्छन् ।’

साइबर अपराधको घटनामा एक्लो महिलाले गलत म्यासेज र फोनबाट हुने दुव्र्यवहार बढी भोग्नुपरेको तथ्यांक रहेको ढकाल बताउँछिन् ।

नेपाली समाजमा सम्बन्ध विच्छेद गरेकी महिला सामाजिक सञ्जालदेखि सामाजिक संवादमा पनि चर्चाको विषय बन्नेगर्छन् । ‘हाम्रोमा सम्बन्ध विच्छेद गरेका महिला सेलिब्रेटीहरू बढी समाचार बन्छन् र उनीहरू नकरात्मक प्रतिक्रियाको सिकार भइरहेको हुन्छन्,’ ढकाल भन्छिन् ।

मनोविद् तथा अधिवक्ता थापाको बुझाइ पनि फरक छैन । कुनै बन्धनमा नभएका महिलाहरूलाई जुनसुकै सम्बन्धको लागि पनि प्रस्ताव आउन सक्ने थापा बताउँछिन् । ‘श्रीमान् वा प्रेमी छ भन्दा हच्किने पुरुष एक्लो महिलासँग भने स्वार्थसहित विभिन्न बहानामा नजिक हुन्छ,’ उनले भनिन्, ‘यौन सम्बन्धका लागि नजिकिने तर विवाहका लागि तयार नहुने पुरुष प्रशस्तै भेटिन्छन् ।’

परिपक्व सोचका साथ छोडपत्र गर्न तयार महिला यसपछिको संघर्षका कारण थप परिपक्व हुन्छन् । थापाका अनुसार उनीहरू एक्लो अवस्थामा पुरुषबाट प्रयोग हुन सक्ने भए पनि दुर्व्यवहार भने सहेर बस्दैनन् । अब उनीहरू आफ्नो लागि र अन्यायको विरुद्धमा बोल्न सक्छन् ।

राजनीतिक-सामाजिक परिवर्तनले सम्बन्ध विच्छेदपछि जीवन नै सकिन्छ भन्ने भ्रमपूर्ण धारणा पनि बदलिन थालेका छन् । पुनर्विवाह सहज बन्न थालेको छ भने प्रेम र यौनपछि सम्बन्ध विवाहमै टुंगिनुपर्छ भन्ने बुझाइ पनि बदलिएका छन् ।

अपवाद होइन यौनचाहना

थापाका अनुसार प्राकृतिक रूपमै जोकोहीलाई पनि यौनचाहना हुनु स्वभाविक हो । र, छोडपत्र भएका महिलामा पनि यो कुरा लागु हुन्छ । तर आफ्नो यौनइच्छालाई पूरा गर्न खोज्दा उनीहरूले अनेक आरोप र दुव्र्यवहार खेप्नुपर्ने अवस्था रहेको उनी बताउँछिन् ।

त्यसो त यौनइच्छा हुनु चरित्रहीन हुनु होइन । एक्लोपन दूर गर्ने र आफ्नो मनको बह पोख्नेक्रममा छोडपत्र भएकी महिला कुनै पुरुषसँग नजिकिनु पनि गलत काम होइन, तर हाम्रो समाजको दृष्टिकोणमा गलत सावित हुन जान्छ । ‘तर पुरुषको हकमा हेर्ने हो भने एकल पुरुषलाई दयाको पात्र बनाउँदै उल्टै उनीहरूको निम्ति योग्य वधुको खोजी गर्दै हिंड्छ समाज,’ उनी सुनाउँछिन् ।

हाम्रो समाजमा किशोरी र महिलालाई प्रत्यक्ष-अप्रत्यक्ष रूपमा चौबिसै घण्टा निगरानीमा राखिन्छ । संगत कस्तो छ, के खान्छे, के लगाउँछे, कहाँ जान्छे, कति बजे घर आउँछे भन्ने कुरा घरपरिवारको मात्र नभएर समाजको पनि चासो बनिदिन्छ । विवाहपछि घर गरी खान सक्छे सक्दिनँ, बोलीवचन कस्तो छ र संस्कारी छ वा छैन भनेर बुझिन्छ ।

हाम्रोमा विवाहलाई एउटा लगानीको रुपमा पनि बुझिन्छ । छोडपत्र गर्न खोज्दा लाखौं खर्चमा सम्पन्न विवाह टुट्न नदिन सकेसम्म सबैले मिल्नलाई नै सुझाव दिन्छन् । एउटा महिलाको भोगाइ कसैको चासोको विषय बन्दैन । ‘महिलाले सहनुपर्छ’ भन्ने मानसिकता बनाइएको हुन्छ ।

छोडपत्रपछि पनि कोसँग बोल्छ, हाँस्छ भनेर हेरिन्छ र अनेक लाञ्छना लगाइन्छ ।

अधिवक्ता थापाले यस्ता धेरै मुद्दा देखेकी छिन्, जहाँ डिभोर्सपछि माइतीको सहयोग पाउँदा महिलाले धेरै प्रगति गरेका छन् । तर सहयोगको अभाव र सामाजिक आक्रमणमा पर्दा विकास हुने निराशा र एक्लोपनाले ‘जिन्दगी नै सकिएको’ महसुस हुन थाल्छ । प्रतिफलमा एक्लोपन, डिप्रेसन, आफूलाई कमजोर ठान्ने र मर्न समेत पछि नपर्ने समस्या देखिन्छ ।

‘माइतीले सहारा नदिने, एक्लै बस्न आर्थिक अभाव हुने अवस्थाले निराशा र एक्लोपना बढ्छ,’ थापाले भनिन्, ‘यस्तो अवस्थामा एन्जाइटी, मानसिक र शारीरिक कमजोरी, कमजोर आत्मविश्वासको कमी जस्ता समस्या भएका धेरै घटना मैले देखेको छु ।’

सहज जीवनको खोजी

कठिन जीवनबाट मुक्ति खोज्दै सहज र सुखी जीवनको खोजीमा कसैले सम्बन्ध विच्छेद गरेका हुन्छन् । तर हाम्रो समाजमा सम्बन्ध विच्छेदपछि खुसी जीवनमा फर्कन सक्छु भनेर कल्पना गर्न पनि कठिन छ । यावत् प्रतिकूलताका बावजुद पनि अस्वस्थ सम्बन्धको अन्त्य जीवनको नयाँ अध्यायको सुरुवात बन्न सक्छ ।

पुरानो कुरा बिर्सन चाहनु मानिसको मानव अधिकारकै कुरा हो । तर हाम्रो समाजले नयाँ यात्रा सुरु गरेको मानिसको बाटोमा पुराना सन्दर्भको बिस्कुन सुकाइदिन्छन् । तर पनि त्यसलाई छाडेर नयाँ जीवन सुरु गर्न सम्भव हुन्छ । ढकालका अनुसार त्यसको लागि व्यक्ति स्वयं बलियो हुनुपर्छ, जुन प्राथमिक सर्त हो ।

मनोविद् तथा अधिवक्ता थापाका अनुसार डिभोर्सपछि महिलामा सकारात्मक परिवर्तन बढी आउने गर्छ । उनले पाउने स्वतन्त्रता, अधिकार र त्यसपछि आर्थिक रूपमा सबल हुने मौका सकरात्मक पक्ष हुन् । उनले सम्बन्ध विच्छेदपछि चरा जस्तै स्वतन्त्र भएर बाँचेकाहरू प्रशस्तै महिलाहरुलाई देखेकी छन् ।

‘उनीहरूले सम्बन्ध विच्छेदलाई एउटा उपलब्धिकै रूपमा लिएको पनि देख्न सकिन्छ । क्षमता अभिवृद्धिदेखि अधुरो अध्ययन अगाडि बढाउने र जीवनमा थप परिपक्व र सक्षम बनेका प्रशस्तै उदाहरण छन्,’ उनी भन्छिन् ।

थापाका अनुसार छोडपत्रसम्म पुगेका महिलामा सशक्तीकरण भइसकेको हुन्छ । ‘शारीरिक, मानसिक, संवेगात्मक रूपमा अविवाहितभन्दा विवाहित महिला परिपक्व हुन्छन् । उनीहरू कुनै पनि समस्या आएमा समाधान गर्न सक्ने साहसी हुने गर्दछन्,’ थापा थप्छिन्, ‘छोडपत्र गरेका महिला थप परिपक्व र साहसी हुन्छन्, उनीहरू अविवाहितभन्दा भन्दा कम दुव्र्यवहारमा पर्छन् ।’ उनीहरूले व्यक्तिको व्यवहारले गर्ने संकेत बुझ्न सक्ने भएका हुन्छन् । सामाजिक र मानसिक यातनाका विरुद्ध संघर्ष गर्ने र प्रतिकूलतालाई चिर्न सक्ने क्षमता उनीहरुमा विकास भइसक्ने उनको बुझाइ छ ।

बढ्दो सशक्तीकरण र क्षमता अभिवृद्धिले महिला पनि आर्थिक, सामाजिक र राजनीतिक रुपमा बलिया बन्दै गएका छन् । अधिकार र कर्तव्य बुझेका महिला सामाजिक रुपमा सचेत हुन्छन् । उनीहरुले हिंसा सहनु पनि अपराध हो भनेर बुझ्न थालेका छन् ।

उनीहरु घरमा श्रीमानको अनावश्यक दबाब, हिंसा र पारिवारिक कलह सहन तयार हुँदैनन् । त्यसैले पछिल्लो समय नेपालमा पनि छोडपत्र गर्नेको संख्या बढिरहेको उनको निष्कर्ष छ ।

त्यसो त, राजनीतिक-सामाजिक परिवर्तनले सम्बन्ध विच्छेदपछि जीवन नै सकिन्छ भन्ने भ्रमपूर्ण धारणा पनि बदलिन थालेका छन् । पुनर्विवाह सहज बन्न थालेको छ भने प्रेम र यौनपछि सम्बन्ध विवाहमै टुंगिनुपर्छ भन्ने बुझाइ पनि बदलिएका छन् । यो पृष्ठभूमिमा छोडपत्रसँगै नयाँ जीवनको सुरुवात गर्नेको संख्या बढिरहेको छ ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?