+
+

मेलम्चीको पानी : कतै फालाफाल, कतै हाहाकार

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ पुष १९ गते १९:१९

१९ पुस, काठमाडौं । २३ मंसिरपछि काठमाडौंको अनामनगर, सिनामंगलसहितका क्षेत्रमा मेलम्चीको पानी वालछ्याल छ । हप्तामा एक दिन पनि पानी नआउने यी क्षेत्रमा दैनिक तालिकाअनुसार पानी आएपछि स्थानीयलाई कुनै चिन्ता छैन ।

तर, सिनामंगलभन्दा केहीपर कोटेश्वरको महादेव स्थानका बासिन्दा पानी नपाएर आकुलब्याकुल छन् । पटक–पटक काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)मा ध्यानाकर्षण जनाउँदा पनि धारामा पानी नझरेपछि स्थानीयको समूह सोमबार त मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)मा ज्ञापनपत्र बुझाउन नै पुग्यो ।

सुरुङमा बढी पस्ने डरले वर्षायामभरि मेलम्चीका पानी काठमाडौं ल्याइएन । हिउँदयाममा मेलम्चीको पानीले ‘काकाकुल’ हुनुपनर्ने आशा गरेका कोटेश्वरका वासिन्दाले झण्डै एक महिना त पर्खिए । अन्य क्षेत्रमा मेलम्चीको नयाँ लाइनबाट आएको पानी बढी भएर खेर गइरहँदा आफूहरु खानपानीबाटै वञ्चित भइरहनु परेपछि उनीहरुले पीआईडीमा नै तुरुन्तै समस्याको समाधान नभए आन्दोलन गर्ने चेतावनी दिएर फर्किएका छन् ।

पीआईडी घेर्न पुगेका कोटेश्वरबासी

कोटेश्वरहाइटका वासिन्दा रमण प्रजापति कुनै ठाउँमा पानी धेरै भएर सडकभरि हुने र कतै दिनमा आधा घण्टा पनि पानी नआउने अन्यापूर्ण अवस्था स्वीकार्य नहुने बताउँछन् । ‘अनामनगरमा मेरो सालीनानीको घरमा दिनमा दुई पटकसम्म पानी आइरहेको छ,’ उनी भन्छन्, ‘यत्रो नयाँ पाइपलाइन गाडेर छोडिएको छ, पानी पठाइँदैन, कोटेश्वरमा बस्ने चाहिं जनता हैनन् ?’

यस्तो समस्या कोटेश्वर क्षेत्रको मात्रै हैन, रिंगरोडभित्र र बाहिरका थुप्रै ठाउँमा अहिले पनि मेलम्चीको पाइप पुगेर पनि पानी पुगिरहेको छैन ।

काठमाडौंको क्षेत्रीपाटी क्षेत्रमा पनि यही समस्या छ । त्यहाँको केही क्षेत्रमा पानीको छेलोखेलो छ, तर सयभन्दा बढी घरमा पानी नै पुग्दैन । यही समस्या लिएर मंगलबार क्षेत्रपाटीका स्थानीय केयूकेएलमा नै पुगे । केयूकेएलका निमित्त कार्यकारी प्रमुख ज्ञानेन्द्र कार्की यस्तो समस्या चक्रपथभित्र नै धेरै ठाउँमा देखिएको स्वीकार्छन् ।

पानीको चुहावट

‘निश्चित ठाउँमा पानी वालछ्याल हुने र र कति क्षेत्रमा पर्याप्त पानी नै नपुग्ने समस्या छ,’ उनले भने,‘ वितरणलाइनको क्षमताले स्थानीय क्षेत्रको माग धान्न नसकेकाले यस्तो भएको हो । कति क्षेत्रमा पुरानो वितरणलाइनको पाइपको आकार नै सानो छ, पुग्ने गरी पानी जानै सक्दैन ।’ कतिपय क्षेत्रमा सडक विस्तार गर्ने, बिजुलीकाे तार भूमिगत गर्ने र ढल बनाउनको काम गर्दा पनि पाइपलाइनमा क्षति पुगेर समस्या भएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले केयूकेएललाई तत्काल पुराना पाइपलाइन स्तरोन्नतीमा खर्च गर्न रोकेको छ । यसका कारण पनि कतिपय क्षेत्रमा समस्या भएको कार्की बताउँछन् ।

मेलम्ची खानेपानी आयोजनाको निर्माण सुरु भएकौ बेलादेखि नयाँ वितरण सञ्जाल बनाउने काम सुरु भएको थियो । तर, गतिका साथ काम नहुँदा यो परियोजनाले अझै विश्राम पाएको छैन । तयार भइसकेको वितरणलाइन पनि सरकारले केयूकेएलको स्वामित्वमा रहने गरी हस्तान्तरण गरेको छैन ।

अझ उपत्यकाको ठूलो क्षेत्रमा त मेलम्चीको पानी बाँड्ने गरी नयाँ वितरणलाइन नै तयार भएको छैन । त्यसैकारण विभिन्न नगरपालिकाका जनप्रतिनिधिहरु मेलम्चीको पानी खुवाउने प्रबन्ध गर्न माग गर्दै पीआईडीको कार्यालयमा आइपुग्ने गरेका छन् ।

२५ अर्बको नयाँ प्रणाली

दैनिक १७ करोड लिटर पानी मेलम्चीबाट काठमाडौं झरिरहेको छ । त्यसबोहक केयूकेएलले करिब १० करोड लिटरभन्दा बढी पानी पुराना विभिन्न स्रोतबाट वितरण गरिरहेको छ । दैनिक झण्डै ३० करोड लिटर पानी वितरण गर्न सक्ने क्षमता हुँदा पनि किन यस्तो अवस्था आयो त ?

आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख राजेन्द्र सापकोटा पुरानो खानेपानी वितरण लाइन (प्रणाली) को विस्थापन गर्न ढिलाइ हुँदा यस्तो अवस्था आएको बताउँछन् । उनका अनुसार काठमाडौंको रिंगरोडभित्र एक हजार १० किलोमिटर खानेपानीको नयाँ वितरण लाइन बिछ्याइएको छ । त्यसमध्ये अहिलेसम्म करिब ५५० किलोमिटर मात्रै लाइनमा पानी पठाएर परीक्षण गरिसकिएको छ । यसरी परीक्षण गर्दा समस्या नआए वा आएका समस्या मात्रै हल गरेपछि मात्रै नयाँ लाइनबाट पानी वितरण गर्न सकिन्छ ।मेलम्चीको पानी प्रशोधन केन्द्र

अहिले परीक्षण सकिएका क्षेत्रमा मात्रै नयाँ लाइनबाट मेलम्चीको पानी पठाइँदैछ । केयूकेएलले पुराना लाइनको उपयोग पनि गरिरहेको छ, तर त्यसमा पानी चुहावटको चरम समस्या छ ।

‘नयाँ वितरणलाइनको झण्डै आधा भागको परीक्षण गर्न बाँकी छ, आगामी असारसम्म सबै वितरणलाइनको परीक्षण सकेर त्यसैमार्फत पानी पठाउन थाल्छौं,’ उनले भने, ‘यसअघि पानी नभएका कारण समयमै नयाँ लाइनको परीक्षण गर्न सकेनौं ।’

निर्देशक सापकोटामा अनुसार परियोजनाले मेलम्चीको पानी आएपछि पुरानो प्रणालीले नथेग्ने निष्कर्ष निकालेर २५ अर्ब रुपैयाँ नयाँ प्रणाली र पूर्वाधारको विकासमा खर्चिएको छ । ७७ किलोमिटरको ‘बल्क लाइन’ (ठूलो पाइपको लाइन)सहित ७४ हजार घनमिटर बराबरका ११ वटा ट्यांकीसहित १ हजार किलमेािटरको वितरणलाइन तयार गरेको छ । तर, यी सबै पूर्वाधारको परीक्षण समयमै नसकिंदा खानेपानीको वितरणमा समस्या भएको छ ।

‘पुरानो लाइनहरु डिजाइनका आधारमा बनेका र विस्तार भएका थिएनन्, त्यसले गर्दा यसमा कतै पानी चुहिने, नचढ्ने र बढी समस्या देखिने हुन्छ,’ उनले भने, ‘नयाँ लाइनको परीक्षण नभएका ठाउँमा पुरानै प्रणालीबाट पानी वितरण गरिएकाले समस्या भएको हो, अर्को वर्षदेखि नयाँ लाइन विस्तार भएका ठाउँमा समस्या हुँदैन ।’

यसबाहेक कलंकी, धुम्बाराही, बालुवाटार र महाराजगञ्जसहितका क्षेत्रमा करिब २५० किलोमटरको नयाँ वितरणलाइन बिछ्याउने काम पनि चलिरहेकै छ । सो क्षेत्रमा पनि पुरानै लाइनबाट पानी वितरण भएकाले धेरैको घरमा पर्याप्त मात्रामा पानी पुग्न सकेको छैन ।

अझै पानी नआउने समस्या चक्रपथबाहिरका क्षेत्रमा विकराल छ । केयूकेएलले काठमाडौंको चक्रपथ बाहिर पानी वितरण गर्ने सञ्जाल विस्तार गर्न योजना मात्रै बनाएको छ । त्यसका लागि आर्थिक स्रोत जुटेको छैन । सरकारले बजेट भाषणबाट चक्रपथबाहरिका क्षत्रेमा पानि पानी वितरण नयाँ सञ्जाल बनाउने घोषणा गरेको छ । तर, त्यसका लागि करिब १ अर्ब १५ करोड रुपैयाँ मात्रै बजेट व्यवस्था गरेको छ, जुन आवश्यकताको आधारमा निकै झिनो परिणाम हो ।

‘हामीलाई चक्रपथबाहरिकका नगरका स्थानीय र जनप्रतिनिधिबाट मेलमचीको पानी खुवाउने गरी प्रबन्ध गर्न ठूलो दबाब छ,’ निर्देशक सापकोटा भन्छन्, ‘मेलम्चीबाहेक अन्य स्रोतको खोजी गरेर आयोजना बनाउन नथालेसम्म यस्तो सञ्जाल विस्तार गर्न सकिने अवस्था छैन ।’

यो वर्ष कीर्तिपुर, भक्तपुर नगरपालिकाको १ देखि ७ नम्बर वडासहित जोरपाटी आसपासका क्षेत्रमा वितरणलाइन विस्तार सुरु गर्ने योजना छ । तर, त्यसका लागि अर्थ मन्त्रालयले एसियाली विकास बैंक (एडीबी)बाट थप ऋण सम्झौता हुनुपर्छ ।

यसका कारण उपत्याकाका धेरै भागले अझै मेलम्चीको पानी पिउन नपाउने विडम्बनापूर्ण अवस्था छ ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?