काठमाडौं । जति-जति साँझ छिप्पिंदै जान्छ, दरबारमार्ग-ठमेल क्षेत्रको मादकता पनि बढ्दै जान्छ । अँध्यारो रातलाई चिर्ने झिलिमिली उज्यालो, पश्चिमा हार्डरकदेखि नेपाली दोहोरीसम्मको ककटेल ध्वनि, हुक्काको धुँवा र मदिराको मिश्रित गन्ध । रातभर जागा रहने यी क्षेत्र संगीत र सुरामा मस्त रहन्छन् ।
काठमाडौंको रात्रिजीवनमा मनमग्न रहन चाहनेले त्यो भीडको आयतन बढाउँदै लैजान्छन् । रात्रिजीवनमा रमाउन चाहनेहरुकै लागि दरबारमार्ग-ठमेल क्षेत्रका बार, पब, दोहोरी, गजल रेस्टुरेन्ट एवं रात्रिक्लबको ढोका खुल्न थाल्छन् । अनि दालभातको भोजनालय भने क्रमशः बन्द हुँदै जान्छ ।
राति अबेर दालभातको तलतल लाग्यो भने त्यस्तो भोजनालय सहजै भेट्न कठिन हुन्छ । किनभने नेपाली थाली पस्किने अधिकांश भोजनालयले राति १०-११ बजेपछि आफ्नो ढोका बन्द गर्छन् ।
तर जुकोट दरबार फरक छ । मध्यरातमा मात्र होइन, रातभर नै जुकोटको ढोका खुला हुन्छ । अनि जुकोटले जुनसुकै बखत आगन्तुकका लागि तात्तातो नेपाली खाना पस्किन्छ । रैथाने स्वादको खाना पाक्ने यो रेस्टुरेन्ट दरबारमार्गमै छ । सय वर्ष पुरानो परम्परागत शैलीको भवनमा जुकोट दरबार रेस्टुरेन्ट सञ्चालित छन् ।
फापरको ढिंडो खाने कि मार्सीको भात ?
जुकोटको भान्सामा पाक्ने खान्कीले ग्राहकलाई किन पनि लोभ्याउन सक्छ भने यहाँ बाजुरामा उत्पादित रैथाने स्वाद पाइन्छ । जस्तो कि मार्सीको चामल, सिस्नो, गुन्द्रुकको झोल, जिम्बुले झानेको कालो सिमी, भाङको अचार, फापरको ढिंडो । त्यसमा बाजुराकै माटोमा फलेको स्याउको अचार ।
सञ्चालक अमृत शाही भन्छन्, ‘हाम्रो आफ्नै घर-आँगनमा उत्पादित अन्न उपजबाट खाना तयार गर्छौं ।’
त्यसबाहेक थकाली खाना, फापरको मःम पनि यहाँको विशेष हो । खासगरी घिउमा झानेको मःम धेरैले रुचाउने परिकारमध्येमा पर्छ । ‘गाउँकै भान्सामा पाक्ने जस्तो खानेकुरा पस्किने उद्देश्य हो,’ शाही भन्छन्, ‘किनभने सहरमा यस्तो खानेकुरा सहजै पाइँदैन ।’
त्यसो त जुकोटमा खाजा-नास्ताको रुपमा अरु थुप्रै प्रकारका खानेकुरा पनि उपलब्ध छन् ।
आमाको हातबाट बनेको स्याउको अचार
अमृतका अनुसार जुकोट दरबार रेस्टुरेन्टको थालीमा पस्किने फरक स्वाद हो, स्याउको अचार । ‘यो अचार त मेरी आमाकै हातबाट बनेको हो,’ अमृत भन्छन्, ‘बाजुराको गाउँघरमा यस्तो अचार खाइने भए पनि यहाँको लागि नौलो स्वाद हो ।’
रातभर पाइन्छ खाना
जुकोट दरबार रेस्टुरेन्टको अर्को विशेषता भनेको राति जुनसुकै समयमा पनि नेपाली खाना पाइन्छ । तपाईं मध्यरातमा पुग्नुहोस्, जुकोटमा तात्तातो दालभात खान पाउनुहुनेछ ।
‘रातको समयमा दालभात खाने तलतल लागे पनि यहाँको अधिकांश भोजनालय बन्द हुन्छन्,’ शाही भन्छन्, ‘हामी भने रातभर नै दालभात पस्किन्छौं ।’ जुकोट रातको दुई बजेसम्म खुला रहने उनी बताउँछन् । जुकोटमा ग्राहकका लागि नि:शुल्क पार्किङको व्यवस्था छ ।
तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

प्रतिक्रिया 4