+
+

रास्वपामा मन्त्री तयार छन्, मन्त्रालय टुंगो छैन

पार्टीको केन्द्रीय समिति बैठकले कसलाई सरकारमा पठाउने भन्ने विषयमा निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई नै दिएको छ । तर, नेताहरुका अनुसार पाउने मन्त्रालय टुंगिएमा कसलाई पठाउने भन्ने लगभग निश्चित छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ पुष २३ गते १९:३६

२३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई एक राज्यमन्त्रीसहित तीन मन्त्रालय दिने सत्ता गठबन्धनमा लगभग सहमति छ । मन्त्रालय बाँडफाँडका क्रममा संख्या टुंगो लागेपनि कसलाई कुन मन्त्रालय दिने भन्ने टुंगिएको छैन ।

तर, मन्त्रालय टुंगो नलागेपनि रास्वपामा मन्त्री बन्नेहरु चाहिँ तयार छन् । अहिले पार्टीमा डा. तोसिमा कार्की, प्रा.डा.चन्दा कार्की, शिशिर खनाल, सोबिता गौतम, विराजभक्त श्रेष्ठ, मनिष झालगायतले मन्त्री बन्न दाबी प्रस्तुत गरिरहेका छन् ।

एक सांसदका अनुसार अहिलेसम्म सरकारमा पठाउने कसलाई भन्नेबारे औपचारिक छलफल भएको छैन । अनौपचारिक छलफलमा विज्ञतालाई आधार बनाएर सरकारमा पठाउने सहमति छ ।

पार्टी प्रवक्ता डा. मुकुल ढकालका अनुसार रास्वपाको रुचि शिक्षा, स्वास्थ्य, कृषि, ऊर्जा, खेलकुद लगायत जनतासँग प्रत्यक्ष जोडिएका विषयगत मन्त्रालयहरुमा हो । ‘अहिलेसम्म यही मन्त्रालय भनेर प्रस्ताव गरेका छैनौं’, उनले अनलाइनखबरसँग भने ।

पार्टीको केन्द्रीय समिति बैठकले कसलाई सरकारमा पठाउने भन्ने विषयमा निर्णय गर्ने अधिकार सभापति लामिछानेलाई नै दिएको छ । तर, नेताहरुका अनुसार पाउने मन्त्रालय टुंगिएमा कसलाई पठाउने भन्ने लगभग निश्चित छ ।

यदि रास्वपाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाए काठमाडौं–६ बाट निर्वाचित सांसद शिशिर खनाललाई पठाउने तयारी छ । दुर्गम क्षेत्रको शिक्षा सुधारमा काम गर्दै आएको ‘टिच फर नेपाल’को नेतृत्व गरेका खनाल राजनीतिमा आउनुअघि सार्वजनिक शिक्षा सुधारको अभियान चलाइरहेका थिए ।

२०७४ सालको निर्वाचनपछि उनले तुलसीपुर उपमहानगरमा विना पारिश्रमिक शिक्षा सल्लाहकार भएर नगरलाई शैक्षिक हब बनाउने गरी काम गरेका थिए ।

कोरोना महामारीका बेला विद्यालय बन्द भएका बेला उनले संक्रमणको अवस्था अनुसार संक्रमण नदेखिएका ठाउँमा निरन्तर विद्यालय खोल्नुपर्ने भन्दै अभियान चलाएका थिए । विगतमा उनले शिक्षा मन्त्रालयसँग जोडिएर नीतिगत काममा पनि सघाएका थिए ।

पार्टीका एक नेता भन्छन्, ‘उहाँको पृष्ठभूमिका कारण पार्टीले शिक्षा मन्त्रालय पाए उहाँ मन्त्री बन्ने निश्चित जस्तै छ ।’ स्वास्थ्य मन्त्रालय पाउने परिस्थिति बने डा. तोसिमा कार्की र प्रा. डा. चन्दा कार्कीमध्ये एक जना मन्त्री बन्ने उनी बताउँछन् । मन्त्रालय पाउने टुंगो नलागे पनि दुईबीच तीब्र प्रतिस्पर्धा चलिरहेको छ ।

ललितपुरको नख्खुकी डा. तोसिमा किष्ट मेडिकल कलेजको एमबीबीएस र काठमाडौं विश्वविद्यालयको एमएस (शल्य–चिकित्सामा स्नातकोत्तर) हुन् । सत्याग्रही डा. गोविन्द केसीकी समर्थकका उनले चिकित्सा शिक्षा सुधार अभियानमा सुरुबाटै डा. केसीसँग काम गरेकी थिइन् ।

समानुपातिक सांसद डा. कार्की काठमाडौं मेडिकल कलेज (केएमसी) को पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । महोत्तरीकी कार्कीसँग नोबेल मेडिकल कलेजमा पनि सीईओ र प्रिन्सिपल भएर काम गरेको अनुभव छ ।

दुवैले आफ्नो पृष्ठभूमि देखाएर स्वास्थ्य मन्त्रालयमा दाबी गरिरहेका छन् । डा. तोसिमा भन्छिन्, ‘औपचारिक रुपमा केही भनेको छैन, तर जिम्मेवारी आए तयार छु ।’ उनले प्रत्यक्ष निर्वाचितलाई सांसद बनाउनुपर्छ भनेर लबिइङ गरिरहेकी छन् ।

पार्टी नेतृत्वले चाहिँ दुईमध्ये एक छान्नुपरे प्रा. डा. कार्कीलाई रोज्ने एक जना केन्द्रीय सदस्य बताउँछन् । तर, तोसिमालाई मन्त्री बनाउनुपर्ने पक्षमा पार्टीभित्र व्यापक दबाब छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय पाउने स्थितिमा काठमाडौंं–२ बाट निर्वाचित सांसद सोबिता गौतम मन्त्री बन्ने सम्भावना छ । प्रखर भाषण कलाका कारण सोबिता चर्चामा आएकी थिइन् । पूर्वटेलिभिजन कार्यक्रम निर्माता र प्रस्तोता समेत रहेकी सोबिता पार्टीमा केन्द्रीय सदस्य समेत हुन् । पार्टीका एक केन्द्रीय सदस्य भन्छन्, ‘बाहिर बनेको उहाँको छवि र कानुन पढेको पृष्ठभूमिका कारण पनि कानून मन्त्रालय पाए उहाँलाई पार्टीले पठाउनेछ ।’

रास्वपाले उपसभामुखमा पनि दावी गरिरहेको छ । पार्टीले कानून मन्त्रालय नपाए उनको नजर उपसभामुखमा पनि छ । सोबिता मन्त्री बने सुमना श्रेष्ठलाई उपसभामुख बनाउने तयारी छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा काठमाडौं–८ का सांसद विराजभक्त श्रेष्ठले दाबी गरिरहेका छन् । विगतमा बागमती प्रदेशसभा सदस्य भएर काम गरेको अनुभव भएका उनले संस्कृतिको क्षेत्रमा काम गरेको अनुभवका कारण आफूलाई पार्टीले सरकारमा पठाउनुपर्ने बताउने गरेका छन् ।

विवेकशील साझा पार्टीबाट त्यसबेला प्रदेशसभा सदस्य बनेका उनले नेपाल भाषा र तामाङ भाषालाई बागमती प्रदेश सरकारको कामकाजको भाषा बनाउने कानुन पारित गराउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनले बागमती प्रदेश सभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिमा रहेर काम गरे । सदनको उद्योग समितिद्वारा गठित पर्यटन मन्त्रालयसम्बन्धी सुझाव कार्यदलको संयोजक रहेको अनुभव पनि श्रेष्ठसँग छ । त्यसैलाई देखाएर श्रेष्ठले संस्कृति मन्त्रालयमा दाबी गरिरहेका छन् ।

श्रेष्ठ भन्छन्, ‘पार्टीले जिम्मेवारी दिए जस्तोसुकै भूमिका निभाउन पनि तयार छु ।’ पर्यटन व्यवसायको पृष्ठभूमि भएका उपसभापति डोलप्रसाद अर्यालले पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नजर लगाइरहेका छन् ।

समानुपातिक सांसद मनिष झाले युवा तथा खेलकुद मन्त्रालयमा दाबी गरिरहेका छन् । झा अनुसन्धानमा आधारित तथ्यांक सार्वजनिक गर्दै आएको आएको संस्था ‘फ्याक्टस् नेपाल’का प्रमुख हुन् । उनलाई पार्टीले समानुपातिक पद्धतिमा मधेशी क्लस्टरबाट सांसद बनाएको थियो ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?