+
+

सुदनले आमालाई देखाउन नपाएको शहर

दिपेश शाही दिपेश शाही
२०७९ माघ ३ गते १७:०२
तस्वीर : रासस

३ माघ, काठमाडौं । गाउँमा हल्ला चलिरहन्थ्यो, ‘सुदन मरिसक्यो !’

चार पटक त सुदनको मृत्युको मात्रै खबर पुगेको थियो, गाउँमा । ‘जिउँदै छ, युद्ध लडिरहेको छ’ भन्ने खबर त कति हो कतिपटक । अचानक एक साँझ जब सुदन किराती घरमा पुगे, बस्तीका सारा मान्छेहरू अचम्ममा परे ।

माओवादी जनयुद्ध लड्न हिँडेका सुदन किँराती सिरहाको जेलमा २३ महिना बसेर छुटेपछि चार वर्षको अन्तरालमा घर पुगेका थिए । पूर्वी पहाडबाट ब्रिटिश लाहुरे बन्न फकल्याण्ड पुगेर फर्केका हर्कबहादुर किरातीले चार वर्षदेखि छोरोको खबर नपाएपछि बिरक्तिएर घर छाडिसकेका थिए ।

सुदन घर पुग्दा आँगनभरि गाउँका मान्छे बसिरहेका थिए । आँगनमा बत्तीको उज्यालोमुनि उमेरले ५४ वर्ष मात्रै लागेकी, तर छोराको चिन्ताले पिरोलिएर बुढ्यौलीले छोइसकेकी आमा टोलाइरहेकी थिइन् । आमालाई देखेपछि सुदनलाई लागेको थियो, ‘सबै मान्छे गइदिएको भए, आमालाई सोध्ने थिएँ, कसरी यस्ती हुनुभयो ?’

तर वर्षौपछि सुदन गाउँ पुगेपछि खुशीयाली छाएको थियो । गाउँलेहरू किरात परम्पराअनुसार जाँड रक्सी खाएर खुशी मनाउन बसे । रातको १२ बज्नलाई २० मिनेट बाँकी रहँदा गाउलेले घर छाडे । घरमा आमा र सुदन एक्लै भए ।

माघको ठिहिर्‍याउने जाडो थियो । चुलोमा बलेको आगो ताप्दै सुदनले आमालाई सोधे, ‘आमाजी कसरी यति धेरै बुढी देखिनुभयो ?’

आमाले भक्कानिँदै भनिन्, ‘मरिस् कि बाँचिस् थाहै भएन । यो घरभित्रको अध्याँरो मलाई मनै परेन । उज्यालो हुनेबित्तिकै बारिको डिलबाट तँ सधैं आउने बाटो हेरिबस्थेँ । वारि गोली चल्ने, पारि गोली चल्ने । समाचारमा मान्छे मरेको मात्रै खबर आउने । मेरो छोरा मरिसक्यो कि जिउँदै छ मलाई थाहै भएन । थाँक्रामा बसेर काग कराउँदा पनि तेरै सन्देश बोकी ल्यायो होला भनेर रोएँ । थाम्न सक्थिन, आकाश हेर्थेँ । भुईँ त मलाई हेर्नै मन लाग्थेन । रात पथ्र्यो, जर्किनमा राखेको रक्सी खान्थेँ । भन्थेँ, छोरा बाँचेको छस् भने छिट्टो आइज, मरिसकिस भने रातभरि यो घरमा तर्साउन आइन् । तेरो म क्रिया गरिदिन्छु । रुँदै रक्सी खाएँ, भात खाइन् । २३ महिना भयो मैले रक्सी खाएँ, भात नखाएको ।’

बिहान भएपछि सुदन पार्टीको सम्पर्कमा फर्किनुपर्ने भयो । उनले झोला टिपेर हिँड्नै लाग्दा आमाले सुदनको कम्मरमा समातेर भनिन्, ‘नजा । आश तैँमाथि थियो, तैंले घर छाडेर गएपछि तेरो बाउले पनि घर छाडे । तँ गइस् भने यो घरमा म झुण्डिएर मर्छु ।’

सुदनले आमालाई सम्झाए, ‘त्यसो नगर्नु । आमाको आँशु छोराछोरीको जीवनमा भेल बनेर बाटो छेक्छ । धेरै साथीहरू शहीद भइसके । मैले सपना बाँडिसकेको छु, म घरमा बस्नु अपराध हुन्छ ।’

‘के गर्छस् त जितिस् भने ?’

‘बाँचिराख्नुस्, ऊ पारिको डाँडामा शहर बनाउँछु । तपाईंले ब्रुनाइमा देखेको शहरजस्तै, हङकङमा देखेको शहरजस्तै ।’

सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच ०६३ सालमा शान्ति सम्झौता भयो । जनयुद्ध सकियो । माओवादीले पहिलो संविधानसभा चुनावमा भाग लिएपछि भोजपुरबाट सुदन किराती विजयी भए । छोरो सांसद भएको केही समयपछि आमा बितिन् । छोराले बनाउँछु भनेको शहर त आमाले हेर्न पाइनन्, तर युद्ध लडेर फर्केको छोराले चुनाव जितेर सांसद बनेको भने हेर्न पाइन् ।

छोरो युद्धबाट फर्केपछि बिरक्तिएर हिँडेका हर्कबहादुर पनि घर फर्किए ।

त्यसपछि सम्पन्न भएका चारमध्ये तीनवटा चुनाव जितेका सुदन यसपटक संघीय मन्त्री बनेका छन् । उनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मंगलबार एकाबिहानै पक्षघातले थला परेका बुबालाई सुदनले आफू मन्त्री बन्न लागेको खबर सुनाएपछि पत्याउनै गाह्रो भयो ।

‘राम राम राम ! म उहिले फकल्याण्डको लडाईंमा मरेको भए यो दिन सुन्न र देख्न पाउँदिन थेँ,’ हर्षविभोर हर्कबहादुरले छोरालाई भने ।

‘म पनि जनयुद्धमा मरेको भए त्यस्तै त हो,’ सुदनले भने ।

मन्त्री बन्ने निश्चित भएसँगै बिरामी बुबासँगको तस्वीरसहित सुदन किरातीले फेसबुकमा यस्तै भावुक स्टाटस राखेका छन् ।

सुदनलाई आफू मन्त्रीको जिम्मेवारीमा पुगेसँगै आमाको याद आइरहेको छ, ‘आमाजी त पितृको देशमा हुनुहुन्छ । आज हामी संगै हुन पाएको भए …… ।’

बिमारले च्यापेर डाँडामाथिको जुनघाम जस्तै बनेका हर्कबहादुरले मन्त्री बनेको छोरा सुदनलाई वाचा गरेका छन्, ‘म गए पछि तेरो आमासँग भेट हुन्छ नै होला म सबै भनि दिउँला ।’

सुदनले बुबालाई जिम्मेवारी पाउनुभन्दा पनि काम गर्नु ठुलो कुरा भन्दै मेहनेत गर्ने वाचा गरेका छन् । मंगलबार दिउँसो १ बजे मन्त्री पदको सपथ खाएपछि सुदनले पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा पुगेर सहिदको स्तम्भमा सम्मान व्यक्त गर्दै जनतालाई गरेका वाचा पूरा गर्ने अठोट गरेको जनाएका छन् ।

को हुन् सुदन ?

भोजपुरको रामप्रसाद राई गाउँपालिका ओख्रेका स्थानीय बासिन्दा सुदनको जन्म बुबा हर्कबहादुर राई ब्रिटिश लाहुरेमा हुँदा विस २०३८ सालमा ब्रुनाइमा भएका हो । चारजना भाइमध्ये जेठा सुदनका एकजना दिदी र तीन जना बहिनी छन् । ब्रुनाइबाट आठ वर्षको उमेरमा नेपाल आएका सुदनले यहीँ अध्ययन राजनीतिक सुरु गरेका थिए ।

एमाले निकट अनेरास्ववियुबाट राजनीति सुरु गरेका सुदनले ०५४ सालसम्म सोही संगठनमा बसेर राजनीति गरे । त्यतिबेला सम्पन्न स्थानीय निर्वाचनका क्रममा कांग्रेस र एमालेबीच झडप भएपछि उनीमाथि एकैपटक आठवटा मुद्दा चलाइएको थियो ।

मावि तहको पढाइ सकेपछि भोजपुर बहुमुखी क्याम्पस पढ्न गएका सुदनमाथि नेविसंघले हमला गरेको थियो । निर्वाचनको विषयलाई लिएर भएको विवादमा पार्टीको नेतृत्वले चासो नदिएपछि रिसाएका सुदन भोजपुरबाट थप अध्ययनका लागि धरान झरे । भोजपुरबाट त्यतिबेला हेमराज राई सांसद थिए । उनैलाई चुनाव जिताउन सुदन झडपमा सहभागी भएका थिए ।

त्यसपछि पार्टी नेतृत्वसँग असन्तुष्ट उनी गोपाल किराती नेतृत्वको तत्कालिन खम्बुवान राष्ट्रिय मुक्ति् मोर्चामा लागे । भुमिगत भएको किरातीको पार्टीले ०६० सालमा माओवादीसँग एकता गर्‍यो । माओवादीसँगको एकतापछि ०६१ सालमा नेकपा माओवादीको सगरमाथा–जनकपुर क्षेत्रीय ब्यूरो सदस्य भएका सुदन त्यही वर्ष सिरहाबाट पक्राउ परे । त्यसपछि २३ महिना जेल परेका उनी शान्ति प्रक्रियापछि विराटनगरबाट रिहा भएका थिए ।

जेलबाट छुटे पछि उनी ०६३ सालमा धनकुटा जिल्लाको सेक्रेटरी, पार्टीको जनवर्गीय संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको महासचिव हुँदै अध्यक्ष, भोजपुर जिल्ला अध्यक्ष, पार्टीको केन्द्रीय सदस्य बनेका थिए । अहिले उनी पार्टी पोलिटब्यूरो सदस्यसँगै भोजपुर जिल्ला इन्चार्जको जिम्मेवारीमा समेत छन् ।

सुदन २०६४ सालको संविधानसभा निर्वाचनमा शेरधन राईलाई पराजित गर्दै संविधानसभा सदस्य भएका थिए । त्यतिबेला उनको उमेर २६ वर्ष थियो । त्यसपछि २०७० मा सम्पन्न दोस्रो संविधानसभा चुनावमा उनी शेरधनसँग नै पराजित भए ।

फेरि उनी २०७४ को निर्वाचनमा संघीय संसदमा निर्वाचित भएका थिए । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पुनः शेरधनलाई पराजित गर्दै तेस्रोपटक सांसद बनेका किरातीले यसपटक भने मन्त्री बन्ने अवसर पाए ।

यो पनि पढ्नुस् :

म्यानपावर र रेमिट्यान्स व्यवसायीलाई श्रम मन्त्रालयको चाबी

दलैपिच्छेका उपप्रधानमन्त्री, सरकार जोगाउने कार्यनीति

ठेकेदार पाण्डेलाई शहरी विकास मन्त्रालयको जिम्मा 

उपराष्ट्रपति छाडेर मन्त्री रोजेकी रेखा 

शिक्षाको समस्या बुझेका मन्त्री 

जनमतले पाएन रोजेको मन्त्रालय, पदभार सम्हाल्न गएनन् खानेपानी मन्त्री

कसरी परराष्ट्रमन्त्री बनिन् विमला ?

राज्यमन्त्रीको अफर नकारे, तेस्रोपल्ट चुनाव जितेर मन्त्री बने 

पूर्वप्रहरी प्रमुखलाई कानुन बनाउने जिम्मा 

प्रचण्ड मन्त्रिपरिषदमा एक्लो दलित सदस्य 

दुई मन्त्रालय प्रधानमन्त्रीसँगै 

अभियन्ताबाट राज्यमन्त्रीमा डा. तोसिमाको छलाङ

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?