
३ माघ, विराटनगर । मोरङ ४ बाट निर्वाचित अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् । तेस्रो पटक सांसद निर्वाचित भएका मोदीले ३७ वर्षमै मन्त्री बन्ने अवसर पाए ।
२८ वर्षको उमेरमा समानुपातिक पद्धतिबाट संविधानसभा सदस्य बनेका उनी लगातार संसदमा प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका कान्छा सांसद हुन् । २०७४ सालको निर्वाचनमा तत्कालीन बाम गठबन्धनबाट उम्मेदवार बनेका उनले कांग्रेस नेता तथा पूर्वमन्त्री महेश आचार्यलाई पराजित गरेका थिए ।
मंसिर ४ को निर्वाचनमा माओवादी– कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका उनले एमाले उम्मेदवार विनोद ढकाललाई पराजित गरेका थिए ।
माओवादी केन्द्रका नेता अमनलाल मोदीलाई शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारमा राज्यमन्त्री बन्न प्रस्ताव आएको थियो । तर उनले आफू क्याबिनेट मन्त्री नै बन्ने भन्दै राज्यमन्त्रीको प्रस्ताव अस्वीकार गरे । उनका सहयोगी ताजिम अन्सारी भन्छन्, ‘अघिल्लो पटक राज्यमन्त्री बन्ने पार्टीको प्रस्ताव आउँदा उहाँ जानुभएन ।’
भुइँबाट उठेका नेता
पवनलाल र बालोदेवी मोदीका सात सन्तानमध्ये अमनलाल कान्छा हुन् । विपन्न परिवारमा जन्मिएका मोदी ७ वर्षको हुँदा बुबा पवनलालको मृत्यु भयो । खान लाउनैकै लागि संघर्ष गरिरहेको परिवारका अभिभावक बितेपछि अमनलाल स्कुल जान पनि सजिलो भएन ।
विहान बेलुका फ्याक्ट्रीमा काम गरेर उनले एसएलसीसम्मको पढाई पूरा गरे । उनकी आमा बालोदेवीले सन्तान हुर्काउन छिमेकमा बनिबुतोसँगै हाटबजारमा आलुचप बेच्ने काम पनि गरिन् । शारीरिक रुपमा कमजोर भएपछि उनले गत वर्षबाट हाटबजारमा आलुचप बेच्न छाडेकी थिइन् । अमनका दाजु सुनसरीको दुहबीमा पसल चलाउँछन् ।
२०५६ सालमा कक्षा ९ मा पढ्दा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आवद्ध भएका मोदी महेन्द्र मोरङ क्याम्पसमा आईए पढ्न सुरु गरेपछि राजनीतिमा सक्रिय भए । क्याम्पसमा पढाई खर्च जुटाउन विराटनगरका होटलहरुमा वेटर र क्लिनरको कामसमेत गरे ।
२०६० सालमा पक्राउ परेका उनी दुई वर्ष तीन महिना कारागार बसेपछि रिहा भए । अखिल क्रान्तिकारीको जिल्ला सदस्य हुँदै मोरङ अध्यक्ष भएका उनी तत्कालिन माओवादी केन्द्रको जिल्ला कमिटी सदस्य हुँदै राज्य कमिटी सदस्य बनेका थिए ।
२०७४ पछि माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता हुँदा उनी नेकपाको प्रदेश कमिटी सदस्य बने । माओवादी केन्द्रको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य बने ।
२०७० सालको दोस्रो संविधानसभामा समानुपातिक संसद निर्वाचित भएका मोदी २०७४ सालको निर्वाचनमा मोरङ–४ बाट निर्वाचित भए । गत ४ मंसिरमा पनि उनी सोही क्षेत्रबाट निर्वाचित भए । उनी निर्वाचित भएको क्षेत्र थारु बहुल क्षेत्र हो ।
यो पनि पढ्नुस् :
म्यानपावर र रेमिट्यान्स व्यवसायीलाई श्रम मन्त्रालयको चाबी
दलैपिच्छेका उपप्रधानमन्त्री, सरकार जोगाउने कार्यनीति
ठेकेदार पाण्डेलाई शहरी विकास मन्त्रालयको जिम्मा
उपराष्ट्रपति छाडेर मन्त्री रोजेकी रेखा
शिक्षाको समस्या बुझेका मन्त्री
जनमतले पाएन रोजेको मन्त्रालय, पदभार सम्हाल्न गएनन् खानेपानी मन्त्री
कसरी परराष्ट्रमन्त्री बनिन् विमला ?
सुदनले आमालाई देखाउन नपाएको शहर
पूर्वप्रहरी प्रमुखलाई कानुन बनाउने जिम्मा
प्रचण्ड मन्त्रिपरिषदमा एक्लो दलित सदस्य
दुई मन्त्रालय प्रधानमन्त्रीसँगै
अभियन्ताबाट राज्यमन्त्रीमा डा. तोसिमाको छलाङ
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4