
४ माघ, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
बैंकले महिला सशक्तीकरणको प्रयास स्वरुप देशभर ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अभियान सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्गत सातै प्रदेश समेट्ने गरी सप्ताहव्यापीरुपमा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको बैंकले जनाएको छ ।
शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीरोग सम्बन्धी विभिन्न सेवाहरु महिलाहरुको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधि वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराएको बैंकले जनाएको छ ।
नेपाल परिवार नियोजन संघको प्राविधिक सहयोग तथा सम्बन्धित पालिकाको समन्वयमा शिविर सञचालन गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार निःशुल्क स्वास्थ्य शिविरमा ८०९ जना महिलाहरुले स्वास्थ्य सेवा लिएका छन् । स्वास्थ्य शिविरले ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति प्रभावकारी बनेको र महिलाहरुमा सकारात्मक प्रभाव पार्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया 4