
४ माघ, काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रको जहाजलाई ओभरसुट गरेर फेरि उडाइएका कारण दुर्घटना हुनबाट जोगाइएको बताएका छन् । बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको अर्थतन्त्र : अबको बाटो विषयक कार्यक्रममा उनले भने, ‘नेपालको अर्थतन्त्रको जहाज झन्डै दुर्घटना भएको थियो, ओभरसुट गरेर फेरि उडाइएको छ । अब सेफ ल्यान्डिङ गर्नु पर्ने छ । अब इन्जिन र पाइलट सही हुँदा जहाज सुरक्षित अवतरण हुन्छ ।’
पर्यटनबाट आर्जन गरेको रकम भन्दा शिक्षामा धेरै पैसा विदेश बाहिर पठाउने परिपाटि रहेको भन्दै उनले अब नेपाली उद्योगको क्षमता बढाउनुपर्ने बताए । ‘उद्योगहरु ५० प्रतिशत क्षमतामा चलेका छन्, सेवा क्षेत्रको माग घटिरहेको छ, फ्युचर इन्भेस्टमेन्ट प्लान दुई तिहाइले पर सर्दैछन्, यसले अर्थतन्त्र शिथिल बन्छ,’ उनले भने, ‘यसले मूल्य घट्ला, ब्याजदर घट्ला, के भयो ? हामीलाई त उत्पादन, रोजगारी, निर्यात चाहिएको न हो ।’
निक्षेपमा ब्याजदर करेक्सन गरिएमात्रै कर्जाको ब्याजदर घट्ने उनको भनाइ छ । माथिल्लो एक अंकमा निक्षेपको ब्याजदर र दुई अंकको सबैभन्दा तल्लो बिन्दुमा कर्जाको ब्याजदर राख्दा सन्तुलन हुने उनले बताए ।
जग्गाको वर्गीकरण स्थानीय तहबाट गर्न सुझाव दिंदै उनले यसलाई एक्कासी रोक्नु भन्दा विस्तारै व्यवस्थापन गर्दै लैजानु पर्ने बताए । चालुपूँजी कर्जाबारे उनले भने, ‘लगानी स्थिर पूँजीमा गर्नु भएको छ, व्यवसायी साथीहरूले पनि मनन गर्नुस्, एकै पटक कस्नु भन्दा विस्तारै मिलाउँदै जानु नै वुद्धिमता हुन्छ ।’
भन्सार र राज्स्व प्रशासनमा सुधार गर्नु अत्यावश्यक रहेको भन्दै उनले भन्सारलाई कडाइ गर्दा रेमिट्यान्स पनि बढ्ने बताए । उनले हुण्डीलाई निरुत्साहित गर्न आग्रह समेत गरे ।
आन्तरिक रुपमा उत्पादन हुने वस्तु घट्नुमा कतै सीमापारिबाट वस्तु भित्रिरहेको छैन भन्ने आशंका उनको छ । सीमापारिबाट भित्रिने यस्ता वस्तुहरु रोक्नका लागि सीमा प्रशासन र भन्सार मिलेर समाधानमा गर्नुपर्नेमा उनको जोड थियो ।
सामाजिक सुरक्षाले अर्थतन्त्र चलायमान बनाउने भन्दै उनले समयमा निकासा दिन, हाउजिङमा कर्जा खुकुलो बनाउन सुझाव दिंदै उनले यसले सिमेन्ट र छडको व्यापार बढाउने बताए ।
प्रतिक्रिया 4