+
+

कुकुरको स्याहारसुसार : रौं झर्ने समस्यामा के गर्ने ?

सागर मण्डल सागर मण्डल
२०७९ माघ ४ गते १८:५५

कुकुर पाल्ने घरमा त्यसको रौं झरेर कार्पेट, लुगाफाटो, ओछ्यान, भान्सा लगायतका ठाउँमा यत्रतत्र छरिएको पाइन्छ । कुकुरको रौं झर्नु स्वभाविक हो । अधिकांश प्रजातिका कुकुरको रौं झर्ने गर्छ । अत्याधिक रौं झर्नु चाहिं समस्या हो ।

छाला वा शरीरमा कुनै समस्या भएमा धेरै नै रौं झर्ने हुन्छ । कुनै याममा कुकुरको रौं बढी झर्ने गर्छ, कुनैमा कम । मौसम परिवर्तन हुँदा, खानपान नमिल्दा, पोषणको अभाव हुँदा कुकुरको रौं झर्ने गर्छ । यसैगरी कुकुरलाई छालाको समस्या धेरै हुनेगर्छ । पानीमा भिज्दा वा फोहोर खेल्दा छालामा संक्रमण हुने भय हुन्छ । किनभने कुकुरको छाला एकदमै पातलो र संवेदनशील हुन्छ ।

छालाको क्यान्सर, एलर्जी, ब्याक्टेरियल संक्रमण, फंगर र किर्नाको संक्रमणले समेत रौं झर्ने समस्या बढ्छ ।

कसरी कम गर्ने समस्या ?

कुकुरको रौं झर्ने समस्यालाई पूर्णतः नियन्त्रण गर्न सकिंदैन । यद्यपि त्यसलाई कम गर्न भने सकिन्छ । खासगरी कुकुरलाई दिनहुँ रौं कोरिदिने, काँटछाँट गरिदिने उपाय गर्न सकिन्छ । बिहान थोरै समय निकालेर कुकुरको रौं कोरिदिनुपर्छ । कुकुरको कपाल कोर्ने काँइयो पेट सपहरुमा पाइन्छन् । यस्तो काँइयो कुकुरको जात वा रौंको स्थितिअनुसार फरक–फरक हुन सक्छ ।

कुकुरलाई फकाएर वा खेलाउँदै विस्तारै रौं काटिदिने र कोरिदिने गर्नुपर्छ । जबरजस्ती गर्दा रिसाउने, टोक्ने गर्न सक्छ ।

कपाल कोरिदिएपछि गम्छाले एकसरो पुछिदिनुपर्छ । पानीले भिजाउने वा नुहाइदिने भने गर्नुहुँदैन । कुकुरलाई राम्ररी स्याहारसुसार गरेको छ भने तीन–चार महिनाको अन्तरमा नुहाइदिए पनि पुग्छ । कतिले कुकुरलाई सफा राख्न पटक–पटक नुहाइदिने गर्छन् । यसरी नुहाइदिएमा चिसो लाग्ने, निमोनिया हुने वा छालाको समस्या देखापर्ने हुन सक्छ ।

त्यसैले नुहाइदिनुभन्दा कुकुरको रौं कोरिदिने, काँटछाँट गरिदिने र ड्राई स्याम्पू लगाइदिने गर्न सकिन्छ । यसले रौं सफा, चम्किलो र बलियो हुन्छ । रौं झर्ने समस्या कम हुन्छ । कुकुरलाई सम्भव भएसम्म सफा राख्नुपर्छ । जथाभावी फोहोर राखियो भने छालामा संक्रमण हुने भय हुन्छ ।

कुकुरको रौं चाँडै बढ्छ वा झर्छ भने कैंचीले काटिदिनुपर्छ । रौं लामो भयो भने कुकुरलाई पनि असहज हुन्छ । फूर्तिलो र छरितो हुँदैन । अर्कोतिर धुलो, मैलो लाग्ने सम्भावना पनि उत्तिकै हुन्छ । रौं सफा एवं काँटछाँट गरिदिएपछि हल्का मसाज गरिदिनु एकदमै राम्रो हो । कुकुरका लागि मसाज गर्ने बेग्लै तेल बजारमा पाउन सकिन्छ । समय र सम्भव हुन्छ भने यस्तो विधिले कुकुरलाई सफासुग्घर र छरितो बनाउन सकिन्छ ।

हरेक बिहान सफा पानीले कुकुरको मुख पुछिदिने गर्नुपर्छ । आँखामा कचेरा भए सफा गर्नुपर्छ । कुकुरको खुट्टाको पन्जालाई पनि हेरचाह गर्नुपर्छ । कुकुरकै लागि तयार गरिएको तेल वा नरिवल तेल लगाएर खुट्टाको पन्जालाई मसाज गरिदिनुपर्छ ।

बाहिर हिंडडुल गराउने, खुला ठाउँमा खेलाउने कुकुर छ भने नङ आफैं घोटिन्छ । तर घरभित्र मात्र राखिएको कुकुरको नङ भने काटिदिनुपर्ने हुन्छ । कुकुरको रौं काट्दा होस् वा नङ काटिदिंदा कुनै पनि काम गरिसकेपछि उनीहरुलाई मीठो लाग्ने खानेकुरा दिएर फकाउनुपर्छ । यसो गर्दा उनीहरु सजिलै कपाल कोर्न, नङ काट्न तयार हुन्छन् ।

कुकुरलाई जथाभावी खानेकुरा दिइयो भने पनि रौं झर्ने समस्या हुन्छ । खासगरी चिल्लो, मसालेदार, पिरो खानेकुरा कुकुरलाई दिनै हुन्न । चकलेट, चिनीजन्य खानेकुरा उनीहरुका लागि विष जस्तै हुन्छ । अंगुर, एभोकाडो जस्ता फलफूल पनि दिनुहुन्न । खराब खानपानले पनि कुकुरको रौं झर्ने गर्छ ।

कहिलेकाहीं मल्टिभिटामिनको कमीले समेत कुकुरको रौं झर्छ । त्यसैले भिटामिन, ए, ई, ओमेगा ३ र ६ भएको खुराक खुवाउन सकिन्छ । किर्ना लागेको छ भने एन्टिटिक मेडिसिन प्रयोग गर्नुपर्छ । यस्ता कुरा पशु चिकित्सकको सल्लाहमा गर्नु उचित हुन्छ ।

कुकुरलाई बाहिर हिंडाउने, डुलाउने पनि गर्नुपर्छ । यसले गर्दा उनीहरुलाई व्यायाम पुग्छ र शरीर र छालाको समस्या आउँदैन, कुकुर एकदमै सक्रिय र ऊर्जावान हुन्छ । उनीहरुलाई हिंडाएर, दौडिन दिएर तन्दुरुस्त राख्न सकिन्छ ।

(पशु प्राविधिक मण्डलसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?