+

अब एचआईभीको जोखिम छैन ?

२०७९ माघ  ९ गते १०:१० २०७९ माघ ९ गते १०:१०
अब एचआईभीको जोखिम छैन ?

एचआईभी पोजेटिभलाई एउटा भयानक संक्रमणको रुपमा लिइएको थियो । संक्रमित व्यक्तिसँगको असुरक्षित यौन सम्बन्धबाट सर्ने यो रोगलाई ‘प्राणघातक’ भनी व्याख्या गरिन्थ्यो । त्यसैले सामान्य यौनजन्य रोग लाग्दा पनि मान्छे ‘एचआईभी संक्रमण पो भयो कि’ भन्ने आशंकाले डराउँथे ।

विभिन्न कारणले एचआईभी संक्रमित भएकाहरुलाई सामान्य जीवन बाँच्न सहज थिएन । एचआईभी लागेपछि के हुन्छ ? काम गर्न सक्छन् वा सक्दैनन् ? कति बाँच्छन् ? यावत् प्रश्न उनीहरुमाथि छेडिएको हुन्थ्यो । किनभने सुरुवाती अवस्थामा संक्रमितले औषधि उपचार पाएका थिएनन् । औषधिको अनुसन्धान भएको थिएन । त्यसैले संक्रमित भएकै कारण मृत्यु हुने जोखिम उच्च थियो ।

तर अहिले अवस्था त्यस्तो छैन । न एचआईभी संक्रमणको चर्चा हुन्छ, न यसबाट हुने सम्भावित मृत्युको भय नै ।

अहिले सहज रूपमा औषधि उपलब्ध छ । एचआईभी संक्रमितले पनि दीर्घरोग मधुमेह र उच्च रक्तचाप जस्तो  जीवनभर औषधि सेवन गरेर सामान्य जीवन बिताउन सक्छन् । जसकारण अहिले यो रोगको आतंक घटेको छ ।

एचआईभीको भय घटेको हो वा संक्रमण दर ?

एचआईभीको संक्रमण दर अलिअलि घटेको हो । तर भय भने धेरै घटेको छ । नेपालमा संक्रमण फैलिंदा औषधि उपलब्ध थिएन । उपलब्ध भए पनि पहिले संक्रमित भएका व्यक्तिको मृत्युपछि मात्र अर्को संक्रमित व्यक्तिले औषधि पाउँथे ।

अहिले एचआईभी संक्रमण देखिने बित्तिकै काउन्सिलिङ गरेर औषधि सुरु गराइहालिन्छ । संक्रमण पुष्टि भएको ३–४ दिनमा नै औषधी सुरु गराइन्छ । औषधि सेवन गरेपछि संक्रमितलाई एड्स हुँदैन जसले गर्दा भय घटेको हो ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्यांक अनुसार नेपालमा एचआईभी संक्रमण दर घट्दै गएको पाइएको छ । दुई दशकमा नयाँ एचआईभी संक्रमण दर झण्डै ८४ प्रतिशतले घटेको छ । त्यस्तै एड्सका कारण हुने मृत्यु ७१ प्रतिशतले घटेको छ ।

एचआईभीको भय घट्नुको कारण

एचआईभीको भय घट्नुको मुख्य कारण भनेको औषधि उपचार प्रभावकारी हुँदै जानु हो । संक्रमित हुने बित्तिकै उपचारको व्यवस्था छ । जसले गर्दा विश्वभर नै संक्रमितको संख्या घट्दै गएको छ । यो संक्रमणको विषयका जनचेतना पनि राम्ररी फैलिएको छ जसले गर्दा नयाँ संक्रमितको संख्या घट्दो छ । संक्रमित भएकाहरू पनि एड्सको अवस्थासम्म पुग्दैनन् ।

भय कम भए पनि एचआईभी संक्रमितलाई गरिने व्यवहारमा भने परिवर्तन आएको छैन । उनीहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन । एचआईभी संक्रमणको जोखिम अहिले १८ देखि ४० वर्षको उमेर समूहलाई बढी छ ।

एचआईभी संक्रमण भएपछि जीवन नै सकिन्छ भन्ने जुन धारणा थियो, त्यो यथावत् छैन । औषधि नियमित रूपमा सेवन गरेमा एचआईभीको कारण मृत्यु हुँदैन । संक्रमितहरूले पनि अन्य सामान्य व्यक्तिले जसरी नै जीवनयापन गर्न सक्छन् ।

संक्रमितले पनि पूर्ण जीवन बाँच्न सक्छन्

एचआईभी संक्रमितले पनि पूर्ण जीवन बाँच्न सक्छन् । अहिले एचआईभीको नयाँ नयाँ औषधि उपलब्ध छन्, जसको नियमित सेवन गर्ने व्यक्ति उसको पूरा आयु बाँच्न सक्छन् ।

यदि श्रीमान् वा श्रीमतीमा एक जना एचआईभी पोजेटिभ र एक जना नेगेटिभ छन् भने जो नेगेटिभ छ उसलाई प्रेप भन्ने औषधि दिइन्छ । जो पोजेटिभ छ उसले आफ्नै औषधि सेवन गर्छन् । यसो गर्दा त्यो दम्पतीबाट जन्मिएको बच्चा नेगेटिभ हुन्छ र पार्टनर पनि नेगेटिभ हुन्छ त्यसरी १५ वटा जति बच्चा जन्मिसकेका छन् ।

एचआईभी संक्रमणको लक्षण

एचआईभी संक्रमण भएको पाँचदेखि सात वर्षसम्म केही पनि लक्षण नदेखिन सक्छ । ज्वरो आउने, पखाला लाग्ने जस्ता सामान्य समस्या पनि नदेखिन सक्छ, जसकारण धेरै व्यक्ति ‘म स्वस्थ छु, मलाई त केही स्वास्थ्य समस्या छैन’ भन्ठान्छन् । आफू एचआईभीको जोखिममा पो छु कि भन्ने मान्छेले सोच्दैन । यो समयमा उसले अरूलाई संक्रमण सारिरहेको हुन सक्छ । संक्रमण हुने बित्तिकै लक्षण देखिने भए त सबै उपचारको पहुँचमा हुन्थे ।

एचआईभी संक्रमित भएको ५–७ वर्षपछि मात्र लक्षण देखिन थाल्छ । संक्रमण भएपछि शरीर संक्रामक रोगसँग लड्न असमर्थ हुन्छ, जसले लामो समयसम्म ज्वरो आउने, पखाला लाग्ने र वजन घट्ने जस्ता लक्षण देखिन्छन् ।

एचआइभी एक प्रकारको भाइरस हो । यसले हाम्रो प्रतिरक्षा प्रणालीलाई आक्रमण गरी कमजोर बनाउँछ । जब कोही एचआईभी संक्रमित हुन्छ, उसको शरीर संक्रामक रोगहरूसँग लड्न असमर्थ हुन्छ । एचआईभी भाइरसले प्रतिरक्षा प्रणालीको ती कोषिकाहरुलाई नष्ट गर्छ  । एचआईभी भाइरसको समयमै उपचार गरिएन भने शरीरमा संक्रमण बढ्न थाल्छ र यसले एड्स निम्त्याउन सक्छ ।

(टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका मेडिकल अफिसर  डा. देवकोटासँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

एचआईभी सरुवारोग
लेखक
डा. लीना देवकोटा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अमेरिकाको स्वास्थ्य सेवाबाट नेपालले सिक्नुपर्ने कुरा

अमेरिकाको स्वास्थ्य सेवाबाट नेपालले सिक्नुपर्ने कुरा

कपालमा चाया किन पर्छ ?

कपालमा चाया किन पर्छ ?

महिलाले दैनिक आहारमा समावेश गर्नुपर्ने ५ तत्व

महिलाले दैनिक आहारमा समावेश गर्नुपर्ने ५ तत्व

डेंगु बढेसँगै सिटामोलको अभाव हुनसक्छ  

डेंगु बढेसँगै सिटामोलको अभाव हुनसक्छ  

के छ सेतो दुभीको उपचार ?

के छ सेतो दुभीको उपचार ?

एउटा जोखिमपूर्ण शल्यक्रिया गर्दाको क्षण

एउटा जोखिमपूर्ण शल्यक्रिया गर्दाको क्षण