+
+

किन सबै बच्चा एकैखाले हुँदैनन् ? किन तुलना गर्नु हुँदैन ?

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ माघ १० गते १४:१३

काठमाडौं । आमाबुवा चाहन्छन्, आफ्नो बच्चा सबै कुराले परिपूर्ण होस् । सबै जान्ने होस्, सधैं सफल होस्, ज्ञानी होस्, बौद्धिक होस्, सिपालु होस् । तर कुनै एउटा बच्चा यी सम्पूर्ण गुणले युक्त भएको नहुन सक्छ । किनभने बच्चाहरूको जन्मजात आ आफ्नै खुबी र क्षमता हुन्छ । उनीहरू बढ्ने, हुर्किने क्रममा उनीहरूले आफ्नो रुचि र क्षमता पहिल्याउन थाल्छन् । तर आमाबुवाले बच्चाको यी कुरालाई बुझ्दैनन् ।

आमाबुवा चाहन्छन्, मेरो बच्चा फलानोको छोरा जस्तो भइदियोस् । मेरो बच्चाले फलानोको छोरीले जस्तै प्रगति गरोस् । यसरी आमाबुवाले उनीहरूमाथि अपेक्षा लाद्न थाल्छन् । साथै छोराछोरीलाई मनोवैज्ञानिक दबाब पनि दिन थाल्छन् ।

संसारमा हरेक व्यक्तिको आ-आफ्नो खुबी, क्षमता र स्वभाव हुन्छ । सबै बालबालिकाको एउटै कुरामा पोख्त हुन्छन् भन्ने हुँदैन । त्यसैले अभिभावकले कहिले पनि आफ्नो बालबालिकालाई अर्काको बालबालिकासँग तुलना गर्नु नहुने बाल मनोसामाजिक परामर्शदाता महालक्ष्मी आचार्य बताउँछिन् । ‘आफ्नै दुईवटा बच्चा छन् भने उनीहरूमा पनि  तुलना गर्नु हुँदैन । एउटा बच्चालाई अर्को बच्चासँग तुलना गर्दा उनीहरूमा मनोवैज्ञानिक असर पर्छ ।’

आमाबुवाले कसरी बच्चालाई अरुसँग तुलना गर्छन् ?

बालबालिकालाई अभिभावकले सबैभन्दा धेरै तुलना गर्ने भनेको पढाइमा हो । उसको छोरा त गणित र विज्ञानमा कति राम्रो छ मेरो बच्चा त छैन भन्ने हुन्छ । उसको बच्चाले यति राम्रो ग्रेड ल्यायो मेरोले ल्याएन भन्ने हुन्छ । सबै बच्चा गणित र विज्ञानमा राम्रो हुनैपर्छ भन्ने छैन । कुनै बच्चाको रुचि भाषिक विषयमा हुन्छ । कुनै बच्चा तर्कसंगत हुन्छन् । त्यसैले पढाइ तथा परीक्षाको नतिजाको आधारमा बच्चालाई तुलना गर्नु गलत भएको आचार्य बताउँछिन् ।

उनी भन्छिन्, ‘अर्को भनेको मेरो बच्चा सामाजिक छैन, अर्काको बच्चा सामाजिक छ । मासको अगाडि राम्ररी बोल्छ मेरो बच्चा बोल्दैन भन्ने पनि हुन्छ । अर्थात् उसको बच्चा त कस्तो शान्त छ मेरो त छैन बढी बोल्छ भन्ने पनि हुन्छ । सानै उमेरदेखि अर्को बच्चासँग तुलना हुन थाल्छ ।’

अहिले सोसल मिडियाको जमानामा त झन् आफ्नो बच्चाले गरेको हरेक क्रियाकलाप खिचेर राख्ने र फलानोको बच्चाको फेटो भिडियोमा त यति लाइक कमेन्ट आयो मेरो बच्चाकोमा आएन भनेर समेत अभिभावकले तुलना गरेको पाइने आचार्य बताउँछिन् ।

बाल मनोसामाजिक परामर्शदाता महालक्ष्मी आचार्य

तुलना गर्दा बच्चामा कस्तो मनोविज्ञान विकास हुन्छ ?

‘बच्चाले एउटा चित्र बनायो भने वा नाच्यो भने अभिभावकहरूले भिडियो बनाएर सोसल मिडियामा राखिदिन्छन् । यसरी सोसल मिडियामा राखिएको पोस्टबाट बच्चाले सधैं प्रशंसा मात्र पाउँछन्, लाइक तथा राम्रा कमेन्ट मात्र पाउँछन् भन्ने पनि हुँदैन,’ आचार्य भन्छिन्, ‘कहिलेकाहीं उनीहरूले प्रशंसा पाएनन् । लाइक, कमेन्ट नपाउन पनि सक्छन् । अरूले राम्रो गर्‍यो मैले राम्रो गरिनँ त्यसैले मलाई प्रशंसा आएन भनेर बच्चाले याद गरिरहेको हुन्छ, जसले उसलाई तनाव हुन्छ ।’

मेरो बच्चाले भन्दा अर्काको बच्चाले राम्रो गर्‍यो भनेर अभिभावकलाई दबाब पर्छ त्यो दबाब अभिभावकले बच्चामा पोख्छन् । यसले बच्चामा मानसिक दबाब बढ्छ र उनीहरू एकान्तमा बस्ने, अरुसँग घुलमिल नहुने, पढाइमा ध्यान नदिने जस्ता मनोवैज्ञानिक समस्या देखिन्छ । अभिभावकको तुलना गर्ने व्यवहारबाट दिक्क भएर बच्चा अभिभावकबाट नै टाढा जान सक्छ र कतिपय बच्चा चिडचिडा पनि हुन सक्ने आचार्य बताउँछिन् ।

‘बच्चाहरूको तुलना गर्दा आमाबाबु र बच्चाबीचको सम्बन्धमा समस्या निम्तिन सक्छ । बालबालिकाको निरन्तर तुलनाले उनीहरूलाई दबाब दिन्छ । जब बच्चाले अभिभावकको अपेक्षा पूरा गर्दैन । तब अभिभावकले बच्चालाई गर्ने व्यवहार परिवर्तन हुन थाल्छ । यसले गर्दा बच्चा डर तथा तनावमा बाँच्न थाल्छ,’ आचार्य भन्छिन् ।

बच्चालाई अभिभावकले कसरी बुझ्ने ?

बच्चाको मनोविज्ञान हरेक अभिभावकले बुझ्नुपर्छ । बच्चाको उमेर बढ्दै जाँदा उनीहरूको शारीरिक र मानसिक विकास हुँदै जान्छ । उमेरसँगै उनीहरूको व्यवहार र भावना पनि परिवर्तन हुँदै जान्छ, त्यसलाई अभिभावकले बुझ्नुपर्ने आचार्य बताउँछिन् ।

‘बच्चा आमाको गर्भमा आएदेखि आठ वर्षको उमेर भनेको एकदमै महत्त्वपूर्ण समय हो । त्यसैले अभिभावकले त्यो समयमा जस्तो व्यवहार गर्‍यो बच्चाले त्यही सिक्छ । मेरो बच्चा कस्तो छ । अरूभन्दा के कुरा खास छ उसमा भन्ने कुरा बुझ्नुपर्छ,’ आचार्य भन्छिन् ।

अभिभावकको माया र समय बच्चालाई एकदमै जरुरी हुन्छ । ‘तर अभिभावकले के सोच्छन् भने मैले भोग गर्न नपाएको सुख सुविधा सबै मेरो बच्चालाई दिनुपर्छ । हाम्रो पालामा त ग्याजेटहरु थिएन अहिले छ । त्यसैले मेरो बच्चालाई सबै ग्याजेट दिनुपर्छ, उनीहरूको अनावश्यक कुरा पनि पूरा गरिदिनुपर्छ ।’

बच्चालाई माया, समय र संस्कार दिनुपर्छ । उसलाई अरुसँग तुलना गर्नु हुँदैन । उसको रुचि के मा छ उसको व्यवहार कस्तो छ भन्ने कुरामा अभिभावकले ध्यान दिनुपर्ने आचार्य सुझाउँछिन् ।

किन एउटा बच्चा अर्को बच्चा जस्तो हुन सक्दैन ?

आमा, आमाको बाबुआमा, बुबा र बुबाको आमाबुबा गरेर ६ जनाको गुण र खुबी बच्चामा सरेको हुन्छ । त्यसैले बच्चालाई बुझ्नुअघि अभिभावकले आफूलाई बुझ्नुपर्छ । आफ्नो गुण र खुबी पहिल्याउनुपर्ने आचार्य बताउँछिन् ।

‘प्रत्येक बच्चाको विकास फरक तरिकाले हुन्छ । उनीहरूको शारीरिक, मानसिक, सामाजिक क्षमता, कुनै पनि काम गर्ने क्षमता फरक हुन्छ । बच्चा हुर्केको वातावरणले पनि उसको विकासमा निर्भर गर्छ,’ उनी भन्छिन्, ‘त्यसैले हरेक बच्चा फरक हुन्छन् एउटा बच्चा अर्को बच्चा जस्तो हुन सक्दैनन् ।’

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?