+
+
नेपाल टी–२० क्रिकेट :

स्पट फिक्सिङमा दुई क्रिकेटर मात्रै ?

नेपाल टि–२० लिगमा अझै कम्तीमा ४ जना खेलाडीको गतिविधि शंकास्पद छ भने क्यान पदाधिकारीको भूमिका पनि सन्देहपूर्ण देखिन्छ । तर, सीआईबीले २ क्रिकेटरसहित १० जनालाई मात्र प्रतिवादी बनाएर अनुसन्धान निष्कर्षमा पुर्‍याएको छ । किन ?

गौरव पोखरेल गौरव पोखरेल
२०७९ माघ १० गते २२:५६
राष्ट्रिय क्रिकेटर मोहम्मद आदिल आलम (पक्राउ) र वेस्ट इन्डिजका खेलाडी आन्द्र म्याक्कथी (फरार) ।

१० माघ, काठमाडौं । झण्डै एक महिना लामो अनुसन्धानपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल टी–२० क्रिकेटमा ‘स्पट फिक्सिङ’ मा संलग्न भएको आरोपमा पक्राउ परेका दुई क्रिकेटरबारे औपचारिक जानकारी दिएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर मोहम्मद आदिल आलम र पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलमलाई प्रहरीले सोमबार मात्र पक्राउ गरेको थियो । सीआईबीका अनुसार फिक्सिङमा कम्तीमा १० जना संलग्न देखिएका छन् ।

नेपाल टी–२० मा ५ जनालाई स्पट फिक्सिङका लागि एप्रोच (प्रस्ताव) गरिएको प्रहरीले बताएको छ । ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा भन्छन्, ‘उनीहरुमध्ये दुई जना खेलाडीले एप्रोच गरिए अनुसार खेलका गतिविधिलाई प्रभाव पारेर खेलेको देखिएको छ ।’ अरुले अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी) लाई एप्रोच आएको भन्दै जानकारी गराएको पाइएको उनले बताए ।

एसपी थापाका अनुसार स्पट फिक्सिङको प्रस्ताव स्वीकार गर्नेमध्ये एक मोहम्मद आदिल आलम हुन् भने अर्का बिराटनगर सुपर किंग्सका कप्तान आन्द्रे म्याक्कर्थी हुन् ।

‘आदिललाई एउटा नो बल र अर्को वाइड बल फाल्नका लागि एप्रोच आएको थियो, कम्तीमा दुई वटा खेलमा उनले सोही प्रकृतिको खेल खेलेको पाइएको छ’, थापाले भने ।

बुकी (फिक्सर) सँग भएको सहमतिअनुसार जनकपुर रोयल्सबाट खेलेका आदिलले १२ पुसमा काठमाडौं नाइट्सविरुद्धको खेलमा स्पट फिक्सिङ गराएका प्रहरीको दावी छ । उनले ११.१ ओभरमा ‘नो बल’ फालेका थिए भने अर्को बल वाइड फालेका थिए । त्यो खेलमा आदिलले ४ ओभर बलिङ गरी ३८ रन खर्चेर १ विकेट लिएका थिए । जहाँ दुई वाइड र एक ‘नो बल’ सामेल थियो ।

१४ पुसमा फारवेष्ट युनाइटेडविरुद्ध भएको खेलमा पनि उनले स्पट फिक्सिङ गरेको आरोप छ । त्यो खेलमा आदिलले एक ओभर मात्र बलिङ गर्न पाए । पावर प्लेको अन्तिम ओभरको पहिलो बल उनले नो बल फाले । लगत्तै वाइड बल पनि फाले । यो ओभरमा उनले त्यही गरेका थिए, जुन दुई दिनअघि काठमाडौं नाइट्सविरुद्धको खेलमा १२ औं ओभरमा गरेका थिए ।

फिक्सिङमा संलग्न भएको आरोप लागेका विदेशी खेलाडी विराटनगर सुपर किंग्सका कप्तान आन्द्र म्याक्कर्थी हुन्, जसको कप्तान नियुक्तिमा नै प्रश्न उठेको थियो । विराटनगरको कप्तानमा नेपाली राष्ट्रिय टोलीको कप्तान रोहितकुमार पौडेललाई भनिएको थियो । तर प्रतियोगिता सुरु हुनु अघिल्लो दिन एकाएक म्याक्कर्थीलाई कप्तान तोकियो । स्पट फिक्सिङका लागि अनुकुल हुने गरी म्याक्कर्थीलाई कप्तान बनाएको आशंका त्यही बेला भएको थियो ।

स्रोतका अनुसार उनीविरुद्ध एन्टी करप्सन युनिट (एसीयू) मा उजुरी नै परेको छ । त्यही कारण १९ पुसमा खेलमा उनलाई हटाएर गरेर रोहितलाई कप्तानीको जिम्मा दिइएको थियो ।

तर सीआईबीले उनको संलग्नता पत्ता लगाउँदा उनी आफ्नो देश पुगिसकेका छन् । यद्यपि अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा उनलाई कानुनी दायरामा ल्याउने प्रहरीको दाबी छ ।

जतिनसँगै अभिषेक पनि संलग्न

लिगमा भएको स्पट फिक्सिङमा नेपाल क्रिकेट संघ (क्यान)ले व्यापारिक एवं रणनीतिक साझेदार बनाएको सेभेन थ्री स्पोर्टस्का प्रमुख जतिन अलुवालिया र प्रमुख कार्यकारी अधिकृत अभिषेक सक्लानीको भूमिका रहेको प्रहरीको निष्कर्ष छ ।

सीआईबीले अनुसन्धान थालेपछि उनीहरु प्रतियोगिता चलिरहेकै बेला १८ पुसमा भारत भागेका थिए । स्रोतका अनुसार महबुब आलमलाई सेभेन थ्री स्पोर्टस्का सञ्चालक र सीईओका एक जना सहयोगीले फिक्सिङका लागि आफू नजिकका खेलाडीसँग सम्पर्क गरिदिन भनेका थिए । त्यसवापत प्रतिखेलाडी दुई लाख रुपैयाँका दरले रकम दिने उनलाई प्रस्ताव गरिएको थियो ।

अनुसन्धानका क्रममा सीआईबीले महबुबले स्पट फिक्सिङका लागि प्रस्ताव गरेको अडियो र म्यासेन्जरको च्याट हात पारेको छ । ‘अडियोमा प्रति खेल ६ देखि ८ लाखसम्म दिने प्रस्ताव गरिएको छ’, स्रोतले अनलाइनखबरसँग भन्यो, ‘त्यो सम्वादमा महबुबले ६ खेलको भयो भने ३६ लाख हुन्छ, त्यो भनेको राम्रो पैसा हो भनेका थिए ।’

महबुबले पैसा पाइसकेका थिए वा थिएनन् भन्ने खुलेको छैन । प्रहरीले बैंकिङ विवरण मगाएको छ । आदिलले पनि स्पट फिक्सिङका लागि कसले अफर गरेका हुन् भन्ने स्पष्ट बताएका छैनन् । प्रहरीले उनलाई सोमबार सप्तरीको राजविराज–५ स्थित पब्लिक बिन्देश्वरी माध्यम विद्यालयको खेल मैदानबाट पक्राउ परेको थियो । अन्सारी त्यहाँ जारी मुन्ना साह मेमोरियल अन्तर कलेज क्रिकेट प्रतियोगितामा जानकारी उच्च माध्यम विद्यालयबाट खेल्न पुगेका थिए ।

लहरो आयो, पहरो अझै बाँकी छ

समग्र खेलको नतिजालाई नै प्रभावित पार्ने गरी लेनेदन गरेर खेल्नुलाई म्याच फिक्सिङ भनिन्छ । खेलको निश्चित गतिविधिलाई प्रभाव पार्ने गरी हुने कार्य स्पट फिक्सिङ हो । यसको उद्देश्य सट्टेबाजी बेटिङबाहेक अरु देखिएको छैन ।

जानकारहरुका अनुसार क्रिकेटमा स्पट फिक्सिङको समस्या २०१० बाट देखिन थालेको हो । इन्टरनेट ‘ग्याम्ब्लिङ’ फस्टाउँदै गएसँगै स्पट फिक्सिङका घटनाहरु बढ्न थालेका थिए । सन् २०१० मा इंग्ल्याण्ड र पाकिस्तानबीच लण्डनको लड्स स्टेडियममा भएको टेस्ट म्याचमा तीन खेलाडीले स्पट फिक्सिङका लागि बुकीसँग रकम लिएको खुलासा भएको थियो ।

एक पत्रिकाले खेलाडीहरुको अस्वभाविक हर्कत देखिएको भन्दै समाचार लेखेपछि भएको अनुसन्धानका क्रममा मजहर मजिदलगायतले नो बल फ्याल्ने गरी रकम असुली गरेको खmुलेको थियो । यो नै विश्व क्रिकेटमा पहिलो सार्वजनिक जानकारीमा आएको स्पट फिक्सिङको घटना हो । यसमा संलग्न खेलाडीहरुलाई आईसीसीले ५ वर्षका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रतिबन्ध लगाएको थियो । त्यसयता विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा स्पट फिक्सिङमा खेलाडीहरु संलग्न देखिएका छन् ।

नेपाल टी–२० लिगको फिक्सिङ अनुसन्धानका क्रममा बयान दिएका खेलाडीहरुले नेपालमा विगतमा भएका खेलहरुमा पनि फिक्सिङका लागि प्रस्ताव आएको खुलासा गरेका छन् । एभरेष्ट प्रिमियर लिगसहितका प्रतियोगितामा ‘एप्रोच’ आएको केही खेलाडीको बयान छ । ब्यूरोका एक अनुसन्धान अधिकृत भन्छन्, ‘विगतमा पनि यस्तो घटना भएको हुनसक्ने आंशका गर्ने ठाउँ भेटिएका छन्, तर पुराना खेलको अनुसन्धान छानबिनको दायरामा थिएनन् ।’

तर उदीयमान शक्तिका रुपमा रहेको नेपाली क्रिकेटमा सुधारका अवसर बन्न सकोस् भनेर पनि आफूहरु केही उदार भएको प्रहरीका एक उच्च अधिकृत बताउँछन् । ‘अरुमाथि पनि शंका गर्ने आधार नदेखिएका होइनन्, तर सबैलाई थुनेर क्रिकेटलाई झन् जर्जर बनाउने कि सुधार्न प्रेरित गर्ने भन्ने पनि हो’, ती अधिकृत भन्छन्, ‘अझै नसुध्रिने हो भने स्थिति भयावह हुनसक्छ ।’

अनुसन्धान अधिकृतहरुका अनुसार नेपाल टी–२० लिगमै पनि थप खेलाडी शंकाको घेरामा छन् । आईसीसीको एन्टी करप्सन युनिट (आईसीयू) ले दिएको प्रतिवेदनमा केही खेलाडीको गतिविधि अस्वभाविक रहेको उल्लेख गरिएको छ । उच्च स्रोतले अनलाइनखबरलाई दिएको जानकारी अनुसार कम्तीमा पनि थप चार जना खेलाडीको गतिविधि अस्वभाविक छन् ।

‘अहिले छानबिन समितिले प्रतिवेदन मात्र अहिले बुझाएको हो’, ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले भने, ‘बयानका क्रममा अरु व्यक्तिको संलग्नता पनि खुल्नसक्छन् ।’

क्यानमाथि नै प्रश्न

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) आचार्यले नेपाल क्रिकेट एसोसिएसनमाथि पनि अनुसन्धान हुनसक्ने संकेत गरेका छन् । ब्यूरोका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा गठन भएको ६ सदस्यीय छानबिन समितिको प्रतिवेदनमा पनि क्यानको भूमिकामाथि प्रश्न उठाइएको छ ।

नेपाल टी–२० लिगले मुलुकको प्रतिनिधित्व गर्ने भन्दै राष्ट्रिय क्रिकेट तथा राष्ट्रको छविमा समेत प्रभाव पार्न सक्ने खेलको रणनीतिक तथा व्यवसायिक साझेदारको पृष्ठभूमिबारे क्यानले ध्यान दिन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

क्यानले ८ वर्षका लागि ३३ करोड रुपैयाँ बुझाउने गरी नेपाल टी–२० लिग गर्ने सम्झौता विवादास्पद सेभेन थ्री स्पोर्टससँग गरेको थियो । यो कम्पनीको प्रबन्धपत्रमै जुवाघर र सट्टेबाजी सञ्चालन गर्ने उल्लेख थियो । यसबारे जानकारी हुँदाहुँदै क्यानले व्यवसायिक साझेदार र फ्रेन्चाइज टिमहरुको आर्थिक स्रोत, विगतमा क्रिकेट खलसँगको आबद्धता, पारदर्शिता, जवाफदेहीता र उत्तरदायित्व बहन गर्ने क्षमता लगायतका विषयमा उचित ध्यान दिन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

नेपालमा सेभेन थ्री स्पोर्टस्ले जसरी लगानी गरेको छ, त्यसको स्रोत के हुन सक्छ ? लगानी अनुसारको प्रतिफल हुनसक्ने अवस्था छ/छैन भन्ने विषयमा आफूहरुले हेरिरहेको एसएसपी आचार्यले बताए । ‘यो लिग सञ्चालनका लागि त्यो कम्पनी क्षमतावान थियो कि थिएन भन्नेमा समेत प्रश्न छ’, उनी भन्छन् ।

यस्तो अवस्थामा विस्तृत अनुसन्धान गर्ने हो भने क्यानका पदाधिकारी छानबिनको दायरामा स्वभाविक एक अनुसन्धान अधिकृत बताउँछन् । ‘तर, भर्खर उदाउँदै गरेको क्रिकेटलाई अझै ध्वस्त पाने हाम्रो उद्देश्य होइन, प्रत्यक्ष संलग्नलाई कारबाही पनि होस् अरुले पनि यसमा सबक सिकुन् भन्ने हो’, एक अधिकृत भन्छन् ।

अधिकृतहरुका अनुसार २०७२ सालमा अपराध अनुसन्धान महाशाखाले नेपाली फुटबलको म्याच फिक्सिङ प्रकरणको पटाक्षेप गर्दा कतिपय खेलाडीको खातामा पैसा गएको भेटिएपनि प्रतिवादी बनाएको थिएन ।

‘कतिलाई थाहै नपाइ टिम मनी भनेर दिइएको थियो, राष्ट्रको इज्जतसँग जोडिएको सवालमा समग्र खेलको पनि भविष्य हेर्नुपर्छ’, एक अधिकृत भन्छन्, ‘त्यसकारण कसूर गरेर प्रत्यक्ष प्रमाणित हुने व्यक्तिहरुविरुद्ध मात्रै मुद्दा चलाउने निधो गरेका हौं ।’

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?