+
+

शरीरमा हुने करोडौं जीवाणुले कसरी हामीलाई बचाइरहेको हुन्छ ? 

ज्ञानेन्द्र घिमिरे ज्ञानेन्द्र घिमिरे
२०७९ माघ ११ गते १८:५५

हाम्रो शरीरमा चोट लाग्छ, रोग लाग्छ, संक्रमण हुन्छ । त्यस क्षण शरीरलाई कसले बचाउँछ ? यसभित्रका असंख्य जीवाणुले ।

शरीरभित्रका यी जीवाणु सुरक्षाकर्मी झैं हामीलाई रोगमुक्त गर्न, हाम्रो रोगसँग अहोरात्र खटिएका हुन्छन् । मानव शरीरमा हुने कोषिकाभन्दा बढी जीवाणु करोडौं गुणा बढी हुन्छन् । शरीरभित्रको जीवाणु अथाह महासागर नै हो ।

यी जीवाणु शरीरको मुखदेखि मलद्वारसम्म सक्रिय हुन्छन् । छाला, कपाल, नङ, प्रजनन् अंग, टाउको मुख जसरी देखिने बाहिरी सतहमा जीवाणुहरु हुन्छन् । तर शरीरको भित्री अंगहरुमा जीवाणु हुँदैन । मासु, रगत, दिमाग, मिर्गौलामा भने यी जीवाणु हुँदैनन् ।

खराब जीवाणुसँग लड्छ

जब कुनै कारणले हामी खराब जीवाणुको सम्पर्कमा पुग्छौं, त्यसले विभिन्न रोग निम्त्याउँछ । तब खराब जीवाणुलाई धपाउन वा हटाउनका लागि राम्रो जीवाणु सक्रिय हुन्छन् ।

जब कुनै घाउ भयो भने त्यहाँ संक्रमण हुने भय हुन्छ । खराब जीवाणुहरु त्यहाँ पैदा हुन सक्छन् । यतिबेला राम्रो जीवाणुले खराब जीवाणुसँग लड्छ र घाउ निको बनाउन सहयोग गर्छ । कोभिडजस्ता संक्रामक रोगहरुबाट बचाउन पनि राम्रो जीवाणु हाम्रो शरीरभित्र सक्रिय हुन्छन् ।

पेटमा भएका यी जीवाणुले खाना पचाउन सहयोग गर्छन् । शरीरमा भिटामिनको कमी भएमा उनीहरुले नै परिपूर्ति गरिदिन्छन् । शरीरको आन्तरिक स्वच्छतामा पनि उनीहरुको भूमिका हुन्छ ।

शरीरमा राम्रो जीवाणु कम भएमा

हामीलाई झाडापखाला वा पेटसम्बन्धी अन्य रोग लाग्दा कैयौं जीवाणुहरु नष्ट पनि हुनेगर्छ । यसरी जीवाणु नष्ट भएपछि शरीर कमजोर हुन्छ । खराब जीवाणुहरुको संक्रमण बढ्न सक्छ । यस्तो बेला हामीले जुन प्रो–बायोटिक औषधि किनेर खान्छौं, त्यसले जीवाणु नै पैदा गर्ने हो ।

यसरी पैदा भएको जीवाणुहरुले क्रमशः आफ्नो संख्या र शक्ति ठूलो बनाउँदै लान्छ । जस्तो, दूधलाई दही बनाउन परेमा थोरै दही मिसाउने गरिन्छ । त्यसपछि उक्त दूधको गुण दहीमा रुपान्तरण हुन्छ । त्यसरी नै औषधिको रुपमा खाएको प्रो–बायोटिकले शरीरमा पुगेपछि जीवाणुहरु बढाउँदै लान्छ । र, हामी पुनः स्वस्थ हुन्छौं ।

रोगसँग लड्ने योद्धा हुन् जीवाणु

जीवाणुको प्रमुख काम भनेको रोगसँग लड्न मद्दत गर्नु हो । यसलाई मानिसको योद्धाभन्दा केही फरक नपर्ला । किनभने शरीरमा भएका लाखौं जीवाणुहरुले कुनै पनि बाहिरबाट आक्रमण गर्न खोजियो भने यसले नियन्त्रण गर्छ । शरीरभर नै हुने जीवाणुले बाह्य तत्वलाई बस्न दिंदैनन् । रोग लाग्न दिंदैन ।

कोरोना कालमा एन्टिबडीका कुरा गरिएको धेरै सुनिन्थ्यो । त्यो भनेको शरीरभित्र रहेका जीवाणुले आफूलाई अन्य संक्रमणसँग जुधेर बलियो बनाउनु हो । खराब जीवाणुले संक्रमण गरेमा त्यही एन्टिबडीले परास्त गर्छ ।

हामीले प्रयोग गर्ने सरसामान, लुगाफाटो, भाँडावर्तन आदिमा असंख्य खराब जीवाणु हुन्छन् । कतिपय खानेकुरामा पनि यस्ता जीवाणु हुन्छन् । हरबखत प्रयोग भइरहने पैसादेखि शौचालयसम्ममा खराब जीवाणु सल्बलाइरहेका हुन्छन् । तर ती जीवाणुले हामीलाई सहजै शिथिल बनाउन सक्दैन । किन ?

किनभने शरीरभित्र रहेका राम्रा जीवाणुहरुले तिनीहरुलाई प्रवेश गर्नबाट रोक्छ । वा भित्र प्रवेश गरेकालाई पनि नष्ट गरिदिन्छ ।

हामी कमजोर भयौं, संक्रमण भइरह्यो, रोगले सताइरह्यो भने हामीले बुझ्नुपर्छ, शरीरभित्रका ती जीवाणुहरु कमजोर वा कम भए ।

औषधि पनि जीवाणुबाट 

अहिले जे जति औषधि बनेका छन् यी सबै जीवाणुबाट नै बनेका हुन् । जीवाणु उत्पादन गर्ने र शरीरलाई हानि गर्ने जीवाणुलाई नाश गर्न औषधिहरु बनाइन्छ । जीवाणुहरुको प्रयोगशालामा उत्पादन र अध्ययन गरेर कुन रोगमा कुन जीवाणु ठीक हुन्छ भन्ने परीक्षण गरेर नै औषधि बनिरहेका हुन्छन् । जीवाणु कमजोर भएको अवस्थामा ९९ प्रतिशत रोग लगाउँछ भने स्वस्थ भएको खण्डमा त्यति नै प्रतिशत रोगको जोखिम कम गर्छ ।

बालबच्चा र वृद्धावस्थामा स्वास्थ्यमा समस्या देखिनु भनेको पनि जीवाणु कम हुनु हो ।  बालबच्चामा जीवाणु आवश्यक जति विकास भइसकेका हुँदैनन् भने वृद्धावस्थामा जीवाणुहरु नियन्त्रित गर्न कठिन हुनेदेखि कमजोर हुँदै गएका हुन्छन् । त्यसैले उनीहरु प्रायः विभिन्न रोगको सिकार हुन्छन् । जति उमेर बढ्दै जान्छ, त्यति नै जीवाणु कमजोर हुन्छ ।

कसरी बढाउने जीवाणु ?

सही र सन्तुलित खानपान, स्वस्थ्य दिनचर्या, नियमित व्यायामबाट शरीरभित्र यस्ता जीवाणुको संख्या बढाउन सकिन्छ ।

खासमा सही खानपानले नै शरीरमा राम्रो जीवाणु बढाउने हो । यसका लागि हाम्रो दिनचर्या, जीवनशैली राम्रो हुनु जरुरी छ । शारीरिक सरसफाइदेखि सक्रिय दिनचर्याले राम्रो जीवाणु बढाउन सकिन्छ ।

(माइक्रोबायोलोजिस्ट घिमिरे नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका माइक्रोबायोलोजी विभाग प्रमुख हुन् । घिमिरेसँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?