+
+

उल्लुको आँखामा के छ ?

विशालप्रसाद न्यौपाने विशालप्रसाद न्यौपाने
२०७९ माघ १४ गते १६:०९
Photo Credit : Deepak Budhathoki

उल्लु शीर्षक देख्दा तपाईंलाई लाग्यो होला कि मैले कुनै मेरो प्रिय मित्रको चर्चा गर्न गहिरहेको छु । तर, होइन म चर्चा गर्न जाँदैछु ‘उल्लु’ अर्थात् लाटोकसेरोको ।

वर्ल्ड लाइफ इन्टरनेसनलका अनुसार संसारभरि करिब ११ हजारभन्दा बढी प्रजातिका चरा पाइन्छ । नेपालमा मात्र आठ सय ८९ प्रजातिको चराहरू पाइन्छ । धेरै प्रजातिका चरा पाइने सूचिमा नेपाल २५औं स्थानमा पर्छ भने एशियामा ११ औं स्थानमा ।

नेपालमा पाइने चरामध्ये लाटोकोसेरो पनि एक हो । लाटोकोसेरोको अनुसन्धानकर्ता राजु आचार्यका अनुसार नेपालमा यसको २३ प्रजाति पहिचान र रेकर्ड भएका छन् । यस चराको सानो प्रजातिलाई लाटोकोसेरो र ठूलो प्रजातिलाई हुचिल/हाप्सिलो भनिन्छ । यिनीहरू मानसहारी चराहरू हुन् । नेपालको तराईदेखि हिमालसम्म यी चराहरू पाइन्छन् । यिनीहरू शिकारी चरा भएकाले आँखा, कान, पञ्जा र चुच्चो असाध्यै शक्तिशाली र बलिया हुन्छन् ।

लाटोकसेरो कस्तो हुन्छ ?

लाटोकसेरो रातको समयमा धेरै सक्रिय हुन्छ र सिकार गर्छ । दिउँसो सबै प्रजातिका चराहरू सक्रिय रहँदा यो भने चुप लागेर बस्छ । त्यसैले यसलाई ‘लाटो’को संज्ञा दिइएको हो ।

लाटोकोसेरोले धेरै पहिला नौवटा चराहरूको आँखा खाएको हुनाले धेरै उज्यालो भई दिउँसो देख्न नसकेको किंवदन्ती पनि लोकप्रिय छ । अब प्रश्न उठ्छ, दिउँसो चुपो लागेर बस्नुको कारण आँखा नदेखेर हो त ? पक्कै पनि होइन । यो त उनीहरूको स्वभाव हो ।

उल्लुको आँखामा के छ त ?

उल्लुको दुवै आँखाहरू मान्छेको जस्तै अगाडि फर्किएको हुन्छ जबकि अरु चराहरूको दायाँ र बायाँ दुईतिर फर्किएको हुन्छ । उल्लुका आँखाहरू पनि ठूला-ठूला हुन्छन् । आँखाले उल्लुको शारीरिक बनावटको ५ प्रतिशत भाग ओगटेको हुन्छ । यिनीहरूको आँखाको शक्ति दूरबिनको जस्तै हुन्छ अर्थात् यिनीहरूको कुनै पनि वस्तुलाई मानिस जसरी थ्रीडीमा देख्न सक्छन् ।

हामीले बाहिरबाट उल्लुको आँखा गोलो देखेपनि त्यस्तो भने हुन्न । उनीहरूको आँखा हल्का तन्किएको हुन्छ जुन एउटा हड्डीको संरचना (स्क्लेरोटिक रिङ) मा अड्डिएको हुन्छ । यो संरचनाले उल्लुको आँखालाई एकै ठाउँबाट स्थिर राख्न सघाउँछ । त्यसैले उल्लुले आफ्नो आँखा मानिसहरू जसरी दायाँ -बायाँ घुमाउन सक्दैन । बरु उल्लुले आफ्नो घाँटी दायाँ-बायाँ गरेर २७० डिग्रीसम्म घुमाउन सक्छ र ९० डिग्रीसम्म तलमाथि गर्न सक्छ ।

उल्लु रातको समयमा सक्रीय हुने भएकोले यसको आँखाको नानी ठूलो हुन्छ । त्यति मात्रै भएर उल्लुलाई पुग्दैन, उसलाई समयमा सिकार गर्नलाई आफ्नो आँखा तेजिलो पनि हुनुपर्छ ।

लाटोकोसेरो कि बाठोकोसेरो ?

सामान्यता आँखामा दुई प्रकारको कोशिकाहरू हुन्छन्- रड कोशिका र कोन कोशिका । रड कोशिकाले थोरै प्रकाशमा पनि सजिलै देख्ने क्षमता दिन्छ भने कोन कोशिकाले रङ्गहरू छुट्टाउने क्षमता दिन्छ । उल्लुको आँखामा कोन कोशिकाको तुलनामा रड कोशिकाको मात्रा १० देखि १३ गुणा बढी हुने भएकाले यसले थोरै प्रकाशमा पनि राम्रो काम गर्छ । त्यही भएर रातको समयमा उल्लुको आँखाले मानिसको भन्दा सय गुणा राम्रो काम गर्छ ।

दिउँसो उल्लुले आँखा नदेख्ने होइन, मात्र यसले आफ्नो आँखाको नानीलाई खुम्च्याएर सानो बनाएको हुन्छ । उनीहरू आँखा भित्र धेरै प्रकाश छिर्न दिंदैनन् । अझ उल्लुहरूमा मानिसको आँखामा नभएको परत (निक्टिटेटिङ मेम्ब्रेन) हुन्छ जसले आँखाको नानीलाई भित्र र बाहिरबाट फोहोर नपस्न सुरक्ष कवजको भूमिका खेल्छ । त्यही भएर जे छ, उल्लुको आँखामा छ । त्यसैले हो उल्लुको आँखाले रातको समयमा पनि राम्रो काम गरेको ।

लेखक जीव विज्ञानमा स्नातक अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?