+
+

कमरेड प्रचण्ड ! गति बदल्नुहोस्

हाम्रो विकास बजेट ५० प्रतिशत पनि खर्च गर्ने क्षमता छैन किनकि हामी ऐन–नियम, कानुनको जालोमा फसेका छौं । त्यसकारण सशक्त स्थानीय तह भयो भने मात्रै सशक्त नागरिक बन्ने र त्यसपछि मात्र द्रुत विकास हुने हो ।

डा. रामचन्द्र लामिछाने डा. रामचन्द्र लामिछाने
२०७९ माघ १६ गते १५:३४

नयाँ राजनीतिक समीकरणसहित पुष्पकमल दाहाल (कमरेड प्रचण्ड) को नेतृत्वमा नयाँ सरकार बनेसँगै राजनीतिमा नयाँ तरंग आएको थियो । तर, लगत्तैको हवाई दुर्घटना, प्रेमप्रसाद आचार्यको आत्मदाह र रवि लामिछानेको नागरिकता फैसलापछि नकारात्मक ढंगले बहस हुने जोखिम सुरु भएको छ ।

सवारी दुर्घटना, सरकारी सेवाको ढिलासुस्ती, निजी क्षेत्रको मनपरीतन्त्र त दैनिक जीवनका अभिन्न अंग नै बनेका छन् । नेपालमा बाँच्नु छ भने यी मुद्दाप्रति गुनासो गरेर होइन, यी सबैभित्र अनुकूलन भएर रहनुको विकल्प छैन । फलतः नागरिक बेसहारा महसुस गर्दै सरकारविहीनताको अनुभूति गरिरहेका छन् ।

धन्न फेसबुकमा नयाँ मन्त्रिमण्डलका सदस्यको नियुक्ति, विभिन्न संघ–संस्थाका नवनिर्वाचित पदाधिकारी, विद्यार्थीको विदेश यात्रा, कर्मचारीको पदोन्नति, सन्तान लाभ, जन्मदिन आदि अवसरमा सचित्र आदानप्रदान गरिने शुभकामनाले सकारात्मकता बाँकी रहेको प्रतीत हुन्छ ।

७५३ स्थानीय सरकार, सात प्रदेश सरकार, एक संघीय सरकार र यस मातहतका नेता, तिनका सहयोगी, पार्टीका नेता, कर्मचारी, गैससका पदाधिकारी र कर्मचारी, व्यापारी, समाजसेवीहरूमा गज्जबको व्यस्तता छ, मानौं खाना खान पनि फुर्सद छैन । सबै जना एकदम रफ्तारमा कुदिरहेका छन् ।

देशैभरि यतिका व्यक्ति कुदिरहेका छन्, साधनको प्रयोग भइरहेका छन् । स्रोतहरू खर्च भइरहेको छ, सभा–सम्मेलन, गोष्ठी सम्पन्न भइरहेका छन् । एक से एक निष्कर्ष निस्किइरहेका छन् । वडा सदस्यदेखि प्रधानमन्त्री र राष्ट्रपतिसम्मका प्रतिबद्धता व्यक्त भएको भएकै छन् ।

नेतादेखि सरकारी/गैरसरकारी कर्मचारी, व्यापारीदेखि अन्य पेशाकर्मीलगायत एक से एकले आफ्नो सक्षमता, योग्यता, दक्षतासहित आफूलाई सगौरव प्रस्तुत गरिरहेका छन् । मानौं उनीहरू नभएको भए नेपालमा सूर्यास्त नै हुन्थेन, चन्द्रमा नै देखिंदैनथे । तर देशको अवस्था दिनानुदिन नाजुक हुँदै गइरहेको छ ।

व्यवसायीहरू जीवन बर्बाद गर्नुपर्ने अवस्थामा छन् । बैंकहरू अर्बाैं मुनाफा बाँडिरहेका छन् । मन्त्रीहरू समाजवाद उन्मुख समाज निर्माण गर्ने भाषण गर्दैछन् । यो निर्लज्ज नाटक यस धर्तीमा नेपालमा मात्रै संभव छ ।

सामाजिक चेतना त समयले पनि ल्याउँछ । यद्यपि गणतन्त्र नेपालमा नवराज विकहरूको हत्या हुन्छ र पीडितले न्याय पाउँदैनन् । तेस्रो पटक सरकारको नेतृत्व गर्न पाए देशको लागि ऐतिहासिक काम गर्छु भनेका कमरेड प्रचण्ड सरकारको नेतृत्वमा पुगेका छन् । ३५ दिनसम्म सरकारको गतिविधि हेर्दा सामान्य सुधारका काम पनि हुन्छन् कि हुँदैनन् भन्ने अनुभूति हुन थालेको छ । यद्यपि यो अवधि अत्यन्त कम भएकोले उनलाई शंकाको लाभ दिनै पर्दछ ।

प्रचण्ड कमरेड, तपाईंले व्यक्तिगत रूपमा पाउन केही बाँकी छैन । यदि तपाईंले ‘जनयुद्ध’ नेपाल र नेपालीकै लागि गर्नुभएको हो भने फेरि एकपटक आर्थिक क्रान्तिको नेतृत्व गर्नुहोस् । याद गर्नुहोस्, अल्बर्ट आइन्स्टाइनका अनुसार बारम्बार त्यही काम गरेर फरक परिणामको आश गर्नु पागलपन हो । यी ३५ दिनलाई मूल्यांकन गर्ने हो भने तपाईंको सरकार दुश्चक्रमा फसेको आभास हुन्छ । तपाईं पद जान्छ कि भनेर डराउँदै हुनुहुन्छ र तपाईंको बाँकी कार्यकाल पद जोगाउन मात्रै सीमित हुन्छ भन्ने आभास भएको छ ।

तपाईं नयाँ काम गर्न चाहनुहुन्छ भने नयाँ विचारसहित नयाँ तरिकाले सोच्नुहोस् । नेपालको राजनीतिक र आर्थिक विकासको अभियानलाई रि–डिजाइन गर्नुहोस् । विगत केही वर्षदेखि तपाईंको पार्टी ‘विचार शून्य पार्टी’ हो भन्ने कुरा विगतमा तपाईंका अर्थमन्त्रीले प्रमाणित गर्नुभएको छ । तपाईंले पार्टीभित्र धेरैलाई अवसर दिनुभयो ।

छापामार युद्धमा एक से एक योग्य कामरेडहरू राजनीतिक लडाईंमा अयोग्य सिद्ध हुनुभएको छ । तपाईंको टिमका साथीहरूको योग्यताले देश नै कब्जा गरेको माओवादी आन्दोलन अहिले तहसनहस भएको छ । भ्रममा नपर्नुहोस्, नेपालमा कम्युनिष्टप्रति जनताको आकर्षण बढ्दो छ, तर तपाईंको पार्टीको आकार खुम्चिंदो । किनभने बारम्बार अवसर पाउँदा पनि तपाईंहरूले केही गर्न सक्नुभएन । यो अन्तिम अवसर हो ।

केही स्वार्थका विषय फरक रहन सक्लान्, तर सत्ता साझेदार एमाले र तपाईंको नीतिको सार एउटै हो । सबैभन्दा पहिला तपाईंहरू र एमाले नवउदारवादी हो कि समाजवादी स्पष्ट हुनुहोस् । आर्थिक विकासको मोडल नभई तपाईंको सरकारले केही पनि गर्न सक्दैन र तपाईं फगत एक प्रशासनिक प्रधानमन्त्री मात्रै हुनुहुनेछ । विगतका प्रधानमन्त्री जस्तै तपाईं पनि सचिवको सरुवा, बढुवा, केही नियुक्ति र केही नवकामरेडहरूलाई ठेक्का–पट्टा मिलाउने बाहेक केही गर्न सक्नुहुन्न । व्यक्तिगत रूपमा मैले तपाईंलाईं चिनेको त छैन, तर तपाईंलाई भेटेको छु ।

मैले मेरो विद्यावारिधिको सर्टिफिकेट तपाईंको हातबाट लिंदा मलाई गौरवबोध भएको थियो र आज पनि छ । म जस्तै तपाईंप्रति गौरवबोध गर्ने तपाईंको पार्टी बाहिर धेरै छौं । धेरै रगत बगेपछि, धेरैको त्याग र बलिदानपछि धेरैका सपना टुटेपछि धेरैका सपना साकार पार्ने अभिभाराका साथ तपाईं स्थापित हुनुभएको छ । त्यसकारण तपाईं सफल हुनुहोस् र देशलाई आर्थिक विकासको दिशा दिनुहोस् भन्ने मेरो चाहना हो ।

मेरो बुझाइमा तपाईं एक सफल राजनीतिज्ञ हो, तर विकास त्योभन्दा फरक विषय हो । त्यसकारण तपाईंको राजनीतिक डिजाइनसँग मेल खाने गरी विकासलाई डिजाइन गर्न यसको नयाँ मोडल बनाउनुहोस् र त्यसै अनुसार सरकारका नीतिनियम, ऐन–कानुनलाई परिमार्जन गर्नुहोस् । पार्टीका कमरेडहरूलाई सरकारको नीति अनुसार जनतालाई सशक्तीकरण गर्न लगाउनुहोस् । हाम्रो देशका ऐन, नीति–नियम, कानुन यति प्रतिगामी र केन्द्रीकृत छन् कि तपाईंले जति मरिहत्ते गरे पनि विकास बजेट ५० प्रतिशत पनि खर्च हुने छैन र श्रमजीवी वर्गले केही पनि पाउने छैन ।

एक त यो योजना पद्धति नै ठीक छैन । त्यसपछि कार्यान्वयनमा त झनै समस्या छ । त्यसकारण तपाईं र मन्त्रिपरिषदका सदस्यहरूको समय उद्घाटन र निर्देशनमा होइन, प्रगतिशील कानुन बनाउन लगाउनुहोस् ।

याद गर्नुहोस्, भाषण र कुराले समाजवाद आउँदैन । समाजवाद ल्याउन त समाजवाद उन्मुख नीति, नियम, ऐन–कानून र कार्यक्रम चाहिन्छ । यो देशमा समाजवाद बुझेका योजनाविज्ञ कति होलान् ? तपाईंको सहयोगीको रूपमा रहेको कर्मचारीतन्त्रले तपाईंले भन्ने गरेको समाजवाद बुझेको छ ? यदि नागरिकलाई परिवर्तनको आभास दिलाउनुहुन्छ र कम्युनिष्टहरूको औचित्य छ भनेर प्रमाणित गर्र्न चाहनुहुन्छ भने गति बदल्नुहोस् ।

तपाईंको पार्टीभित्र समाजवाद आत्मसात् गर्ने कति नेता होलान् ? तपाईंको सहयात्री एमालेसँग कति होलान् ? विगत १५–२० वर्षदेखि समाजवादको बहस भएकै छैन । यस्तो अवस्थामा परिवर्तनकारी कार्यक्रम तपाईंले युद्ध सुरु गर्दा भन्दा गाह्रो छ ।

कमरेड तपाईंलाई नराम्रो लाग्ला, वास्तविकता के हो भने तपाईं नवउदारवादी र दलालहरूले घेरिनुभएको छ । तपाईंका गतिविधिमा समाजवादको सुगन्ध छैन बल्कि नवउदारवाद गन्हाउँछ । के नवउदारवादी र दलाल पूँजीपतिहरूको त्यो घेरा तोडेर जनतासम्म पुग्ने हिम्मत तपाईंसँग छ ? तपाईंका सहयात्री दलहरूमा पनि केही गरौं भन्ने चाहना रहेको छ यद्यपि राजनीतिक रूपमा अन्योल भए पनि तपाईंको आर्थिक कार्यक्रमलाई सहयोग मिल्ला ।

कमरेड आज देशले आश पनि गरेको छ । त्यसकारण द्रुत गतिमा कदम चाल्नुहोस् । यदि अहिलेकै संरचनामा प्रयोग गरेर विकास गर्न चाहनुहुन्छ भने विकास बजेटमा आमूल रूपान्तरण जरूरी छ । यदि तपाईंको कार्यकाललाई विकासको स्वर्णिम युगको रूपमा स्थापित गर्न चाहनुहुन्छ भने निम्न सुझावलाई ध्यान दिन अनुरोध गर्दछु–

१. सबै संघीय मन्त्रालय मार्फतका भौतिक विकास वडाहरूमा गरिने हो । त्यसकारण जुन भूगोलमा विकास गरिने हो, त्यहींको निकायलाई विकासको जिम्मा दिनुपर्दछ । त्यसकारण भूगोलमा गरिने सबै विकासको जिम्मा वडा वा स्थानीय पालिकालाई दिने गरी बजेट विनियोजन गर्नुपर्दछ र प्रत्येक वडालाई सुविधासम्पन्न बनाउनको लागि दक्ष र पूर्ण कर्मचारीको व्यवस्था गर्नुपर्दछ । गाउँपालिकाका प्रत्येक वडामा इन्जिनियर, कृषि प्राविधिक, भेटनरी प्राविधिक, वन प्राविधिक, सामाजिक परिचालक, समावेशी अधिकृत, आईसीटी प्राविधिकको टीम व्यवस्था गर्नुपर्दछ । वडामा भएका विकासका गतिविधिलाई मन्त्रालय तथा स्थानीय पार्टी (सबै पार्टी) का कमिटीले पनि निगरानी गर्ने व्यवस्था मिलाउनुपर्दछ ।

२. संघ तथा प्रदेशका मन्त्रालयहरूलाई अनुगमन, मूल्यांकन, अनुसन्धान र राष्ट्रिय तथा प्रदेशस्तरका योजनामा मात्रै सीमित गर्नुपर्दछ ।

३. मन्त्रालय मार्फतका विभाग तथा महाशाखाहरूमा कार्यरत जनशक्तिलाई स्थानीय तहमा स्थापित गर्नुपर्दछ ।

४. स्थानीय तहमा विज्ञहरूको उपलब्धता गराउनुपर्दछ । संघमा कर्मचारी हाई काढेर, फेसबुक चलाएर बस्ने वडा र पालिकामा कर्मचारी नहुने यो परम्परा तुरुन्तै बदल्नुहोस् ।

५. शिक्षा, स्वास्थ्य, वन, कृषि, उद्योग, पर्यटन सबै स्थानीय तह मातहत राख्नुपर्दछ ।

६. प्रत्येक पालिकामा पालिका र पालिकावासीको संयुक्त लगानीमा एक पब्लिक लिमिटेड कम्पनीको स्थापना गरी त्यही कम्पनी मार्फत ढुंगा, गिट्टी, बालुवा (नदीजन्य पदार्थ) को व्यवस्थापन, वनमा आधारित उद्योग स्थापना, बाँझो जग्गामा व्यावसायिक खेती प्रारम्भ तथा स्थानविशेषका उद्योग सञ्चालन गर्दा एक वर्षमा अत्यधिक रोजगारी स्थानीय तहमा सिर्जना हुन्छन् । यसले देशमा आत्मनिर्भर अर्थतन्त्रको जग बस्दछ भने विकासमा नागरिक सहभागिता सुनिश्चित हुन्छ ।

कमरेड सुधार गरेर रूपान्तरण हुँदैन । विकासको प्रतिफल स्थानीय तहमा चाहिने हो । त्यसकारण विकासको अधिकार र कर्तव्य पनि स्थानीय तहमा नै हुनुपर्दछ । याद गर्नुहोस्, अहिलेको विकासको संरचनाले यो देशलाई सधैं कंगाल बनाइरहन्छ । स्मरणरहोस्, स्रोत र साधनले हामी गरिब भएका होइनौं । लाइबेरियामा हीरा खानी छ तर देश गरिब छ ।

हाम्रो विकास बजेट ५० प्रतिशत पनि खर्च गर्ने क्षमता छैन किनकि हामी ऐन–नियम, कानुनको जालोमा फसेका छौं । त्यसकारण सशक्त स्थानीय तह भयो भने मात्रै सशक्त नागरिक हुने हो र सशक्त नागरिक भएपछि मात्र द्रुत विकास हुने हो । संभवतः अहिलेको केन्द्रीकृत संरचनामा हालीमुहाली गरेको वर्गले स्थानीय तहमा अधिकार र बजेट स्थानान्तरण गर्न सशक्त प्रतिकार गर्नेछ ।

स्थानीय तह अक्षम छन् भन्ने छ तर हिम्मत गर्नुहोस् कमरेड विकास बजेटको ४० प्रतिशत पनि खर्च गर्न नसक्ने र गरेको विकास पनि भ्रष्टाचारमा लिप्त बनाउने केन्द्र भन्दा स्थानीय तह कैयांै गुणा सक्षम छ । कर्मचारीको टिमसहित पठाउँदा झन् सक्षम हुन्छ ।

यदि तपाईंले आवश्यक हिम्मत गर्नुभयो भने देश विकास हुन्छ नत्र एउटा सक्षम र योग्य नेता पर्खिनुको विकल्प रहँदैन । विकल्प दिनुहुन्छ कि कुर्न लगाउनुहुन्छ, त्यो तपाईंमा भर पर्दछ । देङ सियाओ पिङ बन्नुहुन्छ कि पाँचौं पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवापछि प्रचण्ड प्रधानमन्त्री हुनुभएको थियो भन्ने इतिहास रच्नुहुन्छ ? यदि रूपान्तरण गर्ने हिम्मत गर्नुभयो र ‘जनयुद्ध’को औचित्य पुष्टि गर्ने हिम्मत गर्नुभयो भने सफलता सम्भव छ, शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?