+

छालामा सेतो दुभी किन आउँछ ?

२०७९ माघ  १७ गते १७:५३ २०७९ माघ १७ गते १७:५३
छालामा सेतो दुभी किन आउँछ ?

काठमाडौं । शरीरका कुनै अंगमा सेतो दुभी आएमा मनमा विभिन्न प्रश्न उब्जिन्छन्, यो कुनै गम्भीर रोग पो हो कि ? के कारणले यस्तो दुभी आयो ? तर यो कुनै रोगभन्दा पनि सौन्दर्य समस्या मात्र भएको चिकित्सकहरु बताउँछन् ।

दुभी के कारणले आउँछ ? यसले छालाको सौन्दर्य बिगार्नेबाहेक अरू कुनै असर गर्छ कि गर्दैन ? लगायत विषयमा छाला तथा सौन्दर्यरोग विशेषज्ञ डा. अनिलकुमार भट्टसँग गरिएको कुराकानी :

खासमा छालामा हुने सेतो दुभी के हो ?

स्थान र हावापानीअनुसार मानिसहरुको छालाको रंग फरक-फरक हुन्छ । कसैको कालो, कसैको गोरो र कसैको गहुँगोरो रंगको छाला हुन्छ । मानिसको छालालाई रंग दिने ‘मिलानिन’ भन्ने कोषिका हुन्छ, जसले ‘मेलानोसाइट’ उत्पादन गर्छ र छालामा रंग दिन्छ । छालामा रंग दिने ‘मेलानोसाइट’ नष्ट भएर छालाको बाहिरी भागमा सेतो दाग देखिने र फैलिने समस्यालाई अंग्रेजीमा ‘भिटिलिगो’ र नेपालीमा दुभी भनिन्छ । दुभी रोग नभएर सौन्दर्य समस्या हो ।

दुभी के कारणले आउँछ ?

‘मेलानोसाइट’ कोषले शरीरमा रंग उत्पादन गर्ने काम गर्छ । यो कुनै कारणले नष्ट भयो भने शरीरमा रंग हराउँदै जान्छ । अन्य रोग प्रतिरोधात्मक प्रणालीसम्बन्धी समस्या (अटोइम्युन डिसअर्डर) भएको अवस्थामा दुभी आउन सक्छ ।

केही व्यक्तिमा वंशाणुगत कारणले पनि यो समस्या देखिने गर्छ । कसैलाई गहिरो चोटपटक लाग्यो र त्यसले गर्दा रंग बनाउने कोषमा असर पर्न गयो भने पनि यो समस्या देखिन सक्छ । बढी तनावमा रहने मानिसमा पनि सेतो दुभी देखिन सक्छ । यो समस्या जुनसुकै उमेर समूहलाई हुन सक्छ ।

यस्तो दुभी कसरी वा कहाँ कहाँ फैलिन्छ ?

दुभी विभिन्न प्रकारको हुन्छ । कसैको कुनै निश्चित भागमा मात्र रंग हराउन सक्छ । कसैको शरीरभरको रंग हराउँछ । लाइनजस्तै गरी शरीरका विभिन्न भागमा लहरै आउने दुभीलाई चिकित्सकीय भाषामा ‘सेग्मेन्टल’ (लहरे) दुभी भनिन्छ ।

विभिन्न तरिकाले थोप्ला–थोप्ला तथा सम्पूर्ण शरीरै ढाक्ने किसिमले दुभी आउन सक्छ । जसलाई चिकित्सकीय भाषामा नन–सेग्मेन्टल भनिन्छ । कतिपय अवस्थामा मिश्रित किसिमका दुभी आउँछन् । कतिपय दुभी त यही प्रकारको भनी यकिन गरेर प्रकारै छुट्याइँदैन ।

यसले छालाको सौन्दर्य बिगार्नेबाहेक अरू कुनै असर गर्छ ?

छालाको सौन्दर्य बिगार्नेबाहेक अरू असर दुभीले गर्दैन । शारीरिक रूपमा दुभीले कुनै असर पार्दैन तर सौन्दर्यसँग जोडिएको हुनाले यसले मानसिक रूपमा हीनताबोधको सिकार बनाउँछ । यसले व्यक्तिलाई मानसिक र सामाजिक रूपमा मात्र असर गर्छ ।

यसलाई नियन्त्रण वा पूर्ण रुपमै हटाउने कुनै उपाय हुन्छ ?

कसैकसैमा यो समस्या आफैं नियन्त्रण हुन्छ । सामान्य दुभी भएमा औषधि लगाएर तथा सेवन गरेर पनि नियन्त्रण हुन्छ । सामान्य समस्या छ भने औषधिको प्रयोगबाट नै यसलाई हटाउन सकिन्छ । धेरै फैलिएमा फोटो थेरापी (सेक्ने) बाट यसको उपचार गरिन्छ गर्भवती महिला तथा बालबालिकाको लागि पनि यो उपचार गर्न मिल्छ । यी दुई प्रविधिबाट निको नभएको खण्डमा शल्यक्रिया गर्नुपर्छ ।

समयमा उपचार भयो भने यो रोग पूर्ण रूपमा निको हुन्छ, तर धेरै फैलिएको अवस्था छ भने उपचार सम्भव नहुन पनि सक्छ ।

यसका लागि खानपान बार्नुपर्ने हुन्छ ?

यसका लागि खास खानपान नै बार्नुपर्ने त हुँदैन । कसैले दुभीमा माछा–मासु खान हुँदैन भनेको हामी सुन्छौं । तर त्यसको कुनै वैज्ञानिक आधार छैन ।

छालारोग सेतो दुबी
डा. अनिलकुमार भट्ट
लेखक
डा. अनिलकुमार भट्ट
छाला तथा यौनरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ९४८० अध्ययन : एमबीबीएस, डीआईडीडीएस, एमडी, पीएचडी डर्म डाइनामिक्स स्किन हेयर एण्ड लेजर क्लिनिक ललितपुर कुमारीपाटी र धनगढीका सञ्चालक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय