+
+

नेपाली समाजको द्वैध चरित्र

नेपाली समाज दिमागले होइन मनले सोच्छ। त्यसैले यो अति सहानुभूतिक तर अविवेकी छ। यो बजारमा सहानुभूति बेच्न सक्ने पात्र रातारात हिरो बन्छन्, समस्या उठान गर्नेहरू सपुत कहलिन्छन् र समाधानका बुँदागत उपाय सुझाउने ओझेलमा पर्छन्। त्यसैले सहानुभूति बिक्री हुने बजारमा राजनीतिज्ञहरू समस्या बेचिराख्छन्, आफ्नो राजनीतिक आयु घटाएर घाटाको व्यापार गर्दैनन्।

प्रकृति मैनाली प्रकृति मैनाली
२०७९ माघ १९ गते १३:५१

गत हप्ता दुई वटा घटना सँगसँगै जसो घटे, पहिलो प्रेम आचार्यको आत्मदाह र दोस्रो शिशिर खनालको पुत्ला दहन। त्यसैले पनि छोटो समयको अन्तरालमा सँगसँगै जस्तो देखिएका दुई परिदृश्यले घटनाबीचको स्पष्ट तुलना, नेपाली समाजको चरित्र, तिनका समानता, विमति, द्वैध चरित्रलाई यति नजिकै ल्याएर केलाउने संयोग जुरेको हो।

उद्यमी प्रेम आचार्यको आत्मदाहले उठान भएका ऐंठनहरूले त्यति ठूलो हल्ला गर्दैनथ्यो होला यदि तिनले ती विषय मात्र उठान गरी आत्मदाह नगरेका भए । त्यो चीत्कार, त्यो आगो अनि त्यो संसद भवन । यी तीनको मिश्रणबाट जन्मिएका रासायनिक प्रतिक्रियाले प्रेम आचार्यले उठान गरेका मुद्दाहरूलाई नागरिकले प्रमाणीकरण, अनुमोदन र अपनत्वकरण गरेका हुन् ।

नितान्त विपरीत ध्रुवीय विचारको बझान स्वाभाविक हो। तर ‘समविचारको ध्रुवीकरण’ खोज्ने, अन्तर द्वन्द्वको आह्वान गर्ने स्वार्थी समूह हाबी हुने राजनीतिले उत्पादन गरेको समाज र तिनका चरित्र विवेकी र नैतिक नभई कि त चरम राष्ट्रवादी या अतिवादी मात्र हुनसक्छन्।

राजनीति ‘स्वार्थ समूह’को राजनीतिक कर्मकाण्ड बन्न नछोडेसम्म, समाज समानुपातिक, समन्यायिक, प्रतिस्पर्धी, सक्षम, योग्य र नैतिक बन्नै सक्दैन ।

शिक्षामन्त्रीको पुत्ला दहन हुनु र प्रेम आचार्यको आत्मदाहको कारणहरूको भर्त्सना गर्नु दुई फरक घटना हुन्। तर तिनका आशयमा तात्विक फरक छैन। नागरिकको हैसियतले प्रेम आचार्यले उठान गरेका मुद्दाले एउटा उद्यमीका चुनौती र समस्यामाथि प्रकाश परेको छ। उता, एउटा मन्त्रीको हैसियतले शिशिर खनालले पाठ्यपुस्तक समयमा प्रकाशित नहुने र विद्यार्थीको भविष्य माथि पर्ने त्यसको दूरगामी असरको समाधानस्वरूप निजी संस्थालाई प्रकाशन अनुमति दिने निर्णय गरेका थिए। छोटकरीमा भन्दा पहिलो मुद्दा समस्याको उजागरमा केन्द्रित थियो भने नितान्त फरक दोस्रो मुद्दा समाधानमा केन्द्रित थियो।

यता एउटा निजी संस्थाप्रतिको पूर्वाग्रहको कारण या राजनीतिक स्वार्थबझान जे भने पनि केही निश्चित समूहले शिशिर खनालको ‘पुत्ला दहन’ गर्‍यो।

र, उता प्रेम आचार्यको घटनामा निजी संस्था र उद्यमीप्रति राज्यको अन्यायपूर्ण व्यवहारको व्याख्या भनी ‘विरोध’ ! समाजले यति छोटो अन्तरालमा एकै विषयमा पात्र र परिस्थिति अनुसार कसरी नितान्त विपरीत ध्रुवीय निर्णय गर्न सक्छ ? गजब छ यो रसायन !

क्रियाको प्रतिक्रिया हुनु, दुई पक्षबीच विचारको घर्षण हुनु, सकारात्मक, प्रगतिशील, प्रतिस्पर्धी समाजको गुण हो। तर दुई विचार एकै समय एकै व्यक्तिभित्र हुनु, दोहोरो चरित्रको प्रकोपको शिकार हुनु द्वन्द्वात्मक मात्र होइन घातक पनि हो।

व्यक्तिवादी विवेकको प्रयोग, पूर्वाग्रहपूर्ण राजनीतिक संस्कार नेपाली राजनीतिको विशेषता र अभ्यास हो। प्रणालीगत सुधारको जनअपेक्षाको लहर नयाँ शक्तिको उदयको मुख्य म्यान्डेट हो। प्रक्रियागत त्रुटिको विरोध हुनु स्वाभाविक हो। तर पाठ्यपुस्तक निजी संस्थालाई दिएकै आधारमा त्यस्ता कार्यको भर्त्सना हुनुले राज्यले दाल, चामल, तरकारी आफैं बेच्नुपर्छ भन्ने विकल्पको पक्षधर रहेको समाजको सांकेतिक परिदृश्य हो।

सरकार व्यवस्थापक हो, उत्पादक होइन

सरकारको काम पेट्रोल बेच्ने, चामल बेच्ने, औषधि, पाठ्यपुस्तक, बेच्ने होइन भनी सन् १९९० मा विश्व बैंकको संरचनात्मक समायोजन कार्यक्रम अन्तर्गत हामीले आर्थिक उदारीकरण र निजीकरणको नीति र अभ्यास सुरु गरेका हौं।

उद्यमशीलता आजको आवश्यकता हो भन्ने कुरामा समृद्ध नेपाल सुखी नेपालीको कुरा गर्ने वामपन्थी र समुन्नत नेपालको सपना बाँड्ने प्रजातान्त्रिक लगायत, पूँजीवादी ढर्राका दक्षिणपन्थी सबै राजनीतिक शक्तिहरूको ‘उद्यमशील विकास’ लाई वादविवाद होइन, वक्तृत्वकलाको रूपमा बहस गरेको अवस्था छ। यति हुँदाहुँदै अपुग पाठ्यपुस्तक निजी उद्योगलाई छाप्न दिएको आरोपमा शिक्षामन्त्रीको पुत्ला दहन गर्ने कार्यकर्ताहरू जुन विचारको, वादको भए पनि त्यो निन्दनीय काम हो।

आर्थिक उदारीकरणको नीति अनुरूप निजी क्षेत्रलाई अर्थतन्त्रको खम्बा मानेर, पूँजी उत्पादन र परिचालनको मानक मानेर, रोजगारी सिर्जना, समृद्धि र समुन्नतिको महत्वपूर्ण साधन मानेर खुला अर्थतन्त्रको पक्षधर हौं भनी विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थामा हस्ताक्षर गरेका छौं। यति हुँदाहुँदै पनि निजी क्षेत्र, उद्यमी विकास गर्ने, उद्यमशीलता प्रबर्धन गर्ने, व्यापार व्यवसाय राजनीतिक दाउपेचको शिकार हुँदै आएको छ।

देशको समग्र औद्योगिक वातावरण फस्टाउन लघु तथा साना उद्यमको सुरक्षा प्राथमिक कदम हो। दर्ता प्रक्रियामा आएका हाराहारी ९ लाख उद्योगमध्ये ९० प्रतिशत लघु तथा साना र मझौला उद्योग छन्। जसले करिब रोजगारी सृजनामा ५० प्रतिशतको योगदान गरेका छन्। पूँजी लगानी र आकारमा संकुचित भए पनि लघु र साना उद्योगको महत्व स्वरोजगारको मार्ग बन्न सकेको छ।

उद्यमी समाजको चुनौतीका चरित्र

आफ्नो मृत्युपश्चात पनि आफ्नो मुद्दालाई प्रकाशमा ल्याउन सक्ने प्रेम आचार्यले जिउँदो छँदै किन यी मुद्दाहरूको उठान गरेनन् या कोसिस गरेनन् भन्ने प्रश्न पनि आउलान्।

त्यो सँगसँगै एउटा निम्न या मध्यम आर्थिक स्तरको युवाले कुन स्तरसम्मको महत्वाकांक्षी हुने र कुन स्तरसम्मको सपना पाल्ने भन्ने प्रश्न पनि आउँछ।

के नेपालले ठूलो सपना बोकेका साना मान्छेहरूलाई उसको उडान भर्न सहयोग हुने संयन्त्र निर्माण गरेको छ ? के यो देशले सानालाई सधैं सानै हुनुपर्छ भनी थचारेको त छैन ? के यो देशमा साना तथा लघु उद्यम गर्ने तमाम युवा आफ्नो जीवनकालमा नेपालमै बसेर उद्यम गरेर विदेश नगएकोमा पश्चात्ताप नगर्ने अवस्थामा छन् ? या देशमै बसेर उद्यम गरेकोमा गर्व गरेको अवस्था छ ? के उद्योगी घरानासँग सम्बन्ध नराख्ने पहिलो पुस्ताको उद्यमीहरूलाई यो देशले स्थापित गर्न सक्छ ?

पोषणका १००० सुनौला दिन भने जस्तै शिशुलाई पहिलो १००० दिन जति प्रेम, पोषण, स्याहार चाहिन्छ, साना तथा लघु उद्योगलाई ठिक त्यस्तै प्याकेज अन्तर्गत संरक्षण र प्रबर्धन गर्ने नीति निर्माण गर्न सरोकारवाला निकायको ध्यान आकर्षण होस्।

के नयाँ उद्यमी र तिनका सम्भावना र आकांक्षालाई निरन्तर परिभाषित गर्न र तिनका पहिचानलाई सुध्रिन र सम्मानित बनाउन सकेको छ ? १७ लाख रोजगारी सिर्जना गर्ने साना उद्यमीलाई आकारमा झन् झन् खुम्चिन, संकुचन हुन नदिन के यो राज्य संयन्त्र संवेदनशील छ ? भ्रष्टाचार नगरी यो देशमा बाँच्न चाहने नागरिक र उद्यमीको लागि के यो देशले बाँच्न सक्ने वातावरण निर्माण गरेको छ ?

राजनीति व्यापार र व्यापार राजनीति बनेको परिपेक्ष्यमा, स्वार्थको द्वन्द्वको मुद्दा २/४ ठाउँमा उठेको देखिए पनि स्वार्थको बझान नदेखिने कुनै क्षेत्र भेट्न सकिने अवस्था छैन।

नेपाली राजनीतिक गतिशील चरित्र

आर्थिक, सामाजिक समस्याको यथास्थितिमा राजनीतिक भविष्यको जग टिकाएकाहरूलाई हिजो २००७ सालपछिको राजनीतिक परिवर्तन, राणाशासनको अन्त्य, प्रजातन्त्रको उदय लगायत, संघीय गणतान्त्रिक मुलुकसम्मको यात्रामा यथास्थितिवाद नेपाली समाजको चरित्र कहिल्यै होइन भन्ने पाठ आफैं आन्दोलनका साक्षी भई बुझ्दै आएका हुन्।

नेपाली समाज दिमागले होइन मनले सोच्छ। त्यसैले यो अति सहानुभूतिक तर अविवेकी छ। यो बजारमा सहानुभूति बेच्न सक्ने पात्र रातारात हिरो बन्छन्। समस्याका उठान गर्नेहरू सपुत कहलिन्छन् र समाधानका बुँदागत उपाय सुझाउने ओझेलमा पर्छन्। त्यसैले सहानुभूति बिक्री हुने बजारमा राजनीतिज्ञहरू समस्या बेचिराख्छन्, आफ्नो राजनीतिक आयु घटाएर घाटाको व्यापार गर्दैनन्।

नेपाली समाज अधीर, शीघ्र प्रतिक्रियावादी, असंवेदनशील या अति संवेदनशील, दोहोरो चरित्र निभाउँदैछ। समाज संवेदनशील मात्र बनेर पुग्दैन, विवेकी हुनैपर्छ। समस्याको उठान गरेर मात्र पुग्दैन, समाधान केन्द्रित हुनैपर्छ। त्यसैले प्रगतिशील समाज संवेदनशील र विवेकी दुवै हुनुपर्छ l

नेपाली समाज गतिशील भने पक्का छ। पछिल्लो समय हामीले देखेको भद्र क्रान्तिहरूको मौनताले नेपाली समाज तरंगित भएको छ। नेपाली राजनीतिले वैकल्पिक भनिएका राजनीतिक दल- विवेकशील जस्ता पार्टीको दशक लामो अथक् प्रयासले माग गरेको गन्तव्य- राष्ट्रिय राजनीतिमा रवि लामिछाने जस्ता व्यक्तिको पहिलो हिर्काइले निकास दिंदा परिवर्तन र क्रान्ति सजिलो र छिटो लाग्नु अप्राकृतिक होइन। अन्तिम हिर्काइले ढुंगा फुट्छ तर ढुंगा फुट्नु भन्दा अगाडि सयौं चोटि बर्सिएका ती छिना, हम्मर र तिनका क्रन्दन योगदानका गन्तीबाट भने छुट्नुहुँदैन।

राष्ट्रियताको नेपाली चरित्र

राष्ट्रिय उत्पादन प्रयोग गरौं भन्ने बोलीहरू व्यवहारमा नबिक्ने परिप्रेक्ष्यको शिकार भएका प्रेम आचार्य जस्ता उद्यमीलाई सोध्नुपर्छ राष्ट्रियताको परिभाषा। बाध्यताले विदेशिएका नेपालीलाई सोध्नुपर्छ उसको राष्ट्रको सिमाना। राष्ट्रियतालाई राष्ट्रिय एकताको आधार मान्न सकिएला तर यो वैयक्तिक अनुभूति हो। सामूहिक परिभाषाले व्यक्तिको स्वानुभूतिलाई धमिलो बनाउने काम गरिनुहुँदैन। हरेक नागरिकले राष्ट्रियताको आफ्नो अनुभूतिलाई आफ्नो परिभाषा बनाउने छुट हुन्छ।

सुन्दा असंवेदनशील सुनिएला तर आफ्नो मृत्युसम्मलाई ध्यानाकर्षण गराउन सक्ने प्रेम आचार्यले कृषि उद्योग चलाउन सक्ने क्षमता राखेनन् कि भनी शंका गर्नु बेकार हो। तर सहानुभूति बिक्ने समाजमा उनको ‘बजारीकरणको विवेक’ बिक्री नभएको चैं पक्का हो।

खोक्रो राष्ट्रियताको सिमाना कालापानीमा खोज्ने राजनीतिक दलहरूले नेपालीपन ७७ जिल्लाका नागरिकको अवस्था, रहनसहन, दुःख, पीडा र बाध्यताभित्र खोज्नुपर्छ। अमेरिकाले लगिदिए अमेरिकन हुन तयार हुनुपर्ने आर्थिक, सामाजिक, राजनीतिक बाध्यताको आवरणभित्र राष्ट्रियताको परिभाषा खोज्नुपर्छ। हरेक वर्ष डीभी भर्ने लाइनले बयान गर्दैन भने राष्ट्रियता केवल राजनीतिको खोक्रो हतियार मात्र हो। हरेक दिन १५०० हाराहारी युवा बाध्यताले खाडी उड्दैनन् भने मात्र राष्ट्रियता नागरिकको लागि साँचो र इमानदार अनुभूति हो।

के नयाँ शक्तिले नयाँपन दिन सक्लान ?

शिक्षा सुधार गर्छु भनी राजनीतिमा आएका शिशिरलगायतले राजनीतिको फोहोर, किचलोबाट हातखुट्टा झिक्ने अवस्था आउनुहुँदैन। राजनीति अहिले पछिल्लो समय नयाँ शक्तिभित्रबाटै फस्टाएको जस्तो स्टन्टबाजी पनि बन्नुहुँदैन। आफ्नो पहिचान कस्तो बनाउने हो-अधिकार सबैलाई छ तर नागरिक विवेकी बन्नु समुन्नत र विकसित समाजको पहिलो आधारशिला हो। ‍

हरेक क्रान्तिले विचार जन्माउँछ। २०६२/६३ पछि ‘नयाँ नेपाल’ भन्ने विचार खुब सुनियो ! नेपालमा पछिल्लो राजनीतिक परिवर्तन, नयाँ शक्तिको उदयले जन्माएको विचार चाहिं के हो ? विचार कार्यान्वयन गर्ने योजना के हो ? विचार मात्र जन्मिने क्रान्तिहरूले नयाँ क्रान्तिको आह्वानको समयावधि छोट्याइदिएको उदाहरण प्रशस्त छन्। सेवाको डेलिभरी, सुशासन, आर्थिक विकासका पूर्वयोजना बेगर जन्मिएका नयाँ विचारले नयाँपन दिन चुक्नु नै आज स्थापितहरू विस्थापित हुनुको कारण हो।

विचारहरू सधैं नयाँ नहुन सक्छन् तर विचारमा, अभ्यासमा, प्रणालीमा नयाँपन हुनु परिवर्तन र गतिशीलताको साक्षी हुनु हो। नेपाली राजनीतिलाई तरंगित गरेका नयाँ शक्तिहरूको नयाँपन हेर्न केही समय धैर्य गर्नैपर्छ। शंकाको लाभ यिनीहरुलाई केही समय उपलब्ध जो छ।

पदधारी हरेक नेताले एउटा कुरा नबिर्से पुग्छ-  जनताले मलाई मन्त्री बन्न पठाएका होइनन्, मन्त्री बनेर मैले केही गर्छु भन्ने अपेक्षाले पठाएका हुन्। सीमित समयको लागि, सीमित शक्ति र स्रोतको उच्चतम प्रयोग गरी कसरी मैले आफ्नो कार्यकाल सफल बनाउन सक्छु भन्ने मात्र नबिर्सिए पुग्छ। पदको अहंकार होइन, पदको बोझ र जिम्मेवारीप्रतिको उत्तरदायित्व हावी भए पुग्छ।

अन्त्यमा, आयातित वस्तुहरूको बाढीले साना उद्योग प्रतिस्पर्धी बन्न, लागत मूल्य घटाउन सक्ने बन्नुअघि नै बन्द हुने जोखिममा छन्। खुल्ला व्यापार, भूमण्डलीकरणको अवधारणा राष्ट्रिय हित, उद्यमीको संरक्षणमा आफ्नो स्वार्थ अनुकूल प्रयोग नगर्ने सरकारको अकर्मण्यताले देशमा केही गर्छु भन्ने नागरिकले अनागरिक जस्तो व्यवहार भोग्नुपरेको अमिलो यथार्थ हो, प्रेम आचार्यको आत्मदाह।

पोषणका १००० सुनौला दिन भने जस्तै शिशुलाई पहिलो १००० दिन जति प्रेम, पोषण, स्याहार चाहिन्छ, साना तथा लघु उद्योगलाई ठिक त्यस्तै प्याकेज अन्तर्गत संरक्षण र प्रबर्धन गर्ने नीति निर्माण गर्न सरोकारवाला निकायको ध्यान आकर्षण होस्।

ठूला माछाले साना माछालाई खान्छ भनी स्वाभाविक प्राकृतिक प्रणालीको रूपमा सानाहरूलाई बेवास्ता गर्ने काम आगामी दिनमा हुनुहुँदैन। उद्यमी प्रेम आचार्यको आत्मदाह नेपालको इतिहासको अन्तिम घटना बन्नुपर्छ। यो देशमा राजनीतिक कार्यकर्ताको झुण्ड होइन, गरिखाने उद्यमी जन्मिनुपर्छ र तिनको प्रेम आचार्यको जस्तो अन्त्य होइन, संरक्षण र प्रवर्द्धन हुनुपर्छ।

लेखकको बारेमा
प्रकृति मैनाली

राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०२१ बाट सम्मानित लेखक सामाजिक उद्यमशीलताको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?