
२० माघ, काठमाडौं। चलनचल्तीको मूल्यभन्दा उच्च धितो राखेर बढी ऋण प्रवाह गरेको आरोेपमा पक्राउ परेका कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित चार जना छुटेका छन् ।
इलाका प्रहरी कार्यालय, दमकका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिलिप गिरीका अनुसार बस्नेतसहित तत्कालीन शाखाका रिस्क प्रमुख वीरेन्द्र सिंह भण्डारी, ऋणि हरेन्द्र दाहाल र चन्द्रबहादुर थापालाई हाजिरी जमानतमा छाडिएको हो ।
‘आवश्यक परेका बेला फेरि उपस्थित हुने गरी हाजिरी जमानीमा छाडेका छौं’, गिरीले अनलाइनखबरसँग भने, ‘यसमा जोडिएका अझै ११ जना फरार छन् ।’ कमसल धितोमा कर्जा प्रवाह गरेको आशंकामा सुरुमा कामना सेवा विकास बैंकले अनुसन्धान थालेको थियो ।
हाल पक्राउ परेका सीईओ बस्नेत स्वयम्ले आन्तरिक छानबिन सुरु गराएका थिए । समस्या देखिएपछि कामना सेवा विकास बैंकले नेपाल राष्ट्र बैंकलाई खबर गरेको थियो । राष्ट्र बैंकले छानबिनपछि कैफियत देखिएको भन्दै अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई खबर गरेको थियो ।
सीआईबीको सहयोगमा इलाका प्रहरी कार्यालय, दमकले अनुसन्धान अघि बढाएको थियो । छानबिनका क्रममा झापा र मोरङका जग्गाहरुको उच्च मूल्यांकन देखाएर कम्तिमा पनि ८ करोड रुपैयाँ कर्जा अनियमितरुपमा प्रवाह गरेको देखिएको डीएसपी गिरी बताउँछन् । धेरै रकम ऋण दिँदा बैंकको प्रधान कार्यालयबाट पनि स्वीकृति लिनुपर्ने भएकाले सीईओ पनि छानबिनमा तानिएका हुन् ।
डीएसपी गिरीका अनुसार आर्थिक वर्ष ०७६÷७७ मा चार जनालाई अनियमितरुपमा यो रकम प्रवाह भएको पाइएको छ । घटनामा संलग्नहरुलाई बैंकिङ कसूर र सरकारी दस्तखत कीर्ते सम्बन्धी कसूरमा मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालय, झापाका एसपी दुर्गाराज रेग्मीले बताए ।
प्रतिक्रिया 4