+

कलेजोमा बोसो जमे के हुन्छ ?

२०७९ माघ  २२ गते १७:५२ २०७९ माघ २२ गते १७:५२
कलेजोमा बोसो जमे के हुन्छ ?

काठमाडौं । कलेजो शरीरको महत्त्वपूर्ण अंग हो, जसले खाना पचाउन मात्र नभई शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । साथै कलेजोले ग्लुकोजको रूपमा ऊर्जा भण्डारण पनि गर्छ ।

तर खराब दिनचर्या र अव्यवस्थित खानपानका कारण कलेजोमा बोसो जम्ने अर्थात् ‘फ्याटी लिभर’को समस्या धेरैमा देखिन थालेको छ । यसरी जम्ने बोसोले कलेजोको कार्यक्षमतामा अवरोध पुर्‍याउँछ ।

कलेजोमा पाँच प्रतिशतभन्दा अधिक बोसो जमेमा फ्याटी लिभर हुन्छ । जीवनशैलीमा सुधार गरेर फ्याटी लिभरको समस्यालाई कम गर्न सकिन्छ । यसको खासै संकेत हुँदैन । यद्यपि समयमै उपचार नगरे यसले स्वास्थ्यमा दीर्घकालीन तथा गम्भीर समस्या निम्तिन सक्ने ग्यास्ट्रोइन्ट्रोलोजिस्ट डा. अखिलेश कश्यप बताउँछन् ।

‘धेरै चिल्लो तथा कार्बोहाइड्रेटयुक्त खाना खाने र शारीरिक रूपमा सक्रिय नहुने दैनिक व्यायाम नगर्ने व्यक्तिको शरीरमा बोसो जमेर मोटोपनको समस्या देखिन थाल्छ । त्यस्ता व्यक्तिमा मोटोपनको समस्यासँगै फ्याटी लिभरको समस्या पनि देखिन्छ,’ उनी भन्छन् ।

पहिले कलेजो सुन्निएर बिस्तारै कलेजो सुक्दै जाने र काम गर्न नसक्ने लिभर सिरोसिसको समस्या मदिरापनको अत्यधिक सेवन र हेपाटाइटिस बी र सीको कारण हुने गर्थ्यो  । तर पछिल्लो समय फ्याटी लिभरका कारण लिभर सिरोसिस हुनेको संख्या बढेको पाइएको डा. कश्यप भन्छन् ।

धेरैजसो व्यक्तिमा फ्याटी लिभरको कुनै लक्षण नदेखाउन पनि सक्छ । तर केहीलाई थकान, पेटको माथिल्लो दायाँपट्टि असुविधा वा भारी महसुस हुन सक्ने उनी बताउँछन् ।

डा. अखिलेश कश्यप

जटिलता

कलेजोमा बोसो जम्मा हुँदा कलेजोको कार्यक्षमता पूर्ण रूपमा प्रभावित हुन्छ र यसका कारण कलेजोले काम गर्दैन । यसको उपचार गरिएन भने यसबाट पीडित व्यक्तिलाई ‘लिभर सिरोसिस’को समस्या हुन सक्ने कश्यप बताउँछन् ।

‘लिभर सिरोसिस हुँदा खानाको नलीको नशा फुटेर मुखबाट रगत आउने, बेहोसपन, शरीरमा प्रोटिनको कमी भएर हातखुट्टा सुन्निने, पेटमा पानी भरिने र फ्याटी लिभरको समस्या बढ्दै जाँदा क्यान्सर लगायतका गम्भीर समस्या निम्तन सक्छ,’ उनी बताउँछन् ।

फ्याटी लिभरबाट कसरी बच्ने ?

स्वस्थ जीवनशैली अपनाएर, खानामा चिल्लो कम गरेर, लिभरलाई संक्रमण हुनबाट बचाएर फ्याटी लिभर तथा यसको जटिलताबाट जोगाउन सकिन्छ । त्यस्तै फ्याटी लिभर हुनबाट बच्ने एक उपाय मदिरा सेवन नगर्नु पनि हो ।

‘मोटोपन तथा अस्वस्थकर खानाका कारण फ्याटी लिभर भएमा शारीरिक गतिविधि बढाउनु पर्छ । दैनिक व्यायाम गरेर शरीरको बोसो घटाउनुपर्छ,’ डा. कश्यप भन्छन् ।

उपचार

फ्याटी लिभरको विभिन्न स्टेज हुन्छ । पहिलो, दोस्रो, तेस्रो र चौथो स्टेजपछि फाइब्रोसिस र सिरोसिसको स्टेजमा पुग्यो भने त यसको कुनै उपचार हुँदैन । कलेजो प्रत्यारोपण नै गर्नुपर्ने हुन्छ ।

‘फ्याटी लिभरको अवस्था मात्र छ भने फाइब्रोसिस र सिरोसिसको अवस्थासम्म पुग्नबाट बचाउन सकिन्छ । यसको लागि खानपानमा विशेष ध्यान दिने र दैनिक व्यायाम गर्नुपर्छ,’ डा. कश्यप भन्छन्, ‘कसैलाई लिभर फङसन टेस्ट गर्दा सामान्य आएन भने औषधिको सेवन पनि गर्नुपर्ने हुन्छ ।’

ध्यान दिनुपर्ने कुरा

कलेजोमा बोसो जम्न नदिन चिल्लो र कार्बोहाइड्रेट कम भएको खानेकुरा खानुपर्छ । मधुमेह, कोलेस्टेरोल र उच्च रक्तचापको समस्या भएकालाई यो समस्याले पनि सताउन सक्ने भएकाले उनीहरूले मधुमेह, उच्च रक्तचाप र मोटोपन नियन्त्रणमा विशेष ध्यान दिनुपर्छ ।

फ्याटी लिभरको प्रारम्भिक चरणमा बिरामीमा कुनै लक्षण देखिंदैन । बिरामीले अन्य कुनै स्वास्थ्य समस्याका कारण चिकित्सकको सल्लाहअनुसार सिटी स्क्यान गर्दा फ्याटी लिभर भएको पाइएको छ । त्यसैले मोटोपन, कोलेस्टेरोल, मधुमेह र उच्च रक्तचापको समस्या भएको व्यक्तिले समय-समयमा स्वास्थ्य जाँच गरिरहनुपर्छ ।

कलेजो डा. अखिलेश कश्यप
डा. अखिलेश कश्यप
लेखक
डा. अखिलेश कश्यप
पेट तथा कलेजोरोग विषेशज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : ४०६८ एमडी, डीएम हाल ग्रान्डी इन्टरनेसनल अस्पतालमा कन्सलटेन्ट ग्यास्ट्रोइन्टरोलोजिस्ट तथा हेपाटोलोजिस्टको रुपमा कार्यरत, ग्यास्ट्रो एण्ड लिभर फाउन्डेसनका अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय