+

महिनावारीको बेला शारीरिक सम्बन्ध राख्नु कति सुरक्षित ?

२०७९ माघ  २३ गते १३:२७ २०७९ माघ २३ गते १३:२७
महिनावारीको बेला शारीरिक सम्बन्ध राख्नु कति सुरक्षित ?

यदि गर्भधानको योजना छैन भने यौन सम्पर्क गर्दा सुरक्षित विधि अपनाउनुपर्ने हुन्छ । किनभने महिनावारी चक्र नियमित भएको अवस्थामा महिनावारीको १० देखि २२ दिनसम्म यौन सम्पर्क गर्दा गर्भ रहने सम्भावना उच्च हुन्छ । त्यसैले सुरक्षित महिनावारी हुनुअघि र पछिको केही दिनसम्म यौन सम्पर्क गर्न सुरक्षित मानिन्छ, कुनै साधनको प्रयोगविना पनि ।

यद्यपि महिनावारी भएको बखत यौन सम्पर्क गर्नु चाहिं हुन्छ कि हुँदैन ? यो प्रश्न खासगरी दुई अर्थमा गर्नुपर्ने हुन्छ । एउटा त यौनाङ्गको स्वच्छता र अर्को चाहिं गर्भ रहने नरहने स्थिति ।

दम्पतीमा यसबारे द्विविधा छ । तर दुवै पार्टनरलाई महिनावारीको समयमा यौन सम्पर्क गर्न इच्छा छ भने त्यसमा कुनै समस्या हुँदैन । यद्यपि महिनावारीको समयमा अन्य बेलाभन्दा यौन प्रसारित रोग लाग्ने सम्भावना अत्यधिक लाग्ने कारण अस्थायी साधनको प्रयोग भने गर्नुपर्छ ।

गर्भ रहने सम्भावना कति ?

नियमित महिनावारी हुने महिलामा त्यस समय यौन सम्बन्ध बनाउँदा गर्भ रहँदैन । तर अनियमित महिनावारी हुने र छोटो महिनावारी चक्र छ भने महिलामा गर्भ रहने जोखिम हुन्छ । जस्तै, नियमित महिनावारी हुने महिलाले धेरैपछि रक्तश्राव हुँदा महिनावारी भन्ने सोचेर त्यस समयमा  यौन सम्बन्ध राखेमा गर्भ रहन सक्छ । यौन सम्बन्ध राख्दा महिनावारी चक्र नियमित छ छैन भन्ने कुरामा निश्चित हुनुपर्छ ।

त्यस्तै, जुन महिलाको महिनावारी चक्र छोटो अवधि अर्थात् २८ दिनको छ भने सात दिनमा पनि डिम्बाशय बन्न सक्छ । जसले गर्दा महिनावारीको चार-पाँच दिनमा यौन सम्बन्ध राखे पनि गर्भ रहन सक्छ । यदि ३० दिनमा महिनावारी हुने गरेको छ भने डिम्बाशय ढिला बन्छ, जसकारण महिनावारी भएको ६-७ दिनमा सम्बन्ध कायम राखे पनि गर्भ रहने सम्भावना कम हुन्छ ।

यदि महिनावारीको समयमा पनि नियमित गर्भ निरोधक औषधि जारी राखिएको छ भने पनि गर्भवती हुने सम्भावना हुँदैन । महिनावारी होस् वा नहोस् चक्कीले काम गर्न छाड्दैन । महिनावारी भएको अवस्थामा यौन सम्बन्ध बनाउनु परे कण्डम वा गर्भनिरोधक चक्कीको प्रयोग गर्नु सुरक्षित हुन्छ ।

संक्रमणको जोखिम हुन्छ ?

महिनावारीको समयमा यौन सम्बन्ध कायम राखेमा यौन प्रसारित संक्रमण हुने जोखिम बढी हुन्छ । किनभने भाइरसहरू रगतमा बस्छन् र रगतको सम्पर्कबाट यौन रोग फैलिन सक्छ । यौन सम्पर्क गर्दा कण्डमको प्रयोगले यौन प्रसारित रोग फैलिने जोखिम कम गर्न सकिन्छ ।

महिनावारीको समयमा महिलाको शरीरमा धेरै परिवर्तन हुन्छन् । त्यसक्रममा सम्बन्ध स्थापित भएमा ल्युब्रिकेसनको आवश्यक नपर्ने विभिन्न अध्ययनले देखाएको छ । साथै यो अवधिमा सम्बन्ध स्थापित गर्नाले केही महिलालाई हुने महिनावारीको प्रभाव माइग्रेन र टाउको दुख्ने समस्या कम हुन्छन् ।

ध्यान दिनुपर्ने कुरा

सबैभन्दा बढी महिलालाई कुनै रोग वा संक्रमण छ र यौन सम्पर्क गर्दा पीडा हुन्छ भने सकेसम्म सम्बन्ध नराखेको नै राम्रो हुन्छ । पेट दुखिरहेको वा शारीरिक रुपमा कमजोर भएको अवस्थामा सम्बन्ध नबनाउँदा थप समस्या निम्तिन सक्छ । यदि यौन सम्पर्कको लागि महिला तयार छिन् र पुरुष पनि सावधानी अपनाउन तयार छन् भने यौन सम्पर्क राख्न सकिन्छ । सम्बन्ध बनाउनुअघि आफ्नो पार्टनरको पनि इच्छा छ भने मात्र सम्बन्ध बनाउनु पर्छ । रक्तस्राव भइरहेको छ भने सफा गरेर मात्र सम्बन्ध राख्नुपर्छ । यौन सम्पर्क गर्नुअघि र पछि आफ्नो गुप्ताङ्ग राम्ररी धुनुपर्छ । यदि महिनावारीको समयमा महिलाले ट्याम्पोन लगाएकी छिन् भने निकाल्नुपर्छ ।

(कन्सल्टटेन्ट गाइनोकोलोजिस्ट डा. झा नर्भिक अस्पताल र स्टार अस्पतालमा कार्यरत छिन् । उनले गाइनोकोलोजीमा एमबीबीएस र एमडी गरेकी छन् । झासँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

डा. कुमकुम झा महिनावारी शारीरिक सम्बन्ध
डा. कुमकुम झा
लेखक
डा. कुमकुम झा
स्त्री तथा प्रसूतिरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : ३५२६ अध्ययन : एमबीबीएस, एमडी र एमएस हाल काठमाडौं थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल र त्रिपुरेश्वरस्थित ब्लुबर्ड इन्टरनेसनल अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय