+
+

‘दशरथ रंगशाला घटनाबाट पाठ सिक्नै खोजिएन’

देशमा राज्यविहीनताको अवस्था छ । ९३ जनाको ज्यान गएको दशरथ रंगशाला घटनाबाट सिकेर हामीले बनाएका मापदण्ड र नियमहरू मिच्ने छूट दिइँदैछ । जिम्मेवार निकायका मान्छे जागिर र कमिसन सँगै खाएर यस्तो विकृति हेरेर बसेका छन् ।

केशरबहादुर बिष्ट, पूर्व शिक्षामन्त्री केशरबहादुर बिष्ट, पूर्व शिक्षामन्त्री
२०७९ माघ २७ गते २०:२२

२०४४ सालमा दशरथ रंगशालामा फुटबल खेल चल्दै गर्दा हावाहुरी आयो । हावाहुरी र असिनापानीका कारण दर्शकहरू भागदौड गरे । जसमा ९३ जनाको दुःखद् निधन भयो । म त्यतिबेला मन्त्री थिएँ । त्यो घटनाले मलाई मात्रै हैन, देशदुनियाँलाई नै एउठा ठूलो पाठ पढायो । तर, हामीले त्यसबाट जे सिकेका थियौं, त्यसलाई ग्रहण गरेर काम गर्न अझै पनि लागेका छैनौं ।

हामीहरूको धेरैथोक रहर गर्ने बानी छ । त्यसकै कारण कहिलेकाहीं चाहिनेभन्दा बढी पनि पूर्वाधार बनाउँछौं । तर, त्यस्ता पूर्वाधार मर्मत गर्ने, दुरुस्त राख्ने वा ठूला घटना वा दुर्घटना आइपर्दा जोगिने बारेमा सोच्ने बानी नै विकास भएन ।

१९९० सालको भूकम्पपछि सार्वजनिक पूर्वाधारहरूमा ठूलो दुर्घटना नेपालमा भएको थिएन । रंगशालाको दुर्घटनापछि मैले देशभर नै विद्यालयलाई यस्ता दुर्घटनाबाट जोगाउनुपर्छ भनेर परिपत्र नै गरेको थिएँ । त्यसपछि थोरै पनि यस्ता दुर्घटनाबाट जोगिने तरिकाबारे विद्यालय स्तरबाटै चेतना जगाउन सुरु गरिएको थियो ।

तर, अहिले पनि विद्यालयमा सुरक्षा पक्षलाई ध्यानमा राखेर उचित प्रबन्धहरू हुनसकेको छैन । अहिले ५००-१००० जनासम्म पढ्ने विद्यालयमा सानो कोप्चे भर्‍याङ राखिन्छ । भूकम्प वा अन्य कुनै दुर्घटना भयो भने त्यहाँबाट विद्यार्थीलाई निस्किन गाह्रो हुन्छ । निस्किए भने बार्दलीबाट हामफाल्नुपर्ने हुनसक्छ ।

यस्तो दुर्घटना हुँदा त १० सेकेन्डभित्र भवन खाली गर्ने गरी संरचना र पूर्वाधार तयार राख्नुपर्ने हो । भर्‍याङ थप्ने, बार्दली फराकिलो बनाउने, इमर्जेन्सी गेटहरू राख्न लगाउने गर्नुपर्ने हो ।

हलहरूबाट २०० जना आत्तिएर निस्किनुपर्‍यो भने के गर्ने भन्ने नै सोचिएको छैन । १ हजार विद्यार्थी पढ्ने ३ तलाको भवनमा ३ फुट चौडाइको एउटा भर्‍याङ राखेर विपद्का बेला एकैपटक विद्यार्थी बाहिर निकाल्न सकिन्छ ?

स्वाङ पारेर बन्दुक बोकेर मात्रै सुरक्षा हुन्छ ? यदि कसैले कसैलाई मार्नै चाहृयो भने यहाँ सुरक्षित रहन सकिएला ? त्यसैले सार्वजनिक स्थलमा पूर्वाधारहरूको निर्माण र व्यवस्थापनमा कमजोरी भएर हुनसक्ने सुरक्षा जोखिमलाई महत्व दिएर कम गर्न लाग्नुपर्छ

दुर्घटना हुँदा कसरी सुरक्षित रूपमा बाहिर जाने, लुक्ने वा जोगिने भनेर जनचेतना दिने पक्षमा पनि हामी चुकेका छौं । यस्तो शिक्षा त सानै उमेरदेखि दिनुपर्ने हो । यस्तो गर्नुपर्ने पाठ हामीले रंगशालाको घटनाबाट सिकेको हो ।

यो बीचमा केही पनि सुधार भएन भन्ने हैन । तर, जति सावधानी र सचेतना आवश्यक थियो, त्यस अनुसार हामीले अभ्यास गरेनौं । सिनेमा हल, खेलकुद तथा सांगीतिक कार्यक्रमहरू चलाउँदा अहिले पनि पर्याप्त सजगता अपनाइएको पाइन्न ।

दशरथ रंगशालामा पनि गेट नै नभएर दुर्घटना भएको थिएन । सबै भलाद्मी, जागिर मात्रै खाने भएपछि गेटको धुलो सफा गर्ने समेत कोही भएन । टिकट नभएको मान्छे छिर्छ भनेर एक जना पनि मुस्किलले छिर्न मिल्ने गरी फलामको घिर्लिङलाई तल र माथि सिक्रीले बाँधेर पूरै ढोका खोल्नै नमिल्ने गरिएको रहेछ । अनि आपत् पर्दा दशौं हजार मान्छे कसरी निस्किन सकुन् त ?

यो अवस्था त अन्यत्र पनि होला, सिनेमा हलदेखि सभाहल, विद्यालयबाट सबै मान्छे एक्कासी निस्किनुपर्ने हुनसक्छ भनेर सोचेर प्रबन्धहरू गर्नुपर्छ । भूकम्प वा विपत्ति आएपछि त्यसले विनाश गर्न धेरै समय लिंदैन ।

त्यसैले एक लाख भए पनि एक हजार भए पनि ती सबैलाई १० सेकेन्डमा सुरक्षित स्थानमा पुग्ने व्यवस्था गर्नै पर्‍यो । त्यसका लागि जे जति र जस्तो पूर्वाधार तथा संरचनाहरू बनाउनुपर्ने हो, त्यो तयार राखिनुपर्‍यो ।

दशरथ रंगशालाको घटना हावाहुरीका कारण भयो, सायद त्यतिबेलासम्म हावाहुरीका कारण भागदौड भएको पहिलो घटना थियो त्यो । मैले त्यसलगत्तै यस्ता घटना दोहोरिन नदिन आफ्नो मन्त्रालय अन्तर्गतका निकायलाई निर्देशनहरू त दिएँ, तर नैतिकताका आधारमा पद छोडें । त्यो घटनाले धेरै पाठ सिकाएकै हो । तर, २०७२ को भूकम्पमा पनि विपदका बेला भाग्न मिल्ने पूर्वाधार र संचना नबनाउँदा भागदौडमा पनि धेरैले ज्यान गुमाउनुपर्‍यो ।

अहिले निजी विद्यालयमा यस्तो जोखिम बढी छ । राज्य नै नभएको जस्तो हेर्नुपर्ने निकायले मापदण्ड अनुसारको पूर्वाधार नराखेकाहरूलाई कारबाही गरेर उचित प्रबन्ध गर्न लगाउनुपर्ने हो । तर, देशमा राज्यविहीनताको अवस्था छ । त्यसकै कारण हाम्रा सिकाइबाट बनेका मापदण्ड र नियम पनि मिच्ने छूट दिइँदैछ । जिम्मेवार निकायमा मान्छे जागिर र कमिसनसँगै खाएर यस्तो विकृति हेरेर मात्रै बसेका छन् ।

केही समयअघि धनकुटामा पनि एउटा मेलामा भागदौड हुँदा थुप्रै मान्छे घाइते भएको सुनियो । त्यहाँ आयोजक होला, प्रहरी प्रशासन होला । मेलामा आउन सक्ने व्यक्ति, संख्याको आकलन नै नगरी कार्यक्रम गर्न कसले अनुमति दियो ?

मान्छेलाई त व्यवस्थापन पक्षबारे थाहा हुँदैन, उनीहरू त अज्ञानतावश त्यस्ता भीडमा पुग्छन् । उसले त टिकट काटेको, लाइनमा बसेको छ, भनेको नियम पालना गरेको छ, तर पनि पीडित हुनुपर्ने अवस्था आउँछ भने उनीहरूको के दोष ?

स्वाङ पारेर बन्दुक बोकेर मात्रै सुरक्षा हुन्छ ? यदि कसैले कसैलाई मार्नै चाहृयो भने यहाँ सुरक्षित रहन सकिएला ? त्यसैले सार्वजनिक स्थलमा पूर्वाधारहरूको निर्माण र व्यवस्थापनमा कमजोरी भएर हुनसक्ने सुरक्षा जोखिमलाई महत्व दिएर कम गर्न लाग्नुपर्छ ।

विगतबाट सिकेर र त्यसलाई मनन गरेर अघि बढ्दा कसैको अहित हुँदैन । आफ्नो कर्तव्य पालना नगर्नेहरूको अकर्मण्यताको परिणाम सर्वसाधारणले भोग्नुपर्ने अवस्था बन्नुहुँदैन ।

(२०४४ सालमा दशरथ रंगशालामा हावाहुरीका कारण भागदौड भएर ९३ जनाको ज्यान जाँदा तत्कालीन शिक्षामन्त्री रहेका र सोही घटनाका कारण नैतिकताको कारण देखाउँदै राजीनामा दिएका बिष्टसँग अनलाइनखबरका रवीन्द्र घिमिरेले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?