+
+
ब्लग :

राजनीतिमा युवा र कार्यदिशाको प्रश्न

जलवायु परिवर्तन वर्तमान विश्वले सामना गरिरहेका सबैभन्दा पेचिलो मुद्दा हो । युवा नेतृत्वको राजनीतिक संगठनहरूले दिगो विकास र वातावरणीय संरक्षणलाई प्रवर्द्धन गर्न ध्यान केन्द्रीत गर्नुपर्छ ।

समुन्द्र तिमल्सिना समुन्द्र तिमल्सिना
२०७९ माघ २९ गते १०:२०

वैज्ञानिक अनुसन्धानहरूका अनुसार एउटा मानिसको दिमागले एक दिनमै हजारौं हजार विचार उत्पादन गर्न सक्छ । तिनै मध्येबाट छानिएका केही विचारले एउटा मानिस, समाज, राजनीतिक दल र सिंगो मुलुकलाई दिशानिर्देश गर्ने आम मान्यता छ ।

एउटा असल विचारले कसैको विरुद्धमा होइन, सबैको हितका बारेमा काम गर्दछ ।

नेपाली युवाहरूको साझा मञ्च राष्ट्रिय युवा संघ नेपाल अहिले नवौँ महाधिवेशनको सम्मुखमा छ । झण्डै एक दशक लामो अन्तरालमा हुन लागेको यो महाधिवेशन हाम्रा लागि विचार र कार्यदिशा निर्माण गर्ने एउटा उत्सव र अवसर हो ।

महाधिवेशनलाई विशेषतः युवा नेतृत्वले विचार मन्थनको अवसरको रूपमा आयोजना गर्न जरूरी देखिएको छ ।

सुरुवात केही प्रश्नबाट गरौं । भर्खरै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेबाट कति युवाले उम्मेदवारी दिने अवसर पाए र उनीहरूमध्ये कतिले जिते ? युवाको प्रतिनिधित्व गर्दै एमालेले उठाएका उम्मेदवारले आम नेपाली युवाहरूलाई आकर्षित गर्न सके ? सकेनन् भने किन सकेनन् ?

प्रस्तुत सबै प्रश्नको जवाफ दिने अवस्थामा कोही हुनुहुन्छ भने तपाईंको दिमागमा अर्को प्रश्न प्रकट भयो होला । त्यो हो– आफ्नो सफल करिअरको कुनै प्रवाह नगरी राजनीति जस्तो जटिल र अप्ठ्यारो यात्रामा वर्षौंसम्म हिँडेका हाम्रा युवा उम्मेदवारले यसपटकको निर्वाचनमा किन युवा जनमत आकर्षित गर्न सकेनन् ?

हामीले हाम्रो संगठनमा आम युवालाई कसरी आकर्षित गर्ने भन्ने विषयमा विचार र मन्थन नै गरेनौँ कि ? अथवा हामीले हामीसँग रहेका स्वार्थी झुण्डहरूलाई नै आम युवाका रूपमा परिभाषित गर्दै ‘युवा भनेका यिनीहरूनै हुन्, अरु को छ र ?’ भन्ने व्यवहारमा सीमित रह्यौँ कि ?

जे भने पनि हामीले हाम्रो संगठनमा आम युवालाई आकर्षित गर्न नसकेको पुष्टि प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनले गरेको छ । त्यसैले सबैभन्दा पहिले संगठनमा आम युवाहरूलाई आकर्षित गर्ने कार्यदिशामा हामी घोत्लिन जरुरी छ । ‘के गर्छस् ?’ ‘कति कमाउँछस्’ ‘अरुका लागि के गरिस् ?’ यस्ता प्रश्नहरूले हाम्रो संगठनमा युवाहरू आकर्षित हुँदैनन् ।

‘तिमीहरूको सोच के छ ?’ ‘के सोच्दै छौ ?’ ‘तिमीहरूलाई कस्तो लागिरहेको छ’ ‘हामी सँगै मिलेर केही गर्न सक्छौँ ?’ लगायतका प्रश्नको सहारामा हामी आम युवाहरूलाई संगठनमा जोड्न सक्थ्यौँ तर सकेनौँ । अझैँ केही बिग्रिएको छैन, आम युवाहरूसँग पर्खिने समय छ ।

समुद्र तिमल्सिना

अर्को कुरा, म पनि एउटा विचारशील युवा भएकोले यो ठोकुवाका साथ भन्न सक्छु । राष्ट्रिय युवा संघ नेपाल भावी पुस्ताको हितलाई प्रतिनिधित्व गर्ने विषयमा अब्बल छ । संगठनले राजनीतिक मुद्दामा पनि प्रभावकारी संलग्नता र भूमिका निर्वाह गरिरहेकै छ । तर, यो बलियो पक्षलाई हामीले पुष्टि गर्न सकेनौँ । त्यसैले अबको हाम्रो कार्यदिशा आम युवालाई राजनीतिक रूपमा विश्वास दिलाउने काममा केन्द्रीत हुनुपर्दछ ।

आम युवालाई हामीतर्फ आकर्षित गर्ने काम सजिलो भने छैन । पारदर्शिता, जवाफदेहिता र लोकतन्त्र प्रवद्र्धनका लागि युवा अधिकार तथा आवश्यकताको वकालत गर्ने भरपर्दो माध्यमका रूपमा राष्ट्रिय युवा संघ नेपाल स्थापित हुन जरुरी छ । यसका साथै युवाहरूलाई राजनीतिक गतिविधिमा संलग्न गराउन र उनीहरूलाई निर्वाचन तथा अन्य प्रकारका राजनीतिक प्रोत्साहनको व्यवस्था गर्नुपर्छ । यसले युवाको चासो प्रवर्द्धन गर्दै युवाहरूको ध्यान केन्द्रीत गर्दछ । यति भएपछि आम युवाहरू हाम्रो संगठनतर्फ आकर्षित हुन सक्दछन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने जस्तै ‘सभ्यता झल्किने, आधुनिकता टल्कने’ विकासको अवधारणा निर्माणगरी युवा जमातलाई समाज, राज्य र संस्कृतिप्रति जिम्मेवार बनाउने काममा राष्ट्रिय युवा संघ नेपाल जुट्नुपर्छ । साथै देशप्रतिको मोह हुँदाहुँदै पनि देशमा केही गर्ने वातावरण नदेखिएको परिवेशमा विदेशिने युवो जमातलाई मुलुकप्रतिको अपन्वत्व निर्माण गर्न निर्णायक भूमिका खेल्न सक्नुपर्दछ ।

हामीले सधैँ गलतलाई समर्थन र सहीलाई विरोध गरेको आरोप खेप्नुपर्छ । त्यसैले हामीले आवेग र उत्तेजित राजनीतिको अन्त्यका साथै सही र गलत छुटाएर मात्रै समर्थन र विरोध गर्नुपर्दछ । युवालाई हतियारको रूपमा मात्रै प्रयोग नगरेर ‘बट्टम अफ एप्रोच’ को अवधारणाका आधारमा उनीहरूको मुद्दाको सुनुवाइ गर्नुका साथै युवा सहभागिता सुनिश्चित गर्ने नीति तर्जुमा गर्नुपर्छ ।

त्यस्तै, जलवायु परिवर्तन वर्तमान विश्वले सामना गरिरहेका सबैभन्दा पेचिलो मुद्दा हो । युवा नेतृत्वको राजनीतिक संगठनहरूले दिगो विकास र वातावरणीय संरक्षणलाई प्रवर्द्धन गर्न ध्यान केन्द्रीत गर्नुपर्छ । यस्तै सामाजिक न्याय र समानताको बिषयमा असमानतालाई सम्बोधन गर्ने र सबै मानिसहरूका लागि न्याय प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रममा जोड दिनुपर्छ ।

भावी पुस्तका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने र आर्थिक स्थायित्वको बाटोमा समेत हामी केन्द्रीत हुनुपर्छ । साथै राजनीतिमा आबद्ध युवाहरूको पेसा–व्यवसायमा रोजगारीको सुनिश्चितताको कार्यदिशा समेत निर्माण गर्न सक्नुपर्छ ।
राज्यमा शिक्षा र सीप विकासमा लगानी हुनु अत्यावश्यक छ । राष्ट्रिय युवा संघ नेपालले सीपलाई समर्थन गर्ने नीतिहरूको प्रवर्द्धनमा ध्यान केन्द्रीत गर्नुपर्छ र सरकारलाई समेत ध्यानकर्षण गराउन सक्नुपर्छ । युवाहरूलाई सक्रिय र संलग्न नागरिक बन्न प्रोत्साहित गर्नु लोकतन्त्रको भविष्यको लागि आवश्यक छ । हाम्रो संगठनले नागरिक शिक्षाको प्रवर्द्धन र युवाहरूलाई राजनीतिक अनुशासनमा सहभागी हुन प्रोत्साहित गर्नुपर्दछ ।

अन्त्यमा, आगामी माघ १८–१९ गते मकवानपुरको हेटौँडामा सम्पन्न राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकको सन्दर्भलाई उल्लेख गर्न चाहन्छु । बैठकको प्रमुख अतिथि एमाले महासचिव शंकर पोखरेलले आम युवाहरूलाई संगठनमा आकर्षित गर्ने सम्बन्धमा राष्ट्रिय युवा संघ कमजोर देखिएको जिकिर गरे । उनको यही जिकिरलाई आत्मसात गर्दै हामी नयाँ कार्यदिशाका साथ नवौँ महाधिवेशनमा होमिन जरुरी छ ।

(लेखक राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?