+

बालबालिकाको कान दुखेमा के गर्ने ?

२०७९ फागुन  १ गते १४:५४ २०७९ फागुन १ गते १४:५४
बालबालिकाको कान दुखेमा के गर्ने ?

कान दुख्ने समस्या बालबालिकामा हुने प्रमुख समस्यामध्ये एक हो । कान धेरै दुखेर उनीहरुले असह्य पीडा भोगिरहेको हुन सक्छन् । यस्तोमा आफ्ना सन्तानको कान के कारणले दुख्यो र दुखेमा के गर्ने भन्ने हेक्का नहुँदा अभिभावकमा चिन्ता झनै बढ्न सक्छ ।

वयस्क व्यक्तिको भन्दा बालबालिकामा कानको जाली सुन्निने र संक्रमण हुने सम्भावना धेरै हुन्छ । जसकारण कान दुख्ने समस्याले बालबालिकालाई बढी सताउँछ ।

युस्टाचियन ट्युब कान र घाँटीभित्रबाट जोडिने नली हो जुन बालबालिकामा सानो तर चौडाइ ठूलो भएकाले सजिलै कानको जालीमा संक्रमण हुन्छ । सो नलीबाट घाँटी र नाकमा कुनै भाइरल संक्रमण भयो भने त्यो संक्रमण घाँटीबाट कानसम्म सजिलै पुग्छ ।

बच्चामा कान दुख्ने अर्को प्रमुख कारण कानमा चोट लागेर हुन्छ । जथाभावी सिन्का, एयरबड हालेर कान सफा गरिदिंदा कानको नलीमा चोट लाग्न गई संक्रमण हुन सक्छ । जसले बालबालिका कानमा हात लैजाने र बेस्सरी रुने गर्छन् । बच्चालाई सुतेको बेलामा बढी कान दुख्ने गर्छ । सुतेको बेलामा एक्कासी कान दुखेर रुने र चिच्याउने गर्छन् ।

त्यसबाहेक कान पाक्ने, संक्रमण हुने, कानको हड्डी कुहिनेलगायत जटिल रोगले पनि कान दुख्छ । बारम्बार कान पाक्न थाल्यो भने बच्चाको सुन्ने शक्तिसमेत कम हुन सक्छ ।

कान दुखेमा के गर्ने ?

कान दुख्यो भने तुलसी, कानमा तेल हालिदिने पनि धेरैले गर्छन् । यस्तो कार्यले कानमा थप असर गर्न सक्छ । त्यसैले कुनै पनि तरल पदार्थ नहाल्नु नै उपयुक्त हुन्छ । कान दुखेमा चुपचाप घरमै बस्दा थप जटिलता बढ्दै जाने भएकाले सम्भव भएसम्म तुरुन्त अस्पताल लैजानुपर्छ । रातको समयमा अस्पताल लैजान सक्ने अवस्था छैन भने कान नदुख्ने ओभर द काउन्टरका औषधि पारासिटामोलजस्ता पेन किलर औषधि खुवाउन सकिन्छ ।

कानको जाली सुन्निएको छ भने औषधिले निको हुन सक्छ । कानको परीक्षण गरेपछि चिकित्सकले औषधि दिने गर्छन् । कान दुख्ने बित्तिकै जथाभावी बजारबाट एयर ड्रप किनेर लगाउनु हुँदैन । कानको रोगअनुसार एयर ड्रप हाल्नुपर्ने हुँदा आवश्यक नै नपर्ने अवस्थामा जथाभावी एयर ड्रोप हाल्दा नफुटेको कानको जाली पनि फुट्न सक्छ ।

त्यसमाथि कान दुख्नुको कारण संक्रमण हो भने यो समस्या अझै बढ्न सक्छ । कतिपय केसमा कानको जाली धेरै सुन्निएपछि त्यहाँ सानो प्वाल परेर पिप आउने सम्भावना हुन्छ । बारम्बार पिप आइरहेको छ तर बेवास्ता गरेर उपचारमा ढिलाइ हुँदा स्थायी रुपमै प्वाल रहन जान्छ, जसले शल्यक्रियासमेत गर्नुपर्ने अवस्था आउन सक्छ ।

संक्रमणअनुसार दुखाइ फरक–फरक हुन्छ ।  कानको जाली सुन्निएर हुने दुखाइ सहन नसक्ने  खालको हुन्छ । कानको बाहिरी नली र कानको भित्री जाली सुन्निएर हुने दुखाइ सहन कठिन बनाउँछ ।

कानको जालीभित्र पानी जम्ने समस्याले कानको दुखाइ बढाउँछ । जुन कुनै संक्रमण र नाकको पछाडि टन्सिल पलाएर पानी जम्छ, जुन साधारण किसिमको दुखाइ हुन्छ ।

कान कोट्याउनु हुँदैन

कान कोट्याउने कार्य कहिल्यै गर्नुहुँदैन । कानमा सिन्का, चराको प्वाख, फलामको कर्कनो, एयरबडले कोट्याउँदा वा बच्चाको कान कोट्याइदिंदा चिलाउने समस्या बढ्छ । जसले कानको नली फुट्ने वा घाउ पनि हुन सक्छ ।

कानभित्रको कानेगुजीले जाली र प्वाललाई अवरोध गरेको छैन भने कानेगुजी झिक्नु हुँदैन ।

यस्तै कानमा एक्कासि कीरा पसे के गर्ने भन्ने कुराको पनि धेरैलाई जानकारी हुँदैन । त्यो अवस्थामा कानमा तरल पदार्थ हाल्न सकिन्छ । कानभित्र कीरा पसेपछि त्यो चल्छ र कानको अन्य भागमा पनि क्षति पुर्‍याउन सक्छ । जालीबाट समेत भित्र पर्न सक्छ । कीरा परेको थाहा भएपछि तुरुन्त पानी, एयर ड्रप र तेलजस्ता तरल पदार्थ हाल्दा कीरा मर्छ र क्षति पुर्‍याउन सक्दैन । त्यसपछि त्यो कीरालाई अस्पतालमा गएर झिक्न सकिन्छ ।

कानको हेरचाह

कानको हेरचाह दैनिक गरिरहनु जरुरी छैन । कानलाई सफा गरिरहन जरुरी छैन आफैं सफा हुन्छ । हामी बोल्दा र खानेकुरा चपाउँदा कानको पछाडिको ज्वाइन हलचल गर्छ । र, कानमा भएको फोहोर आफैं झरेर सफा हुन्छ । त्यसबाहेक कान नकोट्याउने, कानको कानेगुजीलाई नचलाउने, चर्को ध्वनिले बालबालिकाको श्रव्य शक्तिमा क्षति पुर्‍याउने हुँदा चर्को ध्वनिबाट टाढा राख्नुपर्छ ।

बच्चाको कान छेड्न हुन्छ ?

हाम्रो समाजमा बच्चाको कान छेड्ने परम्परा छ । जसकारण सानैमा बालबालिकाको कान छेड्ने गरिन्छ । कानको तलपट्टि छेड्दा खासै फरक पर्दैन तर माथिल्लो भागमा भने कुरकुरे हड्डीमा छेड्न हुँदैन । कुरकुरे हड्डीमा प्वाल पार्दा कानमा बारम्बार संक्रमण हुने र कान स्थायी रुपमा समेत ‘ड्यामेज’ हुन सक्छ ।

(प्रा. डा. श्रेष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ हुन् । उनी वीर अस्पतालको नाक, कान तथा घाँटीरोग विभागका पूर्वविभागीय प्रमुख हुन् । डा. श्रेष्ठले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, शिक्षण अस्पतालबाट ईएनटीमा एमएस गरेका छन् । इन्टरनेसनल फेडेरेसन अफ हेड एण्ड नेक सोसाइटी र मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टर यूएसएबाट हेड एण्ड नेक सर्जरी र ओन्कोलोजीमा फेलोसिप पूरा गरेका छन् ।)

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

कानको दुखाइ बालबालिका
प्रा. डा. दीपेन्द्र श्रेष्ठ
लेखक
प्रा. डा. दीपेन्द्र श्रेष्ठ
वरिष्ठ नाक कान घाँटीरोग विशेषज्ञ

मेडिकल काउन्सिल दर्ता नम्बर : २६६१ एमबीबीएस, एमएस, फेलोसिप इन हेड एन नेक अन्कोसर्जरी । वरिष्ठ परामर्शदाता ईएनटी हेड एण्ड नेक सर्जन, ईएनटी विभाग, वीर अस्पतालका पूर्व प्रमुख, प्रमुख परामर्शदाता राष्ट्रिय ईएनटी सेन्टर । अध्यक्ष, सोसाइटी अफ ईएनटी सर्जन अफ नेपाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय