+
+

कांग्रेस सांसद भण्डारीलाई भारतको मुम्बई लैजाने तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १०:३५
Photo Credit : Social Media
आमा हरिकला भण्डारीको साथमा नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी । तस्वीर : फेसबुक

४ फागुन, काठमाडौं । आगलागीमा परी गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ ।

कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत भण्डारी र उनकी आमालाई चिकित्सकहरुले यहाँ उपचार सम्भव नभएको भन्दै विदेशको कुनै सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरेका थिए । चिकित्सकहरुको सिफारिस अनुसार सांसद भण्डारीलाई भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको उनको सचिवालयले जनाएको छ ।

उनकी आमाको भने कीर्तिपुरमै उपचार हुने छ । आमालाई आईसीयुबाट बाहिर निकाल्ने अवस्था नभएकाले उनलाई भारत नलैजाने स्रोतले बतायो ।

गएराति बुद्धनगरस्थित निवासमा आगलागीमा परी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ ।

अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ । उनका अनुसार आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल छ ।
आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको ताम्राकार बताउँछिन् । त्यसैले भारत लगेर उपचार गर्न सिफारिस गरिएको ताम्राकारले जानकारी दिइन् ।

सुरुमा सांसद भण्डारीले स्वदेशमै उपचार गर्न पाए हुन्थ्यो भनेका थिए । तर डाक्टरहरुले यहाँको स्रोत साधनले नभ्याउने बताएका छन् । राजनीतिक दलका नेताहरुले पनि उनलाई भारत गएर उपचार गराउन भनेपछि भण्डारी भारत जान तयार भएको उनको पारिवारीक स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?