+
+

चीन र रूससँग एकसाथ टकराव व्यहोरिरहेको अमेरिका

अमेरिका र चीनको अर्थतन्त्रमा समानता भनेको उनीहरू अर्थतन्त्रको महत्वपूर्ण हिस्सा सैन्य गतिविधिमा खर्च गर्छन् । यद्यपि विश्व अझै पनि र लोकतन्त्र र निरंकुशताको वैचारिक विषयमा विभाजित छ । चीनसँगको सामिप्यता बढाउँदै रूसले अमेरिकालाई अझै पनि त्रसित बनाउन सक्छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ४ गते १२:३४

४ फागुन, काठमाडौं । अमेरिकाका लागि एउटै शीत युद्ध त सुखद भएन भने एकैपटक दुई शीत युद्ध जित्नु त असंभव नै हुन्छ । यो स्थितिका बीच अमेरिकाले अहिले यस्तै नियति व्यहोरिरहेको छ ।

जो बाइडेनको राष्ट्रपतीय कार्यकालको दुई वर्षमा अमेरिकाले कूटनीति र राष्ट्रिय सुरक्षामा एकसाथ संकट व्यहोरिरहेको छ । २० औँ शताब्दीको महाशक्ति प्रतिद्वन्द्वी रूस र २१ औँ शताब्दीको उसको प्रमुख विरोधी चीनसँग एकैपटकका खटपटका कारण अमेरिकाले यो चुनौती सामना गरिरहेको हो ।

युक्रेन युद्धको वर्षगाँठ नजिकिँदै जाँदा र अमेरिकी आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन उड्दै गर्दा शक्तिराष्ट्रका भू-राजनीति तरंगित छ । आफ्नो हवाई इलाकामा बेइजिङका बेलुन उड्दा अमेरिका झनै तरंगित हुनु स्वाभाविक हो । भू-राजनीतिलाई तरंगित बनाउने गतिविधि हेर्दा लाग्छ, यो महाशक्ति प्रतिद्वन्द्वीको पुनर्जीवीत युग हो ।

संभवत यो सप्ताहान्तपछि भू-राजनीति अझै तरंगित हुनेछ । म्युनिखमा हुन लागेको सुरक्षा सम्मेलनमा पश्चिमा कूटनीतिज्ञहरूले युक्रेन युद्धबारे बहस गर्नेछन् । त्यस सम्मेलनमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकेंन र चीनका विदेशमन्त्री वाङ यी पनि उपस्थित हुनेछन् । यो मञ्चले दुई प्रतिद्वन्द्वी मुलुकबीच थप दुश्मनी बढाउनसक्ने आकलन भइरहेका छन् ।

हिन्द प्रशान्त महासागरको अमेरिकी इलाकामा बेलुन उडाएपछि दुई मुलुकबीचको सम्बन्धमा थप दरार उत्पन्न भएको छ । यही घटनाका कारण चीनसँग संवादको कार्यतालिका नबनेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

दोहोरो कूटनीतिक संकट र ध्रुवीकृत राजनीतिका कारण अन्य मुलुकमा अमेरिकी नीति प्रभावित हुनसक्छ भने अमेरिकी राजनीतिक पुँजीमा पनि चुनौती आइपर्नसक्छ । बेइजिङको बेलुन प्रकरणले अमेरिकी घरेलु राजनीति थप ध्रुवीकृत छ । आफ्नो इलाका प्रवेश गर्नुअघि नै चिनियाँ बेलुन भुइँमा खसाल्न नसकेकोप्रति रिपब्लिकनले वर्तमान प्रशासनको खरो आलोचना गरिरहेको छ ।

भू-राजनीतिका संवेदनशील विषयमा धज्जी उडाउने त्यस पार्टीका गतिविधि हेर्दा यस्तो लाग्छ तमाम विषय छोडेर ऊ आफ्नो स्कोर बढाउन तल्लीन छ । आफ्नो हवाई इलाकामा चिनियाँ बेलुन आएपछि एक सातामा तीनपटक विमानमार्फत आकस्मिक सैन्य अवलोकन गरिएको विषयमा बाइडेन मौन छन् । तर सन् २०२४ को चुनावबाट ह्वाइटहाउस फर्कने दाउमा रहेका ट्रम्पले यस विषयको सशक्त विरोध गरिरहेका छन् । कूटनीतिमा अराजकता हुँदैन तर ट्रम्प मुलुकको विदेश नीति पनि आफूझैँ बनाउन खोज्छन् ।

चीन र रूससँग अमेरिकी टकरावका समानता र भिन्नता

चीन र अमेरकाबीचको टकराव एशिया प्रशान्त क्षेत्रमा प्रभुत्व जमाउनका लागि हो । जब-जब अमेरिकाले व्यापार, अर्थतन्त्र र भौगोलिक सिमाना र सैन्य नियमको कुरा उठाउँछ बेइजिङले वासिङ्टनलाई पनि सीमामा बस्न चेतावनी दिन्छ ।

चीन र रूससँगको सम्बन्धलाई वैदेशिक मामिला जानकारहरू शीत युद्ध भन्न नरूचाउन सक्छन् । अमेरिका र रूसको टकराव सन् १९४० देखि सन् १९८० को दशकमाझैँ वैचारिक र राजनीतिक विषयमा केन्द्रित छैन । आर्थिक तथा सामरिक सम्पन्नताका हिसाबले अमेरिका अझै पनि रूसभन्दा शक्तिशाली नै छ । युक्रेनमा महत्वपूर्ण इलाकामा पराजयले रूसको सामरिक शक्ति मिथकझैँ बनेको छ । सोभियतकालीन लडाकु भ्लादिमिर पुटिनको नेतृत्वमा रहेको रूसले युद्धमा अपेक्षित परिणाम हासिल नगरेपछि पश्चिमा राष्ट्रहरूमाथि दोषारोपण गरिरहेका छन् । कूटनीतिक र राष्ट्रिय सुरक्षाकै कारण रूस र युक्रेनबीच युद्ध भयो । अमेरिका र चीनबीच बढ्दो टकरावलाई साम्य गर्दै जारी द्वन्द्वलाई युद्धमा परिणत हुन नदिनका लागि संयमित बन्ने आवश्यकता दुवै राष्ट्रमाथि छ ।

अमेरिका र चीनको अर्थतन्त्रमा समानता भनेको उनीहरू अर्थतन्त्रको महत्वपूर्ण हिस्सा सैन्य गतिविधिमा खर्च गर्छन् । यद्यपि विश्व अझै पनि र लोकतन्त्र र निरंकुशताको वैचारिक विषयमा विभाजित छ । चीनसँगको सामिप्यता बढाउँदै रूसले अमेरिकालाई अझै पनि त्रसित बनाउन सक्छ ।

सोभियत संघको पराजयसँगै शीत युद्ध समाप्त हुनुपर्ने थियो । सोभियतकालमाझैँ रूसको सम्मान बर्करार राख्ने उद्देश्य बोकेर त्यस कालखण्डका लडाकू पुटिन लागिपरेका छन् । पश्चिमाहरूले रूसको शक्तिको सम्मान गर्नुपर्ने पक्षमा पुटिन छन् । युक्रेनसँगको युद्धलाई उनले शाख फर्काउने र प्रभाव जमाउने मौकाको रूपमा लिएका छन् । रूससँग सिधा भिडन्तबाट जोगिन बाइडेनले प्रयत्न जारी राखेका छन् । यद्यपि युक्रेनलाई सहयोग गर्दै उनले ठूलो दाउ पनि खेलिरहेका छन् । युक्रेनलाई सहयोग गर्दै बाइडेनले भनेका छन्, ‘यो अमेरिका र विश्वका लागि र आगामी पुस्ताका लागि एउटा परीक्षण हो ।’

यस्ता सहयोगले  विश्वमा शान्ति र सुव्यवस्था कायम गर्न सहयोग पुग्ने उनले बताएका छन् । ‘युक्रेनलाई सहयोगको खास अर्थ छ । यसले विश्वमा शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्छ । हाम्रो सुरक्षा र शान्तिलाई खलल पुर्‍याउने नियत भएकाहरूका लागि पनि यो सन्देश हो ।’ बाइडेनको यो अभिव्यक्ति संभवत सि चिनफिङ लक्षित छ ।

अमेरिका र चीनबीच टकरावको व्याख्या

चीन र अमेरकाबीचको टकराव एशिया प्रशान्त क्षेत्रमा प्रभुत्व जमाउनका लागि हो । जब-जब अमेरिकाले व्यापार, अर्थतन्त्र र भौगोलिक सिमाना र सैन्य नियमको कुरा उठाउँछ बेइजिङले वासिङ्टनलाई पनि सीमामा बस्न चेतावनी दिन्छ । दुई मुलुकबीच द्वन्द्वको नभएर प्रतिस्पर्धाको सम्बन्ध हुनुपर्ने बाइडेनको भनाइ छ । चीनको नाजायज अपेक्षालाई अमेरिकाले चुनौती दिने पक्षमा बाइडेन अडिग छन् ।

‘महाशक्ति राष्ट्र अमेरिकालाई सैन्य, आर्थिक, कूटनीतिक र प्राविधिक रूपमा प्रतिस्पर्धा गर्नसक्ने  मुलुक चीन मात्रै हो । हिन्द प्रशान्त क्षेत्रमा प्रभाव विस्तार गर्ने उसको आकांक्षा छ । चीनका नाजायज आकांक्षालाई असफल बनाउनेमा हामी दृढ छौँ,’ बाइडेनले भनेका छन् ।

अमेरिकाको आन्तरिक राजनीतिमा विश्व राजनीतिको असर

विश्वमा बढ्दो तनावपूर्ण स्थितिले अमेरिकाको आन्तरिक राजनीतिमा पनि दुई प्रकारले प्रभाव परेको छ । बेइजिङको बेलुनले रिपब्लिकनलाई आक्रामक बनाएको छ । रिपब्लिकन बाइडेनलाई असफल कमाण्डरका रूपमा चित्रित गर्न लागिपरेको छ । अमेरिकाको सुरक्षा चुनौती सामनाका लागि बाइडेन सक्षम नभएको भन्दै उसले विरोध जनाइरहेको छ । सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा लाभ लिने ध्येयले रिपब्लिकनले डेमोक्र्याटका कमजोरीलाई उत्खनन् गर्दै आफू अनुकूल व्याख्या र प्रचार गरिरहेको छ ।

घरेलु राजनीति व्यवस्थापनमा नै समय दिनुपर्ने भएपछि वासिंगटनले आफ्ना बाह्य राजनीतिक दौडलाई संकुचित बनाइरहेको छ । उदाहरणका लागि अमेरिकाले उठाएका सवालमा चीनले कुनै पनि प्रतिक्रिया दिएको छैन भने आफ्ना नियमित गतिविधिमा थप सन्देह नगर्न भनिरहेको छ । यो अवस्थामा ब्लिकेंनले चीनको भ्रमण तय गर्नु उपलब्धिमुलक हुने थिएन । त्यसैले ब्लिंकेनको चीन भ्रमण रद्द भइसकेको छ ।

यता आफ्नो इलाका प्रवेश गर्नुअघि नै जासुसी बेलुन झार्न बाइडेन प्रशासन असफल भएको भन्दै तीव्र आलोचना भइरहेको छ । नियतबस नै इलाकामा प्रवेश गरेपछि मात्रै बेलुन झारेको आरोप रिपब्लिकनले लगाएको छ । यो आरोपलाई ह्वाइटहाउसले अस्वीकार गर्दै आएको छ ।

अमेरिकाले खसालेको चिनियाँ बेलुन संकलन गर्दै अमेरिकी सेना ।

रिपब्लिकन सिनेटर मिच कोनेलले भने बाइडेनको आलोचनामा भनेका छन्- बाइडेन प्रशासनले अमेरिकी शक्तिको अपमान गर्‍यो । हामी कसरी यो स्थितिमा आइपुग्यौँ की हाम्रो हवाई इलाकामा छिरेर जासुसी गर्दा समेत हामी बेखबर भयौँ ?’

यो कुरा प्रस्टै छ सन् २०२४ को चुनावलाई लिएर वर्तमान प्रशासनलाई कमजोर देखाउने प्रयत्न अझै हुनेछ । किनकी सत्ता सधैँ आलोचित नै हुन्छ । यो अभियानकै क्रममा ट्रम्पले आफ्ना सहयोगीहरूलाई चन्दा संकलनको लागि इमेल गरेका छन् । जसमा लेखिएको छ-‘ह्वाइटहाउसको कमजोरी विश्वका हरेक कुनाबाट हाम्रा दुश्मनहरूले पत्ता लगाउने स्थिति बन्यो । बेइजिङको जासुसी हाम्रो अहिलेसम्मकै ठूलो अपमान हो ।’

अफगानिस्तानबाट अमेरिकी सेना फिर्तीको निर्णयसँगै बाइडेनको आलोचना चुलिएको हो । आफ्नो आलोचना उनले सहनै पर्छ । रिपब्लिकनको कतिपय आलोचना जायज भए पनि अधिकांश भने आक्रमण नै हुन् । बाइडेनका कमजोरीमा प्रहार गर्नुअघि रिपब्लिकनले पुटिन सामु ट्रम्प नतमस्तक बनेको स्मरण गर्नैपर्छ । कोभिड अघि सीसँगको सम्बन्ध र उत्तर कोरियाली शासक किम जो उनसँगको उनकै शब्दमा प्रेमिल सम्बन्ध पनि हेक्का राख्नैपर्छ ।

अफगानिस्तानबाट सेना फिर्ती ट्रम्पले तालिबानसँग गरेको सम्झौताको परिणाम थियो । रिपब्लिकनले हेक्का राख्नैपर्छ ट्रम्प अघिका आफ्ना राष्ट्रपति जर्ज बुसले इराकमा गराएको आक्रमण व्यहोरेको नतिजा हेक्का राख्नैपर्छ । र यो पनि हेक्का राख्नुपर्छ की विश्व राजनीतिक मञ्चमा राष्ट्रलाई बलियो राख्न घरेलु राजनीति बलियो बनाउन सघाउनुपर्छ । जायज कुरामा आलोचना र खबरदारीको धर्म निर्वाह गर्दै रिपब्लिकनले राष्ट्रलाई बलियो बनाउने कदम अघि बढाउनुपर्छ र बाइडेन प्रशासनले ख्याल गर्नैपर्छ कि इतिहासमा शीतयुद्धको तीतो अनुभव बटुलेको राष्ट्र एकैपटक दुई शीतयुद्धमा विजयी हुनसक्दैन ।

– सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?